हङकङमा नेपालीद्वारा सञ्चालित वित्तीय संस्था नेपाल फाइनान्स लिमिटेडले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयर धनीहरूलाई नाफा वितरण गरेको छ।
गत सोमबार जोर्डनस्थित हाई तिन चाइनिज रेस्टुरेन्टमा आयोजना गरिएको साधारण सभामा फाइनान्सका प्रमुख व्यवस्थापक तथा कोषाध्यक्ष शशीमदन राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।
जसअनुसार आर्थिक वर्ष २०२१/२०२२ मा अधिकृत पुँजी १ करोड २५ लाख २८ हङकङ डलर तथा दायित्व पुँजी ६ करोड ८ लाख ७७ हजार ३ सय २९ हङकङ डलर गरी कूल ७ करोड ३३ लाख ७७ हजार ३ सय ५८ हङकङ डलर छ।
फाइनान्सले यो वर्ष ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत सेयरमा गाभिने गरी कूल ८ प्रतिशत लाभांश वितरण गरेको छ। कोरोना महामारीको विषम परिस्थितिमा समेत फाइनान्सले कूल ९ लाख २५ हजार ९ सय २९ हङकङ डलर मुनाफा आर्जन गर्न सफल भएको राईले जानकारी दिए। फाइनान्समा ५० सेयर धनी छन्।
यो पनि :
हङकङबाट धेरै पैसा बेलायत गइरहेको छ, हामी ६० करोड नेपाल भित्र्याउँदै छौँ : धिरज राई (अन्तर्वार्ता)
धिरज राई नयाँ अध्यक्ष
फाइनान्सको तेस्रो सम्मेलनले पुनः धिरजकुमार राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।
प्रथम उपाध्यक्षमा मोहनकुमार राई, उपाध्यक्षमा चन्द्रकुमार राई, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः जितकर्ण राई, किरण राई, शशिमदन राई, दिलकुमारी लिम्बू चयन भएका छन्।
यसैगरी सदस्यहरूमा दुर्गकान्त राई, मैत्रकुमार बान्तवा, सञ्जीव राई, चन्द्रका राई, तेजकुमार राई, जगीन्द्र राई चयन भएका छन्। कार्यसमितिका सबै जना कम्पनीका डाइरेक्टर हुन्।
कार्यक्रममा फाइनान्सका सीईओ तथा अध्यक्ष धिरजकुमार राईले फाइनान्सको चालु अवस्था तथा भावी योजनाबारे ब्रिफिङ गरेका थिए। खुलासत्र कार्यक्रममा हङकङका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
सन् २०१३ मा मनी लेन्डिङ लाइसेन्स प्राप्त नेपाल फाइनान्स हङकङमा नेपाली वित्तीय संस्थाहरूको अगुवा हो। फाइनान्सले प्रोपर्टी, रेमिट्यान्स, रेस्टुरेन्ट आदि क्षेत्रमा लगानी गरी विभिन्न किसिमका कर्जा प्रवाह गरिरहेको छ। साथै यसै वर्ष नेपालमा सिस्टर कम्पनीसमेत खोलेको छ।
प्रतिक्रिया