हङकङे नेपालीलाई जोड्न सक्ने क्विन्स हिलको गोर्खा मन्दिर चहार्दा

हङकङे नेपालीलाई जोड्न सक्ने क्विन्स हिलको गोर्खा मन्दिर चहार्दा

भूपू ब्रिटिस गोर्खा क्याप्टेन नामसिंह थापा, कृष्णराज लावती र लवकुमार गुरुङसँग गोर्खा मन्दिर अगाडि कमल पौड्याल


कमल पौड्याल
पुस ९, २०७९ शनिबार १४:२३, हङकङ

उमेरले आठ दशक पार गरेका एकजना वृद्ध डकर्मीले जीवनभर हजारौँ मन्दिर बनाएछन्। त्यो उमेरमा पनि मन्दिर बनाउँदै गरेको देखेर ओशोलाई कौतुहल लागेर सोधेछन्, ‘क्या बात है? दुनियाँ भरके करोडौं लोगोँ के पास रहने के लिए मकान नहीँ है। गरिबीका वजह से कइ लोग तो भुखा पेट लेकर आसमान के निचे सो रहे हैँ। मन्दिर बढता ही जा रहा है घर से भी ज्यादा, क्युँ? आखिर भगवान तो एक ही है, भक्त भी वही है, पूजा आराधना भी वही है। एक ही मन्दिरमे सब लोग क्युँ नहीं जाते?’

निधारको पसिना पुछ्दै ती डकर्मीले ओशोलाई भनेछन्, ‘जनाव! बात भक्त, भगवान और मन्दिर की नहीँ है। बात तो अपने अपने नाम की है, जो हर मन्दिर के बाहर लिखा जाता है। हर मन्दिर के बाहर सङ्गमर्मरमे सब से उपर श्री श्री श्री के बाद अपना नाम लिखानेके चक्करमा यह सब हो रहा है। यह तब तक होता रहेगा जब तक सबकी अपना नाम रखने की मनोकाङ्क्षा पुरा नहीँ होगी।’

काठमाडौँलाई मन्दिरै मन्दिरको सहर भनेर पढिन्थ्यो, पढाइन्थ्यो। त्यही देश, सहरका हामी। नेपालीहरु जुन देशमा गए पनि मन्दिर बनाउन भने जुटिहाल्छन। अहिले नेपालमा पनि धेरैको घरको सबैभन्दा माथि मन्दिर कोठा र हरेक बस्तीको बीचमा पनि मन्दिर देखिन्छ।

मन्दिरपछि अहिले धेरै गुम्बाहरु पनि बन्न थालेछन् नेपालमा। पछिल्लो पटक स्वदेश यात्रामा काठमाडौँ उपत्यकाका सेरोफेरोमा प्रशस्तै गुम्बाहरु पनि बनेको देखियो।

केही समयअगाडि हङकङ विश्व विद्यालय पोक फु लाममा बुद्ध दर्शनबारे विद्यावारिधि गर्न आएका म्यानमार र बंगलादेशका दुई युवा विद्यार्थीहरुसँग भलाकुसारी गर्ने संयोग जुर्यो मेरो।

बुद्ध धर्म नभई विचार, दर्शन हो भनेर मान्ने उनीहरूले काठमाडौं र लुम्बिनी भ्रमण गरिसकेका रहेछन्। यी बौद्धिक युवाहरूले बुद्ध नेपालमा जन्मेका हुन् भनेर मात्र नभई नेपालले अरु धेरै गर्नुपर्ने सुझाए।

अझ चन्द्रगिरिबाट चारैतिर हेर्दै उनीहरूलाई लागेछ काठमाडौं उपत्यकाका पर्वतीय श्रृङखलाहरुमध्ये कुनै एकमा मात्रै भए पनि हङकङको जत्रै बिग बुद्धको सालिक, अनि बुद्ध दर्शन पढिने विश्वविद्यालय, संग्रहालय र ध्यान केन्द्र बनेको भए हुन्थ्यो।

मसँग उनीहरुले भने, ‘अझ त्यही बुद्ध जन्मेको भुमिमा विद्यावारिधि गर्न पाएको भए!’

त्यस्तो कुरामा सोच्ने कसले? सोच्ने र नीति निर्माण तहमा पुगेकाहरुलाई समेत नरेन्द्र मोदीले हाम्रो संसदमा आएर ‘भगवान बुद्ध इसी पवित्र भूमि मे पैदा हुए थे’ भनिदिए पुग्छ। यसबारे धेरै बहकिँदा लेख तन्किन सक्छ, बरु विषयवस्तुतर्फ लागौँ।

करिब ९० को दशकदेखि ठूलै संख्यामा हङकङ बसाइँ सरी आएका नेपालीहरुमध्ये बौद्धमार्गीहरु पनि छन्।

यहाँका स्थानीय र संसारभरकै बौद्धमार्गीहरुका लागि लान्ताउ द्वीपको बिग बुद्ध ठूलो तीर्थ हो। यो टापुको सेरोफेरोमा अरु प्रशस्तै ऐतिहासिक गुम्बा र ध्यानकेन्द्र छन्। त्यसबाहेक सातिनको दस हजार बुद्ध, वाङ ताइ सिन र डाइमन्ड हिलमा पनि बुद्ध पूर्णिमादेखि अन्य चाडपर्वमा बाक्लो भीड लाग्छ।

ताइ पोमा सन् २०१५ मा निर्माण सम्पन्न भएको ७६ मिटर अग्लो सेतो कुन्याम बुद्धको सालिक पनि बुद्ध धर्म वा दर्शन मान्नेहरुको नयाँ तीर्थ बनेको छ आजकल। यहाँको चर्चित पदयात्रा मार्ग पात सेङ लेङ अर्थात् आठ थुम्के पहाडमुनि पर्ने यो मूर्ति र पाँच लाख वर्ग फिटमा फैलिएको योजनाको लागि हङकङका सबैभन्दा धनाढ्य ली का सिङको निजी फाउन्डेसनले ३.१ अर्ब हङकङ डलर खर्चेको थियोे। यी बाहेक हङकङ सहर, टापूहरु र गाउँका हरेक कुना कुनामा अनगिन्ती बुद्धका सालिक र गुम्बाहरु छन्। जहाँ जो कोही पनि निर्वाध आउनजान, पूजा–प्रार्थना वा ध्यान गर्न सक्छन्।

यति धेरै बु्द्ध तीर्थाटन भएको हङकङमा पछिल्लो दुई दशकमा करिब आधा दर्जन नेपाली गुम्बाहरु स्थापित भए।

ती मध्येका जोर्डन सांघाई स्ट्रिटको पहिलो तलामा रहेको नमोबुद्ध धर्म सेन्टर हङकङका आमा समूहको अगुवाइमा सन् २००४ मा स्थापना भएको थियो। उतिबेला सामूहिक आर्थिक योगदान र बैंकको ऋण समेत थपेर किनिएको यो गुम्बा भएको फ्ल्याट हङकङका नेपालीहरुको स्वामित्वको पहिलो सामूहिक घर पनि हो। आमा समूहकै स्वामित्व रहेको जोर्डन फेरी स्ट्रिटको अर्को एउटा एपार्टमेन्ट पनि किनेर भाडामा दिइएको छ।

यसैगरी युनलुङमा अर्को उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टर पनि सम्पत्तिको सामूहिक नेपाली स्वामित्व सहितको नेपालीहरुको दोस्रो गुम्बा हो।

यी दुई र नेपालीहरुद्वारा सञ्चालित अन्य हङकङका गुम्बाहरुमा जन्म, विवाहदेखि मृत्युसम्मका पूजाआजा कार्य र उत्सवहरुमा बाक्लै चहलपहल हुन्छ। कतिपयमा स्थानीय चिनियाँ बौद्धमार्गीहरु पनि आउँछन्।

देशमा गणतन्त्र, धर्म निरपेक्षता र पहिचानको अभियानसँगै नेपालमा इसाइ धर्ममा लाग्नेहरु पनि बढेका छन्। कतिपयले पश्चिमाहरुले निकै मिहिनेत गरेर जबरजस्ती डलर प्रलोभन र फाइदा देखाएर धर्म परिवर्तन गराएको आरोप पनि लगाउँछन्। होली वाइनको ठूलो चर्चा भएको देशका हामी। तर हिन्दु धर्ममा मान्छेले मान्छेलाई ठूलो र सानो छुट्याउने जातीय विभेद र पूजारीदेखि मन्दिरको प्रवेशको लागि समेत खास जातको हुनुपर्ने व्यवस्थाले गर्दा पनि मानिसहरू इसाइ धर्मप्रति आकर्षित हुनु स्वाभाविक मान्छन् धार्मिक विश्लेषकहरु। हङकङमै पनि नेपाली भाषामा नेपाली पास्टरद्वारा प्रार्थना गराइने करिब १६ वटा नेपाली चर्चहरु रहेको बताउँछन् पास्टर राजु बराइली। जीवन यापनको गार्होसाँघुरो र अन्य सद्भाव सहयोगले गर्दा पनि शरणार्थी भिसामा हङकङ पसेका वा पसाइएका नेपालीहरु मध्येको एउटा हिस्सा यो धर्ममा निकै आकर्षित भएको पाइन्छ। हङकङका विभिन्न गैरसरकारी संस्थाद्वारा सञ्चालित लागूऔषध सुधार केन्द्रमा रहेका नेपाली युवाहरु पनि अधिकांश इसाइ धर्मका अनुयायी पाएँ मैले।

भारतीयहरुको वयवस्थापनमा नाथन रोड बर्लिङ्टन हाउसको शिरडी साइ मन्दिर निकै पुरानो हो। जहाँ हरेक मङ्गलबार बेलुकी स्थानीय चिनियाँहरु समेत तबला, हार्मोनियमसँगै गायत्री मन्त्र पढछन्। हाम्रो देशमा भने यो मन्त्र व्रतबन्ध गरेका ब्राम्हणहरु बाहेक अरुलाई सुन्न दिइन्न, सुनाइन्न। अझ चिम सा चुइकै मिन्डन एभेन्युमा एकजना धनाढ्य भारतीय स्वयंले करिब डेढ करोड हङकङ डलर खर्चेर शिरडी मन्दिर स्थापना गरेका छन्। नेपाली साइ भक्तहरुद्वारा चुन वानमा भाडामा अपार्टमेन्ट लिएर छुट्टै नेपाली साइ मन्दिर खोलिएको वर्षौं भइसक्यो।

किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ गुरुनिधि आश्रम र किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ पनि मासिक भाडाकै अपार्टमेन्टबाट सञ्चालित भइरहेको छ।

अर्का परमपुज्य गुरु हजुर गड एञ्जल भनिने भक्त राईका अनुयायी भक्तहरुको एउटा ठूलै समूह छ हङकङमा। जोर्डन फेरी स्ट्रिटको ५ तलाको घरमा यी गुरु हजुर हङकङ आउँदा प्रवचन, प्रार्थना र निकै चहलपहल हुन्छ। लभ्ली होम भनिने यो घर पनि उनका श्रद्धालु अनुयायी हङकङे नेपालीहरुले चन्दा संकलन गरेर किनेका हुन्।

मन्दिरको कुरा गर्दा सन् २००० को दशकमा एकजना नेपाली निर्माण व्यवसायीले निजी खर्चमा फानलिङमा मन्दिर स्थापनाको प्रयास गरे पनि केही प्राविधिक कारणले सफल हुन सकेन भन्ने सुनियो। मन्दिरमा स्थापना गर्न भनेर उनले त्यतिबेला नेपालदेखि ल्याएका मूर्तिहरु सायद उनले आफ्नै अफिस र घरमा राखेका छन् आजकल।

त्यसपछि सायद २००५ ताका अन्य एकदुई जना सामाजिक अभियन्ताले पनि हङकङमा मन्दिर स्थापनाको लागि आगो जोरजार गर्ने प्रयास गरेका थिए।

उनीहरुको मन्दिर सम्बन्धी कार्यक्रममा अन्य सम्भावित ठूला दाताहरु सहित मलाई पनि निम्त्याएका थिए। मैले उनीहरलाई भनेँ, ‘हङकङमा हिन्दु धर्ममा आस्था राख्नेहरुको लागि काउलुन, चिम सा चुइ, कार्नभन रोड र मुख्य हङकङ द्वीपको ह्याप्पी भ्यालीमा रहेका हिन्दु मन्दिरमा जान सकिन्छ। जहाँ शिव, पार्वती, गणेशदेखि कृष्ण, राम, सीता, हनुमान, ब्रम्हा, विष्णु सबै विराजमान छन्। अझ त्यहाँ हाम्रो देशमा जस्तो ढोकामा गैरहिन्दुलाई प्रवेश निषेध भनिनेदेखि मूर्ति बनाउने दलितहरुले मन्दिरबाहिरै उभिनु पर्दैन। स्थानीय चिनियाँ वा जो कोही पनि निर्वाद जानसक्छन्।’

अझ इस्कोन भनिने कृष्ण प्रणामीहरुको चिम सा चुइको चातम रोडमा रहेको मन्दिरमा टुपी पालेका चिनियाँ, गोराहरु र सारी ब्लाउज लगाएका चिनियाँ वा गोरीहरुसँगै जो कोही पनि झुर्मा वा ढोलक बजाएर हरेराम हरेकृष्ण गाउन सक्छन्।

‘उही देवता, उही पूजा, किन अर्को मन्दिर? बरु त्यो पैसाले अरु फरक परोपकारी काम गर्न सकिन्छ’, मैले सुझाएँ।

उनीहरुले भने, ‘हैन हामी नेपाली भएर भारतीयहरुको मन्दिरमा किन जानु भनेर। भाषासंस्कार पनि फरक छ।’

वास्तवमा उनीहरुलाई पनि मन्दिरभन्दा पनि बाहिर पट्टि सङ्गमर्मरमा लेखिने आफ्नो नामको आशा वा लोभ थियो सायद। यो कुरा पछि त्यत्तिकै सेलायो।

सन् २०१० मा याउ मा तेइ वाटर लु रोडको ४ तल्लामा गोमा शर्माको अगुवाइमा स्थापना भएको हिन्दु मन्दिर अझै छँदैछ। भारतीय मन्दिरहरुमा नेपालीहरुलाई राम्रो व्यवहार नभएको र आफ्नै रीतिरिवाज अनुसार पूजाआजा गर्न आफैँले मन्दिर खोलेको बताउँछिन् उनी। तर भारतीय मन्दिरमा अक्सर जाने अन्य दर्शनार्थी वा भक्तजनहरुबाट भने त्यस्तो गुनासो सुनेको छैन मैले। 

मासिक १३/१४ हजार हङकङ डलर भाडा तिरेर आफ्नो बासस्थान सहितको बैठक कोठामा रहेको यो मन्दिरमा चाडपर्वमा बाक्लै भिड लाग्छ। कोभिडअघि राम्रै चहलपहल भएको यो मन्दिरमा पटकपटक नेपालदेखि नै पण्डित बोलाएर मन्दिरदेखि भक्तजनहरुका घरदैलोसम्म विभिन्न पूजाआजा अनुष्ठान गरिन्थ्यो। अहिले भाडा तिर्न र मन्दिर जोगाउनै आफू बाहिर रोजगारीमा लागेको बताउँछिन् गोमा।

हङकङमा नेपाली हिन्दु मन्दिरको चर्चा गर्दा ब्रिटिस गोर्खाको इतिहास बिर्सनु हुँदैन। ९९.९ प्रतिशत जनजाति बाहुल्य ब्रिटिस गोर्खा हिन्दु थिए वा बनाइए भन्नेबारे धेरै बहस चल्छ आजकल। हरेक बटालियनमा ब्राम्हण पूजारीदेखि सुनार वा बाँडा राखिदिने र हिन्दु मन्दिर पनि बनाइने रहेछ। तत्कालीन भुक्तभोगी क्याप्टेन नामसिंह थापाका अनुसार हरेक बिहान मन्दिर जानु जरुरी मात्र थिएन, नगए सजायको भागिदार हुनपथ्र्यो। अहिले ईसाइ धर्मको प्रचारप्रसारको लागि करोडौँ खर्चिने बेलायत वा पश्चिमाहरुले किन ब्रिटिस गोर्खालाई यति धेरै धार्मिक छुट दिए? किन ईसाइ बनाएनन्? सायद सन्धिमा धर्म परिवर्तन गराउन वा गर्न नपाइने बुँदा भएर हुनुपर्छ। अझ ‘जिसस क्राइस्ट’ भनेर भन्दा ‘जय काली’ भन्दै खुकुरी उचाल्दा गोर्खालीलाई जोस आउने वा लडाइँमा प्रयोग गर्न सजिलो हुने ब्रिटिस शासकहरुले बुझेका हुनसक्छन् त्यो बेला।

हङकङका सबै ब्रिटिस गोर्खाका ब्यारेकहरुमा मन्दिर भए पनि कतिपय ब्यारेकहरु हाल चिनियाँ जनमुक्ति सेनाको प्रयोगमा रहेकोले मन्दिरहरु यथावत छन् छैनन थाहा भएन। यसैबीच क्विन्स हिल फान्लिङको पुरानो ब्रिटिसकालीन ब्यारेकको थुम्कोमा रहेको एउटा मन्दिरको भने निकै चर्चा भयो हङकङे नेपाली समाजमा।

९८ प्रतिशत जनजाति बाहुल्य हङकङमा त्यही समुदायकै महावाणिज्यदूत चाहिन्छ भनेर निकै लामो समय आन्दोलन भएको ठाउँ हो यो। महावाणिज्यदूत मात्रै नभएर वाणिज्यदूत र दूतावासका अन्य सबै कर्मचारी समेत जनजाति समुदायका मात्रै नभएर मधेशी मुलका समेत छन् अहिले। अझ हाम्रो देशको जाति प्रथाको सबैभन्दा बढी पीडित दलित समुदायबाट पनि अब हङकङमा कर्मचारी आउने भन्ने सुन्नमा आएको छ। 

यसलाई अभियन्ताहरुले हाम्रो आन्दोलनको उपलब्धि हो भने पनि पठाउनेहरुले आन्दोलनको माग सम्बोधन गर्न यसो गरिएको हो भनेका छैनन्। हङकङमा आएर भाषण गर्ने राजनेताहरुले हाम्रो सरकार आयो भने तपाईंहरुको माग सम्बोधन हुन्छ भन्नेहरुले समेत यसमा जस लिने वा हामीले गर्दा जनजाति समुदायको पठाइएको भन्ने दाबी गरेको पनि सुनिएन। जे होस् यति धेरै धार्मिक विविधता, पहिचान र अधिकारको लागि अग्रणी हङकङमा मन्दिरबारे यति धेरै चर्चा परिचर्चा भएपछि मलाई पनि जान मन लाग्यो र दुई पटक पुगेँ म क्विन्स हिल। तर धार्मिक कारणले भने हैन।

हङकङमा परेड खेलेका ब्रिटिस गोर्खा र यहीँ बसेका वा जन्मेहुर्केका सन्तानहरुको लागि ग्यालीपोली, बर्मा लाईन र क्विन्स हिल अझै मुखमा झुण्डिने नाम हो। मूलभूमि चीनको नजिकै पूर्वी हङकङको फानलिङ भन्ने ठाउँमा ब्रिटिसकालीन ब्यारेकमा चिनियाँ जनमुक्ति सेनाहरु बसे पनि एउटा क्षेत्रमा भने दर्जनौं गगनचुम्बी बसोबास भवन सहित अत्याधुनिक किनमेल केन्द्र निर्माण सम्पन्न भएको छ हालसालै। यही पुख्र्यौली माटोमाथिको आकाशमा करिब २०/२५ घर नेपालीहरु पनि बसोबास गर्छन्।

यिनैमध्येको एउटा चालीस तले भवनको सत्रौँ तल्लामा हालसालै सरेका पहिचानवादी अभियन्ता तथा सञ्चारकर्मी कृष्णराज लावती यही सेरोफेरोमा बिहानबेलुका घुम्दै पितापुर्खाको सम्झनामा हराउँछन्।

यी मेरा मित्र लावती कुनै समयमा मैले टाइप गर्न नजान्दा मेरा हस्तलिखित लेखहरु कम्प्युटरमा टाइप गरेर इमेल गर्न मद्दत गर्ने गर्थे मलाई।

केसीआरसी अर्थात् हङकङको सबैभन्दा पुरानो रेलमार्ग काउलुन क्यान्टोन रेल मार्ग हुँदै फानलिङ स्टेसनमा ओर्लिएर ७८ ए बस चढेर अर्का मित्र नेत्र पहराइसँग म क्विन्स हिल बस बिसौनीमा ओर्लंदा कृष्णराज लावती घरको आँगनमै हाम्रो पर्खाइमा रहेछन्।

मुट्ठी छुवाएर सेवारो आदानप्रदानपछि हामी उनको पछि लाग्यौं। ‘सानु सहर पो बनेछ यो ठाउँमा, अनि कता हो त मन्दिर?’ हिँड्दै मैले सोधेँ। ऊ यतापट्टि भन्दै घरको छेडोबाट हरियो थुम्को देखाए उनले। 

‘यहाँबाट बाटो खोलेको छैन, अझै अलि घुमेर जानुपर्छ,’ उनले भने।

पिचैपिच अलि अगाडि गएपछि दायाँ मोडिएर सार्वजनिक शौचालयपछाडि काँडेतारको बीचमा एक जना मात्रै छिर्न मिल्ने बार पार गर्दै सानो गोरेटो उकालो हिँडेर करिब ५ मिनेटमै मन्दिर पुगियो।

झलक्क हेर्दा युरोपेली शैलीको चर्चजस्तो देखिने भुइँतले यो घर सन् १९६० मा निर्माण भएको र पुरातात्त्विक महत्त्वको हिसाबले तेस्रो वर्गमा वर्गीकृत रहेछ। हङकङको पुरातत्व तथा स्मारिका विभागले एउटा सानो स्टेनलेस स्टिल जस्तो देखिने पातामा हिन्दु टेम्पल बर्मा लाईन शीर्षक सहित संक्षिप्त परिचयको सानो अभिलेख टाँसेको पाइयो।

जसमा ब्रिटिस गोर्खाले प्रयोग गरेको यो ब्यारेकको लागि बनाइएको मन्दिर ‘हिन्दु धर्ममा सुन्दरता र पवित्रताको प्रतीक कमलको फूल आकारको यो भवन उनै शिव भगवानप्रति समर्पित’ लेखिएको थियो। जुन सन् १९९६ देखि खाली रहेको बताइएको छ।

त्यो भन्दा पहिला यो घरभित्र रहेको मूर्ति र तस्बिरहरु ब्रिटिस गोर्खाहरुसँगै पण्डितहरुले लिएर गएको बताइन्छ।

यो शैलीको हिन्दु मन्दिर नेपाल, दक्षिण एसिया र पूर्वी एसिया कतै पाइन्न। अझ केही पुराना ब्रिटिस गोर्खाहरु यो भवनलाई मन्दिरको रुपमा प्रयोग गरिनु अगाडि चर्च भएको र त्यहाँ क्रस टासिंएको बताउँछन्। जे होस् मन्दिरभन्दा पनि ब्रिटिस गोर्खाकालीन पूजाघर बढी लाग्यो मलाई चाहिँ।

यसको अगाडि पट्टी तुलसीको मोठ र पगोडा शैलीको टिनले छाएको सानो सानो मन्दिर चाहिँ अलि पछि बनेको बताइन्छ।

यसरी पहिलो पटक संक्षिप्त अवलोकनपछि दोस्रो पटक भूपू ब्रिटिस गोर्खा क्याप्टेन नामसिंह थापासँग त्यहाँ जाने संयोग जुर्यो।

उनै कृष्णराज लावती अर्का मित्र लवकुमार गुरुङ र म क्याप्टेन थापाको पछि लाग्यौँ। पुग्नासाथै थापा ल है पौड्यालजी म चाँहि तीन पटक घुम्छु है भन्दै मन्दिर घरको फन्को मार्न थाले। लवकुमारजीले उनलाई पछ्याउँदै धुपबत्ती गरे मन्दिरमा।

क्याप्टेन थापाका अनुसार दशैंको टीकाजमरा राख्नदेखि अरु चाडहरुमा पनि पूजाआजा गरिने रहेछ यहाँ। अगाडि रहेको मौलोमा दशैँको नवमीको दिन पहिलापहिला पञ्चबलि दिइने र पछि पशु अधिकारको वकालत र पशु वधशाला निर्माणसँगै खुला काटमार गर्न नपाइने कानुन बनेपछि कुभिण्डोमा खुट्टा हालेर काटेको सम्झनामा हराए उनी।

आँगनको बीचमा सानो इँटाको घेराभित्र खुकुरी, भालादेखि राइफल र एन्टी एअरक्राफ्ट गनसम्म जम्मा गरेर दशैँमा पूजा गर्दा गोरा साहेबहरु रमाएको र प्रसाद थापेको उनले सबिस्तार सुनाउँदा हामी पनि अतीतमा हरायौं केहि बेर। मन्दिरबाट अर्को गोरेटो हुँदै फर्किँदा पद अनुसारका पुराना भुइँतल्ले सैनिक आवासघरहरु खण्डहरमा परिणत हुनै लागेको देखेर यसलाई बचाउन पाए भनेर अलि भावुक भए क्याप्टेन थापा।

भित्रै शौचालय, भान्सा र फायर प्लेस सहितका हाकिमहरु बस्नेदेखि सधारण सिपाही बस्ने घरका भित्ता मुसार्दै खुसी देखिन्थे उनी। अलि अप्ठ्यारो ओरालो गोरेटोपछि देखिने घोडाका तवेलाहरु अझै यथावत् छन्। जसमा पछि नेपाली अफिसरहरुले नै बंगुर पालन पनि गरेका रहेछन्। फेरि अर्कोपट्टिको तारको जालीबाट हामी बाहिर निस्कियौं।

हामी नजन्मिँदै सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालको तर्फबाट झण्डा उचाल्दै बक्सिङ खेलमा सहभागी क्याप्टेन नामसिंह थापाको ७६ वर्षे जोस र पुराना कुरा सुन्दा दिन गएको पत्तै भएन।

बाटाभरि पनि क्विन्स हिलको मन्दिर र सेरोफेरो आँखा अगाडि आइरह्यो। यहाँको यो गोर्खा मन्दिरको सेरोफेरो गोरखा स्मारक संग्रहालय बनाउने हो भने आउने नेपाली पुस्ताले इतिहास बुझ्न सक्छन्। हुन त हङकङभरि सन् साठीको दशक अझ अगाडि बनेका हजारौं हजार आवास भवनहरु छन्। यो भवन र ठाउँलाई पुरातत्व तथा स्मारिका विभागले यति महत्त्व दिनु यसको बनोट शैली र यसमा ब्रिटिस गोर्खाको इतिहास जोडिएकैले हो। यो मन्दिरको चर्चा हुनेबित्तिकै भारतीय हिन्दु एसोसिएसनले पुनर्निर्माणको खाका सहित स्वामित्व ग्रहणको लागि निवेदन समेत हालिसकेको थियो। तर, पुरातत्व विभागले भारतीय हिन्दु एसोसिएसनको यो मन्दिरसँग कुनै साइनो वा सरोकार नभएको भन्दै उनीहरुको अनुरोधलाई अस्वीकृत गरिदियो।

पोहोर साल अल्पायुमै निधन भएका पत्रकार किसन राइले एभरेस्ट मासिकको सेप्टेम्बर २०२१ अंकमा ‘नासिँदैछ गोर्खा इतिहास’ भनेर यसबारे कभर स्टोरी नै बनाएका थिए। केही नेपाली अगुवाहरूले जातीय, भाषिक र सांस्कृतिक विविधिता भएको हङकङेली नेपाली समाजलाई खबरदार हिन्दुकरण नगरियोस् भनेका छन्।

ब्रिटिस गोर्खा हिन्दु थिए वा पछि बनाइए भन्नेबारे तर्क गर्न सकिन्छ तर त्यो इतिहासको एउटा यथार्थ पाटो हो। मेरो बुझाइमा मन्दिर, मस्जिद, चर्च वा गुम्बा भन्दा पनि यो नेपालीहरुको पुख्र्यौली इतिहास जोडिएको स्थान हो। जसलाई हङकङ सरकारले आएर लैजाऊ र व्यवस्थापन गर भनेको छ। यति ठूलो संरचना पाउँदा पनि कतै हामीले यसको महत्त्व र उपयोगिता नबुझेको या बुझ पचाएको त हैन? मन्दिरसम्बन्धी हङकङका अगुवा संघसंस्थाहरुको पटकपटक छलफल बैठक बसेपनि अझै कुनै निचोड निस्किएको सुनिएको छैन्।

आम्दानीको हिसाबले संसारभरकै नेपालीहरुमध्ये सबैभन्दा अगाडि रहेका हङकङे नेपालीहरु यो ठाउँलाई पुनर्निर्माण गर्न समर्थ छन् जस्तो लाग्छ मलाई। करिब चारपाँच करोड हङकङ डलरको त धार्मिक र जातीय संघसंस्थाका सामूहिक घरहरु छन्। ली का सिङ, कोक ब्रदर्स, स्टेनली हो खानदानदेखि औँलामा गनिने हङकङका धनाढ्यहरु भूपू ब्रिटिस गोर्खा र उनीहरुका नयाँ पुस्ताको सुरक्षा कवचमै आफूलाई सुरक्षित महसुस गर्छन्। म नभनी हामी भनेर ब्रिटिस गोर्खाको नाम र गुरुयोजना सहित उनीहरुकोमा जाने हो भने कसैले पनि खाली हात फर्काउँदैनन्। आर्थिक लेनदेनमा विश्वसिलो अगुवा हुने हो भने वार्षिक मिलियन डलर हङकङ सरकारलाई कर बुझाउने सामथ्र्यवान नेपाली व्यवसायीहरु मनकारी हुन सक्छन्।

तर समस्या हामीबीच छ। हङकङका अल्पसंख्यक समुदायमध्ये हङकङ सरकार नेपाली समुदायप्रति निकै सकारात्मक भएको महसुस गरेको छु मैले पछिल्लो समय। तर को छ त नेपाली समुदायको प्रतिनिधि भनेर सोधियो भने त्यो हैन म मात्रै, मेरो संस्था मात्रै भनेर सबै उठछन् एकैपटक। यदि कसैले राम्रै काम गर्दैछ समाजको लागि तर त्यसमा मेरो नाम छैन भने विरोध, अवरोध गर्नु हाम्रो नानीदेखि लागेको बानी हङकङमा दुई दशक बिताउँदा पनि गएको छैन।

माथि ओशोले भेटेका वृद्ध डकर्मीले भनेजस्तै मन्दिर, भगवान, पूजाआराधना वा भक्तको कुरै होइन, मुख्य कुरा सबैभन्दा माथि सङ्गमरमरमा श्री श्री श्री पछि लेखिने आफ्नो नामको भोकको हो।

लेखलाई बिट मार्दैगर्दा हङकङलाई कर्मथलो बनाएका संखुवासभाली कथाकार दाजु गुरुङको टाँकीका फूलहरु भन्ने कथासंग्रहको पानामा हराएँ म केहीबेर। जसमा गुरुङ भन्छन्, ‘एउटा कुराले निकै मर्मान्त बनाउँछ मलाई, यहाँ त नेपालीहरु छैनन् खाली जातजातिहरु मात्र छन्। विश्वास लाग्दैन भने सोधिखोजी गरे हुन्छ, नेपाल र नेपालीको नाममा कोही छैनन्, आउँदैनन्।’

मन कुटुक्कै हुन्छ यथार्थ सुन्दा। किन हामी एकैठाउँमा उभिन नसकेको होला? नेपालका राजनीतिक पार्टीहरुले सिकाएको संकीर्ण संस्कारलाई तोडेर राजनीति र जातभन्दा माथि आउन नसकेका हामी।

हरेक कुरालाई जातीय, क्षेत्रीय र राजनीतिक अनुहारले फैसला गर्नुपर्ने। आफ्नोपन छैन, जहिले पनि पछाडि फर्कने सोच पालेर बस्ने। आपसमा लडिरहने सानो कँसौडीमा खिचडी पकाएर। हाम्रो एकता र छलफल त केवल बाँदर उफ्राइ मात्र हो।

अनि किन अरु समुदायले होच्याउँदैनन् त?

डर लाग्छ नेपालीहरु हराएको बस्ती भन्न, यस्तै भइरहेछ यहाँ। भोलिका सन्ततिहरुले यस्ता अगुवाबाट कस्तो पाठ सिक्ने होलान्?
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .