हङकङको फिल्ममा उचाइ लिएका नेपाली ‘हिरो’

हङकङको फिल्ममा उचाइ लिएका नेपाली ‘हिरो’

ह्यान्डरोल्ड सिग्रेट फिल्म बनेर पहिलो स्क्रिनिङ निश्चित भएपछि मात्र विपिन कर्माले यसबारे परिवारलाई बताएका थिए


कमल पौड्याल
बैशाख १, २०८१ शनिबार १४:३, हङकङ

हङकङका दर्जनौँ विशेषताहरूमध्ये संसारकै बढी आउटडोर निअन लाईट बल्ने साइनबोर्ड भएको सहर भनेर पनि चिनिन्थ्यो नब्बेको दशकसम्म। 

मूल सडकमा तेर्सिएका झलझलाकार बल्ने महङ्गा सुन, हीरा मोतीका गरगहना, ब्रान्डेड घडी, क्यारिओकी, साउना स्टिम, मसाज, नाइट क्लब, डान्सबार र रेस्टुरेन्टका ठुल्ठूला रंगीन साइन बोर्ड पछिल्लो समय क्रमशः हराउँदै जान लागेका छन। 

खासगरी समुद्री आँधी आउँदा र भवनहरू क्रमशः पुराना र कमजोर हुँदै जाँदा यसबाट हुनजाने मानवीय र आर्थिक भौतिक क्षतिको कारण सरकारले यसबारे नयाँ नीतिनियम ल्यायो। अझ कतिपय उद्यमीहरूले त व्यवसाय बन्द गरेर जाँदा पनि जताततै छाडेका लावारिस साइनबोर्ड हटाउनको लागि सरकारको ठूलो धनराशि खर्च हुनथाल्यो। 

सरकारको पछिल्लो नियममा भवन अनुगमन तथा अधिकार विभागबाट अनुमति लिनेदेखि मोटो रकम निक्षेप गर्नुपर्ने र तेस्रो पार्टी बिमा अनिवार्य छ। पछिल्लो समय पर्यावरणको बारेमा पनि जनसचेतता र डिजिटल वा अन्य सामाजिक सञ्जालकै विज्ञापन बढी लोकप्रिय हुँदा सायद अब नयाँ पुस्ताले यी सब कुरा इतिहासमा मात्रै पढ्नेछन्। 

अहिले बनेका नयाँ भवनहरूमा त यस्ता साइनबोर्डहरू बिल्कुलै राखिन्नन्, छैनन्। न्यून संख्यामा भएकाहरू पनि सडक पेटीभन्दा बाहिर ल्याइन्न्। पहिलाको तुलनामा अहिले हङकङका सडक–गल्लीहरू एकदमै खुला र साइनबोर्ड मुक्त देखिन्छन्। पर्यावरणीय हिसाबले पनि यो निकै राम्रो कुरा हो। 

सन् नब्बेको दशकतिर भने काउलुन नाथन रोडमा यस्ता अनगिन्ती साइनबोर्डहरूमध्ये केहीमा एउटा सुन्दर बालकले फर्मुला दूधको बट्टासहित ओठमाथि सेतो जुङ्गा जस्तो देखिनेगरी दूध पिएको विज्ञापन देखिन्थ्यो। स्थानीय वा पश्चिमाभन्दा फरक हुलिया देखिने यी बालक पछि बुझ्दा हङकङमा जन्मेका पाकिस्तानी मूलका बाबा र सांघानिज मूलकी आमाका छोरा रहेछन्। 

हङकङका निकै धनाढ्य यी पाकिस्तानी व्यवसायीको परिवार अक्सर रेस्टुरेन्टमा आउँदा भारतीय र पाकिस्तानी मूलका सहकर्मीहरू ‘आपको पता है कमलजी! इनका बेटाका तस्बिर एक दूधकी विज्ञापन मे छाया हुवा है पूरा नाथन रोड मे’ भन्दै सुनाउँथे गर्वसाथ। 

खासमा यहाँका गैरस्थानीय मूलकाहरूले यो क्षेत्रमा न्यून अवसर पाउँथे र पाउँछन् अझै भन्ने कुरा पुराना लेखहरूमा पनि चर्चा गरिसकेको छु। 

त्यही समयको सेरोफेरोमा हङकङमै जन्मे हुर्केका धाराप्रबाह स्थानीय भाषा बोल्ने अर्का एकजना पञ्जाबी मूलका युवकको तस्बिर मिनीबस र बसभरि देखिन्थ्यो (सायद अलिबाबा डटकमको विज्ञापन थियो)। त्यो देख्दा ‘ओ देखो जी! हमारे पाजी भी छा गया हङकङ मे’ भन्दै मक्ख पर्थे पञ्जाबी मूलका हङकङेहरू।

कुनै समय हङकङको टीबीभी पर्लमा स्ट्रेट टक भनिने कार्यक्रम चलाउने भारतीय मूलका माइकल चुङ्गानीको बारेमा मैले पुराना लेखहरूमा चर्चा गरेको छु। यही टेलिभिजनमा छोटो समय समाचार रिपोर्टिङमा अक्सर देखिने भारतीय मूलका धनाढ्य हरिलेला परिवारकी एउटी छोरी आजकल देखिन्नन्। 

मलाई थाहा भए अनुसार हालसालै हङकङका चर्चित अभिनेता तथा क्यान्टो पप स्टार एन्डी लाउले निर्माण गरेको एउटा स्थानीय चलचित्रमा नेपाली मूलका ताहिर खानले सानो भूमिका निभाएका छन् र अन्य केहीमा अनुबन्धित पनि भएका छन्। 

आरटीएचके अर्थात् रेडियो टेलभिजन हङकङले निर्माण गर्ने केही टेलिभिजन ड्रामाहरू र अन्य चलचित्रहरूमा कथाले माग्दा मात्र दक्षिण एसियालीहरूले सानोतिनो भूमिका पाउँछन्। हङकङका यिनै कुरा लेख्दै गर्दा म स्वदेशकै केही पुराना कुरामा समेत गम खान पुगेँ केहीबेर।

२०४०/४१ ताकको कुरा हो, वर्षमा जम्माजम्मी एकदुईवटा मात्र नेपाली भाषाका सिनेमा हेर्न पाइन्थ्यो। नेपाल टेलिभिजन भर्खरै स्थापना भएको थियो। 

जीवनरेखा भनिने चलचित्र निकै चर्चित थियो त्यो बेला। सहपाठी साथीहरू किरण दवाडी, निराजन खड्का र म न्युरोडको रञ्जना सिनेमा हलबाट यही चलचित्र हेरेर फर्किंदै थियौं। रवि भवनको उकालोमा एकजना उचाइ र गोराक पनि भएका चिरपरिचित रैथाने सिनियर दाइसँग भेट भयो। 

‘ए केटा हो, कहाँ गएर फर्किंदै छौ हल बाँधेर?’ उनले सोधे।

‘जीवनरेखा सिनेमा हेरेर आएको दाइ!’ हामीले जवाफ दियौँ।

‘ए, त्यसमा मैले पनि खेलेको छु देख्यौ होला नि?’ उनले प्रश्न गरे। हामी मुखामुख गर्‍यौँ। किनभने हामीलाई याद थिएन र सिनेमाको पात्रको रुपमा चिनेनौँ पनि हामीले उनलाई।

उनले कुरो बुझिहाले र भने, ‘क्या त कीर्तिपुरको टीयूको क्लास रुमको सिनमा शिव श्रेष्ठसँग म अनि अरु?’ फेरि सिनेमा हेर्नुभन्दै उनी बाटो लागे।

त्यो बेला घरीघरी सिनेमा हेर्न समय भए पनि खर्च हुँदैनथ्यो। पछि त्यो सिनेमा हेर्ने अरुहरूसँग बुझ्दा त्रिविको कक्षाकोठामा मुख्य अभिनेता शिव श्रेष्ठको प्राध्यापकसँग प्रश्नोत्तर हुँदै गर्दा विद्यार्थी दिर्घामा अन्य सहपाठीहरूसँगै हल्लाखल्लाबीच ती दाइ पनि ताली बजाउने भूमिकामा रहेछन्। 

त्यही समयको सेरोफेरोमा अर्को सायद ‘बदलिँदो आकाश’ भन्ने सिनेमा आएको थियो। त्यतिबेला सोल्टी होटलका एकजना सिनियर सहकर्मीले पनि खेलेका छन्। नीर शाहलाई चिनेको भएर चान्स दिएका रे भन्ने गाँइगुइ चल्यो। उनी अलि स्टाइलिस हुनुको साथै होटलको वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रममा सक्रिय हुनेदेखि क्रिस्मसमा लगभग सधैँ होटल व्यवस्थापन तर्फबाट क्रिस्मस फादरको भूमिकामा छानिन्थे। 

अझै सम्झना छ, त्यो सिनेमामा जेलमै काजकिरिया गरेर बसेका नीर शाहसँग कैदी बन्दीको भूमिकामा देखिएका उनी र अन्य केहीलाई चिनेकाहरूले मात्र चिन्न पनि मुस्किल थियो। 

सन् १९८० को दशकमै सोल्टी होटलकै मुख्य लबीको बायाँपट्टि उतिबेला बल रुम भनिने सभाहलमा एकदिन भुवन केसीको एउटा चलचित्रको गीतको सुटिङ रहेछ। खचाखच दर्शक चाहिएको भन्ने हल्ला फैलियो। हामी पनि ड्युटी सकिएपछि कतै देखिन्छ कि भनी हतारहतार पाएसम्म कपाल वा उतिबेलाको भाषामा भन्दा जुल्फी कोरेर कपडा मिलाएर अगाडि बसेर छाती फुलायौँ। 

चारपाँच पटकमा उनको टेक ओके नहुन्जेल हामी हात दुख्नेगरी ताली बजाउँदै रह्यौँ। 

पछि सिनेमा हेर्दा गितार बजाएर गीत गाउँदै गरेका भुवन केसी बाहेक हामी दर्शकहरूको ठूलो तालीको आवाज मात्रै थियो। अनुहार भने सामूहिक झल्याकझुलुक तर नचिनिने मात्र देखियो।

भन्न खोजिएको टेलिभिजन सिनेमा वा अन्य सञ्चारमाध्यममा देखिन मात्र पनि पाए हुन्थ्यो भन्ने अक्सर धेरैको चाहना हुन्छ। माथि उल्लेख गरिएझैँ सानोतिनो भूमिकामा पनि मानिसहरू मक्ख हुनु मानवीय स्वभाव हो। नेता, अभिनेता, गायक, कलाकार वा धनाढ्य चर्चित व्यक्तित्वहरूसँगको आ–आफ्ना पुराना वा नयाँ तस्बिरहरू सामाजिक सञ्जालमा राखिने चलन झनै बढोत्तरी हुँदै छ। 

अब प्रसंग फेरि हङकङकै। जहाँ समयसमयमा स्वदेशका थुप्रै चलचित्रहरूको प्रिमियर वा विशेष शोहरूमा हङकङे नेपालीहरूको उल्लेख्य उपस्थिति देखिन्छ। गतवर्ष पनि चर्चामा रहेका नेपाली सिनेमाहरू ‘जारी’ र ‘दुई नम्बरी’ क्रमशः अभिनेता दयाहाङ राई र निर्देशक दीपेन्द्र लामासँगै बसेर हेरे यहाँका चलचित्रप्रेमीहरूले। 

भारतीय सिनेमाहरूको समेत हङकङमा विशेष शो हुँदा पनि नेपाली दर्शक उल्लेख्य देखिन्छन्। सायद भाषाको कारणले होला स्थानीय क्यान्टोनिज भाषाको सिनेमामा भने नेपाली वा अन्य दक्षिण एसियाली मूलकाहरू पटक्कै देखिन्नन्। 

तर जुन २०२१ मा भने एउटा स्थानीय चलचित्रको बारेमा हङकङे नेपालीहरूबीच निकै चर्चा चल्यो। अंग्रेजी उपशीर्षक सहित स्थानीय क्यन्टोनिज भाषाको ‘ह्यान्ड रोल सिग्रेट’ अर्थात् ठेट नेपालीमा भन्दा ‘हातले बेरिएको चुरोट’ मा विपिन कर्मा भन्ने नेपाली युवकले पनि मुख्य भूमिका निभाएका छन् भन्ने सुनियो। साथै सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो लाग्यो। 

अभिनेता र उनका परिवारलाई बधाई र हौसला दिन हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर, वाणिज्यदूत किरणकुमार गुरुङ लगायत विभिन्न संघसंस्थाका अगुवाहरू र अन्य नेपाली समुदायको समेत बाक्लो उपस्थितिमा सिनेमा हेर्ने लाईनमा पछाडि म पनि थिएँ त्यो दिन। स्थानीय भाषामा बनेको चलचित्रमा त्यतिधेरै गैरस्थानीयहरूको पहिलो उपस्थितिले सिनेनिर्माताहरू पनि दङ्ग देखिन्थे। 

हङकङकै चलचित्र लेखक तथ निर्देशक चान किन लङद्वारा करिब ३२.५ लाख हङकङ डलरको लागतमा बनेको यो सिनेमाले बक्स अफिसमा ७३.४ लाख हङकङ डलर कमाइ गरेको थियो। 

नोभेम्बर २०२० मा सत्रौँ हङकङ एसियन फिल्म फेस्टिबलमा प्रदर्शित यो चलचित्र ५७औँ ‘हङकङ गोल्डेन हर्स फिल्म फेस्टिबल’ मा बेस्ट फिचर फिल्मसहित नौ विधामा जुरी मनोनयनमा समेत परेको थियो। 

सिनेमाबारे छोटो चर्चा गर्दा कथावस्तुले १ घण्टा १० मिनेटमा अब के हुन्छ, अब के हुन्छ भन्दै सकिएको पत्तै हुँदैन। दर्शकहरूलाई पूरै कथामा बाधेर राख्न सफल भएको देखिन्छ यो चलचित्र। 

ब्रिटिसकालीन हङकङको सन् १९९० ताक स्थानीय ब्रिटिस चिनियाँ सैनिकहरूमध्ये केहीलाई सँगै बेलायत लिएर जाने र केहीलाई अवकाश दिई हङकङमै छाड्ने निर्णयमा परेका केही सैनिकहरूको मूलभूमि र हङकङबीचको सीमारेखा कार्यक्षेत्रको डाँडोको सेरोफेरोबाट कथा सुरु हुन्छ। 

सैनिक जीवनको थोरै कमाइ र थोरै पेन्सन। ऋण लागेपछि धेरै कमाउने र रातारात धनी बन्ने महत्वाकांक्षी चाहना राख्दै अन्डरवर्ल्ड आपराधिक समूहमा छिरेका यो सिनेमाका मुख्य पात्र क्वान चिउको भूमिकामा हङकङका चर्चित अभिनेता गोर्डन ल्याम छन्। समानान्तर अर्को मुख्य पात्रमा विपिन कर्मा (म्यानीको भूमिकामा) स्थानीय चर्चित सेलेब्रिटी मिसेल निङ, बिन युन, अर्का पञ्जाबी मूलका बिट्टु सिंह (कपिलको भूमिकामा) र एकजना भारतीय बाल कलाकार अनिश (मंसुको भूमिकामा) छन्। अन्य खलनायकीय भूमिकामा हङकङका स्थानीय चर्चित र केही नयाँ कलाकारहरू देखिन्छन्। 

सन् नब्बेको दशकको आपराधिक अन्डरवर्ल्डको सेरोफेरोमा छिटो धन कमाउने लोभमा लागुऔषध, एकअर्कामा घातप्रतिघात र परिबन्दको भुमरीमा कथावस्तु फनफनी घुमेको छ। 

अहिलेको डिजिटल अपराधको चर्चा सुनेका, देखेका पुस्ताको लागि हङकङको चर्चित पुरानो ऐतिहासिक आवासीय भवन चुङकिङ मेन्सन जोर्डनको निकै पुराना आवास भवनहरू, नाइट मार्केट लगायत ९० को दशकको परिवेशमा देखाउन खोजेको सिनेकथा अहिले पनि नेट्फ्लिक्समा हेर्न सकिन्छ। 

यो सिनेमाका मुख्य अभिनेतासँगै स्क्रिन सेयर गरेका विपिन कर्मा सायद क्यान्टोनिज भाषाको चलचित्रमा यसरी अभिनयको उचाइ लिने नेपाली मात्रै नभएर दक्षिण एसियाकै गैरस्थानिय अभिनेता हुन्। 

कतिपय सिनेमा समीक्षकहरूले जापानी वा कोरियाली क्राइम ड्रामामा जस्तै हङकङको सन् ९० को झल्को दिने यो सिनेमाले कसरी दक्षिण एसियालीहरूलाई लोभलालच, डर देखाएर आपराधिक समूहमा सामेल गराएर फाइदा लिइन्थ्यो भन्ने यथार्थको प्रस्तुति मानेका छन्।

धन देख्दा महादेवका तीन नेत्र वा लोभले लाभ, लाभले विलाप भनेझैँ पात्रहरू एकपछि अर्को चक्रव्युहमा फस्दै गरेको र नराम्रो कामको नराम्रै परिणामदेखि स्थानीय भाषामा ‘यी हे’ अर्थात् ब्रदरहुडको महत्त्वको सन्देश सिनेमाले छाडेको छ। हुन त धुम्रपान स्वास्थ्यको लागि हानिकारक भए पनि यसरी थुकै लगाएर हातले बेरिएको चुरोट एकआपसमा बनाएर धुम्रपान गर्दा आत्मियता, अपनत्व र विश्वास अझै कसिने भनाइलाई सार्थक गर्न खोजेको छ कथावस्तुले। 

जे होस् विपिन कर्माले आफ्नो भूमिकामा अब्बल प्रस्तुति र जीवन्त अभिनय पस्केका छन् यो चलचित्रमा। नेपाली मूलको भए पनि चलचित्रमा स्थानीय क्यान्टोनिज भाषामा उनको संवाद उच्चारण र दक्षता हेर्ने जो कोही पनि अचम्भित हुन्छन्। 

कुनै समय स्वदेश र विदेशमा चलचित्रमा मुख्य अभिनेता वा ठेट चलनचल्तीको भाषामा भन्दा हिरो बन्नको लागि गोराक उचाइ, सेतो छाला हुनु अनिवार्यजस्तै मानिन्थ्यो। तर पछिल्लो समय यो धारणा विस्थापित भएको छ।

ह्यान्डरोल्ड सिग्रेटमा गोराक र अभिनयले समेत नेपाली र स्थानीयहरूलाई समेत प्रभाव पार्न सफल विपिनलाई मैले कहाँबाट आयो त यो लुकेको अभिनय क्षमता, पढेर वा परेर भनी प्रश्न गरेँ। 

ह्यान्डरोल्ड सिग्रेटमा विपिन कर्मा

गम्भीर स्वभावका विपिन अलि भावुक हुँदै बोले, ‘सायद मेरो जीवन जिउने परिवेश, अनुभव वा मभित्र लुकेको प्रतिभाका कारण।’

सन् १९९६ मा हङकङमा जन्मेका विपिनको पारिवारिक पृष्ठभूमि वा जीवनको गोरेटो सन् ९० को दशकमा जन्मदर्ताको आधारमा हङकङ स्थानान्तरण भएका अन्य हङकङे नेपालीहरूको जस्तै थियो। 

भर्खर हङकङमा जम्न थालेका सबै नेपालीहरूको मुख्य धेय अर्थोपार्जन नै हुन्थ्यो। अहिले जस्तो घरेलुु कामदार राखेर बालबच्चा हुर्काउने र पढाउनेहरू न्यून संख्यामा थिए। हङकङको नेपाली पारिवारिक वातावरणमा स्थानीय क्यान्टोनिज भाषा समेत परीक्षामा पास गर्न, गराउन निकै मुस्किल हुने भएकोले पढाइको लागि स्वदेश नै रोज्थे धेरैले। छोराछोरीले कम्तीमा सामान्य भए पनि नेपाली भाषा लेख्नपढ्न चाहिँ सकून् भन्ने धेरैको चाहना पनि हुन्थ्यो। 

विपिन पनि जन्मेको एक वर्षमा नेपालको पर्यटकीय नगरी पोखरामा बोजु र पछि आमाको रेखदेख र मायाममतामा हुर्किए।

उनी बोजुसँग यति नजिक थिए कि आमालाई देखाएर बोजुलाई सोध्थे रे, ‘हैन हाम्रो घरमा यो को अन्टी हो?’

अक्सफोर्ड प्राइमरी स्कुल पोखरा अध्ययन गर्दैगर्दा हजुरआमाको असामयिक निधनले उनको बालमस्तिष्कमा गहिरो चोट लाग्यो। आठ वर्षको उमेरमा उनी पुनः हङकङ आएर उमाँह इन्टरनेसनल स्कुल हङकङमा पी थ्रीदेखि सिक्ससम्म अध्ययन सकेर डेल्या मेमोरियल स्कुल हिप उमा सेकेन्डरी वनमा भर्ना भए। 

नेपालको बाल्यकालपछिको हङकङ स्थानान्तरणमा घुलमिल हुन समय लाग्यो र त्यति सहज भएन उनलाई।

विपिन सम्झन्छन्, ‘अहिले जत्तिकै चुस्त दुरुस्त यातायात थिएन त्यो बेला।’ 

युनलुङको बासस्थानबाट स्कुल जान आउन २/३ घण्टाको समय लाग्थ्यो दिनदिनै। स्मार्ट फोन आइसकेको थिएन। कहिले बाटाभरि किताब पढ्थे, कहिले आर्ट गर्थे। वरिपरिका भीडलाई नियाल्थे। आफूलाई बिल्कुलै फरक र एक्लो पाउँथे। खासमा ‘एक्लै भए जस्तो लाग्छ ठूलो सहर माझ’ भन्ने नेपाली गीत जस्तै अनुभूति गर्थे विपिन।

‘सायद यही परिवेशले ममा कलाकारिता वा अभिनयको बिजारोपण भयो,’ उनी थप्छन्।

उनी कलेजमा टपटेन नन एकेडेमिक ग्रेडभित्र थिए। खेलकुदमा सानैदेखि औधी रुचि राख्ने उनी कलेजको जिम्न्यास्टिक क्याप्टेनदेखि सानो उमेरमै तेक्वान्दोको ब्ल्याकबेल्ट डान २ बनिसकेका थिए। हङकङको सेन्ट फ्रान्सिस क्याथोलिक युनिभर्सिटीबाट डिजिटल इन्टरटेनमेन्टमा ब्याचलर गरे उनले। त्यसपछि सिटी युनिभर्सिटी हङकङमा क्रिएटिभ मिडियामा अर्को एसोसियट डिग्री लिँदै गर्दा उनले फुर्सदमा विभिन्न सभा समारोहका सशुल्क फोटो र भिडिओग्राफी समेत सुरु गरेका थिए। 

नेपाली एक्सन सिनेनायक निखिल उप्रेतीबाट प्रभावित विपिन फ्री रनिङ पार्करका अब्बल खेलाडी र अहिले प्रशिक्षक समेत हुन्। 

फ्रान्स वा युरोपबाट सुरुभएको मानिने यो साहसिक एक्सन खेलमा खेलाडीले खाली हात वा कुनै उपकरणबिनै एकबाट अर्को पर्खाल, बार वा उचाइ नाघ्दै वा एकदमै छिटो पर्खाल ओर्लिने, उक्लिने समेत गर्छन्। सामाजिक सञ्जालमा उनको यो स्टन्ट कला देखेर एउटा मोडलिङ कम्पनीले उनलाई कास्ट गर्‍यो। 

हङकङ फाइन ज्वेलरी कम्पनीको रिपल्सवे र स्टेन्लीमा सुटिङ गरिएको ‘रोमागो’ स्विस घडीको विज्ञापनमा उनको यो एक्सन हेर्ने कतिपय हङकङे भारतीय घडी कारोबारीहरूले उनलाई ‘नेपाली टाइगर श्राफ’ उपनाम समेत दिएका छन्।

पन्ध्र वर्षको उमेरमै उनले ‘द वे वी डान्स’ भन्ने फिचर फिल्ममा समेत अभिनय गर्ने मौका पाए। जुन हङकङको ब्रेक डान्स कथामा आधारित पहिलो फिल्म थियो। 

सत्र वर्षको उमेरमै ‘डोन्ट जस्ट ड्रिम टु’ अनि क्रमशः ‘मेल्टिङ पट’ (लेखन निर्देशन), हङकङ आर्ट्स सेन्टर सँगको सहकार्यमा हजुरआमा र नातिको कथामा आधारित ‘बोजु’ निर्माण गरे उनले। जुन हङकङको ‘अल अबाउट अस’ फिल्म फेस्टिबल २०२३ को ओपनिङ सर्ट सिनेमा थियो। 

सन् २०१८ मै ‘द बेन्च’ नामक अर्को मुभीको स्क्रिप्ट लेखन र आफ्नो क्यामरा तयार पारे उनले। हङकङकै लिङ्गान युनिभर्सिटीसँगको सहकार्यमा निर्मित यो चलचित्रमा उपयुक्त अभिनेता नपाएपछि विपिन आफैँले मुख्य भूमिका खेले। जसको अभिनयको कारण उनी ह्यान्डरोल्ड सिग्रेट निर्माताहरूको नजरमा परे।

सिनेकथामा पूर्वब्रिटिस चिनियाँ सैनिकको पृष्ठभूमि भएकोले निर्देशकले ब्रिटिस नेपाली सैनिक परिवारकै कलाकारलाई खेलाउने सोचाइ राखेका रहेछन्। त्यसो हुँदा सिनेमामा अंग्रेजी सबटाइटल सहित केही नेपाली संवाद समेत सुन्न पाइन्थ्यो। तर विपिनबाहेक अरु उपयुक्त नेपाली पात्र नपाएपछि निर्माणकर्ताहरूले यी पात्रहरूलाई दक्षिण एसियाली मूलका हिन्दीभाषी भनेर कास्ट गरे। 

हङकङका कलाकार गोर्डन लामसँग विपिन कर्मा

यद्यपि केही दक्षिण एसियाली युवाहरू हामी नेपाली संवाद पनि पढ्न–बोल्न सक्छौँ भन्दै पुगेका रहेछन्। दक्षिण एसिया बुझेका निर्देशक चानलाई राम्ररी थाहा रहेछ, बरु नेपालीहरूले हिन्दी बोल्न, लेख्न र बुझ्न सक्छन्, अरु दक्षिणी एसियालीहरूले नेपाली संवाद गर्न, लेख्न र बुझ्न सक्तैनन्।

हिन्दीभाषी बनाएर कास्ट गर्न विपीन एकदमै उपयुक्त पात्र लागेछ निर्देशकलाई। विपिनलाई स्क्रिप्ट दिइयो भारतीय ग्याङस्टर बन्नुपर्ने, लागुऔषध, दुई नम्बरी काम, नकारात्मक भूमिका भएको।

उनले निर्देशक चानलाई प्रश्न गरेछन्– ‘ह्वाइ यु चुज मी?’

निर्देशकले चानले भनेछन्, ‘धेरै गैरचिनियाँ अर्थात् विदेशीहरूलाई कास्ट गरेँ। अब तिमीलाई चाहिँ मेरो अन्तरमनले भन्यो बस्।’

विपीनको कुम समाउँदै उनले थपेछन्, ‘तिमीजति यो पात्रमा अरु कोही फिट हुन सक्दैन।’

यद्यपि, यही सिनेमामा माथि उल्लिखित अर्का पात्र बिट्टुसिंह विपिनभन्दा सिनियर र करिब २० वर्षदेखि हङकङमा यही क्षेत्रमा काम गरिरहेका अनुभवी पनि हुन्। 

करिब एक महिनाको रिहर्सल र तीन महिनाको सुटिङ सकिएपछि निर्देशक चानले विपिनसँग भनेछन्, ‘अल एक्टर्स कम टु दिस इन्ड्रस्टी टु बी फेमस अर फर मनी। बट, विपिन यु आर द वन एन्ड वन्ली भेरी डिफरेन्ट द्यान अदर्स, अमेजिङ गाइ।’ 

सिनेमाको प्रिमियर शोमा हङकङे पत्रकारहरूबाट घेरिएपछि उनले म सपोर्टिङ रोलमा भन्दै गर्दा उनै निर्देशकले ‘नो नो यु अल्सो इन मेन लिडिङ रोल बिपीन’ भने। त्यसपति मात्र उनले आफ्नो भूमिका त्यति महत्त्वपूर्ण भएको थाहा पाएका रहेछन्। 

वास्तवमा कोभिडको कहरबीच हङकङमा बनेको यो एक मात्र चलचित्र थियो। 

यो सिनेमा पछि सन् २०२२ मा विपीनले एउटा अर्को हङकङको ‘लुक अप’ भन्ने स्थानीय सिनेमामा नेपाली युवा भएर खेलेका छन्। जसमा हङकङका स्थानीय युवाहरूको सांस्कृतिक ड्रागन नाचको कथावस्तुमा लायन डान्सर बन्ने प्रयासमा रहेको एउटा नेपाली मूलको युवाको भूमिकामा देखिन्छन् उनी। 

विपिन कर्मासँग लेखक कमल पौड्याल

कुराको बिट मार्दै गर्दा मैले उनलाई अबको नयाँ प्रोजेक्टबारे केही छ भनेर सोधेँ। ‘होइन, भैसकेपछि मात्र भनौँला’ भने।

अझ उनले त ह्यान्डरोल्ड सिग्रेट फिल्म बनेर पहिलो स्क्रिनिङ निश्चित भएपछि मात्र परिवारलाई बताएका रहेछन्। 

सामाजिक सञ्जालमा उपलब्धिको आवश्यकताभन्दा धेरै बढाइचढाइ प्रचारप्रसार वा सानो उपलब्धिको ठूलो प्रचारप्रसार गर्ने अहिलेको चाल चलन छ। तर उनीसँगको पटकपटक भेट र वार्तालापपछि विपिन आत्मप्रचारको त्यति धेरै भोक नभएका, कर्ममा, परिश्रममा विश्वास गर्ने एकलब्य लागे मलाई। 

जे होस् हङकङ स्थानान्तरणको तीन दशक छुनै लाग्दा विभिन्न क्षेत्रमा नेपालीहरूको उन्नति प्रगतिहरूबारे पुराना लेखहरूमा समेटिसकेको छु र बाँकी लेख्दै जानेछु। तर चलचित्र क्षेत्रमा अहिलेसम्म यति उचाइ लिएर नेपाल र नेपालीको नाम राख्ने विपिन कर्मा उनका परिवार र हङकङका हामी सबै नेपाली समेत बधाईका पात्र हौँ। 

यो नेपाली नयाँ वर्षको सँघारमा अभिनय यात्राको निरन्तरता र सफलताको हार्दिक शुभकामना यी नेपाली प्रतिभालाई!!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .