सामाजिक कार्यका लागि सहयोग जुटाउने एउटा प्रभावकारी माध्यम हो ‘च्यारिटी भोजको आयोजना’। यसलाई च्यारिटी डिनर वा च्यारिटी लन्च पनि भनिन्छ। यो कार्यक्रम समाजमा नाम चलेका व्यक्ति, सामाजिक संस्था वा स्थानीय समुदायको अगुवाइमा आयोजना हुने गर्छ।
च्यारिटी भोजको मुख्य उद्देश्य कुनै विशेष सामाजिक कार्य, जस्तै शिक्षा, स्वास्थ्य वा विपद्पछिको पुनर्निर्माणका लागि आर्थिक सहायता संकलन गर्नु हुने गर्छ। यस्ता कार्यक्रमले सहयोगीहरूलाई एक ठाउँमा भेला गरी उनीहरूको सहभागितालाई प्रोत्साहित गर्छन् र समाजमा एकताको भावना जगाउँछन्।
नेपाल र नेपाली समुदायमा यस्ता कार्यक्रमले ठूलो महत्त्व राख्छ। विशेषगरी प्रवासमा बस्ने नेपालीले आफ्नो देश र समुदायलाई सहयोग गर्न च्यारिटी भोज, देउसीभैलो जस्ता कार्यक्रम आयोजना गर्छन्।
च्यारिटी भोज : उद्देश्य र अनुभव
२६ जुन २०१७ मा हङकङको बीपी इन्टरनेसनल होटेलमा एउटा च्यारिटी भोजको आयोजना गरिएको थियो। यो कार्यक्रमको मुख्य उद्देश्य नेपालस्थित ‘राष्ट्रिय आविष्कार केन्द्र’का लागि सहयोग जुटाउनु थियो।
कार्यक्रममा केन्द्रका अध्यक्ष महावीर पुनको उपस्थितिले यसको महत्त्व थप बढाएको थियो। हङकङमा बस्ने नेपाली मूलका व्यापारी, समाजसेवी, संघसंस्थाका प्रतिनिधि र केही स्थानीय व्यक्तित्वलाई निम्ता गरिएको थियो। विशिष्ट भोजन र अल्कोहलिक ड्रिंक्सको व्यवस्थाले कार्यक्रमलाई भव्य बनाएको थियो।

कार्यक्रममा सहभागीहरूले मन्चबाटै सहयोग रकम घोषणा गरे। कतिपयले निश्चित रकमको बोली लगाएर आफ्नो नाम टिपाए। तर, पछि केही व्यक्तिले घोषणा गरेको रकम नदिएको घटनाले यो कार्यक्रमको एउटा कमजोरी पक्ष उजागर गर्यो।
अल्कोहल प्रभावको असरमा कतिपय सहभागीले सहयोग रकमको बाचा त गरे तर पछिल्ला दिनमा बोलकवल गरेको रकम दिएनन् भन्ने सुनियो। यो घटनाले च्यारिटी कार्यक्रममा सहभागीहरूको प्रतिबद्धता र जिम्मेवारीको महत्त्वलाई देखाउँछ।
भूकम्पपछिको सहयोग अभियान
२५ अप्रिल २०१५ मा नेपालमा गएको ७.८-८.१ रेक्टर स्केलको महाभूकम्पले ठूलो विनाश मच्चायो।
क्यानेडियन एसोसिएसन फर अर्थक्वेक इन्जिनियरिङ (सीएईई) को २०१५ को रिपोर्टअनुसार, यो भूकम्पमा ८ हजार ८५७ व्यक्तिको मृत्यु भयो। २२ हजारभन्दा बढी घाइते भए र लाखौँ चौपाया मरे।
यसले २ हजार २४९ सार्वजनिक भवन, ७ हजार विद्यालय, १ हजार ८५ स्वास्थ्य चौकी र ५ लाख १० हजार ७६२ निजी आवासमा क्षति पुर्यायो।
त्यसै वर्ष दोलखालाई केन्द्रबिन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्पले थप २१३ जनाको ज्यान लियो र करोडौँको क्षति गर्यो।
यो महाविपत्तिले नेपाली जनजीवनलाई अस्तव्यस्त बनायो। नेपाल सरकारले प्रधानमन्त्री राहत कोष स्थापना गरी विश्वभरबाट सहयोगको अपिल गर्यो।
हङकङबाट पनि उल्लेखनीय सहयोग प्राप्त भयो। हङकङका अर्बपति लिका शिङले आफ्ना सुरक्षा प्रमुख लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीमार्फत तत्कालै १ मिलियन अमेरिकी डलर सहयोग पठाए।

हङकङका नेपाली संघसंस्थाहरूले पनि एकमुस्ट रूपमा रकम संकलन गरी कन्सुलेट जनरल अफ हङकङमार्फत राहत कोषमा जम्मा गरे जुन १ करोड नेपाली रुपैयाँभन्दा बढी थियो। केहीले आफ्नो गाउँठाउँमा सोझै सहयोग पठाए, यद्यपि त्यसको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन।
यो सहयोगले भूकम्प पीडितहरूलाई राहत प्रदान गर्न ठूलो भूमिका खेल्यो। तर, सहयोग वितरणमा पारदर्शिता र प्रभावकारिताको अभावले केही प्रश्न उठायो। भविष्यमा यस्ता अभियानलाई अझ व्यवस्थित गर्नुपर्ने देखिन्छ।
देउसीभैलो र सहयोगका माध्यम
च्यारिटी भोजबाहेक, देउसीभैलो पनि सहयोग जुटाउने लोकप्रिय माध्यम बनेको छ। यस्ता कार्यक्रम विशेषगरी नेपालमा कुनै सामाजिक कार्यका लागि आयोजना हुने गर्छन्। तर, पारदर्शिताको अभाव यहाँ पनि देखिन्छ।

खासगरी यसप्रकारका कार्यक्रम ठूलठूला रेस्टुरेन्टमा हुने गर्छन्। जहाँ सहभागीले प्रवेश शुल्क तिर्नु पर्छ र थप चन्दा पनि दिनुपर्ने अवस्था आइलाग्छ, जसका कारण उनीहरू दोहोरो मारमा पर्ने गरेको गुनासो सुनिन्छ। कार्यक्रम खानापिनासँगै चल्ने हुँदा अल्कोहलको प्रभावमा परी दाताहरूले खुलेरै सहयोग गर्ने गर्छन् र आयोजकले पनि यस्तै नै चाहिरहेको हुन्छ।
यसैगरी, नेपालमा बनेका फिल्महरूको प्रिमियर सो विदेशमा गरेर पनि सहयोग जुटाइन्छ। तर, यस्ता कार्यक्रमको हिसाबकिताब प्रामाणिक नहुने र जाँचबुझ गर्ने निकाय नहुँदा विश्वासको संकट जताततै देखिन्छ।
यी समस्याले सहयोग अभियानको प्रभावकारितामा प्रश्न उठाउँछन्। भविष्यमा यस्ता कार्यक्रमलाई विश्वसनीय बनाउन हिसाबकिताब पारदर्शी राख्नु जरूरी छ।
अनुभव र सिकाइ
एक साँझ म जोर्डन कर्नरमा बसेर पिउँदै थिएँ (अहिलेको ब्लुओसन रेस्टुरेन्ट अगाडि)। साथी निरञ्जनले पसल बाहिर बसेर हुक्का तान्दै थिए। अलि बेरपछि मज्जाको राई र अनोज भाइहरू आइपुगे।
पूर्वेली टोनमा ‘कता हौ?’ भनी सोधेँ।
‘उ त्यहीँ हो। सानो कार्यक्रम छ, जानेभए हिँड्नु दाइ’ भने।
उनीहरू निम्तालु थिए, मिडिया कभरेजको लागि, म थिइनँ। तैपनि रक्सीको झोकमा पछि लागेँ।
सन् २०१७ को समय थियो। ‘इन्टरनेसनल पोखरा म्याराथुन च्यारिटी डिनर’का लागि केही गन्यमान्य दाजुहरूको भेला भइसकेको रहेछ। सबै जना चिनेजानेकै थिए।
कार्यक्रम सुरु भयो। वरिष्ठहरू बोल्दै गए। आ-आफ्ना तर्फबाट च्यारिटी रकमको बोली लगाए। सबै जना बोलेपछि मैले पनि बोली लगाइदिएँ, ‘दुई हजार डलर’।
अचम्म भो! वा वा भन्दै सबै जनाले ताली पिटे। मलाई पनि बडा आनन्द आयो। केहीबेरपछि फेसबुकमा समाचार निस्के। सामूहिक फोटो खिचियो, त्यो पनि फेसबुकमा आयो। अन्त्यमा सबै जनासँग बिदाबारी भई म ढुनमुनाउँदै घरतिर लागेँ।

भोलिपल्ट रक्सीले छाड्यो। रातिको घटना बाजा बजाउँदै झलझली आँखा अगाडि नाच्न थाल्यो। आफ्नै बेहोसीले निम्त्याएको दुर्घटना सम्झेर म झसङ्ग भएँ।
पैसा उठाउनेले बोलेको दाम किन छाड्थे? पर्सिपल्ट बिहानै लक्ष्य दाइको फोन आयो, ‘सर, हजुरको बाँकी रकम फलानो एकाउन्टमा लगाइदिनुहोला’ भन्दै।
दिनै पर्यो। दिइयो। घर सम्झेँ। पैसा पठाउन बाँकी थियो। कोठाभाडा तिरिएको रहेनछ। मोबाइलले पैसा तिर्, पैसा तिर् भनी म्यासेज ठेलेको ठेल्यै थियो। यी सबैका बाबजुद पनि समाजसेवामा हात बढाइएछ!
सम्झेँ, आहा! मेरो समाजसेवा! जे गर्छ रक्सीले गर्छ भन्ने लाग्यो। एकबारको जिन्दगीमा कहाँ कति बेला समाजसेवा गरिने हो आफैँलाई थाहा नहुँदो रहेछ! तर, आजकल रक्सी पिउन छाडेको छु, दुर्घटना घटेका छैनन्।
सुधारका उपाय
च्यारिटी भोज, भूकम्प सहयोग र देउसीभैलो जस्ता कार्यक्रमले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छन्। यी माध्यमले आर्थिक सहायता मात्र होइन, समुदायमा एकता र सहकार्यको भावना पनि जगाउँछन्।
तर, यस्ता कार्यक्रममा पारदर्शिता, जिम्मेवारी र प्रभावकारिता सुनिश्चित गर्नु जरुरी छ। सहभागीले उत्साहमा गरेको बाचा पूरा गर्नु पर्छ र आयोजकले पनि हिसाबकिताब स्पष्ट राख्नु पर्छ।

भविष्यमा यस्ता अभियानलाई अझ प्रभावकारी बनाउन सहयोगको उपयोगिता र वितरण प्रक्रियालाई पारदर्शी बनाउनु पर्छ। साथै, दाताहरूलाई जिम्मेवार बनाउन सचेतना कार्यक्रमहरू पनि चलाउन सकिन्छ।
यसले सहयोगको सदुपयोग हुन्छ र समाजमा सकारात्मक प्रभाव पार्छ। सामाजिक सेवामा हातेमालो गर्ने यो प्रयासले हामीलाई एकताको महत्त्व सिकाउँछ र विपद्मा परेकाहरूलाई नयाँ आशा दिलाउँछ।
(रत्नाखर काफ्ले ‘हिमालयन यात्रा’ हङकङका पर्यटन व्यवसायी हुन्)
Shares

प्रतिक्रिया