हङकङकी बालिका, जसले लेखिन् उपन्यासमा आफ्नै जीवनी

हङकङकी बालिका, जसले लेखिन् उपन्यासमा आफ्नै जीवनी

बालिका बान्तावा (तस्बिरहरू : विशाल कार्की)


विपेन्द्र घिमिरे
चैत ४, २०८१ सोमबार १९:४७, काठमाडौँ

समाजसेवी, व्यवसायी अनि लेखक। यो परिचय हो साढे दुई दशकदेखि हङकङलाई कर्मथलो बनाइरहेकी बालिका बान्तावाको।

बान्तावा हङकङमा हुने सामाजिक क्रियाकलापमा प्राय: सहभागी हुन्छिन्। यहाँ नेपालीसँग सम्बन्धित धेरै संघसंस्था छन्। यी संघसंस्थाका कुनै पदीय जिम्मेवारीमा नरहे पनि उनी क्रियाशील भने भइरहन्छिन्।

विभिन्न संघसंस्थाले कार्यक्रमहरू आयोजना गरिरहेका हुन्छन्। यस्ता कार्यक्रमहरूमा भाग लिन्छिन्।

‘अझ साहित्यिक कार्यक्रम त म छुटाउँदै छुटाउँदिन,’ बान्तावा भन्छिन्।

नेपाली समुदाय, नेपालमा कुनै विपत्ति आइपर्दा गरिने सहयोगमा उनी पछि हट्दिनन्, आफूले सकेको सहयोग गरिरहेकै हुन्छिन्। बरू सक्रियताका साथ लाग्छिन्। कहिलेकाहीँ त आफैँ नेतृत्वदायी भूमिका निर्वाह गरेर पनि विपत्तिमा परेकालाई सहयोग रकम जुटाएकी छन्।

कहीँ कोही विपत्तिमा पर्‍यो अझ भनौँ आफ्नो समुदायका कोही अप्ठेरोमा छ भने उनलाई सहयोग गरुँ नै भन्ने लाग्छ। धेरै जनाको अलि अलि सहयोगले पनि सम्बन्धित व्यक्तिलाई ठूलै राहत पुग्छ भन्ने मान्यता राख्छिन्।

‘कुनै पनि काम एक जनालाई मात्र गर्न गाह्रो हुन्छ, त्यही काम धेरै जनाले अलि अलि गर्‍यो भने पनि धेरै नै सहयोग गर्न सकिन्छ,’ काठमाडौँमा नेपालखबरसँग बान्तावाले भनिन्।

समाजसेवीका अलावा बान्तावाको अर्को परिचय हो व्यवसायी। जोर्डनमा रहेको जी५० रेस्टुरेन्टमा उनको पनि लगानी छ। यो रेस्टुरेन्ट ग्लोबल नेपाली फाइनान्सको स्वामित्वमा छ। जसमा ५० सेयरधनी छन् जसमध्ये बान्तावा पनि एक हुन्।

रेस्टुरेन्टको आर्थिक हिसाबकिताब फाइनान्समार्फत हुन्छ। उनका अनुसार यो फाइनान्सको शाखा नेपालमा पनि छ।

जी५० मा जोडिनुअघि बान्तावा अर्कै रेस्टुरेन्ट चलाउँथिन्। दुई जनाको स्वामित्वमा बी एन्ड बी फास्टुफुडको अनुभवपछि उनी जी५० मा जोडिएकी हुन्। यो रेस्टुरेन्ट पनि जोर्डनमै थियो।

जोर्डन नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्र हो। नेपालीको बसोबासको केन्द्रमै अवस्थित जी५० मा नेपाली समुदायका कार्यक्रमहरू भइरहन्छन्।

‘जोर्डनलाई त नेपाली गाउँ भन्दा पनि फरक पर्दैन। यहाँ त चिनाहरूले पनि नेपाली बोल्छन्। अझ पसल हुनेहरू त मजाले बोल्छन्,’ नेपालीको केन्द्रमै रेस्टुरेन्ट रहेछ नि भन्ने जिज्ञासमा बान्तावा भन्छिन्।

समाजसेवी र व्यवसायी मात्रै होइनन् बान्तावा, जागिरे पनि हुन्। इटालियन क्याटरिङमा काम गर्छिन्।

साहित्यलाई सानैदेखि पछ्याइरहेकी बान्तावा अब यी चिनारीपछि लेखकको परिचयमा पनि दरिइसकेकी छन्।

एक जना मान्छेलाई यति साह्रो दौडधुप कसरी सम्भव भयो? बान्तावा भन्छिन्, ‘म एक्लै भएर सम्भव भएको। अरूलाई समय दिनु पर्दैन। परिवारलाई समय दिनु पर्दैन। छोराछोरी, श्रीमान्‌लाई समय दिनु पर्दैन। यसैले पूर्णकालीन समय काम र लेखपढमा दिन पाउँछु।’

झापामा जन्मिएकी बान्तावा सन् २००० मा हङकङ प्रवेश गरेकी हुन्। घरेलु कामदारको रूपमा यहाँ छिरेकी उनले १० वर्ष एउटै घरमा काम गरिन्।

उनी हङकङ जाने बेलासम्म नेपालबाट यसरी जान पाइन्थ्यो। बान्तावाको सम्झनामा उनी गएको २/३ वर्षपछि कामदार भिसाको सुविधाबाट नेपालीहरू वञ्चित भएका हुन्।

‘हङकङमा आईडी होल्डरहरू धेरै। यसरी गएकाहरू रोजगारदाताको घर छोडेर आफन्तकहाँ लुकेर बसिदिने। यस्ता कुराले पनि कामदार भिसा हटाएको हो कि!’ बान्तावा थप प्रष्ट पार्छिन्, ‘यो त मेरो अनुमानको कुरा भयो। भित्री कुरा त होलान् अरू, हामीलाई के नै थाहा हुने भयो र!’

एक दशक घरेलु कामदारको रूपमा बिताएकी उनी हङकङलाई कमाइ र सुरक्षाको हिसाबले एकदम उचित स्थान हो भन्ने ठान्छिन्। अझ नारीलाई त सुरक्षा र कमाइका हिसाबले स्वर्ग नै लाग्छ उनलाई।

यसमा काम गर्ने मान्छेमा पनि भर पर्ने उनको धारणा छ। भन्छिन्- हामी काम गर्न गएको हो, सर्वप्रथम कामलाई नै सरोकार दिनु पर्छ। हामीलाई पैसा चाहिएको हो, रोजगारदातालाई काम चाहिएको हो।

‘होलान् कोही कोही अलि अप्ठ्यारा पनि हुन सक्लान्। तर, एउटा/दुईटालाई हेरेर समग्र अवधारणा बनाउनु गलत हुन्छ,’ बान्तावा भन्छिन्।

उनको जोड छ- अन्य देशको तुलनामा हङकङ कमाइ र सुरक्षा दुवै दृष्टिकोणले सुरक्षित छ। एउटी महिलालाई रातभर एक्लै हिँड्दा पनि यहाँ डरको महसुस गर्नु पर्दैन।

झापामा हुर्केकी बान्तावा यहीँ पढिन्। यहीँको माटोमा रमाइन्। साहित्यलाई सानैदेखि पछ्याइन्। उनकै शब्द सापटी लिएर भन्नुपर्दा उनको पहिलो प्रेम कवितासँग भएको हो।

कवितासँगै उनी कथाको प्रेममा पनि परिन्। यसरी उनको मोह साहित्यतर्फ झागिँदै गयो।

तर, समयक्रमसँगै उनका यी प्रेमी छुट्दै गए। परिबन्धमा बाधिँदै गइन्। र, पछि फेरि त्यस्तो समय पनि आयो उनले यी पूर्वप्रेमीहरूमा फेरि आफूलाई समर्पित गर्न थालिन्। जसको उपज हो अहिले पाठकको हातमा आएको ‘प्याउली’ उपन्यास।

प्याउलीको लेखकीयमै बान्तावाले भनेकी छन्, ‘... सानै छँदा, स्कुल पढ्दै गर्दा कविता, कथाहरूका नाममा अक्षरहरू जोडेर शब्दहरू बनाएकी थिएँ। ...समयसँगै उमेर मात्र नछुट्दो रहेछ। उमेरले दिएका सम्पूर्ण सुविधाहरू पनि छुट्दा रहेछन्। मेरा पनि छुटे। ... बिस्तारै गाउँ नै छुट्यो। मेरा कविताहरू, कथाहरू उतै छुटे।

सानै उमेरमा भागेर विवाह गरेँ। त्यो पनि गाउँमै। पढ्दापढ्दै विवाह गरेपछि पढाइ छुट्यो। स्कुल छुट्यो। बरु नयाँनयाँ जिम्मेवारी थपिँदै गए कलिलो उमेरमै। विवाह गरेकी केही समयपछि परिस्थितिले विवाह गरेको घर नै छुट्यो। घर छोडेको अलि पछि देश नै छुट्यो। देश छोडेको अलि पछि विवाह छुट्यो। विवाह छुटेपछि म एक्ली भएँ।

एक्ली भएपछि बाल्यकालमा छुटेका कविताहरू सथी भए। गीतहरू, कथाहरू साथी भए।’

यसरी उनले आफ्नो साहित्यमा पुनरागमनको उल्लेख गरेकी छन्। माथि नै पनि उल्लेख भइसक्यो, धेरैतिर सक्रियता सम्भव हुनुमा आफू एक्लो हुनुलाई उनले जोडेकी छन्।

बान्तावाकै भनाइ सापटी लिनुपर्दा, विवाह भएपछि घरपरिवारलाई समय दिइन् र साहित्यको पाटोमा विश्राम लाग्यो। जब वैवाहिक सम्बन्ध टुट्यो त्यसपछि भने उनले साहित्यलाई नै आफ्नो सारथि बनाएर अघि बढिन्।

रोजगारी, व्यवसाय र समाजसेवासँगै साहित्यमा आफूलाई समाहित गरिन्।

‘प्याउली’लाई उनी आफ्नो इतिहास भन्न रुचाउँछिन्। जसले भावी सन्ततिलाई आफूबारे बुझ्न सहज हुने उनलाई लाग्छ।

‘जीवनी नै लेखेको भए पनि हुन्थ्यो। तर, आफ्नै सन्ततिभन्दा बाहिर पुग्दा उपन्यास भनिसकेपछि एक किसिमको प्रभाव पार्ला भन्ने पनि लाग्यो,’ बान्तावा भन्छिन्, ‘म जस्तो भुइँमान्छेको जीवनीप्रति आम मानिसलाई चासो नहुन पनि सक्छ। उपन्यास भनिसकेपछि जोकोहीले सजिलै पढ्नुहुन्छ भन्ने लागेर आफ्नो जीवनीलाई उपन्यासको रूप दिएँ।’

‘प्याउली’ उनकै संघर्षकथा, टुटेको वैवाहिक जीवन लगायतमा घुमेको छ। आफ्नै भोगाइ रहेको ‘प्याउली’ मा २७ वटा शीर्षक समेटिएका छन्। कलरव प्रकाशन धरानद्वारा प्रकाशित यस कृति फागुन २४ गते काठमाडौँमा सार्वजनिक भएको हो।

यस पुस्तकसँगै बान्तावाको नयाँ गीत पनि सार्वजनिक भएको छ। ‘मेरो अनमोल रचना’ बोलको यो गीत उनले छोरीप्रति समर्पित गरेर लेखेकी हुन्। तर, सार्वजनिक गर्दैगर्दा उनको एउटा धोको भने पूरा हुन पाएन।

गएको फागुन १७ मा दिवंगत भएका गायक तथा संगीतकार विक्रम राईको संगीत, सुनिता थेगिमको स्वर अनि आफ्नै शब्द रचना रहेको यस गीतको भिडिओमा छोरीलाई मोडलिङ गराउन चाहन्थिन्।

छोरी पनि नेपाल आउने तय भइसकेको थियो। तर, कारणवश छोरी आउन पाइनन्। यसमा चाहिँ उनलाई अलिकति खल्लो पनि लाग्यो। यस खल्लोपनलाई उनले भिडिओमा छोरीका तस्बिर राखेर पूरा गरिन्।

बान्तावाकी एक छोरी छन्, जो पढाइका क्रममा अहिले अमेरिका छन्।

जोर्डनमा बसोबास गर्ने बान्तावा सन् २००० मा हङकङ छिरेकी हुन्। त्यसपछिका साढे दुई दशक उनी अनवरत यहीँ संघर्षरत छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .