एक साँझ म बरन्डामा बसेर चिया सुर्काउँदै थिएँ, अचानक श्रीमतीले जिब्रो फड्कार्दै भनिन्, ‘सुन त, मलाई पनि दुइटा पोइ चाहियो। एउटाले मात्र के काम? तिमीले घर समाल्ने, अर्कोले घुमाउने!’
मेरो चियाको घुट्को तालुमा अड्कियो। उनको व्यङ्ग्यवाण पुरानो बन्धनलाई तोड्ने तरबार जस्तो थियो।
मैले हाँस्दै भनेँ, ‘के बोल्दै छ्यौ? विवाह भनेको एउटा घाँटीमा फाँसी लगाउने जस्तै हो, दुइटा त झन् महाभारतको द्रौपदी जस्तो हुन्छ। तर, द्रौपदीका पाँच पति त भाइभाइ थिए, यहाँ दोस्रो कुनै अनजान हुन्छ!"
उनी आगो जस्तै सल्किइन्।
‘ए! तिमीहरूले दुई/तीन श्रीमती ल्याएर ‘परिवार विस्तार’ भनेर हिँड्ने, मैले दुइटा पोइ माग्दा क्रान्ति हुने? यो त ‘आफ्नो आँगन टेढो देख्नेले अर्काको सोझो ठान्ने’ जस्तै भो। समाजले पुरुषलाई तराजुको भारी पल्ला दिन्छ, महिलालाई त फुस्रो पात जस्तो!’
मलाई लाग्यो, कुरा त ठिकै हो। सदियौँदेखि पुरुषले बहुविवाहलाई आफ्नो जागिर जस्तो ठानेका छन्। तर, महिलाले माग्दा यो विद्रोह बन्छ। मैले हल्का हाँस्दै भनेँ, ‘हुन्छ त, लेऊ न। मिलेर बसौँला।’
उनलाई अप्ठ्यारो पर्यो। झस्किइन् र सोधिन्, ‘तिमीले ल्याउने कान्छी कुनै केटी हो कि विवाहिता महिला नै हो?’
म हाँसे। तर, मेरो हाँसोमा द्वन्द्व थियो।
उनी सशंकित भइन्, ‘के हाँसेको? साँच्चै हो कि?’
‘लाटी,’ मैले मुस्कुराउँदै भनेँ, ‘नेपाल सरकारले दुइटा श्रीमती बनाउने सर्तहरू तोक्ने प्रस्ताव गरेको छ रे। एकअर्कामा प्रेम परेको, गर्भवती बनाएको वा बच्चा जन्मेको अवस्थामा, जसलाई समाजले स्विकारेको छैन भने भित्र्याउन पाइने। यो मस्यौदाले महिलालाई सडकमा पुग्नबाट बचाउने उद्देश्य राखेको छ। तर, महिलावादी संघसंस्थाले यसलाई पुरुषको गल्तीलाई वैधानिकता दिन्छ भनेर मस्यौदाकै विरोध गरिरहेका छन्। विधेयक बनेर कानुन बन्ने त धेरै परको कुरा हो।’
‘ए, त्यसो पो?’ उनी आश्चर्यचकित भइन्। तर, उनको आश्चर्यमा पीडा थियो।
‘त्यही त हो,’ मैले जवाफ दिएँ, ‘तिमीले पनि बुझ न।’
उनले अर्को प्रश्न तेर्स्याइन्, ‘अँ, तिम्रा नि होलान् त? कसैलाई पेट बोकाएका छैनौ?’
उनको आँखामा शंका थियो। मलाई लाग्यो, यो विधेयकले घरघरमा भाँडभैलो मच्चाउने भो। पुरुषले जसरी महिलाले पनि दुई पतिको माग उठाए भने?
मैले हाँस्दै भनेँ, ‘अरे, मसँग त कुनै छैन। म तिम्रो एक्लो हुँ। यो विधेयकले मुलुकी अपराध संहिताको धारा १७५ मा संशोधन गर्ने प्रस्ताव गरेको छ भन्ने सुनिन्छ। पहिले पूर्ण प्रतिबन्ध थियो, यदि यो पास भए अपवादमा -गर्भवती वा बच्चा जन्मेको अवस्थामा- दोस्रो विवाहलाई मान्यता दिन्छ। नत्र जेल र जरिवाना नै हो। ’
उनी एकछिन चुप भइन्। अनि जोडले हाँस्दै भनिन्, ‘हा हा! सरकारले पुरुषहरूलाई ‘गल्ती गर तर जिम्मेवारी लेऊ’ भनेर प्रोत्साहन दिने प्रस्ताव गर्दैछ। तर मलाई लाग्छ, यो महिलालाई बचाउने बहानामा पुरुषहरूको लागि ढोका खोल्दैछ। यदि मैले पनि ‘प्रेम परेको’ पुरुषसँग सम्बन्ध राखेँ र गर्भवती भएँ भने मलाई दोस्रो पति ल्याउने अधिकार हुन्छ कि हुँदैन? विधेयकले ‘कुनै विवाहित व्यक्ति’ भनेको छ। पुरुष मात्र होइन।’
साँच्चै, यो प्रश्नले समाजको दोहोरो मापदण्डलाई सतहमा ल्याउन खोज्दैछ।
मैले भनेँ, ‘कुरा ठिकै हो तर समाजले के भन्ला घरमा दुई पति भए भने?’
‘ए! उसो भए मैले के गर्नु त?’ उनी च्याँठ्ठिइन्।
मैले थपेँ, ‘यो अवस्थाले परिवारको एकता भत्काउँछ। प्रेम विभाजित हुन सक्छ।’
उनी हाँस्दै भान्सातिर लागिन्। जाँदाजाँदै भनिन्, ‘चिन्ता नगर। म सोच्दैछु, मेरो दोस्रो पति युवा, फिटनेस जीउको हुनेछ। तिमी जस्तो भुँडे, हप्ता दिनसम्म दाह्री नखौरने र नङ नकाट्ने होइन।’
उनी चिया लिएर आइन् र भनिन्, ‘यदि मैले दोस्रो पति ल्याएँ भने तिमीहरू मिलेर बस्छौ? तिमी बिहान काम गर्ने, ऊ साँझ। मलाई दुवैबाट प्रेम मिल्ने- स्वर्ग जस्तो! तर तिम्रो लागि नर्क। हा हा!’
उनको हाँसोमा व्यङ्ग्य थियो। मैले पनि हाँसेर भनेँ, ‘ ठिक छ, लेऊ न। तर, यो विधेयक पास भएमा अदालतमा केसहरूको बाढी आउनेछ।’
उनी गम्भीर भइन्, ‘यो विधेयकले समाज उल्टो पार्छ। पहिले पुरुषहरूले गोप्य बहुपत्नी राख्थे, अब कानुनी। तर, महिलाले अधिकार पाए भने पुरुष डराउनेछन्। यो समानताको नाममा आएको छ तर पुरुषलाई नै सजिलो बनाउँदैछ।’
कुराकानी चर्किँदै थियो, उनैले रोक्दै भनिन्, ‘बहस रोकौँ। यो विधेयक पास भएपछि नेपालमा रमाइलो समय आउनेछ- कुनै घरमा दुई श्रीमती, कुनैमा दुई पति। पत्रिकामा हेडलाइनहरू: ‘सरकारले प्रेमलाई कानुनी बनायो।’ तर हामी त दुई नै पर्याप्त छौँ। यदि तिमीले कान्छी ल्याउने सोच्यौ भने चाहिँ म पनि कान्छो ल्याउँछु।’
उनी रोकिइनन्, ‘यो पास भएपछि ‘बहुविवाह कन्सल्टेन्सी’ खुल्नेछन्। तर, वास्तविक जीवनमा यो दुःखदायी हुन्छ- बच्चा र परिवारको लागि।’
मैले सहमत हुँदै भनेँ, ‘सही हो। यस्तो कानुनले महिलालाई वस्तु बनाउँछ। तर, हाम्रो लागि यो मात्र कुराकानी हो। तिमी मेरी एक्ली, म तिम्रो एक्लो।’
साँझ पर्दै थियो। हामीले विषयलाई हाँसोमा उडायौँ।
अन्त्यमा उनले अझ मजाक थपिन्, ‘अनि तिम्री कान्छीसँग मेरो कान्छो सल्क्यो भने के गर्ने नि? आम्मै! यस्तै हो भने त यो विधेयकले नेपाललाई समानतातर्फ होइन, अराजकतातर्फ धकेल्छ! तर, अहिले हाम्रो घरमा शान्ति छ। दुइटा होइन, एउटै पर्याप्त छ।’
(रत्नाखर काफ्ले ‘हिमालयन यात्रा’ हङकङका पर्यटन व्यवसायी हुन्)
Shares

प्रतिक्रिया