हङकङ-मलेसिया यात्रा २ : जब एअरपोर्ट पुगियो, प्लेन उड्यो

भिसा सकिइसक्यो, कर्मचारी भन्छन्- आज क्वालालम्पुर नै बस्नुस्
हङकङ-मलेसिया यात्रा २ : जब एअरपोर्ट पुगियो, प्लेन उड्यो

सन्तोष तामाङ
भदौ ९, २०८२ सोमबार १५:५८, हङकङ

यस पटक मलेसियाको भ्रमण केही अद्भुत र केही अनौठो रह्यो। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसियसन (एचकेनुट्रा)ले जुराइदिएको अवसरमा १९ जुन साँझ क्वालालम्पुर प्रस्थान गर्ने अवसर मिलेको थियो।

यो यात्रामा जाँदादेखि फर्कँदासम्म जहाजका विषयमा अनेकानेक रमाइला भए। १९ तारिख हङकङबाट जाँदा कस्तो अनुभूति गरियो त्यो अघिल्लै लेखमा प्रस्तुत गरिसकेको छु। यहाँ फर्कँदाको रमाइलो पनि प्रस्तुत गर्ने जमर्को गरेको छु।

साथै, मलेसिया जानुको प्रमुख उद्देश्य र घुमघामका दृश्यलाई पनि कैद गर्ने कोसिस गरेको छु।

***

बिहानको नास्ता खाएर होटलमा रहेको स्विमिङ पुलतर्फ जाने निर्णय गर्दै गर्दा मुसलधारे वर्षा भयो। अनि यो निर्णयलाई यही थाँती राखेर इन्डोर एक्ससाइजतिर लागियो। जिम हल र अन्य विविध खेल नि:शुल्क उपलब्ध रहेछ। एकछिन फुटबल, स्नुकर खेलियो। घडीले दिउँसोको ११:३० बजाएछ। अब हाम्रो गन्तव्य थियो- बाटु गुफा। हङकङमा उबर जस्तै यहाँ ग्य्राब (ट्याक्सी) हुँदो रहेछ। दिना काकाले एप डाउनलोड गरिसक्नुभएको रहेछ। बुकिङ गरेको ५ मिनेटभित्रै सननन ७ सिटर वेल्फायर आइहाल्यो। अनि ६ जना लाग्यौँ गुफा र यसभित्रको हिन्दू मन्दिर हेर्न। ४० मिनेटको यात्रापश्चात् अद्भुत गुफामा पुगियो।

यहाँ पुग्नुअघि एक ठाउँमा अनौठो दृश्य पनि देखियो। एउटा भीमकाय चट्टान अनि त्यो चट्टानमा ठूलठूला रुख, हरियाली पहाड। त्यसको मुनि अग्ला मूर्ति, प्रतिमा खडा थिए पहेँलो रङमा।

ट्याक्सीलाई बिदा गरेपछि गुफाको द्वारमा पुगियो। जसै गेटमा पुगियो, भारतीयमूलका ४/५ जनाको समूहले घेर्न पो थाल्छ! कोही भट्याउँछन् लड्डु मिठाइ त कोही पुरी-तरकारी, कोही नरिबल पानी! भारतको सिलिगुडीमा पो छु कि के हो भन्ने भान भयो। सबै छक्क परियो। रविनकुमार बडाबा भन्नुहुन्छ, ‘अरे हाउ! म त जोगमनितिर पो छु कसो हो?’ भारतीय मित्रहरूको भिडलाई पन्छाउँदै गुफाको गेटमा पुग्यौँ। ‘कोन्सा केभको दर्शन कर्ना है भाइसाप’ भन्छ फेरि अर्को आएर! कोही भन्छ ‘रामायण केभ जाइए न’, कोही ‘हनुमान केभ जाइए १५ रिङ्गेटका टिकट खरिद कर्न पडेगा’ भन्छ।

प्रतिटिकट १५ रिङ्गेटका दरले ६ वटा टिकट लिएर प्रवेश गर्‍यौँ। प्रवेशद्वार एकापट्टि आगमन द्वार अर्कैतिर रहेछ। साँघुरो ओडारबाट पस्दै गर्दा खासै केही लाग्दैनथ्यो, भित्र पुगिसकेपछि त पानीजहाजभित्र छौँ जस्तो भान पो भयो। लाम्चो आकारको बेलुनझैँ लाग्ने अद्भुत गुफा रहेछ।

३/४ किसिमका गुफा, त्यहाँ जानलाई फलामे सिँढी रहेछ। चारैतिर मूर्तिको लस्कर थियो। प्रत्येक गुफामा सेक्युरिटी भारतीयमूलका भेटिए। हिन्दीमै मज्जासँग बोल्न पाइने भएपछि हामीलाई पनि सजिलै भयो। उनीहरू मूर्ति देखाउँदै राम, हनुमान, सीता, भृकुटी, विष्णु, शिव, हरि आदिको नाम लिँदै थिए।

बाटु केभ

गुफाभित्र अँध्यारो भए पनि मन्द उज्यालोले इन्द्रेणी रङ टल्कन्थ्यो। गुफाको माथितिर गौँथली र चमेराको बासस्थान। पहाडमा पलाएका लहरामा ससाना प्रजातिका बाँदर देखिन्थे। गुफाभित्रै २ घण्टा बितेको पत्तै भएन। बाहिर निस्कनेबित्तिकै ह्वास्स ट्वाइलेट गनायो। अलि परतिर पुरानो देखिने शौचालय रहेछ। त्यही गन्हाउने शौचालय गएवापत पनि १ रिङ्गेट तिर्नुपर्ने रहेछ। यो व्यवसाय चलाउने पनि भारतीयमूलकै रहेछन्। पैसा नै लिइसकेपछि त सफा पनि गर्नु नि! यस क्षेत्रमा पनि घुम्ने इच्छा हुँदाहुँदै फोहोरकै कारण बिट मारियो। 

गुफाको घुमाइ बिट मारिसकेपछि भने फेरि ग्य्राब बोलाएर राजधानी क्वालालम्पुरबाट नजिकै रहेको पूर्वी जिल्ला गोम्बाकतर्फ लागियो।  भोलिपल्ट हुने दौडको लागि दर्ता प्रक्रिया बाँकी नै थियो। करिब एक घण्टा ट्याक्सीमा यात्रा गरेपछि गन्तव्य पुगियो।

त्यहाँ एउटा म्युजियम हल रहेछ। धावकहरूको बाक्लो उपस्थितिले हटिया बजारको घुइँचो जस्तो देखिन्थ्यो। त्यहाँ दौडका लागि आवश्यक सामग्री किनमेलका साथै बिब नम्बर संकलन कार्य चलिरहेको रहेछ।

हामी पनि लामबद्ध भएर मुख्य काउन्टर मानिएको कम्प्युटर टेबलमा पुग्यौँ। त्यहाँ काम गर्ने प्राय: महिला थिए। हामी पुगेको टेबलमा बस्ने अधिकारी पनि घुम्टोवाली महिला नै थिइन्। हाम्रो रूपरङ्गलाई उनले अन्दाज लगाउन सकिनन् सायद। हाइ, हेल्लो गर्दै हात हल्लाइन् र मलाया भाषामा बोलिन्, ‘माक्लुमात केसेलामातान’।

नजानेको भाषामा बोलिएपछि अकमक्क परियो। सँगै हुनुभएका रमेश सरले ‘एक्सक्युजमि, इङ्लिस प्लिज’ भन्नुभयो। त्यसपछि अंग्रेजीमा भनिन्, ‘सेफ्टी इन्फरमेसन प्लिज।’

अल्ट्रा रनिङ त्यसमाथि मध्यरातबाट सुरु हुने भएकोले होला सुरक्षा मापदण्डमा कडाइ गरिएको थियो। हामीले बल्ल भाका टिप्यौँ अनि ब्यागबाट दौडमा प्रयोग गरिने हेडलाइट, ब्याट्री, रिफ्लाक्ट्क्स, लैरो, खानाको लागि प्रयोग गरिने रबरको प्लेट आदि उनको अगाडि फिँजाइदियौँ। उनले चेकलिस्टमा रुजु गराएर हामीलाई हस्ताक्षर गराउँदै कलेक्सन बुथमा पठाइन्।

सबै जनाले नियमबद्ध ढंगले आ-आफ्नो बिब, टि- सर्ट र अन्य सामग्री संकलन गरी ग्य्राब बुक गरेर होटल फर्कियौँ। यतिबेलासम्म घडीले साँझको ७ बजाएको थियो।

भोलिपल्टको दौड भएकाले समयमै आराम गर्नुथियो। बिहान दौडस्थलसम्म जानलाई दिना काकाले ग्य्राबलाई अग्रिम बुक गर्नु भयो। मोबाइलमा ५ बजेको अलार्म सेट गर्दै सबै जना आ-आफ्नो कोठातिर लाग्यौँ।

कति मिठो निद्रामा परिएछ, उठ्न मन नहुँदानहुँदै बिहान ५ बजे घन्टी बजिहाल्यल्यो। वेदराज दाइले ब्रेकफास्ट प्याक गरिसक्नु भएछ। १०० किलोमिटरतर्फको दौड हुने दिन थियो। काका दिनानाथ, दिलु दिदी, वेदराज दाइ र रविनकुमार बडाबा सहभागी हुँदै हुनुहुन्थ्यो। ५० किलोमिटरतर्फ रमेश भट्टराई र म भोलिपल्ट बिहान ३ बजेको दौडमा सामेल हुने तालिका थियो।

दौडमा सहभागी हुने चार जना सहित म र रमेश सर पनि गोम्बाकको दौड मैदान गयौँ। समय अगावै पुगेकोले सबैले सँगै नास्ता गर्‍यौँ। मानिसहरूको चहलपहल बढ्न थाल्यो। ३१ बढी देशका ५७२ धावक सहभागी हुँदै गरेको उद्‌घोष भयो। ८ बज्न ५ मिनेट बाँकी छँदै दौड गेटमा तयारी हुन आग्रह गरियो।

यसै क्रममा एसिया ट्रेल मास्टर (एटिएम) गोम्बाक १०० मलेसियाका आयोजकले हामीसँग नेपाली रनरहरू पनि हुनुहुन्छ भनेर उद्‌घोष गर्दा गर्वले छाती चौडा भयो। बर्सेनि हुने गोम्बाक दौडमा नेपाली धावकको पहिलो पटक टिमसहित सहभागिता रहेको भन्दै माइकबाट फुक्दा खुसीको सीमा रहेन।

यति मात्र होइन, ‘अन्य देशमा नेपाली रनरको नाम बडो उत्सर्गमा पुगेको सुन्छु। मलेसियामा ठूलो संङ्ख्यामा नेपालीहरू रोजगारीका सिलसिलामा छन् तर स्पोर्ट्समा खासै देखिँदैनथ्यो। यस पटक नेपाली रनरहरूको सहभागिताले हामीलाई पनि ऊर्जा मिलेको छ। तपाईँहरूप्रति हामी आभारी छौँ। दौडरुट तपाईँहरूका लागि नौलो प्रकृतिको हुन सक्छ, सावधानी अपनाउँदै रमाइलो गर्नुहोला,’ आयोजकले यति प्राथमिकताका साथ गोर्खे वीरताको गाथा भट्ट्याइदिएपछि हामीलाई अरू के चाहियो?

दौडमा सहभागी हुने ४ जनालाई सफलताको शुभकामना दिँदै आधा घण्टा रमिता हेरेर हामी दुई भाइ भने होटल फर्कने जमर्कोमा लाग्यौँ। तर विडम्बना! नजिकै चौबाटोमा बसेर निकै कुर्‍यौँ। घण्टौँ बिताउँदा पनि ट्याक्सी पाउन सकेनौँ। स्थानीय जस्तो लाग्ने मान्छेसँग कुराको मेसो निकाल्यो दुर्गम गाउँ हो, धैर्य गर्नुस् भन्ने आशयको उत्तर पाउँछौँ। जो जतिसँग कुरा गरियो सबै सहयोगी नै देखिए तर हाम्रो समस्याको ठोस् समाधान चाहिँ निस्करहेको थिएन।

हामीसँग इन्टरनेट नहुनु समस्याको मूल जड थियो। हामीलाई लागगेको थियो, ४ दिने भ्रमण त हो सिमकार्ड किन किन्ने! तर यसैले हामीलाई घण्टौँ अलपत्र पार्‍यो। दिना काका नहुँदा अनलाइनमार्फत ट्याक्सी बोलाउने माध्यम टुट्यो। काकासँग चाहिँ लोकल प्रिपेड सिमकार्ड थियो। 

त्यो गाउँमा एउटा बस सेवा प्रत्येक आधा घण्टामा राजधानी क्वालालम्पुर छेउ सम्मका लागि छुट्ने रहेछ। एक स्थानीयले बस बिसौनी देखाएको मिनेटपछि विनायात्रुको एउटा ठूलो बस सरर आइपुग्यो। बस बिसौनीमा रोकियो। हामीले चालकसमक्ष हाम्रो गन्तव्य बतायौँ। बसको अन्तिम स्टपसम्मको भाडादर जम्मा मलेसियन १ रिङ्गेट रहेछ। तर समस्या चाहिँ नगद नचल्दो रहेछ। हामीले हङकङमा प्रयोग गर्ने अक्टोपस कार्ड जस्तै कार्डबाट मात्र भुक्तानी गर्न मिल्ने बताउँछन् चालक। हामीले विशेष अनुरोध गर्‍यौँ तर रुल इज रुल भन्छ! 

चालकले हामी पर्यटक हो भन्ने बुझेपछि बस लिएर हिँड्न पनि चाहेन र हामीलाई बसमा लिएर जान पनि सकेन। सहयोगी भावनाका रहेछन्। हामीलाई यात्राको टुंगो लगाइदिने वचन दिँदै गाडीको इन्जिन नै बन्द गरेर बाहिर निस्किए। फोन गर्न या इन्टरनेट दिन तयार भए। हामीलाई खाँचो परेको इन्टरनेटकै थियो। इन्टरनेट भएपछि त ग्य्राब बुक गर्न सकिने भैयो भन्नुहुन्छ रमेश सर। किनकि उहाँले अघिल्लो दिन दिना काकासँगै एप्स डाउनलोड गर्नुभएको थियो।

गाडीबाटै झरेरै ट्याक्सी खोज्न सहयोग गर्दै बस चालक

हाम्रो लागि ती सहयोगी ड्राइभरले २० मिनेटसम्म हटस्पट दिए। ग्य्राब हामी भएको रोड हुँदै गुडिरहेको म्यापमा देखिन्थ्यो तर अनुरोध स्वीकार नगर्ने! ३/४ वटापछि बल्ल एउटाले एसेप्ट गर्‍यो। बस चालकलाई मुरी मुरी धन्यवाद दिँदै बल्ल होटलतर्फ प्रस्थान गरेका थियौँ।

होटल पुगेपछि एकछिन आराम गरियो। १२ बजे खाना खायौँ र होटलकै छतमा रहेको स्वीमिङ पुलतर्फ लाग्यौँ। एकछिन स्वीमिङ गरेपछि आएर सुतियो। २ घण्टा सुतिएछ। दुई भाइ बाहिरको कुनै कफीसपमा गएर गफिने सुर कस्दै थियौँ सय किलोमिटरतर्फ दौडिने ४ जनाको प्रत्यक्ष नतिजा वेबसाइटबाट अपडेट भइरहेको थियो। पुरुष टिममा दिनानाथ काकाले लिड गरिरहनुभएको थियो भने महिलातर्फ दिलु दिदी अग्रस्थानमा। अब केका कफीगफ, आँखा टिभीमै रहे। दौडले मिठो नतिजा दिइरह्यो। साँझ ८ बजे भने उहाँहरू फिनिसिङ लाइनमा आइपुग्नुअगावै त्यहाँ पुगेर स्वागत गर्ने जोस चल्यो। अनि लाग्यौँ दुई भाइ ट्याक्सीमा।

करिब १ घण्टा २० मिनेटको यात्रामा ट्याक्सी चालकसँग पनि निकै भलाकुसारी भयो। क्यान्टोनिज राम्रो बोल्ने चाइनिज रहेछन्। मलेसियाकै नागरिक भएको ४ पुस्ता पुगिसकेको रहेछ। हामी हङकङबाट आएको भनेपछि उनले मलेसिया रहँदा धेरै कुरामा चनाखो हुनुपर्ने, जहाँ जतिखेर पनि लुटिन सक्ने जस्ता कुरा  विभिन्न उदाहरणमार्फत सुनाए। उनको कुरामा हामीले पनि जाने बुझेसम्मको क्यान्टोनिजको हाइया हाइयाको लय लगाउँदै जाँदा कति चाँडै गोम्बाक म्युजियम हल पुगिसकिएछ। चालकजीलाई क्यान्टोनिज शैलीमै पापाइ गर्दै बिदा भइयो।

केही धावक आउँदै गरेको देखियो। बाटोमा लामबद्ध भोलेन्टियर्स, सुरक्षाका लागि खटिएका सेक्युरिटी, दर्शकहरू उपस्थित थिए। हामी पनि दर्शकको लाममा बसेर फोटो/भिडिओको लागि तयारी अवस्थामा बसियो। किनकि हामीलाई दिनानाथ काका फुत्त आइपुग्ने पूर्वाभास भएको थियो। नभन्दै काका जोडतोडले मच्चिँदै आइपुग्नुभयो। सय किलोमिटरको दौड, काकाको अनुहार भने ताजा देखिन्छ, थकानको संकेत नै छैन! हुटिङले माहोल तात्यो।

अनाउन्स गर्‍यो म्युजियम हलबाट काका ओभरअल तेस्रो हुनुभएछ। पहिलो र दोस्रो धावक केही मिनेटअघि आइपुगेका रहेछन्। काकालाई भेटारियन च्याम्पियन भनेर अनाउन्स भयो। काकाश्रीले दिनभरिको सारांश बताउँदै रुटबारे हामीलाई नालीबेली दिँदै हुनुहुन्थ्यो वेदराज दाइ आइपुग्नुभयो।

त्यत्तिकैमा महिला विनर नजिकै आइपुगेको अनाउन्स सुन्दै गर्दा दिलकुमारी दिदी र रविनकुमार बडाबा हुर्रिएर आइपुग्नुभयो। बधाई दिने र अन्तर्वार्ता लिनेको ओइरो लाग्यो। मिडियाले घेरा नै हाल्यो। टिम नेपालले गोम्बाक सय किलोमिटर दौडको महिला र पुरुष दुवैतर्फ बाजी मार्‍यो आशयको शीर्षकमा एउटा पोस्ट पनि लगत्तै बाहिरियो। अब त झन् हर्षले छाती चौडा बन्यो। सबैमा खुसीको सीमा रहेन। 

यत्तिकैमा उहाँहरूलाई पुरस्कार ५० किलोमिटरको विनरसँगै भोलि वितरण गर्ने आयोजकको सूचना आयो। यो सूचनापछि उहाँहरू बासस्थानतर्फ लाग्नुभयो। हामी भने केही क्षण आराम गरेर ३ बजे राति दौडमा सामेल हुने योजनामा लाग्यौँ।

३ बजे रातिको दौड कस्तो हुने हो? मनमा बाजा बजिरहेको थियो। यति रातिदेखि दौड प्रतियोगितामा भाग लिनु मेरो जीवनमै पहलो हुनेवाला थियो त्यो पनि अन्तर्राष्ट्रिय। त्यसमाथि नौलो ठाउँ, नयाँ रुट।

हाम्रो तयारी २:३० बाट सुरु भयो। रमेश सर भन्दै हुनुहुन्थ्यो, ‘५० किलोमिटरतर्फ खास धावक छैन जस्तो छ। लु सर तपाईँ नै हो आशलाग्दो। मिलाएर दौडिनुहोस् जित पक्का छ, म पनि तपाईँलाई पछ्याउँछु।’ 

उहाँले यति गफ दिने नभ्याउँदै चौर पूरै भरियो। हामीले मनमनै पकाको खिर क्षणभरमै अमिलो भयो। इलाइट रनरहरूको नाम, देश क्रमबद्ध अनाउन्स हुन थाल्यो। काउन्टिङ सुरु भयो। दौडन तयारी रहेको लडाकु फौजीको पोजिसनमा मैदानमा दौड्यौँ। पक्की सडक, रनरको खुट्टाको दर्‍याम दर्‍याम आवाजमा करिब १०० राउन्ट पटका पड्काइएको थियो। बडो साहसिक खेलभित्र रहेछु भन्ने लाग्यो। 

सडक छोडेर जङ्गलको रुट प्रवेश गर्दासम्म पटकाको आवाज सुनिरह्यौँ। हेडलाइट अगाडि पछाडि दुवैतर्फ थियो। पूरै जङ्गल रनरले भरिएको थियो। अन्धकारको दौड भएर होला जति दौडिए पनि एउटै ठाउँमा घुमिरहेको छु कि जस्तो लाग्ने।

अनौठो लाग्ने ट्रेल कतै देखिनँ। ठूलठूला बाँसघारी, घना जङ्गल, खोलाखोल्सीको पानीमा पूरै शीरर डुबाएर कुद्नु पर्दा आफ्नै गाउँघरमा असार-साउनको रोपाइँमा पो छु कि जस्तै पनि भयो।

लगभग ३२ किलोमिटर दौडिसक्दा लामो लामो स्वरमा नबुझिने आवाज आयो। त्यही आवाज दोहोर्‍याइ तेहर्‍याइ सुन्छु फेरि तर बुझ्न सक्दिनँ। झट्ट आँखा घडीमा पर्‍यो। बिहानको ६ बजेको रहेछ। केही छिनपछि त्यो आवाज आएको माइकतिर पुगेछु। ठूलो ध्वनि र गाउँछेउ पुगेकोले ठम्म्याएँ- मस्जिदमा प्रार्थनाको समय भएछ। अल्लाह... भनिएको आवाज पो रहेछ।

मुश्लिम देशहरूमा बिहानबिहानै यसरी प्रार्थना गर्छन् भन्ने देशविदेश गएका गाउँघरका दाजुभाइले भनेको सुनेको थिएँ ।

झिसमिसे उज्यालो भइसकेको थियो। अब भने दौडिन केही सहज हुन थाल्यो। दौडको रुटले हामीलाई युटर्न गरायो। भोलेन्टियर्सहरू बाटैभरिका चेक पोइन्टमा आगो बालेर वा म्युजिक लगाएर बसेका थिए। आधा बाटो फर्किएको रहेछु, रमेश सरसँग जम्काभेट भयो। 

‘राम्रो छ है सर आत्तिनु पर्दैन। अगाडि पाँच जना धावक मात्र गएको छ। अब १८ किलोमिटर बाँकी छ, यो रप्तार नछोड्नुहोस्, तपाईँ टप १० पक्का’ भन्नुभयो र एउटा पावर जेल फाल्नुभयो। त्यो पिउँदै केही अगाडि बढ्दै थिएँ दुई जना धावकलाई भेट्टाएँ। अलि अलि उकालो रहेछ उनीहरूलाई अघि बढ्न गाह्रो भएको रहेछ। मैले त्यही मौकामा ओभरटेक गरिहालेँ।

साथीहरू भियतनामी रहेछन्। दुई जनालाई त उछिनेँ अब अरूलाई पनि उछिन्न पाए हुने भन्दै अघि बढिरहेँ। फिनिसिङ लाइनमा पुग्नै लाग्दा दुई जनालाई भेट्टाएँ। त्यो समय हामी फाइनलमा थियौँ, भएभरको बल प्रयोग सबैले गरेका थिए। सेकेन्ड सेकेन्डको फरकमा हामी दोस्रो, तेस्रो र चौथो भएका थियौँ।

दौडमा विजेता हुन नसके पनि टाइमिङ राम्रो बनाउन सकिएकोमा खुसी नै लाग्यो। रमेश सर घुँडाको समस्याले महिनाअघि बाट थलिनुभएको थियो। तैपनि विदेश दौडको हुटहुटीले नछोड्ने भन्दै सामेल हुनुभएको थियो। केहीपछि आइपुग्नु भयो। सोचेको भदा राम्रो गरेँ भन्नुहुन्थ्यो।

धावकहरूको लागि खानाका परिकारहरू पाकिरहेको थियो। त्यहीँ खाना खाँदै रमाइलो गर्‍यौँ। १२ बजेपछि अवार्ड वितरण कार्यक्रम हुनेबारे जानकारी गराइँदै गर्दा १०० किलोमिटर दौडको हाम्रो विजेता टोली पनि आइपुग्यो। सबैले पुरस्कार ग्रहण गर्‍यौँ।

अब हामीसँग मलेसिया बसाइका लागि त्यही एक दिन मात्र थियो। ट्विन्स टावर भ्रमण गर्नै बाँकी थियो। क्वालालम्पुर जाँदा हेर्नैपर्ने आइकनमा पर्छ यो। ४५२ मिटर अग्लो उचाइमा रहेको पेट्रोनास ट्विन टावर कुनै समय विश्वका सबैभन्दा अग्ला भवनमध्ये पर्थ्यो। 

८८ तले जुम्ल्याहा गगनचुम्बी यी भवन नि:सन्देह क्वालालम्पुर र मलेसियाकै प्रतिष्ठित स्थलचिह्न हुन्। पर्यटकले यस परिसरको उत्तिकै प्राथमिकताका साथ अवलोकन गर्ने गर्दा रहेछन्। रातमा अझ चम्किलो देखिने पेट्रोनास ट्विन टावरको ८६औँ तलामा रहेको अवलोकन डेक वा डबल-डेकर स्काई ब्रिज यहाँको अर्को आकर्षण रहेछ।

ग्राउन्ड फ्लोरमा भेटिएका एक सेक्युरिटी गार्डको नेमकार्डमा रामकुमार लेखिएको थियो। पाको उमेरको देखिने उहाँ पक्कै नेपाली हो भनेर ठम्याइसकेपछि मैले काका सम्बोधन गर्दै नमस्कार गरेँ। जुम्ल्याहा हात जोडेर नमस्कार फर्काउँदै उहाँ म छेउ आउनुभयो। सिन्धुली घर रहेछ। हाम्रै समूहका अन्य साथीसँग अघि नै कुराकानी भइसकेको रहेछ। कुराकानी मात्र होइन, एकछिन रमाइलै पनि भएछ। साथीहरूलाई नेपालीजस्तो लागेर बोल्न खोज्छन् तर रामकुमार काका भने अंग्रेजीमा बोल्छन् रे! छोड्दिनुस् यो अङ्ग्रेजी सङ्ग्रेजी, हामी नेपाली हौँ नेपालीमै कुरा गरौँ भनेपछि एकछिन हाँसो मच्चिएछ।

काकाले हामीलाई ट्विन टावर कसरी घुम्ने भनेर बताइदिनुभयो। लुभावनी दृश्यको लागि चर्चित यी टावरमा रहेको सेक्युरिटी फोर्स, सपिङ मल, रेस्टुरेन्ट लगायतका क्षेत्रमा बाक्लो संख्यामा नेपाली देखिन्थे।

फोटो सुटिङ गरिदिने व्यवसाय पनि रहेछ त्यहाँ। लाइनै बसेका फोटोग्राफरले फुलबारी पार्कमा हामीलाई बोलाइरहेका थिए। हामीसँग उनीहरूसँग सुटिङ गर्ने समय थिएन। आफ्नै मोबाइलका क्यामेरा खिचिकखिचिक पार्‍यौँ।

अब हामीलाई डिनरमा जुट्नु थियो। वेदराज सेलिङ दाइको बाजेले एउटा रेस्टुरेन्टको लोकेसन पठाउनुभएको थियो। सि फुड रेस्टुरेन्ट थियो त्यो। २० मिनेटको ट्याक्सी यात्रापछि पुग्यौँ। बुकीपिन्ताङ भन्ने सहर रहेछ। रात्रिकालीन मेला लाग्दो रहेछ। कताकता हङकङको लाङ्काइ फोङको झल्को लाग्ने। 

हाम्रो टिम नाइट क्लब, डान्स बारको रमझममा रमाउने परेन। सिफुड बजारमा रमाइयो। वेदराज दाइको बाजे भनेपछि बुढो मान्छे होला भन्ने सोचेका थियौँ तर भर्खरको तन्नेरी हुनुहुँदो रहेछ। नाताले मात्र बाजे पो हो रहेछ!

समान उमेरका बाजेले मलेसिया लगायत अन्य देश गरी २३ वर्ष विदेशी भूमिमा बिताइसक्नु भएको रहेछ। मले भाषा नेपाली भाषा बोल्नुभन्दा सजिलो लाग्छ भन्दै हुनुहुन्थ्यो। बाजेसँगको भेटघाट तथा डिनर कार्यक्रम अविस्मरणीय बन्यो।

बुकीपिन्ताङमै रातको ११ बजिसकेछ। भोलिपल्ट (२३ जुन) ७:१५ को उडान थियो। बाजेसँग बिदा भएर बासस्थान आइपुग्दा घडीले १२:५० बजाइसकेको थियो।

अघिल्लो दिनको दौडले शरीर कक्रक्कै थियो। त्यसैले म चाहिँ सिधै रुमतिर लागेर आराम गरेँ। तर, दाइहरू भने अन्तिम समयको सम्झाउनी बिर्साउनी एकछिन यता रमाउनुपर्‍यो भन्दै हामी बसेको होटलसँगैको अर्को रेस्टुरेन्टतिर लाग्नुभयो।

कोठामा पुगेर सुतेपछि म भुसुक्कै निदाएछु। दाइहरू कतिखेर आउनुभयो कुनै चाल पाइनँ। एक्कासी बिहान ६ बजे मात्र हतारिँदै लबी काउन्टर आउनुहुन्छ– हैट! कस्तो भुतुक्कै निद्राले छोपेछ नि भन्दै!

म पनि सुतेकै सुत्यै भएछु। दिलु दिदीले ४ बजेदेखि सबैलाई कल गर्नुभएको रहेछ। दर्जन बढी पटक कल गर्नुभएछ कसैको फोन उठे पो! अन्त्यमा केही सिप नलागेर काउन्टरको स्टाफलाई ढोका ढकढकक्याउन पठाउनु भएछ। धन्न उहाँकै कारण म ५ बजे उठ्न सकेछु।

दिनानाथ काकाको जहाज मलेसियन एअरलाइन्स रहेको हुँदा उहाँ ५:४० बजे नै एअरपोर्टको लागि बाटो तताइसक्नुभएको थियो। उहाँको उडान ८ बजेको थियो। लौ न नि ढिला भएछ भन्दै हानिइहाल्नुभयो।

हाम्रो एअर एसियाको उडान त झन् ७:१५ कै थियो। अब समय १ घण्टा मात्र बाँकी छ! ट्याक्सीवालासँग बुझ्दा एअरपोर्ट पुग्नै सवा घण्टा लाग्छ भन्छ! अब सबैको मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। जहाज शतप्रतिशत छुट्ने निश्चित भयो। ट्याक्सीवालाले हावाको चालमा प्रतिघण्टा ११५ को रफ्तारमा गाडी हुँइक्याएर एक घण्टामै एअरपोर्ट त ओरालिदियो तर हाम्रो काउन्टर ४५ मिनेट अगाडि नै बन्द भइसकेको त्यहाँको कर्मचारीले बताइन्।

अब खुइय्या काढ्दै अर्को जहाजका लागि अनलाइन सर्च गर्न थाल्यौँ। दिनानाथ काकाले फोन गरेर मेरो उडान हुन लाग्यो सबै जना हङकङ एअरपोर्टमा भेटौँला भन्नुभयो। हामी त यता बिलखबन्दमा थियौँ, सारा कथा सुनायौँ। सुनाएर मात्र उहाँले पनि के नै गर्ने परिस्थिति थियो र!

क्वालालम्पुर-हङकङ, बाटिक एअरको १० बजेको टिकट पाउन सकिने सम्भावना देखियो। भिसा कार्डबाट रमेश सर र वेदराज दाइले क्षणभरमै टिकटको तयारी गर्नुभयो। काउन्टरसम्म पुग्नको लागि फेरि १५ मिनेट ट्रेन चढ्नुपर्ने रहेछ, गयौँ एअरपोर्टभित्रभित्रै। टिकट इकोनोमी क्लासको नभएर बिजनेस क्लासको मात्र रहेछ।

जहाज छुटेपछि अन्य जहाजको खोजी गर्दै टोली

एकछिन दोधारमा परियो। छलफल गर्‍यौँ र टुङ्गो लगायौँ– जति खर्च लागे पनि नगई त भएन! यसपछि ५ जनाकै टिकट बुक भयो। केही हल्का महसुस हुँदै काउन्टर पुगेर टिकट देखाउँछौँ, कर्मचारी अलि आत्तिएको जस्तो गर्छिन्। कतै फोनमा पनि कुराकानी गर्छिन्। अन्त्यमा, एक जना मलेसियामै बस्नुपर्ने निर्णय सुनाउँछिन्।

भोलि बिहानको फ्लाइटमा एक जना जान सक्नु हुन्छ अन्य ४ जना अहिले जान सक्नुहुन्छ, को बस्ने सल्लाह गर्नुस् भन्छिन्। एकछिन राहत महसुस गरेका हामीलाई फेरि अर्को समस्या आइलाग्यो। सबै जाने कोही नबस्ने भन्दा सबै बस्न सक्नुहुन्छ तर सबै जानलाई मिल्दैन भन्छिन्। 

एक जना मात्र बस्दा समस्या भए २ वा ३ जना बस्नुहोस्, कुनै समस्या छैन तर एक जना चाहिँ अनिवार्य बस्नुपर्छ। होटलमा नि:शुल्क खानबस्न हामी जिम्मा लिन्छौँ भन्छिन् घुम्टोवाली कर्मचारी।

रविनकुमार बडाबा टिमकै सिनियर हुनुहुन्थ्यो। अन्त्यमा उहाँलाई नै राख्ने निर्णय गर्दै भोलि भेट्ने भनेर बाइबाइको हात हल्लाइयो।

हङकङ एअरपोर्टमा भ्रमण टोली साथमा एचकेनुट्राका संयोजक पर्वत गुरुङ

सारा छिनाझपटपश्चात चार जना बिजनेस क्लासमा बसी मस्त निदाएर हङकङ आइपुग्यौँ। एअरपोर्टमा एचकेनुट्राका संयोजक पर्वत गुरुङ दाइ खादामाला लिएर सम्मानको लागि आइसक्नुभएको रहेछ। दिना काका पनि हाम्रै पर्खाइमा बस्नु भएको रहेछ। मिठो सम्मानपश्चात सबै जना एअरपोर्टबाट बिदा भएर आआफ्नो घर फर्क्यौँ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .