गैरआवासीय नेपाली संघ (एनआरएनए), हङकङले यहाँ रहेका नेपालीहरूको उपस्थितिमा हरितालिका तीज मनाएको छ।
एनआरएनए, हङकङ महिला फोरम र नेपाली महिला संघ, हङकङको संयुक्त आयोजनामा शनिबार साँझ जोर्डनस्थित इन्डिया क्लबमा ‘तीज उत्सव २०२५’ मनाइएको हो।
हङकङका लागि नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाली महिला संघ हङकङका अध्यक्ष तथा एनआरएनए आईसीसी महिला सचिव टीका गुरुङले अध्यक्षता ग्रहण गरेकी थिइन्।
कार्यक्रममा याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, हङकङ नेपाल पर्यटन दूत प्रकाश पुन, एनआरएनए आईसीसी सह-कोषाध्यक्ष अमृता थापा, एनआरएनए हङकङका पूर्वअध्यक्ष गोकर्णप्रसाद ढकाल, एनआरएनए हङकङ आईसीसी सदस्य डिल्ली विक, हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष रिता गुरुङ लगायत अग्रणी व्यक्तित्व सहभिगता रहेको थियो।
हङकङमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि र यहाँ रहेका नेपाली दिदीबिहिनीहरूको बाक्लो उपस्थितिमा तीज कार्यक्रम मनाइएको थियो।

आफ्नो कलासंस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एनआरएनए हङकङले जनाएको छ।
‘हाम्रो कला, संस्कृति र चाडपर्वको महत्त्वलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा उत्साहजनक उपस्थितिले हामीलाई थप ऊर्जा प्रदान गरेको छ,’ एनआरएनए हङकङका अध्यक्ष अनु राई भन्छिन्, ‘विदेशमा भएर पनि आफ्नो मौलिकता र परम्परालाई यसरी मनाउन पाउनु हाम्रो लागि गर्वको कुरा हो।’
नेपालदेखि आएका लोकगायक सिद्धार्थ आले मगरको प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चित बनाएको थियो।
यसका अलावा कार्यक्रममा तीज क्विन प्रतियोगिता, लक्की ड्र लगायतका मनोरञ्जनात्मक क्रियाकलाप गरिएको थियो।
त्यस्तै, एनआरएनए युवा संयोजक मनोज गौतमको उपहारले कार्यक्रमलाई थप रोमाञ्चित बनाएको थियो। संयोजक गौतमले सहभागीहरूलाई ३/३ किलो चिकेनपिस बाँडेका थिए।
कार्यक्रममा एनआरएनए, हङकङका नवनिर्वाचित तथा नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको थियो।
Shares

प्रतिक्रिया