मकाउमा फिलिपिनो फाइटरविरुद्ध रविन्द्र ढाँटको जितले देखाएको कूटनीतिक मार्गचित्र

मकाउमा फिलिपिनो फाइटरविरुद्ध रविन्द्र ढाँटको जितले देखाएको कूटनीतिक मार्गचित्र

इन्दर पुन
जेठ १६, २०८३ शनिबार २१:१४, हङकङ

मकाउको ग्यालेक्सी एरेनामा बझाङका रविन्द्र ढाँटले ‘रोड टु यूएफसी’ सेसन-५ मा फिलिपिनो फाइटरलाई दोस्रो राउन्डमा नकआउट गर्दै रचेको ऐतिहासिक जित केवल एउटा खेलको विजय मात्र होइन। यो त नेपाली नागरिकता र पहिचान बोकेर विश्वमञ्चमा सम्भावनाको खोजी गरिरहेका प्रत्येक नेपालीका लागि ‘सपनाभन्दा माथिको सपना’ देख्ने र त्यसलाई साकार पार्ने एउटा शक्तिशाली प्रस्थानविन्दु हो।

नेपालको एक विकट र उपेक्षित गाउँमा जन्मिएको, भारतमा मजदुरी गरेर हुर्किएको एउटा युवाले जब मकाउको त्यो विशाल एरेनामा विश्वकै सबैभन्दा ठूलो फाइट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा पाइला टेके तब इतिहासको नयाँ पाना लेखियो।

रविन्द्रको त्यो सानदार नकआउट भिडिओ क्लिप सामाजिक सञ्जालमा यूएफसीका अन्य ‘रोड टु यूएफसी’ फाइटका क्लिपभन्दा दसौँ गुणा दर्शकले हेरेका छन्। यो कुनै सामान्य क्षणिक हल्ला होइन, यो त इतिहासको निर्माण हो, जसले आगामी पुस्ताका नेपाली खेलाडीका लागि एउटा लामो र फराकिलो बाटो निर्माण गरेको छ।

यस जित र दर्शक उपस्थितिलले के प्रमाणित गर्छ भने, विश्व खेलकुद बजार र विशेष गरी यूएफसीले नेपालको एउटा नयाँ, आक्रामक र अत्यधिक निष्ठावान् ‘निस मार्केट’ फेला पारेको छ र नेपालीले बझाङको बाघ पाएका छन्।

नेपाली दर्शकको एउटा विशिष्ट विशेषता छ– उनीहरू केवल कुनै एउटा व्यक्तिको खेल हेर्दैनन्, उनीहरू त आफ्नो देशको झन्डाको प्रतिष्ठालाई समर्थन गर्छन्। रिङभित्र जसले देशको प्रतिनिधित्व गर्दै नेपाली भएर लड्छ, उसले सिङ्गो राष्ट्रको बिनासर्त र साझा समर्थन पाउँछ।

यो परिदृश्य निकै चाखलाग्दो छ जुन यसअघि यूएफसीको इतिहासमा केवल आइरल्यान्डका कोनर म्याकग्रेगर को म्याचहरूमा देखिन्थ्यो। म्याकग्रेगरले जसरी सिङ्गो आयरल्यान्डलाई आफ्नो समर्थनमा जुरुक्क उकासेर देशको ग्लोबल ब्रान्डिङ गरेका थिए, आज त्यही राष्ट्रिय भावना र ‘भाइब्स’ रविन्द्रको माध्यमबाट विश्वभरिका नेपालीमा सञ्चार भएको छ। निराशाका माझ भेटिने सानो खुसी ‘सिल्भर लाइनिङ’ लाई नेपालीले कति ठूलो उत्साहका साथ मनाउँछन् भन्ने यसले प्रमाणित गरिदिएको छ।

एमएमए तथा एथलेटिक्स जस्ता विधाहरू व्यक्तिगत खेल हुन्, तर यिनीहरूको नतिजा सिधै राष्ट्रिय गौरव र प्रतिष्ठासँग जोडिएको हुन्छ। विकसित मुलुकहरूमा प्रविधि, वित्त, खेल पूर्वाधार र तालिमका हिसाबले अवसरहरूको उपलब्धता र अवसरको समानता निकै उच्च हुन्छ। त्यहाँका खेलाडीले राज्य र कर्पोरेट क्षेत्रबाट पूर्ण सुरक्षा र सहयोग पाउँछन्।

तर, नेपालजस्तो विकासोन्मुख देशमा राज्यको तर्फबाट लगानी न्युन छ वा छँदै छैन भन्दा पनि फरक पर्दैन। खेलाडीहरू व्यक्तिगत सङ्घर्षका भरमा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नुपर्ने बाध्यता छ। रविन्द्रलाई पनि अन्य देशको नागरिकता लिएर खेल्न प्रलोभनहरू आएका थिए। तर, उनले नेपाली पासपोर्ट नै बोक्ने ढिट गरे। जब राज्य मौन थियो, कोच डिभिज पिया लामाले आफ्नो व्यक्तिगत लगानीमा उनलाई थाइल्यान्ड हुँदै भारत र इन्डोनेसियामा तालिम गराउनुपर्‍यो।

रविन्द्रले जितिसकेपछि सरकारका विशिष्ट व्यक्तिहरूबाट सामाजिक सञ्जालमा बधाईका ट्विट र स्टाटसको बाढी आएको छ। खेलाडीलाई सङ्घर्षको बेला एक्लै छोड्ने अनि सफलता पछि ‘क्रेडिट’  लिन मात्र अघि सर्ने प्रवृत्ति सरकारले छोड्नु पर्दछ।

यो भन्दा पनि डरलाग्दो पक्ष भनेको नेपाली पासपोर्टको कमजोर साख र कडा भिसा प्रतिबन्धका कारण सिर्जित वैश्विक गतिशीलताको संकट हो। विश्वकै शीर्ष स्थानमा रहेकी नेपाली ट्रायल रनर सुनमाया बुढाको जापान भिसा अस्वीकृत भएको पीडादायी घटना र अरू थुप्रै विधाका नेपाली खेलाडीले भोग्नुपरेको भिसा समस्या यसका ज्वलन्त उदाहरण हुन्।

जब देशको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले नै भिसा प्रतिबन्धका कारण प्रतियोगिता गुमाउनुपर्छ भने त्यसले देशको खेलकुद मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नागरिक हुनुको आत्मसम्मानलाई समेत ठेस पुर्‍याउँछ।

यो स्थिति बदल्नका लागि अब नेपाल सरकारले केवल ट्विट गरेर बस्ने होइन, ठोस नीतिगत हस्तक्षेप र कूटनीतिक पहलकदमी लिनु आवश्यक छ। अब विश्वभरिका नेपाली खेलाडी र उनीहरूलाई साथ दिने तथा व्यावसायिक रूपमा खेलकुद प्रवर्द्धन गर्ने समर्थक दुवैका लागि द्रुत मार्गबाट भिसा सेवा उपलब्ध गराउन सरकारीस्तरमा र व्यावसायिकस्तरमा गम्भीर कूटनीतिक वार्ता र सम्झौताहरू हुन जरुरी छ।

सरकारले अहिलेको ढाँटको ‘भाइब्स’लाई समातेर खेल क्षेत्र र अर्थतन्त्रलाई जोड्ने एउटा आदर्श मोडल तयार गर्नु पर्दछ। यसलाई पर्यटन, खेल पर्यटन र नेपालमै विश्वस्तरीय खेलहरू आयोजना गर्ने उपयुक्त माध्यम बनाउनु पर्दछ।

हामी क्रिकेटकै उदाहरण हेर्न सक्छौँ– केवल एउटा राम्रो खेलमैदान निर्माण गरेर अन्तर्राष्ट्रिय मञ्चमा कति ठुलो ‘भ्यालु एड’ भइरहेको छ। यदि सरकारले यसमा खेलकुद कूटनीतिलाई अगाडि बढाउने हो र नेपाललाई मार्सल आर्ट्स वा अन्य खेलहरूको एउटा अन्तर्राष्ट्रिय हब बनाउने हो भने यसले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय ब्रान्डिङमा अवश्य कायापलट ल्याउनेछ।

सरकारले मात्र होइन, प्रवासमा रहेका हामी नेपाली समर्थक र उद्यमीहरूका लागि पनि एउटा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने जरुरी देखिन्छ। हङकङ, मकाउ र अन्य ग्लोबल बिजनेस हबमा बस्ने नेपालीले यो एक/दुई दशकमा निकै राम्रो प्रगति गरेका छन्। प्रवासमा अनगिन्ती सामाजिक संस्थाहरू खोलिएका छन्।

सामाजिक काम गर्दैगर्दा भने केही संस्थामा पदका लागि राजनीति र गुटबन्दी गरिरहेको देखिन्छ। र, सामाजिक सञ्जालमा नेपालको राजनीतिमाथि निरर्थक टिप्पणी गरेर बसेको देखिन्छ। तर, जब हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रिय मञ्चमा स्पन्सरसिप र आर्थिक अभावले छटपटाइरहेका हुन्छन्, त्यतिबेला डायस्पोरा नै मौन बस्ने गरेको देखिन्छ।

मकाउको ग्यालेक्सी एरेनामा राष्ट्रिय झन्डा बोकेर एरेना नै थर्किने गरी ‘नेपाल-नेपाल’, ‘आयो गोर्खाली’, ‘बझाङको बाघ-रविन्द्र ढाँट’ जस्ता नारा लगाउँदै हुटिङ गर्नु निकै गौरवको कुरा हो। तर, अब हाम्रो दायित्व केवल ताली बजाउने र फेसबुकमा फोटो हाल्ने कुरामा मात्र सीमित हुनु हुँदैन। अब हामीले नेपाली खेलकुद र खेलाडीलाई एउटा व्यावसायिक र रचनात्मक दृष्टिकोणले हेर्दै संस्थागत रूपमा फन्डिङ र स्पन्सरसिप जुटाउन कर्पोरेट पुलको काम गर्नैपर्छ।

सरकारको काम सरकारले गर्दै गर्छ, हामी निरन्तर नागरिक वकालत गरिरहौँ। हामी नागरिकस्तरबाट गर्न सकिने सबैभन्दा सजिलो काम गरिरहौँ। हामी सीमित भौतिक परिधिभन्दा माथि उठी यस किसिमका अन्तर्राष्ट्रिय इभेन्ट्स र म्याचहरू हेरौँ, सपोर्ट गरौँ। आफूलाई पायक पर्ने विभिन्न स्थानमा आयोजना हुने यस किसिमका म्याचहरू हेर्न नछुटाऔँ।

हामी आफ्नै सरकार, अन्तर्राष्ट्रिय इभेन्ट्सका आयोजकहरूलाई दरो सन्देश दिऔँ कि हामी पनि कम छैनौँ, हामी नेपाली पनि उठ्दैछौँ, स्तर उन्नति गर्दैछौँ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .