हङकङ आगलागीमा ज्यान गुमाउने ती नेपाली, विभेदकारी प्रश्न वर्षाउने यी पत्रकार

हङकङ आगलागीमा ज्यान गुमाउने ती नेपाली, विभेदकारी प्रश्न वर्षाउने यी पत्रकार

हङकङका नेपालीका लागि २०७७ सालको भाइटीकाको अघिल्लो दिन अर्थात् २०२० नोभेम्बर १५ तारिख साँझ अकल्पनीय, अत्यन्तै दुःखद र हृदयविदारक बन्यो। हङकङजस्तो संसारकै सुरक्षित मानिने सहरमा सन् १९४१ मा निर्मित चारतले भवनको पहिलो तलामा त्यो साँझ भएको भीषण आगलागीमा परी ९ वर्षका बच्चादेखि, किशोरी, युवक, युवतीसम्म ८ जनाको मृत्यु भयो। यस्ता घटना जानेर/नजानेर मानवीय गल्तीबाटै हुन्छन्। हङकङमा यसरी एकसाथ धेरै मानिसको इहलीला समाप्त पार्ने गरी भयानक आगलागी भएको यो नै पहिलो घटना भने होइन।

सन् १९४८ सेप्टेम्बर २३ बिहान साउथ चाइना मर्निङपोस्टको मुख्य समाचार यस्तो थियो- ‘ओभर हन्ड्रेड क्याजल्टिज गोडाउन, फायर स्टिल रेजिङ आफ्टर सिक्सटीन हावर्स। ड्यामेज इस्टमेटेड एबाउट ४० मिलियन डलर। सेभ्रल चायर्ड बडिज ओएर फाउन्ड इन द स्ट्रिट एन्ड लेन्स सराउन्डिङ बिल्डिङ टु पिपुल जम्प टु डेथ बिफोर फायर बिग्रेड एन्ड एम्बुलेन्स एराइभ्ड।’

अघिल्लो दिन बिहान ८ बजे डेभोक्स रोड पश्चिम सेन्ट्रलको चारतले विङ अन गोडाउनमा भएको यो आगलागीमा १७६ जनाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए। त्यसको पर्सिपल्ट हङकङका तत्कालीन गभर्नर अलेक्जेन्डर ग्राथमले घटनास्थल निरीक्षण गर्दै पीडितलाई सहयोग र दोषीलाई कानुनी कारबाही गरिने भन्दै आयोग गठन गरेका थिए। तल दुईतलामा गोदाम घर र माथिल्लो तलामा बासस्थान नभएको भए त्यति धेरै मानिसको ज्यान जान्थेन।

यसैगरी सन् १९९६ नोभेम्बर २० मा जोर्डन नाथन रोडको गार्ली कमर्सियल बिल्डिङमा भएको आगलागीमा ४१ जनाको मृत्यु भयो भने ८१ जना घाइते भए। चौधौं तलाबाट जल्दै हामफालेका दुई युवतीको भिडियो बेलुका टेलिभिजनमा हेर्ने जो कोही पनि भावविह्वल भए, आआफ्ना ईश्वर पुकार्दै आँखा चिम्लिए।

करिब १५२ वर्ष पहिला अर्थात् १८६८ मे ९ मा स्थापना भएको र हाल साढे ११ हजार दक्ष जनशक्ति भएको हङकङको ‘आगलागी नियन्त्रक सेवा संस्था’ संसारकै उत्कृष्टमध्ये एक मानिन्छ। तर त्यसप्रति हामी नागरिकको पनि जिम्मेवारी र दायित्व हुन्छ, सहयोग र साथ आवश्यक पर्छ। कतिपय अवस्थामा अग्नि नियन्त्रकहरूले नै ज्यान गुमाएका घटना कैयौं छन्। २००८ अगस्ट १० मा मङककको यौटा नाइटक्लबमा आगलागी भएको थियो। माथिल्लो तलामा च्यापिएकाहरूको उद्धार गर्न जाँदा ४६ वर्षका वरिष्ठ अग्नि नियन्त्रक र जागिर खाएको एक वर्षमै अर्का २५ वर्षीय युवकले ज्यान गुमाउनुपर्‍याे। 

यस्तै यो दशककै ठूलो आगलागी सन् २०१६ मा नाग ताऊ कोकको यौटा औद्योगिक भवनमा भएको थियो। जसमा पनि अरूलाई बचाउन जाँदा दुई जना अग्नि नियन्त्रकको मृत्यु भयो।

यस्ता कर्मवीरहरूको राजकीय सम्मानसहित अन्त्येष्टि र परिवारलाई जीवनभर सरकारले यथेष्ट आर्थिक, भौतिक तथा मानसिक सहयोग गर्छ नै। तर पनि परिवारलाई घरको भित्तामा माला लगाइएको प्रिय पात्रको तस्बिरले जीवनभर मुटु घोचिरहन्छ। यो इतिहासलाई यतिमै बिट मार्दै अब लागौं, ताजा घटनातर्फ।

HK fire 8
यी ८ जनाको ज्यान गयोः माथिल्लो लहरमा बायाँबाट अनिता निरौला, विनिता तामाङ, कृतिका कँडेल, राजु नेपाल र, तल्लो लाइनमा रायन कँडेल, शेरबहादुर गुरुङ, सुरेखा कँडेल, युवराज कँडेल

आगलागी भएको रातिदेखि बिहान हुँदासम्म ‘गैरकानुनी नेपाली रेस्टुरेन्टमा आगलागी’ भन्ने समाचारले श्रव्य, दृश्य तथा छापामा प्रमुख स्थान लियो। हुन पनि रेस्टुरेन्ट नेपालीले नै सञ्चालन गरेको गैरकानुनी नै थियो। त्यो दुर्घटना (आगलागी) हुनुमा सञ्चालककै चरम लापरबाही देखिन्छ। बाहिर आवाज नजाओस् भनेर अत्यधिक प्रज्वलनशील फोम चारैतिर टाँस्नु, क्षमताभन्दा बढी विद्युतीय उपकरण प्रयोग प्रारम्भिक कारण देखिन्छ। प्रमुख कारणमा आगलागी भइसकेपछि कसैलाई पनि आपतकालीन नम्बरमा फोन गर्न नदिई आफैंले बाल्टिनमा पानी ल्याएर निभाउने प्रयास गर्नु। यसो गर्नुभन्दा ढोका खोलेर बाहिर जानु भनेको भए सबैको ज्यान जाँदैनथ्यो।

भनिन्छ- बाहिर धुँवाको मुस्लो देखिएपछि कसैले बाहिरबाट आपतकालीन नम्बरमा फोन गरेको ३ मिनेटमै अग्नि नियन्त्रक टोली आइपुगेको थियो। केहीले अगाडिको झ्याल र केहीले शौचालयको झ्यालबाट हामफालेर ज्यान जोगाए। अग्नि नियन्त्रकहरूको प्रयासले केहीको उद्धार भयो। बाँकीको भित्र धुँवामा निसासिएर ज्यान गयो।

भोलिपल्ट बिहानै ८ बजे कार्यकारी प्रमुख क्यारी लामले घटनास्थलको स्थलगत अवलोकन गर्दै घटनाको छानबिन, पीडित र घाइतेलाई आर्थिक, भौतिक र मानसिक सहयोग गर्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइन्। घटनास्थलमा केही दिन समाचार र टेलिभिजन संवाददाताले अड्डै जमाए।

हुन त हङकङका नेपाली नेता, अभिनेता, व्यापारी, बुद्धिजीवीलाई के लाग्यो कुन्नि, मलाई भने हङकङको यौटा जेठो समाचारपत्र हेर्दा निकै नमीठो र नरमाइलो लाग्यो। जसमा भनिएको थियो- ‘नेप्लिज पिपल कान्ट इफोर्ट टु गो लिगल रेस्टुरेन्ट बिकज अफ मनी’ अर्थात् नेपालीहरू लाइसेन्स प्राप्त रेस्टुरेन्टमा महँगो हुने भएकाले त्यस्ता अवैध रेस्टुरेन्टमा खाना खान जान्छन्। यस्तै हो त? अवश्य होइन, शतप्रतिशत गलत। तर खण्डन गर्ने कसले?

दुई/चार दिन त यस्तो भयो कि कोही नेपाली भन्ने थाहा पाउनेबित्तिकै पत्रकारहरूले समातेर अन्तरवार्ता वा प्रतिक्रिया लिइहाल्ने ! यहाँ त फेरि उही ‘भिरगया बन्दुक होगया हवल्दार’, सबैलाई मिडियामा आउने लालसा जुन छ। मै ठूलो, मेरै संस्था ठूलो, सबै मैले गरेको भन्नुछ। सबैले बोल्नुभन्दा एक जनाले बोल्नु। के बोल्ने के नबोल्ने, कसरी बोल्ने? जान्नीले मात्रै बोल्ने। नजान्नीलाई टीभीमै देखिन रहर भए साइडमा उभिए भैगो। हङकङे नेपालीको कुन हो त आधिकारिक संस्था भनेर सोधियो भने तुरुन्तै लंकाका राजा रावणका जस्तै दशवटा टाउका देखिन्छन्। अनि सबै तँछाडमछाड गर्न थाल्छन्।

घटनापछि एकदिन फोनवार्तामा हङकङको सरकार र स्थानीय नेपाली संघ/संस्थाबीच समन्वय गरिरहेका वाणिज्यदूत किरणकुमार गुरुङले नेपाली समाजबारे दुःखी हुँदै भने, ‘एकातिर सिलायो, अर्कातिर उध्रिन्छ, यता सिलायो, उता उध्रिन्छ, सिलाउनै नसकिने पो रहेछ ! हङकङको चारवर्षे बसाइ त प्रमाणपत्र नपाए पनि अनुभवमा चाहिँ मानवशास्त्रमा विद्यावारिधि गरेजत्तिकै होला जस्तो छ कमलजी।’

मैले थपें, ‘किरणजी, कार्यक्रममा सबै आसन ग्रहण गर्न उक्लिएपछि दर्शकदीर्घा खाली हुने ठाउँ हो यो। अझ हुने भए दाहसंस्कार कार्यक्रममै छातीमा ठूलो बिल्ला लगाएर प्रमुख वा विशेष अतिथि बन्न र माइक फुफु गर्दै दुईशब्द भने पनि बोल्न रहर गर्नेहरू धेरै छन्। को भन्दा को कम? अरूको त कुरै छाडौं, जुँगाको लडाइँले गर्दा ठूलाबडा व्यापारी, बुद्धिजीवी भनाउँदाकै बीच हिंसात्मक घटना हुन्छन्।’

पर्सिपल्ट बिहान स्थानीय डिस्ट्रिक काउन्सिलर डेरिक हुङले फोन गरेर भने, ‘कमल टिभीबी पर्ल लुकिङ टु टक सम नेप्लिज पिपुल टक एबाउट फायर एक्सिडेन्ट, आर यु इन जोर्डन राइट नाउ?’

आफू टाढा भएकाले तुरुन्तै आउन असमर्थ भएको जवाफ दिएँ।

यस्तैमा हङकङ एकिकृत नेपाली समाजका सीताराम ढुंगानाको मेसेज आयो, ‘यौटा अनलाइनका पत्रकार अन्तरवार्ताका लागि आउँदै छिन्। प्रश्न पनि पठाइसकेकी छिन्। यसो सुझाव वा फुर्सद भए यतै अफिसमा आऊँ।’

नेक्स्ट म्यागजिन डटकमकी पत्रकारका प्रश्न हेरें।

उही कुरा- ‘इन जनरल नेप्लिज पिपल लिभिङ इन अ पोर एन्ड ब्याड इन्भायरमेन्ट? लाइक सब डिभाइडेड एपार्टमेन्ट इन डाउनटाउन एरियाज लाइक याउमातेई? हाउ मच दे आर पेइङ फर देअर प्लेस फर लिभिङ? एनी अदर डेली एक्सपेन्सेस?’

यस्तै आशयका ६ वटा प्रश्न रहेछन्।

मैले भनें, ‘ढुंगानाजी, तपाईंले पनि बुझ्नुभएको छ, यी प्रश्नहरू नै विभेदकारी छन्। प्रश्न यसरी सोधिएको छ कि सबै हङकङवासी भिक्टोरिया पिकमाथि वा क्लियर वाटरवेको बङलोमा बस्छन्, बस्, नेपालीहरू मात्रै जोर्डन, याउमातेईमा। त्यसैले उत्तर नदिँदा पनि हुन्छ। दिने नै भए यिनलाई प्रतिप्रश्न गर्नुस्।’

दोस्रो विश्वयुद्धभन्दा पहिला बनेका जोर्डन, याउमातेईका घना बस्तीमा कति प्रतिशत नेपाली बस्छन्? एक वा दुई प्रतिशत? या बढीभन्दा बढी सबै दक्षिण एसियाली मुलका मिलाए पनि ५ प्रतिशत? यौटै छतमुनि र मूल ढोकाभित्र बस्ने बाँकी ९५ प्रतिशतचाहिँ को हुन्? स्थानीय चिनियाँ हैनन्? अनि कसरी त्यही एरिया र यौटै छतमुनि बस्ने नेपालीको मात्रै पोर एन्ड ब्याड इन्भायरमेन्ट भयो? आगलागी भएकै घरको माथिल्लो तलामा चिनियाँहरू बस्छन्। तिनै चिनियाँले भवन विभागको कानुनविपरीत संरचना बनाएको भनेर अग्नि नियन्त्रक विभागले पनि भनिसक्यो त !

हङकङमा आउने लगभग सबै पर्यटकले घुम्ने जोर्डनको नाइट मार्केटका लगभग सबै सिफुड रेस्टुरेन्टमा त्यसरी बसेर खाना वा अल्कोहल पिउन पाउने वा बेच्न पाउने प्रमाणपत्र छैन। हरेक दिन कतिबेला ६ बज्ला र सम्बन्धित सरकारी कर्मचारीको छुट्टी होला र बाटाभरि टेबुल राखेर व्यापार गरौंला भन्दै घडी हेर्ने रेस्टुरेन्ट व्यापारी देखेको दशकौं भइसक्यो।

यसको मतलब अरूले गर्छन्, हामीले किन नगर्ने भन्ने पटक्कै हैन। हामी गरिब देशकै भएकाले हाम्रा गल्ती ठूला समाचार बन्छन्। हामी सुध्रिनुचाहिँ पर्छ। ढुंगानासँग यस्तै फोनवार्ता गर्दैगर्दा परिचित स्थानीय नाउ टेलिभिजनकी संवाददाता कृष्टि चुङको फोन आयो- ‘हाई कमल, आई हर्ड सम अफ द फायर भिक्टिम फेमिली सेलेबेरेट बर्थडे इन योर रेस्टुरेन्ट लास्ट विक?’

मैले भनें, ‘एस दे डिड। आई निड टक टु यु एबाउट फायर एक्सिडेन्ट एन्ड नेप्लिज कम्युनिटी इन हङकङ।’

‘डु यु ह्याभ टाइम टुमारो?’

सोचें- नेपाली समाजविरुद्ध फैलाइएका नकारात्मक समाचारहरूको खण्डन गर्ने राम्रो प्लेटफर्म हुन सक्छ। र, भनें, ‘एस स्योर।’

भोलिपल्ट दिउँसो १ बजे आफ्नो छायांकन टोलीसहित उनी आइपुगिन्, कङ्गन रेस्टुरेन्टमा।

पहिल्यै कृष्टिलाई भनें, ‘लुक कृष्टि सम मिडिया अन्डरमाइन नेप्लिज कम्युनिटी इन हङकङ। स्पेसल्ली आई वान्ट क्लियरिफाई एन्ड फोकस अन द्याट मेटर।’

‘यस स्योर’ भन्दै छातीमा माइक्रोफोन जोडिदिइन्।

छायांकनसहित प्रश्नोत्तर सुरु भयो।

‘तपाईं घटना भएको त्यो रेस्टुरेन्टमा खाना खान जानुभएको छ?’

‘छैन।’

‘किन त? निकै चलेको थियो भनिन्छ?’

‘मूलतः म नेपाली वा स्थानीय अवैध रेस्टुरेन्टमा जान्नँ। अर्को कुरा म आफैं नेपाली इन्डियन रेस्टुरेन्ट व्यवसायी भएकाले छुट्टीमा परिवारसँग थाई, चाइनिज वा जापानिज खाना खान जान्छु या घरमै खान्छु।’

‘यस्ता अवैध रेस्टुरेन्ट धेरै छन्?’

‘होलान्, मलाई थाहा भएन र मेरो विषयवस्तु पनि परेन।’

‘मानिसहरू किन जान्छन् त यस्ता रेस्टुरेन्टमा?’

‘सायद प्रायः स्तरीय रेस्टुरेन्टमा भन्दा टिपिकल घरकै जस्तो खाना पाइने, नजिकको चिनजान, अनौपचारिक हुन पाइने वा आफन्तको भएर हुन सक्छ।’

‘ती सञ्चालकहरूलाई चिन्नुहुन्छ?’

‘सुनेको छु तर खासै देखभेट छैन।’

‘तपाईंसँग यसपालि तिहारमा बत्ती बालेको फोटो वा भिडियो छ?’

‘छैन।’

‘अनि कस्तो खाले बत्ती बाल्नु हुन्छ?’

मैले मैनबत्तीजस्तै देखिने चार्जेवल क्यान्डल देखाउँदै भनें, ‘आजकल यस्तो प्रयोग गरिन्छ, सुरक्षित भएकाले।’

‘नेपालमा वा इन्डियामा यो तिहारको समयमा यस्तै आगलागीका घटना हुन्छन् सधैं?’

‘मेरो बुझाइमा आगलागीका घटना नेपाल वा इन्डिया, विकसित वा अविकसित तिहार र क्रिसमसको कुरा हैन, जहाँ पनि मानवीय गल्तीले हुन्छ। जुन २०१७ मा लन्डनको चौबीसतले भवनमा विद्युतीय उपकरणबाट आगलागी हुँदा ७२ जनाको मृत्यु भएको त थाहा छ नि?’

उनले भनिन्, ‘एस आई नो।’

‘अझ यही सालको सेप्टेम्बर १० मा बेरुत बन्दरगाहस्थित रासायनिक पदार्थ भण्डार गरिएको विशाल भवनमा भएको आगलागी यो दशककै ठूलो आगलागी थियो हैन र?’

‘हो,’ उनले भनिन्।

‘जहाँसम्म नेपालको कुरा छ। यस्ता ठूला आगलागी खासै हुँदैन। नेपालमा अधिकतर मानिस सामूहिकभन्दा एकल घरमा बस्छन्। सहरदेखि गाउँसम्म। घर फराकिलो भएकाले आगलागीको चान्स कम हुन्छ।’

कृष्टि चुङ पनि अरू पत्रकारले जस्तै नेपाली वा भारतीय यस्तै अवैध रेस्टुरेन्टमा मात्रै जान्छन्, चाडबाडमा जताततै खुला बत्ती बाल्छन्, लापरबाही गर्छन् र आगलागी हुन्छ भन्ने आशयको समाचार बनाउन चाहन्थिन्।

तर मेरा जवाफमा उनले त्यो पाउन नसकेपछि विषयवस्तु मोडिन्।

‘तपाईं हङकङका मिडियाले नेपाली समुदायप्रति नकारात्मक समाचार सम्प्रेषण गरेकामा दुःखी हुनुहुन्छ?’

‘हो। सबैले हैन, केही मिडियाले कुरा नबुझी लेख्छन्। फेरि हामी सबै नेपाली ठीक छौं भन्न खोजिएको पनि हैन,’ मैले भनें, ‘जुन रेस्टुरेन्टमा बसेर हामी कुरा गर्दैछौं यो मैले सञ्चालन गरेको १७ वर्ष भयो। मेरो लगभग ७० प्रतिशत व्यापार हङकङका नेपालीबाट हुन्छ। अनि कसरी नेप्लिज पिपल कान्ट इफोर्ट टु गो लाइसेन्स रेस्टुरेन्ट?’

अगाडि भन्दै गएँ, ‘म मात्रै हैन, जोर्डन एरियामै नेपालीद्वारा सञ्चालित दर्जनौं वैध रेस्टुरेन्ट नेपालीकै कारण बाँचेका छन्। नेपालीद्वारा सञ्चालित सोहो, लाङक्वाइफुङ र वानचाइका चर्चित बार रेस्टुरेन्ट विदेशी र स्थानीयबीच लोकप्रिय छन्। करिब ६० प्रतिशत नेपालीकै सभा/समारोहले व्यापार गरेको जोर्डनको इन्डिया क्लबमा ठाउँ नपाएर पाकिस्तानी क्लबसमेत नेपालीले भरिभराउ हुन्छन्। राम्रो क्रयशक्ति भएका हङकङे नेपाली कोरियन, थाई र चाइनिज रेस्टुरेन्टलाई खान, पिउन नेपालीले खर्च गर्छन् भन्ने राम्रो थाहा छ। सुनदेखि सब्जी र मासुका पसलसम्म नेपालीमा साइनबोर्ड राखेर टुटेफुटेका नेपाली बोल्छन्, स्थानीय चिनियाँ। उदाहरण धेरै छन्।’

सायद मैले धेरै बोलें।

कृष्टिले भनिन्, ‘इट्स ओक्के, भेरी इन्ट्रेस्टिङ !’

‘डु यु ह्याभ द फेमेली पिक्चर अफ भिक्टिम फेमेली हु सेलेब्रेट बर्थडे लास्ट विक?’

‘एस आई ह्याभ।’

‘क्यान यु गिभ मी?’

‘दिन सक्तिनँ। पीडित चरम दुःखमा छन्। यो बेला ती तस्बिर मिडियामा आउँदा झनै दुःखी हुन्छन्।’

अन्तरवार्तापछि कृष्टि र उनको छायांकन टोलीसँग मसाला चिया र सेलरोटीसँगै नेपाली संस्कृति, तिहार र नेपाली खानाबारे अनौपचारिक कुराकानी भयो।

‘ल प्रसारण भएपछि लिंक पठाउँछु’ भन्दै बिदा भइन्।

भोलिपल्ट लिंक पठाइन्। मलाइ पहिल्यै शंका लागेको थियो- उनले मेरो खाले भनाइ खोजेकी थिइनन्। झन्डै ४० मिनेटको मेरो अन्तरवार्ताको उनले खोजेका केही फुटेजसहित यौटा नेपालीकै घर या अफिसमा ढोकादेखि मझेरीसम्म खुला मैनबत्ती र दियो बालेको भिडियो देखाउँदै घटनास्थलकाे तस्बिरमुनि यौटा चिनियाँको विश्लेषण राख्दै १ मिनेट १० सेकेन्डमा बिट मारिछन्।

आजकल मिडियालाई यथार्थता, सत्यता हैन, बजारमा बिक्ने समाचार चाहिन्छ।

यो घटनापछि हङकङका प्रहरीले स्थानीय चिनियाँले सञ्चालन गरेका दर्जनौं अवैध बारमा छापा मारेर हतियार, लागुपदार्थ र मदिरा बरामद गरेका समाचार आएका आयै छन्। अरू पनि ठेगाना एकीकृत गर्दै छन् भन्ने सुन्नमा आएको छ।

सुनिन्छ- घटनापछि केही दिन बन्दै गरिएका अवैध नेपाली दुले रेस्टुरेन्ट पुनः सञ्चालन हुन थालेका छन्।

अब पनि हामी हङकङे नेपाली सच्चिएनौं, सजग भएनौं, अवैधको सट्टा वैध रोजेनौं भने फेरि कुनै दिन ‘हङकङ प्रहरी र खाद्य स्वाथ्य विभागले छापा मारी यति मूल्य बराबरका मदिरा र खाद्य सामग्री जफत र यति जना नेपाली प्रक्राउ गरे’ भनेर अखबारमा हेडलाइन आए आश्चर्य मान्नुपर्ने छैन। अनि फेरि हामी सबैको शिर निहुरिनेछ।

मृतकका परिवारलाई कुनै आर्थिक सहयोग, सान्त्वना, श्रद्धान्जली सभा वा फूलका बुकीले थोरै राहत त देलान्, तर आफन्त गुमाउँदा उनीहरूको मुटुमा लागेको घाउ कहिल्यै निको पार्न सक्दैनन्। मृत्यु जीवनको शाश्वत सत्य हुँदाहुँदै पनि अकाल वा अल्पायु त्यो पनि कसैको लापरबाहीबाट भएको आफ्नाको मृत्युमा मन बुझाउन सकिन्न।

यसो गरेको भए हुन्थ्यो, यसो नगरेको भए हुन्थ्यो भन्ने सोच्दै जीवन बित्छ। जसलाई पर्छ, उसैलाई मात्र पीडा थाहा हुन्छ।

सबै दिवंगतमा चिरशान्तिको कामना तथा भावपूर्ण श्रद्धासुमन ! 

पीडित परिवारलाई यो अत्यन्तै दुःखद अकल्पनीय ब्रज्रपात सहने शक्ति मिलोस्। अनि उपचाररत सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना !!

 

पुस २२, २०७७, बुधबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .