नेपालसहित दक्षिण एसिया र अरू मुलुकमा डेरा खोज्दा जातभेद र रंगभेद प्रशस्त सामना गर्नुपर्छ। पूर्वमा दलितले र पश्चिममा कालाले सहरमा डेरा पाउँदैनन्। यस्ता घटनाको शृंखला लामो छ, शताब्दीयौं भइसक्यो। भर्खरै काठमाडौंमा यस्तै घटना सार्वजनिक भयो । त्यसरी डेरा खोज्दा दलित र कालाले भोगेका समस्या, पीडा, छुवाछुत, भेदभाव, हेपाइ र डेरा नपाउनेबारे साहित्य र सामग्री भेटिन्छन्। दलित र कालाले भोगेका थुप्रै समस्याबारे सुनेका/पढेका छौं। यो लेखमा तामाङहरूले भोगेका केही प्रतिनिधि घटना प्रस्तुत गर्ने प्रयास गरिएको छ।
पश्चिममा विभेद
प्रसिद्ध नाइजेरियन कवि वोल सोयिकांले सन् १९६२ मा ‘टेलिफोन कन्भर्सेसन’ कविता लेखेका छन्। जसमा एक जना अफ्रिकन युवा र घरबेटी महिलाबीचको संवाद छ। फोनमा ती युवालाई ती महिलाले सुरुमै, तिमी काला छौ कि गोरा भनेर सोध्छिन्। अन्तमा, उनले काला जातिको युवा हुनाको कारण ती गोरा जातकी महिलाको घरमा डेरा पाउन सक्दैनन्। यो अवस्थामा अझै तात्त्विक परिवर्तन आएको छैन। अहिले पनि कालाहरूले युरोपदेखि अमेरिकासम्म गोराका घरमा डेरा पाउन सजिलो छैन। विश्व प्रसिद्ध काला जातिका खेलाडीहरूलाई अझै पनि खेल मैदान र विभिन्न स्थलमा अपमान र भेदभाव गर्ने गरिन्छ। गोरा जातिका मानिसले काला जातिका मानिसलाई गर्ने विभेद हटेको छैन। त्यसको एउटा रूप हो– डेरा।
पूर्वमा विभेद
तामाङको अनुभव
नेपालमा डेरा खोज्दा दलितलाई हुने गरेको विभेदबारे लामो समयदेखि चर्चा भइरहेको छ। अरू जातिका पनि विभिन्न विभेदजन्य अनुभव छन्। यहाँ तामाङको अनुभव पनि जोड्न चाहन्छु।
गत फागुनमा पंक्तिकारले डेरा सरेको थियो। काठमाडौंमा कोठा खोज्ने क्रममा जात के हो, रक्सी खान्छ कि खाँदैनलगायतका प्रश्न गरिए। हरेक घरबेटीलाई छोटो–छोटो अन्तर्वार्ता नै दिनपर्ने! नेपालमा को कुन जातिको हो, त्यो आधारमा व्यवहार गर्ने चलन जब्बर छ। जात थाहा पाएपछि त्यसलाई कसरी कुन शब्दले सम्बोधन गर्नुपर्छ, त्यो ‘स्टिरियो टाइपिङ’ तम्तयार छ र त्यहीअनुसार व्यवहार गरिन्छ। मानिलिऊँ– कि त्यसको ‘फर्म्याट’ नै ‘रेडिमेड’ छ। जो आउँछ, त्यसअनुसार फर्म्याट निकाल्यो। पंक्तिकारको अनुभवमा काठमाडौंमा डेरा खोज्दा तामाङलाई दलितलाई जत्तिकै छुवाछुतकै निकृष्ट व्यवहार त गरिँदैन, तर आपराधिक, तस्कर र गुण्डागर्दी पृष्ठभूमिको ठानिँदोरहेछ। नेवार समुदायको संस्कृतिमा पनि हरेक कार्यमा जाँडरक्सी (आइला) नभई हुँदैन, तर डेरा खोज्दा उनीहरू नै ‘आइला’ खाएर बबाल गर्ने होला भनेर कटाक्ष गर्छन्! गैरनेवार समुदायका घरबेटीले त झन् यस विषयमा व्यापक प्रश्न तेर्स्याउने भई नै हाले।
कतिपय बाहिरबाट आएर घर बनाएर बसेका पहाडी बाहुन–क्षत्री र मधेसी ब्राह्मणका घरमा डेरा हेर्न जाँदा पनि प्रायः कुन जातिको हो भनेर प्रश्न गरिन्छ। बरु सोध्नुपर्ने त के काम गर्नुहुन्छ? कुन कार्यालयमा? कस्तो पदमा हुनुहुन्छ? हो नि! अहँ ! यी विषयमा कुनै प्रश्न हुँदैन। ‘ठूलो खसीको मासु खान्छ होला?’ ‘सुँगुर र बंगुरको मासु खाने होल?’ यी र यस्तै टिठलाग्दा प्रश्नले हैरान बनाउँछन्। थुप्रै ठाउँमा जात र ठूलो खसीको प्रश्नले ‘इरिटेट’ बनाएपछि पंक्तिकारले रिस उठेर ‘तामाङले पायो भने गाईको मासु त खान्छ, ठूलो खसी त केही होइन’ जवाफ पनि दिएको छ।
एक जना तामाङ चेली सञ्चारकर्मी सञ्चु ब्लोनले केही समयअगाडि फेसबुकमा पोस्ट गरेर पाटनको च्यासलमा बस्दा पानी थाप्ने बेला भोगेको विभेद सार्वजनिक गरिन्। उनलाई त्यतिबेला नेवार समुदायका महिलाले पानी छुन नदिएका रहेछन्। त्यो स्टाटसको तल थुप्रै तामाङ पुरुष र महिलाले आफूले बेहोरेका त्यस्तै घटना सार्वजनिक गरेका छन्। प्रतिनिधिमूलक घटना यहाँ उल्लेख गर्न चाहन्छु।
चन्द्री मोक्तान खुसीले लेखेकी छन्, ‘हामीले पानी भर्दा चारैतिर भगवानको नाम लिएर हाम्रो गाग्रीमा पर्नेगरी पानी छर्कन्थे!’ मिलन लामा दुखेसो पोख्छन्, ‘म पनि बालुवाटार बस्दा हामी थाङ्का लेख्ने ठाउँमा घरबेटीले पानीको पाइपसम्म छुन दिन्थेनन्।’ तामाङ डि रानोले भनेका छन्, ‘हाम्रो गाउँका नेवारले त हामीलाई चुलोमा जान दिन्थेनन्।’
चन्द्रकुमार मोक्तान सुनाउँछन्, ‘म २०२८ सालमा आउँदा झन् कडा थियो, आफ्नो भाषा बोल्दा पनि गाली गर्थे।’ भक्त गोले लेख्छन्, ‘२०२५ सालको कुरो मलाई याद छ, बाहुन मितबाबाको घरमा जाँदा बहिनी र मलाई घरभित्र पस्न नदिई बाहिर नै राखेर पिँढीमा खाना दिएको र आफ्नो थाल माझेर दिनुपरेको।’
यस्तै अनुभव पंक्तिकारको पनि छ। करिब दसकअगाडि एक जना उपाध्याय बाहुन समुदायका शिक्षक, जसले मलाई स्नातकमा अंग्रेजी पढाएका थिए। एक दिन चोकमा भेट्दा ‘तिमी त ठूलो मान्छे भयौ। खोइ, भेटघाट/फोनसोन केही छैन’ भनेर गुनासो गरे। छुट्ने बेला एक दिन आफ्नो घरमा खाना खाने निम्तो दिए। समय मिलाएर गएँ। पंक्तिकारलाई उनले घरभित्र लगेनन्। गफ गर्दै चिया हुँदै खाना पनि बाहिरै खुवाए। थालसमेत माझ्न लगाए। मनभित्र असह्य पीडा भयो। छिटोछिटो बिदा भएर हिँडे। त्यसपछि उनको घरमा आजसम्म फर्केर गएको छैन।
हिन्दू समाजमा पाइने ‘भेराइटी’
हिन्दू समाज यस्तो समाज हो, जुन ‘मनुस्मृति’का आधारमा चल्छ। हाम्रो समाज एकदमै जातीय तहतह भएको समाज हो। जन्मका आधारमा मान्छेको पहिचान, प्रतिष्ठा र श्रेष्ठता निर्धारण गरिन्छ। सिन्धु नदीको किनारमा उम्रेको यो (अ)सभ्यता भारतको गंगामा आएर झाँगियो। जहाँ जात–व्यवस्था सूक्ष्म तरिकाले घनीभूत भयो। भारतमा हिन्दूहरू असुरक्षित हुँदै गएपछि सुरक्षित स्थान खोज्दै नेपाल प्रवेश गरेको इतिहासकार बताउँछन्। नेपालमा उनीहरूको आगमनसँगै जात–व्यवस्थाले पनि जरा गाड्न थाल्यो। बिस्तारै यहाँको सत्ता र राजनीति पनि कब्जा गरेर उनीहरूले राज्यलाई नै हिन्दू धर्म र वर्ण–व्यवस्था लागू गर्ने संयन्त्रका रूपमा प्रयोग गर्न थाले। क्रमशः उनीहरूले आफ्ना धर्म, भाषा, संस्कृति र चालचलनलाई राज्यकै बनाउँदै राजकीय हैसियत दिलाए। अनि राज्यका सबै संयन्त्र परिचालन गरी आफ्नो जातीय पम्परा अन्ततः यहाँका आदिवासीमा समेत लादे, मान्न बाध्य गराए। जसले अस्वीकार गर्थ्यो, उसलाई कठोर सजायदेखि हत्यासम्म गर्न थालियो। शताब्दीयौंदेखि जारी जातीय विभेदकारी व्यवस्थालाई वि.सं. १९१० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले मुलुकी ऐन नै बनाएर कानुनी रूपमा संस्थागत गरिदिए। त्यसैले नेपाली समाजमा अहिले ‘भेराइटी भेराइटी’का जातीय भेदभाव भेटिन्छन्।
राज्यले नै कानुनी डण्डा लगाएर वर्ण–व्यवस्था मान्न बाध्य पारेपछि जात–व्यवस्था नभएका अन्य समुदायले पनि उनीहरूको नक्कल गरेर दलित समुदायलाई भेदभाव गर्न थाले। उनीहरूको आफ्नै धर्म र संस्कृतिले भने जातीय छुवाछुत सिकाउँदैन। तर राज्यद्वारा नै पुस्तौंदेखि लादिएका कारण जात प्रथा नभएको नेवार समुदायका सरस्वती प्रधानहरू पनि विभेद गर्न अभ्यस्त भए। राज्यले यस्ता नागरिक अहिले पनि दैनिक ठूलो संख्यामा उत्पादन गरिरहेको छ। राज्यका मेसिनरी उही छन्। कारखानामा जस्तो मेसिन सेट छ, त्यस्तै वस्तु उत्पादन हुने त हुन्। त्यसैले मेसिन र पार्टपुर्जा नफेरेसम्म नयाँ कुरा उत्पादन हुन सक्दैन।
डेरा खोज्दा भेटिने जात–व्यवस्था
रूपा सुनारले भोगेको समस्या नौलो होइन। जातीय विभेद भोग्ने उनी पहिलो व्यक्ति होइनन्। २०७४ को आम निर्वाचनपश्चात् सांसद कलुदेवी विकले आफूले काठमाडौंमा डेरा नपाएको गुनासो संसदमै विशेष समय लिएर व्यक्त गरेकी थिइन्। तत्कालीन नेकपाले समानुपातिक कोटाबाट मनोनीत गरेपछि सिराहाकी एक जना दलित महिला सांसद भएर काठमाडौं आइन्। तर जातकै कारण उनलाई यहाँ डेरासमेत पाउन कठिन भयो। यसरी राज्यको कानुन निर्माता सांसदले नै डेरा नपाएको घटनालाई स्वयं संसदले भने गम्भीर रूपमा लिए। राजीनीतिक दल र शीर्ष नेताहरूले झिनामसिना समस्या ठाने। त्यसविरुद्ध कुनै चासो दिएनन्। हजारौंको संख्यामा छन्, डेरा खोज्दा जातीय विभेद भोग्नेहरू। रूपा सुनारले विद्रोह गर्ने हिम्मत गरेकी मात्र हुन्। उनको न्यायको लडाइँमा सबैले साथ दिन जरुरी छ।
हाम्रो समाजमा जात–व्यवस्था कति समृद्ध छ! अरू सबै खेती सुकेको नेपालमा सबैभन्दा फस्टाएको खेती यही नै हो। देशकै सबैभन्दा शिक्षित, सभ्य र समृद्ध नागरिक एवं राज्य सञ्चालन गर्ने नेताहरू बस्ने सहर (काठमाडौं) मा ‘यो यस्तै हो, बिस्तारै समाज बदलिन्छ’ भन्ने तर्क सुन्नुपर्दा विरक्त लागेर आउँछ। ‘खुकुरीको चोट अचानोलाई कहाँ थाहा हुन्छ?’ जातीय विभेद र छुवाछुतको पीडा कति दर्दनाक हुन्छ, कथित उच्च जातका कोही एक दिन ‘अछुत’ बनेर बाँचिहेरून्!
Shares
प्रतिक्रिया