ad ad

ब्लग


वैवाहिक बलात्कार ‘थाहा’ नपाउनेहरूका नाममा

वैवाहिक बलात्कार ‘थाहा’ नपाउनेहरूका नाममा

नुमेश घर्ती मगर
बैशाख ४, २०८१ मंगलबार ७:१४, साइप्रस

टिकटकमा कतै देखेको थिएँ, एक युवक पनि के भनौँ चिन्तनले सामन्ती बूढो मान्छे भन्दा केही फरक पर्दैन। अश्लील शब्दमा वैवाहिक बलात्कारबारे बोल्दै थिए। अधिक रुचाइएको पनि थियो। दुई–चार लबजपछि मैले हटाएँ। अर्थात् त्योभन्दा अगाडि सुन्न सक्ने धीरता ममा रहेन। 

सामाजिक सञ्जालमा जति क्षुद्र बोल्यो, उति भाइरल (कथित लोकप्रिय) हुने जमाना छ। तिनै निकृष्ट व्यक्तिको भिडिओ एकजना आफन्तले मेरो हृवाट्सएपमा पठाइदिए। एकछिन स्तब्ध भएँ। तुरुन्तै डिलिट गरिदिएँ, तर अबेर रातिसम्म निदाउन सकिनँ। उनका ती भनाइले मेरो मथिङ्गलमा चट्याङ झैँ जोरजोरले स्वर गर्न थाल्यो। मन वाणको तीरले छेडेजस्तो चस्कन लाग्यो। अनि पुनः त्यो भिडिओ पठाउन अनुरोध गरेँ। 

ती मान्छेको सोचप्रति म क्रोधित भए तापनि स्त्रीबारे कतिसम्म गिर्न सक्दा रहेछन् भनेर मलाई जान्न इच्छा लाग्यो। सायद उनले भाइरल हुने लोभले वैवाहिक सम्बन्धबारे के भनिरहेको छु, यसपछि सञ्जाल र समाजमा कस्तो असर पर्ला भन्ने हेक्का राखेनन्। त्यो भिडिओलाई मन पराउने, होमा हो थप्दै टिप्पणी गर्ने, शेयर, सुरक्षित अनि अन्यलाई प्रेषण गर्ने जति पितृसत्तात्मक चिन्तनको पक्षधर हुनुका साथै वैवाहिक मात्रै होइन बलात्कारप्रति पनि गम्भीर नभई पुरुषलाई उत्तेजित पार्ने खालको कपडा किन लगाएको महिलाले, रातिमा एक्लै घरबाहिर किन हिँडेको, बेस्सरी हाँस्नुको कारण के भनेर उल्टो स्त्रीलाई दोषी देखाउने आजका युवा नै हुन्।

यतिबेला वैवाहिक बलात्कारबारे चर्चा हुनुको पछाडि नेपाल आइडल सिजन–२ का विजेता रवि ओडलाई श्रीमतिले दर्ता गरेको वैवाहिक बलात्कारको मुद्दा हो। विभिन्न समाचार अनुसार उनलाई जिल्ला अदालतले पक्राउ पुर्जी पनि काटिसकेको छ, तर रवि साङ्गीतिक कार्यक्रमका लागि देशबाहिर भएकाले प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। रविले ‘सम्भोग नै भएको छैन बलात्कार कसरी हुन्छ’ भन्ने अपाच्य प्रतिक्रिया दिए भनेर कताकति सञ्जालतिर सुनिन्छ। तर सायद ती भनाइमा सत्यता छैनजस्तो लाग्छ। किनकि उनले यसबारे अझै अन्तर्वार्ता दिएका छैनन् र, सामाजिक सञ्जालमा लेखेको पनि पाइँदैन। फैसला पीडितको पक्षमा होस्। यसबारे हामीले आ–आफ्नो स्थानबाट दबाब दिन सुरु गरौँ।

गाउँतिर श्रीमतीबारे कस्तो सोच राख्छन्? 

पहिलो कोरोना कालपछि म गाउँ गएको थिएँ। गफिँदै गर्दा एकजना पुरुषले ‘उमेर ढल्कँदै जाँदा जाबा स्वास्नी पनि बेकार लाग्ने रहेछ, पाल्न मात्रै गाह्रो’ भनेका थिए। उनको तात्पर्य थियो, ममा यौन चाहना रहेन। जब ओछ्यानमा चाहिँदैन भने जीवनमा पनि किन? छोराछोरी हुर्किसके। अब यो स्वास्नीको काम नै छैन। 

तर यथार्थ कुरो के हो भने मलाई राम्ररी सम्झना छ कि– ती पुरुषले विगतमा तिनै युवती (वर्तमानमा उनकी पत्नी)लाई ‘बिहे गर्न पाइनँ भने जीवनभर अविवाहित बस्छु या कतै पासो लगाएर मर्छु’ भनेर फकाइकन विवाह गरेका थिए। जवानी ढल्दै जाँदा उनकी पत्नी सुन्दरीबाट कथित बोक्सी कहलिँदै छन्। भनेपछि पितृसत्ताको चिन्तनमा स्त्री मात्र सम्भोगको पात्र हुन्। विवाहको नाउँमा पत्नीको सहमतिविना पतिले जे पनि गर्न हुन्छ भन्ने कथित सामाजिक मान्यतालाई संविधानले त खारेज गरेको छ, तर समाजमा छरिएर बसेका यी कुतत्त्वहरूको घैँटोमा घाम चाहिँ कहिले लाग्ने हो थाहा भएन!

सहरमा पढेलेखेका भनिने युवाले नै किन बुझ्दैनन् बलात्कारको परिभाषा? 

राजधानीतिर नयाँ मानिने महिला पनि यौन हिंसाको विपक्षमा उभिन्छन्। बलात्कार सम्बन्धी संविधान संशोधन गर्नुपर्ने छ भनेर बारम्बार विवादास्पद अन्तर्वार्ता दिने एक जना महिला सांसद पनि हुन्। उनी निर्मला पन्तलाई मात्रै बलात्कार भएको ठान्छिन्। अर्थात्, पुरानो सिनेमाजस्तो पाँच–छजना खलनायकले एउटी सोझी नायिकालाई जंगलमा लखेटीलखेटी यौन प्यास मेटाएपछि प्रमाण नष्ट गर्न हत्या गरेजस्तो। यस्तै सोच राख्नेले हो, सन्दीप लामिछाने र पल शाहको बचाउमा नारा–जुलुस गर्ने। यसको अर्थ हुन्छ कि कथित राष्ट्रको गहनाको अस्त्रले बलात्कारजस्तो जघन्य अपराध पनि गर्न पाउने नियम चाहियो। यिनलाई भगवान् मानेर जय–जयकार गर्नेहरू अन्धभक्त छ्यापछ्याप्ती छन् समुदायमा। बेलाबखत बर्खामासको जुकाजस्तो खडा हुन्छन्। 

तिनै हुन् गौशाला– २६ को अनुहार सार्वर्जनिक गर भन्दै कुर्लने। यिनै हुन् समीक्षा अधिकारीको तस्बिरमा अश्लील शब्द लेखेर मानसिक तनाव दिइरहने। सामाजिक सञ्जालमा टिप्पणी गरेजस्तो सजिलो छैन युवा पुस्तालाई यौन हिंसाबारे बुझ्न। गहिरिएर अध्ययन/अनुसन्धान गर्ने बानी छैन। भाँडा माझ्ने र लुगा धुने काम पुरुष आफैँले गर्न सक्छ। बिहे शारीरिक सर्म्पकका लागि नै गर्ने हो। ओछ्यान नबन्दिने पत्नीको काम छैन। लोग्नेअगाडि झुक्ने पो स्वास्नी हुनुपर्छ जस्ता विचार बोकेका पितृसत्ताको पक्षधर युवा, बुढा, महिला पनि समस्त छन्। तर छोराहरूले नै आफूलाई जन्म दिने आमाको आँखामा हेरेर ‘आमा तपाईं बुवाबाट यौन हिंसामा पर्नुभएको थियो’ भनेर सोध्ने आँट गर्दैनन्। ‘दिदी तपाईंलाई भिनाजुले अप्राकृतिक मैथुन गरेका थिए’ भन्ने प्रश्न पनि गर्न सक्दैनन्। ‘श्रीमतीजी तपाईं मबाट कुनैबेला बलात्कृतको महसुस गर्नुभयो’ यसबारे झन् कहिल्यै सोच्दैनन्। जहाँ प्रश्न गरिँदैन त्यहाँ स्वयम् जवाफ प्रकट हुँदैन।

महिला नै पीडितको पक्षमा किन उभिँदैनन्?

‘अनौठो खबर’ युट्युब च्यानलमा अन्याय र अत्याचार विरुद्ध बुलन्द आवाज उठाउने भनिने बिनु कोइरालाले रवि ओडकी पत्नीले मुद्दा दर्ता गरेको सुनेपछि आपत्तिजनक अन्तर्वार्ता दिएकी छन्। उनको कुरा सुन्दा लाग्छ, सत प्रतिशत पितृसत्ताको पक्षधर हुन्। हाम्रा छोराहरूलाई कसरी बिहे गरिदिने? भोलि बुहारीले वैवाहिक बलात्कारको मुद्दा हाल्दिए भने के गर्ने? उनी चिन्तित मात्रै नभई कानुनलाईसमेत चुनौती दिन्छिन्। ओडलाई जसरी भए तापनि बचाउने प्रतिबद्धता जाहेर गर्छिन्। के लाग्छ भने साँच्चिकै भविष्यमा उनकी बुहारीले अप्राकृतिक मैथुनबारे आवाज उठाइन् भने पारिवारिक दबावका कारण मौन बस्न बाध्य पारिनेछ। 

यसरी पातपातमा हावा विज्ञप्ति दिनुभन्दा जरामा पुगेर गहिरो अध्ययन र अनुसन्धान गर्दा ठिक हुन्छ। कथित खानदानको इज्जत जाने त्रासले पीडितको मुख कहिलेसम्म थुनिराख्ने? पितृसत्ताको षड्यन्त्र भनेकै एक महिला अर्को महिलासँग जुधाएर राज गर्ने सत्ता हो। यो स्त्रीले बुझ्नुपर्छ किनकि उठेर हिँड्ने प्रयास गरिएन भने थाहा पनि हुँदैन आफूलाई दाम्लोले बाँधिएको छ कि साङ्गोले! 

के हो त वैवाहिक बलात्कार? 

पतिले पत्नीको सहमतिविना शारीरिक सम्पर्क राख्छ भने बलात्कार हो। यौन सम्पर्ककै लागि बिहे गरेको भनेर पत्नीको इच्छा विपरीत जबर्जस्ती गर्नु अप्राकृतिक मैथुन हो। सिउँदोमा सिन्दूर हाल्दिएर गलामा मङ्गलसुत्र पहिराइदिएको भन्दैमा पत्नीको चाहनाविरुद्ध जान मिल्दैन। नाइँको अर्थ नाइँ नै हुन्छ। हिजो मतैक्य थियो। भोलि पनि होला तर आज नाइँ भन्दा पनि बलजफ्ती गर्ने करणी हो। पत्नी कुनै वस्तु होइन प्रतिक्रियाहीन भाँडाजस्तो मन लाग्दा ठटाउने नत्र थन्क्याउने। पुतली पनि होइनन् पतिकै निम्ति सिङ्गारिने। कठपुतली होइनन् लोग्नेकै इसारामा नाच्ने। हाँसो, आँसु, दुःख, सुख, इच्छा, आकाङ्क्षा पतिकै जस्तो मानवीय संवेदनासँग जोडिएको हरेक चिज हुन्छ। तर, दुःख त लोग्नेले ओछ्यानभन्दा अरूथोक देख्दैन। भन्नलाई एक रथका दुई पाङ्ग्रा तर व्यवहार चाहिँ फरक फरक! पत्नी हुँदैमा पतिको थिचोमिचो सहेरै रथ गुडाइरहन जरुरी छैन। मानव समाज विकासका लागि महिला पुरुष दुवै आवश्यक हुन्छ। त्यसैले समान अधिकार अनि आत्मसम्मान पाउनुपर्छ।

यौन हिंसाबारे तत्काल आवाज किन उठाउँदैनन् स्त्री? 

आफन्तबाटै यौन हिंसामा पर्दा पीडितलाई के लाग्छ भने परिवारले यतिसम्म विश्वास गरेको व्यक्तिबारे पहिलो कुरो ‘होइन होला, गल्तीले पो गुप्ताङ्गमा हात गयो कि! या तँ उस्तै भएर हो’ जस्ता अपत्यारिलो भाषा बोलिन्छ। बलात्कृत नै भए कथित इज्जतमा दाग लाग्ने र समाजअघि मुख देखाउन लायक नहुने बताइन्छ। यस्तो हिंसामा परिवारबाटै असहयोग हुनाले पीडित चुप लाग्नु स्वाभाविकै हो। परिवार अनि समुदायसँग जुध्ने हिक्मत जुटाउँदाजुटाउँदै आवाज उठाउन केही समय लागेको हुन सक्छ पीडितलाई। 

कति महिला छन् जो सामाजिक परिबन्धले तथा बहिष्कृत हुने डरले पतिको हरेक सर्त मान्न तयार हुन्छन्। वैवाहिक सम्बन्ध बिग्रिएला वा परस्त्रीसँग लाग्ला सोचेर आँसु चुहाउँदै ओछ्यान बन्न सहमत भएका हुन्छन्। सुखदुःख सँगसँगै काटौँला सोचेर बिहे गरेको लोग्नेले स्वास्नीको इच्छा विपरीत यौन क्रिया गर्छ भने सर्वप्रथम त भरोसा टुट्छ। 

अर्को कुरो वैवाहिक सम्बन्ध जोगाउने कि भत्काउने! यसभित्र धेरै सवालजवाफ हुन्छन्। प्रायः नारीले सहेरै जीवन बिताइदिन्छन्। महिना तथा वर्ष पनि लाग्न सक्छ, केही मात्र नारी विद्रोही बनेर निस्कन्छन् अनि वैवाहिक बलात्कारको मुद्दा दर्ता गर्छिन्। जसलाई सम्मान गरेर साथ दिनुको साटो अपमान गरिन्छ। पितृसत्ताले जेलिएको समुदायबाट उम्कन त्यति सजिलो कहाँ छ र? जसरी गौशाला– २६ र समीक्षा अधिकारीलाई लखटिरहेका छन्, त्यसरी नै सामाजिक बहिष्कृत मात्रै होइन, मौका मिले भौतिक कारबाहीसमेत गर्छन्। यिनै भयका कारण स्त्रीले पीडा सहेरै मौन बस्न रुचाउँछन्।  

छन्, कुनै पुरुष चेतनशील। पत्नीको सहमतिमा सहवास हुन्छ। म यौन हिंसामा परेकी छैन भन्दैमा अन्य स्त्री पनि होइनन् भन्न मिल्दैन। सम्भोगकै लागि बिहे हुने दाबी गर्ने संस्कृति निर्मित मगजले लोग्नेबाटै बलात्कृत हुने घटना त संविधानमा समावेश भएपछि भर्खर हो नेपाली समाजले सुनेको अनि यिनीहरूले अनौठो मान्छन् र अपाच्य लाग्छ। जहाँ पुरुषलाई सुबिस्ता छ, त्यहाँ महिलाले धावा बोल्दा आघात पर्छ। 

बुझ्नुभएन भने पुनः लेख पढ्नुस्। नत्र थाहा नपाएरै जीवन सकिएला! होइन तपाईं श्रीमतीसँग सहवास होइन, बलात्कार गर्नुहुन्छ भने जुन दिन श्रीमतीको चेत खुल्छ अनि तपाईंलाई मुद्दा लाग्छ वैवाहिक बलात्कारको। प्रमाणित पनि हुन्छ। र, तपाईं जेलमा कोचिएपछि बल्ल थाहा पाउनुहुनेछ वैवाहिक बलात्कार के रहेछ!  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .