लामो प्रतीक्षापछि युक्रेनले पहिलोपटक एफ–१६ लडाकु विमान पाउने भएको छ। नेटो सदस्य मुलुकहरूले सो विमान युक्रेनलाई दिन लागेका हुन्। त्यसका लागि युक्रेनी पाइलटहरूलाई महिनौँ तालिम दिइएको छ।
यो विमानमा युक्रेनले ठूलो आश राखेको छ। आकाशमा रुसको आधिपत्य तोडेर अघि बढ्न युक्रेनका लागि सो लडाकु विमान अत्यावश्यक रहेको राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका छन्।
एफ–१६ अमेरिकामा बनेको हो र यो कयौँ मुलुकले किनेका छन्।
र, रुसी फौज पनि त्यसैको पर्खाइमा छ। उनीहरूले युक्रेनका कयौँ सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेका छन् र ती विमान आउनेबित्तिकै कतिपयलाई रुसले ध्वस्त पार्ने अनुमान पनि चलिरहेको छ।
जुलाईमा मात्रै रुसले युक्रेनका तीनवटा हवाई अड्डामा आक्रमण गरेको थियो। रुसले पाँचवटा युक्रेनी एसयू–२७ र एउटा मिग–२९ ध्वस्त पारेको दाबी गरेको छ।
युक्रेन भने यसबारे मौन बसेको छ। सामाजिक सञ्जालमा चाहिँ ती विमान झुक्याउन राखिएका आकृति मात्र भएको दाबी गरेको छ। ताकि ती स्थानमा आक्रमणका लागि रुसलाई महँगो इस्कान्दर क्षेप्यास्त्र खर्च गर्न बाध्य पार्न सकियोस्।
तर, युक्रेन र उसका कतिपय सहयोगी भने त्रसित छन्। किनकि यो विमानको रक्षाका लागि पर्याप्त पूर्वाधार युक्रेनसँग छैन।
हालसम्म आफ्ना लडाकु विमान विमानस्थलमै ध्वस्त नहोस् भन्ने सुनिश्चित गर्न युक्रेनले तिनलाई टाढाटाढा खटाउने गरेको बेलायतको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका प्राध्यापक जस्टिन ब्रोंक बताउँछन्।
‘विमान र उपकरणहरू बारम्बार हवाई अड्डासार गरिराखिन्छ। ताकि यदि रुसले आक्रमण गरिहाल्यो भने उसले खाली जमिनमा प्रहार गरोस्,’ उनी भन्छन्।
एफ–१६ लाई भने एकदम चिल्लो धावनमार्ग चाहिन्छ। खाल्डाखुल्डी, ढुंगा हुनुहुँदैन। नत्र इन्जिन फेल हुने जोखिम रहन्छ। र, यतिबेला धावनमार्ग मर्मत तथा अपग्रेड गर्ने हो भने त्यसको सुइँको रुसले पाइहाल्ने ब्रोंकको भनाइ छ।
केही अघिसम्म रुस युक्रेनको हवाई अड्डाबारे निगरानी वा स्याटलाइट तस्बिरमा भर पर्ने गर्थ्यो। तर, अहिले उसँग जाला, सुपरक्याम र ओर्लान्सजस्ता जासुसी ड्रोन छन्। जसले युक्रेनको भित्री भागसम्मका सूचना तत्काल दिने गर्छन्।

अहिलेसम्म एफ–१६ युक्रेन आइपुगेको जानकारी नदेखिएको बताइन्छ। तर, यसैमहिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले डेनमार्क र नेदरल्यान्ड्सले ती विमान युक्रेनलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको बताएका थिए।
नेटो मुलुकहरूले ६१ वटा एफ–१६ युक्रेनलाई दिने वाचा गरेका छन्।
यति विमान पाए युक्रेनको विमानको संख्या दोब्बर हुनेछ। युक्रेनी राष्ट्रपतिले यी विमान पर्खेको १८ महिना बितिसकेको छ।
शत्रुको हवाई प्रतिरक्षालाई दबाउन, रुसी विमान र क्षेप्यास्त्रबाट बच्न र रुसी सेनाको गतिलाई रोक्न यी विमान आवश्यक रहेको उनको भनाइ छ।
युक्रेनले एफ–१६ लाई जमिनमा जोगाउन सके तिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन्छ। किनकि अहिले युक्रेनसँग भएका पुराना विमान क्षेप्यास्त्र हानेर तत्काल पछाडि फर्किन सक्दैनन्। जुन, एफ–१६ ले गर्न सक्छ।
तर, एफ–१६ ले युद्धमोर्चाको निकट रहेका सहरहरूको रक्षा गर्न नसक्ने कतिपयको भनाइ छ। किनकि सो विमान उचाइमा उडे रुसी हवाई प्रतिरक्षा प्रणालीको निसाना बन्ने र कम उचाइमा उडे क्षेप्यास्त्रलाई आवश्यक दुरीमा पुर्याउन रुसी क्षेत्रमा प्रवेश गर्नुपर्ने अवस्था रहेको ब्रोंकको भनाइ छ। जसमा खतरा अझै ज्यादा हुन्छ।
तर, यसले युक्रेनको प्रतिरक्षा क्षमता भने बढाउने देखिन्छ।
त्यसैले एफ–१६ ले युद्धको लहर नै परिवर्तन गरिदिन्छ भन्ने छैन। तर, यसले लडाइँमा प्रभाव भने जरुर पार्नेछ। प्रश्न के मात्रै हो भने तिनको संख्या पर्याप्त होला कि नहोला र युक्रेनले तिनको रक्षा गर्न सक्ला कि नसक्ला। बीबीसीबाट
Shares

प्रतिक्रिया