ग्लोबल


चीनमा कडा लगानी सुरक्षा नियम लागु

चीनमा कडा लगानी सुरक्षा नियम लागु

नेपालखबर
असार १७, २०८३ बुधबार १३:१५, बेइजिङ

अमेरिका-चीनबिच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बिच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानीसम्बन्धी गतिविधिमा कडा राष्ट्रिय सुरक्षा नियम लागु गरेको छ।

नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी, प्रविधि, सेवा तथा दक्ष जनशक्तिको सीमापार आवागमनमा सरकारलाई थप निगरानी र समीक्षा गर्ने अधिकार दिएको छ।

जुन १ मा घोषणा गरिएको यी नियमले चीनको सीमा पार गर्ने पुँजी, कर्मचारी, प्रविधि तथा सेवासम्बन्धी गतिविधिलाई नियमन गर्न व्यापक कानुनी आधार तयार गरेको छ।

चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले जारी गरेको व्यवस्थाअनुसार यसको उद्देश्य विदेशी लगानीको गुणस्तर र स्तर सुधार गर्दै राष्ट्रिय सुरक्षाको संरक्षण गर्नु हो।

नियमअनुसार सबै बाह्य लगानीले ‘समग्र राष्ट्रिय सुरक्षा अवधारणा’को पालना गर्नुपर्नेछ र घरेलु तथा अन्तर्राष्ट्रिय हितबिच सन्तुलन कायम गरिने उल्लेख गरिएको छ।

साथै राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कुनै पनि लगानी वा सम्पत्ति स्थानान्तरणको समीक्षा गर्ने अधिकार पनि सरकारलाई दिइएको छ। बेइजिङले कृत्रिम बौद्धिकता, कम्प्युटर चिप र हरित प्रविधिलाई रणनीतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानेर ती उद्योगको स्वदेशी विकासलाई प्राथमिकता दिइरहेको छ।

यसै क्रममा सीमापार कारोबारमा निगरानी थप कडा बनाइएको हो। नयाँ व्यवस्थाअनुसार हालसम्म वस्तु र डाटामा सीमित रहेका निर्यात नियन्त्रण अब सेवा, प्रविधि हस्तान्तरण तथा प्राविधिक विशेषज्ञलाई विदेश पठाउने वा विदेशमा तालिम दिने गतिविधिसम्म विस्तार गरिएको छ।

यस कदमले विदेशी लगानीकर्ताको चीनको विशाल प्रविधि बजारमा पहुँच सीमित हुन सक्ने चिन्ता पनि बढाएको छ। चीनले सीमापार लगानीप्रति अपनाइरहेको सतर्क नीतिअन्तर्गत अप्रिलमा मेटाले चीनमा स्थापना भई हाल सिङ्गापुरमा आधारित एआई स्टार्टअप मानुसलाई अधिग्रहण गर्ने प्रयासप्रति पनि आपत्ति जनाएको थियो।

अमेरिका-चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोगले यो निर्णय चीनले राष्ट्रिय सुरक्षाको नाममा विदेशी लगानीमा नियन्त्रण बढाउँदै आएको दीर्घकालीन प्रवृत्तिको निरन्तरता भएको जनाएको छ।

आयोगले मे महिनामै चीनका राष्ट्रिय सुरक्षा कानूनको व्याख्या र कार्यान्वयनमा अधिकारीहरूलाई व्यापक अधिकार रहेकाले विदेशी कम्पनीका लागि कानुनी अनिश्चितता र व्यावसायिक जोखिम थप बढ्न सक्ने चेतावनी दिएको थियो। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad