जेनजी अभियन्ता माजिद अन्सारीको टाउको र अनुहारमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको छ।
गए राति बागमतीमा आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेको थियो। होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी विचल्लीमा परेका थिए।
उनीहरूलाई सघाउन शनिबार होल्डिङ सेन्टर पुगेका माजिदसहित तीन जना जेनजी युवालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नहेन्द्र खड्का र सरिश्मा थापा छन्। दुवै जनालाई भने रिहा गरिएको छ।
उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले माजिदलाई कुटपिट गरेको थियो। कुटपिटबाट उनी घाइते भएको जेनजी अभियन्ता तनुजा पाण्डेले जनाएकी छन्।
जेनजी अभियन्ता तनुजाका अनुसार, माजिको टाउको र अनुहारमा चोट लागेको छ। प्रहरीले बुटले प्रहार गर्दा गम्भीर चोट लागेको तनुजाले जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘प्रारम्भिक जानकारीअनुसार, प्रहरीको कुटपिटका क्रममा टाउको र अनुहारमा बुटले प्रहार गरिएकाले उनको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको बताइएको छ।’
शनिबार राति माजिदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको उनले जानकारी दिएकी छन्।
यसैबीच नेपाल जेनजी फ्रन्टले प्रेस विज्ञप्ति जारी गरी जेनजी युवामाथि भएको दमनको भर्त्सना गरेको छ। घाइते माजिदको उपचारको व्यवस्था गर्न माग गरेको छ। 
Shares

प्रतिक्रिया