भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजयको फिल्म ‘जन नायकन’ अन्तत: सेन्सर पास भएको छ। लामो सयमदेखि यस फिल्म सेन्सर प्रक्रिया रोकिँदा प्रदर्शनलाई लिएर अन्यौल थियो। यसैबीच, केन्द्रीय फिल्म प्रमाणन बोर्डले १२ वटा संशोधनसहित ‘ए’ प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो।
सीबीएफसीले फिल्ममा प्रगोग गरिएको केही राजनीतिक संवेदनशील संवाद र दृश्य हटाउन वा परिमार्जन गर्न निर्देशन दिएको छ। भारतीय संचारमाध्यमका अनुसार भारतीय राष्ट्रिय झण्डा देखाइएको एक दृश्य हटाइएको छ भने ‘अम्बेडकर सट्टम’ शब्दलाई ‘टीभीके सट्टम’ बनाएको छ।
केही अपशब्दलाई म्युट वा प्रतिस्थापन गरिएको छ भने हिंसात्मक दृश्यहरू पनि केही सेकेन्ड छोट्याइएको छ। टीभीके झण्डा देखिएका केही दृश्यसमेत हटाइएको बताइएको छ।
सेन्सर प्रक्रिया पूरा भएसँगै निर्माण पक्षले केही दिनमै औपचारिक प्रदर्शन मिति घोषणा गर्ने अपेक्षा गरिएको छ। यसअघि क्यानडाका वितरक योर्क सिनेमाजले फिल्म जुलाई २४ मा प्रदर्शन हुने बताएका थिए।
यस फिल्मलाई विजयको अन्तिम फिल्म भनिएकाले ‘जन नायकन’ चर्चामा छ। यस फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ। एच विनोथ निर्देशित यो फिल्म हिन्दीमा भने ‘जन नेता’ शीर्षकका आउँदैछ।

प्रतिक्रिया