समाज


देउवाका भतिज र राष्ट्रपतिका भान्जीसहित परिषदका ४९ कर्मचारी बर्खास्त

देउवाका भतिज र राष्ट्रपतिका भान्जीसहित परिषदका ४९ कर्मचारी बर्खास्त

कृष्ण ढुंगाना
असार २८, २०८३ आइतबार १७:४४, काठमाडौँ

सरकारले समाज कल्याण परिषदले लोकसेवा उत्तीर्ण नगरी नियुक्त भएका ४९ जनालाई बर्खास्त गरेको छ। बर्खास्त हुनेहरुमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका भाञ्जीहरु दीक्षा आचार्य पनि छन्।

साथै परिषदले नेकपा एमाले, काँग्रेस, तत्कालीन माओवादीका नेताको आड भरोसामा नियुक्त भएकाहरुलाई पनि हटाएको छ। परिषदको सञ्चालक समितिको असार १६ को निर्णयअनुसार कर्मचारी हटाइएको हो। 

बर्खास्ती पर्नेमा प्रचण्डको सचिवालयका रमेश मल्लका भतिज लेखराज शाह तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेशका व्यवसायिक साझेदार साथी आनन्द थापा पनि रहेको परिषदका एक जना कर्मचारीले नेपालखबरलाई बताए। परिषद देशभरिका गैरसरकारी संस्थाहरुको नियामक निकाय हो।

समाज कल्याण परिषद सञ्चालक समिति बोर्ड अध्यक्ष सीता बादी
राष्ट्रिय तथा अन्तर्राष्ट्रि गैरसरकारी संस्थाहरुको सञ्चालन, परियोजना खर्चसहितका विषयमा परिषदले नियमन गर्दै आएको छ।

राजनीतिक, सामाजिक सम्वेदनशीलता र ठूलो आर्थिक कारोबार हुने परिषदको बेथितिबारे बालेन्द्र सरकारले सुरुदेखि चासो राख्दै आएको थियो। त्यसको नीतिगत ‘रिफर्म’ र कार्यशैली परिवर्तनका लागि विधि खोजी रहेको थियो।

परिषद सञ्चालक समिति बोर्ड अध्यक्ष हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी छिन्। बोर्डमा चक्रबहादुर बुढा सदस्य सचिव, राष्ट्रिय योजना आयोगका प्रतिनिधि तथा मन्त्रालयका अधिकारी सदस्य छन्। राजनीतिक नियुक्तिका एक जना विषय विज्ञ बोर्ड सदस्य रहने व्यवस्था रहे पनि हाल सो पद खाली छ।

गत असार १६ को बोर्डक बैठकले कर्मचारी हटाउने निर्णय गरेको हो।

सुशीला कार्की सरकारले नियुक्त गरेका पनि  हटाइए
परिषद बोर्डको निर्णयले जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की सरकारले नियुक्त गरेका ३ जनालाई पनि बर्खास्त गरेको छ। त्यतिबेला सन्तोष महासेठले आईटी अफिसरको पद पाएका थिए। अनु महर्जन र सिर्जना राजथलालाई पनि जागिरमा लगाइएको थियो।

समाज कल्याणको यो निर्णयबारे नेपालखबरले मन्त्री बादीको सचिवालय, सदस्य सचिव चक्रबहादुर बुढा र यो निर्णय प्रक्रियामा सहयोगी भूमिकामा रहेका एक जना कर्मचारीसँग कुराकानी गरेको थियो। दलीय आबद्धता वा नेतासँगको निकटता हेरेर कर्मचारी नहटाइएको उनीहरू बताउँछन्। ‘बोर्डले ज्यालादारी, करार र अस्थायी कर्मचारीलाई हटाउने निर्णय गरेको हो। को कसको मान्छे हुन् भनेर चलाएको होइन, त्यो हामीलाई थाहा हुने कुरा पनि भएन’, सदस्य सचिव चक्रबहादुर बुढाले नेपालखबरसँग भने।

परिषदका महत्वपूर्ण शाखा तथा विभागहरु अस्थायी कर्मचारीको जिम्मामा थिए। करिब १०० जना कर्मचारी रहेको परिषदमा आधा कर्मचारीलाई बर्खास्थ गरेपछि अब दैनिक काम कसरी चल्छ ? हामीले यो प्रश्न सदस्यसचिव चक्रबहादुर बुढालाई सोधका थियौँ। ‘परिषद खारेज गर्ने, अर्को संरचना बनाउने, कार्य शैली फेर्ने कुरा भइरहँदा यो निर्णय भएको हो। दैनिक काममा असर पर्ने स्थिति छैन, निर्णय पुनःविचार हुँदैन।’

बुझ्न नमान्नेलाई ह्वाट्सएपबाट  पत्र
परिषदमा निरन्तरको राजनीतिक नियुक्तिको प्रत्यक्ष असर स्थायी कर्मचारीलाई पनि परिरहेको थियो। कतिपय स्थायी कर्मचारी बढुवा हुने समय भए पनि माथिल्लो पद राजनीतिक नियुक्ति पाएकाहरुले ओगटेपछि उनीहरूको पदोन्नति रोकिएको थियो।

समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढा
परिषद बोर्डले लोकसेवा उत्तीर्ण कर्मचारीलाई भने चलाइएको छैन, उनीहरु यथावत छन्।

पदमुक्त हुनेहरुलाई भने परिषदले चिठी दिन थालेको छ। ‘पदमुक्त गरिएकाहरुलाई चिठी दिइसकिएको छ’, निर्णय प्रक्रियामा सहभागी परिषदका एक जना अधिकारीले नेपालखबरसँग भने, ‘केही कर्मचारीले अवकासपत्र बुझ्न मानेका छैनन्। उनीहरुलाई ह्वाट्सएपमा पठाइएको छ।’

बालेनसँगको समन्वयमा निर्णय
हामीले आइतबार साँझ विक्रम देउवासँग सम्पर्क गरी सोधेका थियौँ, ‘तपाइँहरुलाई बर्खास्त गरिएछ, अब के गर्नुहुन्छ रु’ उनले आफूलाई हटाएको बारे थाहा नभएको बताए, ‘म २–३ दिनदेखि कार्यालय गएको छैन, के भएको हो भोलि पर्सी थाहा होला।’

पदमुक्त हुनेहरु चालकदेखि सहायक निर्देशक तहसम्मका छन्। सदस्य सचिव चक्रबहादुर बुढाका अनुसार अस्थायी, करार र ज्यालादारीका कर्मचारी हटाउने निर्णय परिषद ‘रिफर्म’ प्रक्रियाको एउटा पाइला हो। 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको सचिवालयका अनुसार यो निर्णय प्रधानमन्त्री बालेन्द्र शाहसँगको समन्वयमै भएको हो। उनी पूर्ण रुपमा जानकार छन्।

परिषद खारेज गरेर नयाँ संरचना बनाउन सरकारले गृहकार्य गरिरहेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आर्थिक वर्ष २०८३/२०८४ को बजेट पेश गर्दा समाज कल्याण परिषदसहित ३१ निकाय खारेज गर्ने बताएका थिए।

सरकारले विकल्पका रुपमा गृह मन्त्रालय अन्तर्गत समाज कल्याण विभाग गठन गर्ने भने पनि अझैसम्म त्यो काम थालिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad