पश्चिमी पोल्यान्डको ऐतिहासिक दरबार, युरोपेली वास्तुकला र यातायातको केन्द्रसँगै आधुनिक जीवनशैलीका लागि परिचित पोजनान सहर शनिबार भने नेपालीपनले रंगियो।
परम्परागत पोसाक, लाखे नाच, झाँकी, कुमारी नाच, विभिन्न जातिका हिमालदेखि तराईसम्मको सांस्कृतिक विविधताले त्यहाँ पुगेका नेपालीलाई केही घण्टाका लागि ‘मिनी नेपाल’को अनुभूति गरायो।
यो महोत्सव पोल्यान्डमा व्यस्त जीवन बिताइरहेका नेपालीलाई लिम्बूको च्याब्रुङदेखि नेवारको धिमे, मगरको खैँजेडी तथा मादलसम्मको सुमधुर साङ्गीतिक गुञ्जायमानले घरदेशको न्यास्रो मेटायो।

पोजननाको आदाम मिच्केभिच स्क्वायरबाट नेपाली राष्ट्रिय झन्डासहितको सांस्कृतिक र्यालीमा सयौँको संख्यामा सहभागी नेपालीले महोत्सवमार्फत आफ्नो देश र माटो सम्झे।
हामी नेपाली ग्लोबल पोल्यान्ड च्याप्टरद्वारा पहिलो पटक आयोजित ‘नेपाल महोत्सव’ले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई मात्रै प्रस्तुत गरेन। पोलिस नागरिक र विभिन्न देशका आगन्तुकलाई समेत नेपालको कला, संस्कृति र विविधतालाई नजिकबाट चिनाउने अवसर पनि बन्यो।

सडकको पेटीबाट स्क्वायरमा जम्मा भएका एक नेपालीले बोकेको ठुलो झन्डालाई देखाउँदै पोजनानमै बस्ने पोलिस नागरिक रोजाले पङ्क्तिकार नेपालखबरकर्मीलाई प्रश्न गरिन्–
‘यो कुन देशको झण्डा हो?’
‘नेपाल’
रोजाले सायद मेसो पाइनन्। पङ्क्तिकारले त्यही बुझेर पुन: उनीतिर हेर्दै भन्यो, ‘माउन्ट एभरेष्ट’।
उनको आँखामा अनायस चमक देखियो। अनि भनिन्, ‘वाउ गुरा!’ पोलिस भाषामा गुरा भनेको माउन्टेन हो। पङ्क्तिकार पनि के कम! पोलिस भाषामा ठोकिदियो– ताक (हो)।
त्यसपछि उनले ब्यागमा रहेको मोबाइल झिकेर स्क्वायरमा जम्मा भएका नेपालीको फोटो खिच्न थालिन्।
नेपाल र पोल्यान्डको समेत झन्डासहित करिब डेढ घण्टा यहाँ रहेका नेपालीको उत्सवमय र्यालीले पोजनानका सडक परिक्रमा गर्दा सयौँ विदेशी नागरिकले उत्सुकतापूर्वक अवलोकन गरे। धेरैले नेपाली संस्कृतिप्रति चासो देखाउँदै तस्बिर र भिडिओ खिचिरहे।
कार्यक्रमलाई स्थानीय प्रहरीले सम्मानपूर्वक स्कर्टिङ गरेर सुरक्षा प्रदान गरेको थियो।
नेपाली परम्परागत बाजाको ताल, लाखे र धिमे नाचको रोमाञ्च, लोक, हुर्रा तथा कौरा गीत–संगीत र विभिन्न जातीय समुदायका मौलिक नृत्यले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश भएको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्यो।

सात समुद्रपार विदेशमा आएर पनि आफ्नो संस्कृतिलाई झल्काउन पाउँदा अत्यन्त खुसी लागेको वर्ल्ड नेवा अर्गनाइजेसन पोल्यान्ड च्याप्टरको उपाध्यक्ष रहेकी प्रशंसा प्रधानले बताइन्।
कुमारीको रूपमा सुष्मिता तुलाधर र लाखेको रूपमा आशिष श्रेष्ठलाई महोत्सवका लागि प्रशंसाले नै तयार गरेकी हुन्। कुमारीलाई एक हातले समाएर कार्यक्रममा आएकी उनी मौलिक बाजागाजासहित लाखे नाच्न थालेपछि आफू अत्यन्त मर्माहत भएको बताइन्।
तन्त्र विधा र संस्कृतिसँग जोडिएको नेपालको सांस्कृतिक वैभवको महत्त्वपूर्ण अंशको रूपमा रहेको लाखे नाच यो महोत्सवको मुख्य आकर्षण थियो।

नेपालमा ‘लिभिङ गड’को रूपमा कुमारीलाई मानिन्छ। कुमारीको भेषमा महोत्सवमा आएकी सुष्मिता तुलाधरले आफूले गौरवान्वित महसुस गरेको अनुभव सुनाइन्।
‘नेपालमा धेरै संस्कृति छन्। तीमध्ये नेवार समुदायमा कुमारी निकाल्ने पनि एक हो। कुमारीको स्वरूप लिएर यत्रो ठूलो कार्यक्रममा आउन पाउनु मेरो सौभाग्य हो’, सुष्मिताले नेपालखबरसँग भनिन्।
उनी थप्छिन्, ‘जब बाजा बज्छ, लाखे नाच्छ। त्यसपछि, हामी सधैँ नै भावुक हुन्छौँ, जो आज पनि मलाई भएको थियो।’

महोत्सवमा थारु पहिरनमा आएका बुटवल घर भएका दुई युवती भेटिए। सृजना दंगोरिया थारू र अनु चौधरी। तीन वर्ष पहिले सँगै पोल्यान्ड आएका उनीहरू थारु पहिरनका कारण आज यो कार्यक्रममा विशेष आकर्षणको केन्द्र बनेका थिए।
कार्यक्रममा उनीहरूसँग फोटो खिच्न भिड नै लागेको थियो। पङ्क्तिकार पनि के कम, सेल्फी लियो।
२ सय ६० किलोमिटर टाढाको कोसालिन सहरबाट महोत्सवमा सहभागी हुन पोजनान आएका सृजना र अनुले भने, ‘पोजनान त नेपालजस्तै लाग्यो आज। यो कार्यक्रम प्रत्येक वर्ष हुनुपर्छ।’
हुन पनि पोजनान सहरमा छपक्कै सिङ्गो नेपाल छाएको थियो।

यसैबिच, एकहुल लिम्बू युवायुवतीको नेतृत्व गर्दै हातमा नेपालको झन्डासहित र्यालीमा याक्थुङ लिम्बू समाज पोल्यान्डको संरक्षक सुनिता लावती भेटिइन्।
‘हामी परदेश लागेपछि देशको माया, संस्कार, संस्कृति तथा आफ्नो पहिचान र वेशभूषाको धेरै याद आउने रहेछ,’ सुनिताले आफ्नो अनुभव नेपालखबरसँग साटिन्।
उनले आज नेपालको झन्डासहित र विभिन्न जातिका आफ्नो पहिरनमा सजिएका नेपालीहरू देख्दा आफू भावुक भएको बताइन्।

सुनिताको छेउमा शिरमा शिरबन्दी लाएकी एक युवती
लिम्बूहरूको मौलिक बाजा च्याब्रुङ काँधमा झुन्ड्याएर र्यालीमा सांस्कृतिक उत्साह भर्दै थिइन्। बडेमानको च्याब्रुङ बोक्ने युवती चुलाचुली-१, कमल घर भएकी हाङ्मा तुम्बापो रहिछन्। हाङ्मा पोल्यान्डको उच सहरस्थित लोइचबाट तीन घण्टा ट्रेनको यात्रा गरेर कार्यक्रममा भाग लिन आएकी हुन्।
नेपालमा त च्याब्रुङ बजाएको थिइन। आजको दिन नेपालमय भएको खुसीमा उमङ्गले बजाएको भन्दै उनी र्यालीमा अघि बढिन्।
पोल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका लागि यो महोत्सव आफ्नो पहिचान, भाषा र संस्कृतिलाई
नयाँ पुस्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने अवसर बन्यो।
पोल्यान्डमा जन्मिएर यतै हुर्किँदै गरेकी १० वर्षीया सारा थापा राजधानी वारसामा बस्छिन्। वारसामा हुने नेपाली प्रोग्राममा गएको तर यति धेरै नेपालको झन्डा र ड्रेस लगाएको नदेखेको अनुभव सुनाइन्।
खाइलाग्दी साराले पङ्क्तिकारसँग भनिन्, ‘फेरि कहिले हुन्छ, यो प्रोग्राम?’
दुई पटक नेपाल गएर केही समय आफ्नो पुर्ख्यौली गाउँ गुल्मी बसेकी १० वर्षीया रेशी गाहा मगरलाई आफ्नो वेशभूषासँग धेरै लगाव छ।
विदेशमा हुर्किएका बच्चालाई आफ्नो देशको जरासँग जोड्न र नेपालसँगको आत्मीयता कायम राख्न यस्ता कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी गराउनुपर्ने यो कार्यक्रमका संयोजक समेत रहेका रेशीका बुवा भविन्द्र गाहा मगर (भविन) को ठम्याइ छ।

र्यालीमै भेटिए शेर्पा पोसाकमा दावा शेर्पाका बाबु-छोरी। डेढ वर्षको उमेरमा पोल्याण्ड आएकी याङ्जेन शेर्पा अहिले ९ वर्षकी भइन्। शेर्पा समुदायको परम्परागत जातीय पोसाकमा चिटिक्क सजिएर महोत्सवमा आएकी याङ्जेनको नेपाली भाषा स्पष्ट छैन।
यो कार्यक्रम मन पर्यो? भन्ने पङ्क्तिकारको प्रश्नमा ‘बेस्सरी मन परेको’ याङ्जेनको जवाफ थियो।
पोल्यान्ड आएपछि नेपाल नगएकी याङ्जेनले नेपालीहरू यसरी हिँडेको पहिलो पटक देखेको बताइन्।
कार्यक्रम आयोजना भएको पोजनानमा अभिभावकसँग बस्ने सक्षम विश्वकर्मादेखि भर्खर १ महिनाअघि मात्र यहाँ आएका सुगम तामाङलगायत धेरै नेपाली बालबालिका महोत्सवमा रमाइरहेका देखिन्थे।
र्यालीपछि पोजनानस्थित सेन्त्रुम कुल्टुरे जामेखको विशाल हलमा महोत्सव आयोजक हामी नेपाली ग्लोबल पोल्यान्ड च्याप्टर अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयालले यस प्रकारका कार्यक्रम निरन्तर तथा सशक्त बनाउँदै लैजानु आवश्यक रहेको बताए।

नेपाली सामुदायिक संघसंस्थाबाट हुने यस प्रकारका कार्यक्रममा नेपाली रादूतावास, बर्लिनको आवश्यकता अनुसारको सहयोग, साथ र समर्थन रहने उनले प्रतिबद्धता व्यक्त गरे।
‘हामी नेपाली जहाँ पुगे पनि हाम्रो पहिचान आफूसँगै जान्छ,’ नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल र भादगाउँले टोपीमा सजिएका भक्तपुर घर भएका कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने, ‘यस्ता कार्यक्रमले त्यो पहिचानलाई विश्वसामु देखाउने र नेपालको पर्यटन प्रवर्द्धन थप उचाइमा पुर्याउन विशेष मद्दत गर्छ।’
महोत्सवको अवलोकन तथा विशेष अतिथिको रूपमा हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय अध्यक्ष अमृत लामा र बोर्ड अफ डाइरेक्टर घनेन्द्र ढकाल अमेरिकाबाट पोल्यान्ड आएका थिए।
कार्यक्रमको भव्यता र सहभागिता देखेर मक्ख परेका देखिन्थे अध्यक्ष लामा र डाइरेक्टर ढकाल। ‘नेपाल आमालाई माया गर्ने पोल्यान्डवासी नेपालीलाई हृदयदेखि नै सम्मान र स्यालुट छ’, अध्यक्ष लामाले खुसी हुँदै भने।
औपचारिक कार्यक्रममा नेपाली विविधताको झल्को दिने सांस्कृतिक तथा पोलिस भाषाका समेत विभिन्न प्रस्तुतिले माहोल तातिएको थियो। नेपाली संस्कृति र सङ्गीतको तालमा सहभागीहरू दिल खोलेर छमछम नाचेका थिए भने विदेशी नागरिकहरूले समेत जानी-नजानी साथ दिएका थिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कार्यक्रम सफलताको लागि पठाएको भिडिओ सन्देश कार्यक्रममा देखाइएको थियो।
नेपाली राजदूतावास जर्मनीका तृतीय सचिव दिपेन्द्रप्रसाद साह, वारसाका लागि पूर्वनेपाली कन्सुलर डा बोधराज सुवेदी तथा नेपाली र पोलिस संघसंस्थाका प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल भ्रमण गर्दाको आफ्नो अनुभवलाई पोलिस नागरिक जिग्मोन्ट भ्वास्कोस्कीले भिडिओमार्फत सेयर गरेका थिए।
कार्यक्रममा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका बर्लिनस्थित कार्यवाहक राजदूत सागरप्रसाद फुयाललाई आयोजकको तर्फबाट बिदाई गरिएको थियो।
साथै, कार्यक्रममा यो महोत्सव सफल पार्न विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्ति, कलाकार तथा संघसंस्थालाई आयोजकले मायाको चिनो, सम्मान तथा प्रशंसा पत्रसमेत प्रदान गरेको थियो।

शनिबार पोल्यान्डस्थित पोजनान सहरमा भएको पहिलो ‘नेपाल महोत्सव’ ऐतिहासिक रह्यो। महोत्सवको दृश्यले एउटा सन्देश स्पष्ट दिएको थियो— आफ्नो देश हजारौँ किलोमिटर टाढा भए पनि, नेपालीको मन भने देशसँग नै जोडिएको हुन्छ।
विभिन्न कारणले विदेशमा नेपाली-नेपालीबिच नै मन फाटेको पनि नदेखिएको होइन। तर, कला, संस्कृति, भाषा र पहिचानले नेपालीलाई एउटै सूत्रमा बाँधिराखेको छ। त्यसैले केही घण्टाका लागि पोल्यान्डको पोजनान सहर साँच्चिकै ‘मिनी नेपाल’ बनेको थियो।









Shares

प्रतिक्रिया