युरोपेली मुलुक पोल्यान्डमा मृत्यु भएका पाल्पाका बमबहादुर रानाको शव आज (शुक्रबार) नेपाल पठाइएको छ।
पाल्पाको माथागढी -३ (साविक कसेनी-७) घर भएका २९ वर्षीय रानाको सुतेकै अवस्थामा २७ अप्रिल राति मृत्यु भएको थियो।
पोल्यान्डसमेत कार्यक्षेत्र भएको बर्लिनस्थित नेपाली दूतावाससँगको समन्वयमा नेपाल मगर संघ पोल्यान्डको सक्रियताबाट रानाको शव नेपाल पठाइएको हो।
‘बमबहादुर रानाको शव आज कतार एयरलाइन्सको उडानबाट नेपाल पठाइएको छ,’ नेपाल मगर संघ पोल्यान्डका संरक्षक भविन्द्र गाहा मगर (भविन)ले नेपालखबरसँग भने।
गाहा मगरका अनुसार शव आज ३ तारिख पोल्यान्डको चोपिन विमानस्थलबाट कतारको दोहा हुँदै ५ तारिख नेपाली समय बिहान ८:५० बजे काठमाडौँ पुग्ने उडान तालिका छ। यसको जानकारी बमबहादुरको परिवारलाई गराइसकिएको छ।
मृतक बमबहादुरका बुवा ज्ञानबहादुर रानाले छोराको शव नेपाल पठाउन सहयोग गर्ने नेपाल मगर संघ पोल्यान्ड, नेपाल सरकार, नेपाली दूतावास सबैलाई धन्यवाद भनेका छन्।
‘पोल्यान्डको एउटा नेपाली संस्थाले छोराको शव पठाउन लगभग २५ हजार पोलिस ज्लोटी लाग्ने र त्यसको लागि चन्दा सङ्कलन गर्ने भनेको थियो। तर, हाम्रो सामुदायिक संस्थाले दूतावाससँग समन्वय गरेर आज शव पठाइदिएकोमा मेरो परिवार मगर संघप्रति ऋणी भएको छ,’ बुवा ज्ञानबहादुरले नेपालखबरसँगको टेलिफोन सम्पर्कमा भने, ‘दु:ख र अप्ठ्यारो यस घडीमा सात समुद्रपार विदेशमा आफ्नै (नेपाली) दाजुभाइको ठूलो सहयोग पाइयो।’
बमबहादुर नेपालबाट रोजगारीको सिलसिलामा १७ सेप्टेम्बर २०२१ मा पोल्यान्ड आएका थिए। उनी पोल्यान्डको कुज्नीचा ग्रावोब्स्कास्थित पीपीएचयू इम्पोर्ट-एक्स्पोर्ट कम्पनीमा प्यालेट बनाउने काम गर्दै आएका थिए।
उनको श्रीमती र ५ वर्षको एक छोरा छन्।
Shares

प्रतिक्रिया