कला


सहरकी नयाँ हिरोइन : बालेनसँग डिनर, अनमोलसँग फिल्म खेल्ने रहर (भिडिओ)

जसलाई धेरैले स्वस्तिमा खड्काकी ‘सहोदर बहिनी’ ठान्छन्

अनिल यादव
असार १९ , काठमाडौँ

काठमाडौँको कुनै एक सिनेमा हलमा फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन भइरहेको थियो। हलभित्र दर्शकहरू झुम्मिएका थिए। ती दर्शकको एउटै जिज्ञासा थियो– ‘फिल्ममा स्वस्तिमा खड्काको बहिनीको भूमिकामा देखिने ती सुन्दरी को हुन्? के उनीहरू साँच्चिकै दिदीबहिनी हुन्?’ 

फिल्ममा उनीहरूको केमेस्ट्री यति जीवन्त थियो कि धेरैले ती हिरोइनलाई स्वस्तिमाकी सहोदर बहिनी नै ठाने। 

सहरकी ती नयाँ हिरोइन थिइन्– सिम्रन खड्का। सिम्रनका लागि यो कुनै नयाँ प्रतिक्रिया भने थिएन। पर्दामा जति उनी आकर्षक देखिन्छिन्, पर्दाबाहिर उनको सादगी र मिहिनेत उत्तिकै प्रशंसनीय छ। पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा एउटा नयाँ र आशालाग्दो अनुहारको रूपमा उदाएकी सिम्रनको करिअरको ग्राफ निकै रोचक छ।

सिम्रनलाई ठ्याक्कै याद छैन, उनमा कहिलेदेखि हिरोइन बन्ने चाहना पलायो। तर, कक्षा २–३ मा पढ्दादेखि नै शिक्षकहरूले ‘भविष्यमा के बन्ने’ भनेर सोध्दा उनको रेडिमेड जवाफ हुन्थ्यो– ‘हिरोइन’।

नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेकी सिम्रन सम्झिन्छिन्, ‘मलाई किन हो, सानैदेखि अभिनयप्रति गहिरो रुचि थियो। स्कुलभरिका साथीहरू सबैलाई म हिरोइन बन्न चाहन्छु भन्ने थाहा थियो। म निकै गर्वका साथ यो कुरा सबैलाई सुनाउँथे।’

सानैदेनि नृत्यमा पारंगत सिम्रनले म्युजिक भिडिओबाट आफ्नो यात्रा सुरु गरिन्। ‘गोरी ए गोरी’ बोलको गीतमा उनले पहिलो पटक क्यामरा फेस गरिन्। तर, उनको लक्ष्य त ठूलो पर्दा नै थियो।

उनको डेब्यु फिल्म ‘प्रेमगञ्ज’ हो। यो फिल्म उनको करिअरका लागि आधारशिला बन्यो। फिल्मको सुटिङका क्रममा काभ्रेको एक विकट गाउँमा बिताएका दिनहरू उनलाई अझै पनि ताजै लाग्छन्। 

‘हामी गाउँको एउटा सानो कोठामा सबै कलाकारहरू भुइँमा ओछ्यान लगाएर सुत्थ्यौँ। जस्तो हामी सानोमा दसैँमा मामाघर जाँदा सुत्थ्यौँ, ठ्याक्कै त्यस्तै माहोल थियो। एउटा परिवार जस्तो भएर काम गर्दाको आनन्द नै अर्कै हुने रहेछ,’ आफ्नो पहिलो फिल्म सुटिङका ती दिन सम्झिएर सिम्रन नोस्टाल्जिक हुन्छिन्। 

त्यसपछि उनले ‘चित्रा’ मा काम गरिन्, जहाँबाट उनको अभिनयको थप चर्चा सुरु भयो। तर, फिल्म ‘अगस्त्य’ मा खेलेको चरित्र उनका लागि भावनात्मक रूपमा निकै चुनौतीपूर्ण रह्यो। हिंसा पीडित युवतीको भूमिका निर्वाह गर्दा उनले जुन मानसिक दबाब झेलिन्, त्यसले उनलाई एक परिपक्व कलाकार बनाउन मद्दत गर्‍यो। 

‘अगस्त्यको सुटिङ गर्दा मलाई चरित्रबाट बाहिर निस्कन निकै गाह्रो भएको थियो। कतिपय सिनहरू यति गहिरा थिए कि सुटिङ सकिएपछि पनि म भावुक भइरहन्थेँ,’ सिम्रनले भनिन्।

फिल्म ‘बेहुली फ्रम मेघौली’ सम्म आइपुग्दा सिम्रनको परिचयमा अर्को इँटा थपियो। रोचक कुरा त के छ भने सिम्रन आफैँ पनि स्वस्तिमा खड्काको ठूलो फ्यान थिइन्। उनीसँग स्वस्तिमाको फोटो टाँसिएको पुरानो डायरी अझै पनि सुरक्षित छ।

‘म सानो छँदा स्वस्तिमा दिदीको फोटो काटेर डायरीमा टाँस्थेँ र मुनि ‘नेपालको फेभरेट एक्टर’ भनेर लेख्थेँ,’ त्यो डायरीको तस्बिर हेर्दै सिम्रनले भनिन्, ‘पछि उहाँकै बहिनी भएर फिल्ममा काम गर्न पाउँदाको खुसी म शब्दमा बयान गर्न सक्दिनँ। यस्तो अवसर पाइएला भन्ने मैले सोचेको थिइनँ। मेरो लागि त्यो सरप्राइज नै थियो।’

फिल्म रिलिज भएपछि धेरैले उनलाई स्वस्तिमाकै आफ्नै बहिनी ठानेर म्यासेज गरे। अहिले पनि सामाजिक सञ्जालमा उनलाई ‘स्वस्तिमाको बहिनी’ भनेरै धेरैले सम्बोधन गर्छन्, जसलाई सिम्रन निकै प्रेमका साथ स्वीकार्छिन्।

ग्ल्यामर क्षेत्रमा रहे पनि सिम्रन आफ्नो व्यक्तिगत जीवनलाई निकै निजी राख्न रुचाउँछिन्। उनलाई पत्याउने हो भने उनी हाल ‘सिंगल’ छिन्। प्रेमका विषयमा उनको आफ्नै धारणा छ। 

सिम्रन भन्छिन्, ‘मलाई लाग्छ, ब्वइफ्रेन्ड सेलिब्रेटी हुनुभन्दा नन–सेलिब्रेटी हुनु नै राम्रो हो। सेलिब्रेटी ब्वइफ्रेन्ड हुँदा कहिलेकाहीँ कामको सिलसिलामा सम्बन्धमा जटिलता आउन सक्छ। तर यो त समय र परिस्थितिले निर्धारण गर्ने कुरा हो।’

उनलाई सामाजिक सञ्जालमा रोचक र कहिलेकाहीँ अनौठा प्रपोजलहरू पनि आउँछन्। कसैले ‘म तिम्रो राजा बन्न सक्छु?’ भन्दै म्यासेज गर्छन् भने कोही सिधै विवाहको प्रस्ताव राख्छन्। तर, सिम्रनको ध्यान अहिले विवाहभन्दा पनि आफ्नो करिअरलाई उचाइमा पुर्‍याउनुमा छ।

भविष्यका योजनाका बारेमा कुरा गर्दा सिम्रनले केही रहरहरू खुलेर सुनाइन्। उनलाई अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गर्ने ठूलो इच्छा छ। त्यस्तै दयाहाङ राई र अनमोल जस्ता हस्तीहरूसँग काम गरेर धेरै कुरा सिक्न चाहन्छिन् उनी।

सिम्रनलाई प्रधानमन्त्री बालेन शाहको काम निकै मन पर्छ। उनले बालेनलाई नै भोट दिएकी थिइन्। हामीलाई उनलाई सोध्यौँ– प्रधानमन्त्रीसँग डिनर कि फेभरेट हिरोसँग डेट? 

जवाफमा उनको रोजाइ थियो– प्रधानमन्त्री बालेन शाहसँग डिनर। 

‘अहिलेलाई प्रधानमन्त्रीसँग डिनर नै। उहाँसँग बसेर आफ्ना फिल्मका कुराहरू सुनाउन मन छ,’ उनले भनिन्। 

आज सिम्रनले आफूलाई कलाकारितामा पूर्ण रूपमा समर्पित गरिसकेकी छन्। बीबीएस पढे पनि उनको गन्तव्य भनेको क्यामराको लेन्स नै हो। फिल्म चल्नु र नचल्नु आफ्नो ठाउँमा होला, तर अभिनयको प्रशंसा पाउनुलाई उनी ठूलो उपलब्धि मान्छिन्।

उनी अभिनीत फिल्म ‘गौँथली’ साउन १ देखि प्रदर्शनको तयारीमा छ। उनी स्वयम् टाइटल क्यारेक्टरमा देखिँदैछिन्। 

त्यसैले सिम्रनको एउटै आग्रह छ, ‘सम्बन्धको कथामार्फत गहिरो सन्देश बोकेको फिल्म हो, ‘गौँथली’। हामीले निकै मेहनत गरेर फिल्म बनाएका छौँ। त्यसैले फिल्म हेर्न हलसम्म आइदिनुहोला, जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया दिनुहोला।’

बाँकी उनले के भनिन्, हेर्नुस् उनीसँग गरिएको भिडिओ कुराकानी ‘लेट्स टक’:

फोटो/भिडिओ : सरोज नेपाल

असार १९, २०८३ शुक्रबार २१:३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad