अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘रातो घेरा- द रेड सर्कल’ को शुभमुहूर्त गरिएको छ।
पाटनस्थित बंगलामुखी मन्दिरमा विधिवत रूपमा पटकथा पूजा गर्दै शुभमुहूर्त गरिएको हो। यो फिल्म असार २५ गतेदेखि छायांकनमा जाने भएको छ।
फिल्ममा दयाहाङ राई र मिरुना मगरसहित करिब दुई दर्जन कलाकारको अभिनय रहनेछ। अभिनेता दयाहाङ र अभिनेत्री मिरुनाले सत्य घटनामा आधारित एउटा सुन्दर र राम्रो चलचित्रमा काम गर्न लागेकोले उत्साहित भएका बताए।
विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको अधिकांश छायांकन काठमाडौँ उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ।
निर्देशक अनिलका अनुसार चलचित्र सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ। सत्य घटनामा आधारित भएर निर्माण भइरहेको यस फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको निर्माता जीवन गुरुङले बताए।
फिल्मका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन्। सह-निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन्। फिल्मको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्।
फिल्ममा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन खबपु, सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाई, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवाससिंह ठकुरी, रमिकसिंह ठकुरी, सुनिल तामाङ र डिबी गुरुङलगायतको अभिनय रहनेछ।
यो फिल्म आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ।
Shares

प्रतिक्रिया