जुम्लाकी प्रतीक्षा आचार्यले नुवाकोटका कुमार थापा मगर (नेपाली ब्रो) लाई भनेकी थिइन्- ‘पहिले श्रीमतीको हत्या गर्नु अनि विवाह गरेर सँगै बसौँला।’
उनले भनेजस्तै श्रीमती ईश्वरी भुजेलको जेठ २२ गते राति कुमारले चक्कु प्रहार गरेर हत्या गरे।
तर हत्यापछि उनीहरू विवाह गरेर सँगै बस्न पाएनन्। बरु यही घटनाका कारण बिहीबार दुवै जनाले सँगै जेलको यात्रा गरे। जिल्ला अदालत काठमाडौँले थुनछेक बहसपछि कुमार र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।
घटनाकै राति कुमारलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। यो घटना हुनुका पछाडि प्रतीक्षासँगको अवैध सम्बन्ध रहेको निष्कर्षसहित अदालतमा अभियोग दायर भएको थियो। जसमा चार जनालाई प्रतिवादी बनाइएको थियो।
प्रतिवादीमध्ये कुमारका भाइ विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई एक÷एक लाख धरौटीमा रिहा गरिएको छ। कुमार र प्रतीक्षालाई भने केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।
प्रहरीको निष्कर्षजस्तै उनीहरूले पनि एकअर्काको प्रेम सम्बन्धमा रहेको स्वीकार गर्दै बयान दिएका थिए। यसअघि ईश्वरीले पटक–पटक उनीहरूलाई छुटाउन प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले छलफल गराउँदै मिलापत्र कागज गराएर पठाएको थियो।
तर प्रहरी कार्यालयमा कागज गरे पनि उनीहरू एकअर्कासँग छुटेका थिएनन्। कुमारको श्रीमती ईश्वरीसँग भने झगडा बढ्दै अदालत पुगेको थियो। सम्बन्धविच्छेद र वैवाहिक बलात्कारको मुद्दा अदालतमा थिए। जति गर्दा पनि कुमारलाई प्रतीक्षासँगको सम्बन्धबाट अलग गर्न नसकेपछि ईश्वरीले सम्बन्धविच्छेद चाहेकी थिइन्।
तर कुमारलेसम्बन्धविच्छेद अस्वीकार गरेका थिए भने प्रतीक्षासँग पनि अलग भएका थिएनन्। यिनै मुद्दाको पेसी तारेख बुझेर फर्किएकै दिन कुमारले ईश्वरीको हत्या गरे।
छोराले दिए बयान : त्यसदिन के–के भयो?
अनुसन्धानका क्रममा प्रहरीले कुमार र ईश्वरीका जेठा छोरा जेनिश थापासँग पनि सोधपुछ गरेको थियो। बुबा र आमाको लामो समयदेखिको झगडा झेलेका जेनिशले यो हत्याको कारण खुलाइदिएका छन्।
जेनिशले कुमारकी प्रेमिका प्रतीक्षालाई पनि चिनेका थिए। उनको बयानअनुसार केही वर्षदेखि नै ईश्वरी र कुमारबीच विवाद हुँदै आएको थियो। तर मिल्दै, झगडा गर्दै समय बित्दै थियो। कुमार प्रतीक्षासँग सम्बन्धमा भएको थाहा पाएपछि ईश्वरीले सम्झाउन र छुटाउन खोज्थिन्। एक वर्षपहिले कुमार र प्रतीक्षाबीच प्रेमसम्बन्ध रहेको थाहा पाइन्। कुमार प्रतीक्षालाई लिएर घुमफिरमा गएको प्रमाण मोबाइलमा फेला परेको थियो। त्यसपछि घरपरिवारले कुमारलाई सम्झाइबुझाइ गरे तर कुमार अलग हुन मानेनन्। ईश्वरीले प्रहरीमा उजुरी पनि दिइन्। प्रहरीले छलफल गराएर मिलापत्र कागज गराएर पठाइदियो।
‘मैले बेलाबेलामा कुमार थापा मगरको फेसबुक आईडी चलाउने भएकाले म्यासेन्जरमा कुमारले काका विक्रमलाई डिस्कोमा प्रतीक्षासँग नाचेको फोटो, भिडिओ पठाएको थाहा पाएको थिएँ। मैले ती फोटो भिडिओहरू आमालाई पठाइदिएँ,’ जेनिशले सोधपुछ कागजमा भनेका छन्, ‘आजभन्दा करिब ७÷८ महिनापहिले बुबा कुमारले प्रतीक्षासँग फोनमा कुराकानी गर्दा प्रतीक्षाले पहिले आफ्नो श्रीमतीलाई मार अनि बल्ल म तिम्रो घरमा भित्रिन्छु भनेको सुनेको थिएँ।’
यस्तै भाइ विक्रमले पनि कुमारलाई श्रीमतीलाई तह लगा, कति पैसा चाहिन्छ म खर्च गर्छु भनेर उक्साएको आरोप छ। कुमारले पटक–पटक ईश्वरीलाई कुटपिट गरेका थिए। प्रतीक्षासँगको भिडिओ भने उनले टिकटकमा पनि सार्वजनिक गरेका थिए। यसरी विवाद बढ्दै जाँदा ईश्वरीले कुमारविरुद्ध प्रहरी वृत्त बालाजुमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त जाहेरीपछि पक्राउ परेका कुमार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए।
‘रिहा भएको दुईतीन हप्तापछि हामीलाई कुट्न आउनुभयो। कोठाबाहिर ग्यास सिलिन्डर पड्काएर मार्न समेत खोज्नुभएको थियो,’ छोरा जेनिशले सोधपुछमा भनेका छन्, ‘छिमेकीहरूले थाहा पाएपछि कुमारलाई सम्झाइबुझाइ गरेर रोकेका थिए। पछि नेपाली सेनामै कार्यरत फुपूले पनि बुबा र आमालाई सम्झाइबुझाइ गर्नुभएको थियो। एक पटकलाई माफी दिनु भनेपछि त्यतिबेला कुनै उजुरी गरेनौँ।’
तर पछि पनि पटक–पटक झगडा हुन थालेपछि उनीहरु प्रहरी कार्यालय पुगे। प्रहरी कार्यालयमै भएको छलफलमा कुमार भुइँतलाको फ्ल्याटमा अनि ईश्वरी र दुई छोरा माथिल्लो फ्ल्याटमा बस्ने सहमति भयो। छुट्टिएर अलग–अलग बस्दा पनि कुमारले काट्छु, मार्छु भन्दै धाकधम्की दिन्थे। बेलाबेला अदालतमा रहेका मुद्दामा मिलापत्र गर्न ईश्वरीलाई दबाब दिन्थे।
घटना भएको दिन २०८३ जेठ २२ गते पनि जिल्ला अदालत काठमाडौँमा तारेख थियो। बिहान ११ बजेतिर ईश्वरी छोरा जेनिशसँग अदालत पुगेर तारेख बुझिन्। अर्को तारेख असार ३ गतेको लिए। उनीहरू अदालत पुग्ने बेला कुमारलाई अदालतबाट गाडीमा निस्कँदै गरेको देखेका थिए। त्यसपछि जेनिशले ईश्वरीलाई स्कुटरमा लगेर अफिसमा छाडिदिए। आफू उनी राइड सेयरिङ गरेर गए। राति ८ बजेतिर कुमार घरमा गएर कान्छा छोरालाई लैजान खोजेका थिए। यो कुरा थाहा पाएपछि जेनिशले फोन गरेर भाइलाई किन लैजान खोजेको भन्दै गाली गरे। जेठो छोरा जेनिशलाई भने कुमारले मोबाइलमा ब्लक गरेका थिए। उनका आफन्तको मोबाइलबाट फोन गरे।
जेनिशले कुमार घरमा पुगेको र धाकधम्की दिएको कुरा आमा ईश्वरीलाई सुनाए। ईश्वरी भने त्यो बेलुका पार्टीमा थिइन्। पार्टी सकिन लागेकाले आफू छिट्टै आउँछु, तिमी घर जाऊ भनेकी थिइन्। त्यसपछि जेनिश घर गए।
घर पुगेर जेनिशले आमा ईश्वरीलाई फोन गरे। ‘शेषमती आइपुगेँ’ भनेकी थिइन्। तर त्यसो भनेको अबेरसम्म पनि ईश्वरी घर पुगिनन्। फोन पनि उठेन। त्यसपछि जेनिश उनलाई खोज्न एक जना नाताका दाइसँग बाटोतिर लागे। फोन गर्दै खोजिरहेका थिए। पछि एकजना पुरुष व्यक्तिले फोन उठाए र ईश्वरी पैयुटारस्थित सडकमा यो फोनवाला महिला रगताम्य अवस्थामा लडेको जानकारी दिए। जेनिश त्यहाँ पुगेर उपचारका लागि लैजाने क्रममा ईश्वरीको मृत्यु भयो।
आमाको मृत्यु बुबा कुमारकै कारण भएको आशंकामा उनीसहितका व्यक्तिहरू पनि खोजतलासमा लागे। कुमारलाई फोन गरेर सोधे, ‘आमाको हत्या तपाईंले गरेको हो?’ त्यसपछि कुमारले मोबाइल बन्द गरे।
पछि घटनास्थल आसपासका सीसी क्यामेरा हेर्दा कुमारले नै हत्या गरेको पुष्टि भयो। प्रहरीले त्यसै दिन बेलुका कुमारलाई पक्राउ ग¥यो र अनुसन्धान अगाडि बढायो। कुमारले बयानका क्रममा पनि ईश्वरीको हत्या आफूले गरेको स्वीकार गरे। उनले पनि प्रतीक्षासँगको सम्बन्धकै कारण झगडा भएको, अदालतको मुद्दा फिर्ता लिन ईश्वरीले नमानेको जस्ता कारण देखाएर हत्या गरेको बयान दिएका छन्।
उनकी प्रेमिका भनिएकी प्रतीक्षाले पनि यो कुरा स्वीकार गरिन्। ईश्वरीको हत्या गरेर सँगै बस्ने योजना बनाएका प्रतीक्षा र कुमार भने बिहीबार जेल चलान भए। अब माथिल्लो अदालतले रिहा नगरे कम्तीमा मुद्दाको फैसला नभएसम्म र फैसला भएपछि सोही अवधि उनीहरू जेलमै बस्नुपर्नेछ।
Shares

प्रतिक्रिया