परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गतेदेखि राहदानी सेवा नयाँ प्रणालीबाट दिने भएको छ।
विभागले शुक्रबार सूचना जारी गरी नयाँ प्रणालीमार्फत राहदानी (पासपोर्ट) जारी गर्न आवश्यक तयारी गरिसकेको जानकारी दिएको हो।
साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने पनि विभागले जनाएको छ।
सूचनाअनुसार जिल्ला/इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिनसम्म बन्द हुनेछ।
त्यसैगरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ।
साथै यही असार २९ देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी विभागले गराएको छ।
यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभागले क्षमा मागेको छ।
विभागले यसअघि गत फागुन २८ गते नै विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने सूचना जारी गरेको थियो।
Shares

प्रतिक्रिया