राजनीति


प्रधानमन्त्री बालेनले पहिलोपटक एक्लाएक्लै भेट्दै छन् विदेशी प्रतिनिधि, मेरियटमा रात्रिभोज

प्रधानमन्त्री बालेनले पहिलोपटक एक्लाएक्लै भेट्दै छन् विदेशी प्रतिनिधि, मेरियटमा रात्रिभोज

उद्धव थापा
असार २१, २०८३ आइतबार १३:४, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पहिलोपटक विदेशी प्रतिनिधिसँग वान-अन-वान बैठक गर्ने तय भएको छ।

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार, प्रधानमन्त्री बालेन र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबिच एक्लाएक्लै भेटवार्ता हुन लागेको हो। 

आगामी मंगलबार बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुई जनाबिच भेटघाट निश्चित भएको छ। 

कान्दा नेपाल भ्रमणका लागि भोलि सोमबार दिउँसो काठमाडाैँ आउँदै छन्। 

यसअघि प्रधानमन्त्री बालेनले कुनै पनि विदेशी प्रतिनिधिसँग एक्लाएक्लै भेटवार्ता गरेका छैनन्।

उनले राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्न इन्कार गर्दै परराष्ट्र मन्त्रालयलाई नै जिम्मा दिएका थिए।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विदेश सम्बन्धमा परराष्ट्र मन्त्रालयले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने निर्देशन प्रधानमन्त्रीको रहेको बताउने गरेका छन्। 

शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्चस्तरीय भ्रमण अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले गरेका थिए। उनी वैशाख ७ मा नेपाल आएका थिए। त्यसबेला प्रधानमन्त्री शाहले कपुरलाई भेटेका थिएनन्।

त्यसपछि दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख १७ मा नेपाल आएका थिए। उनले पनि प्रधानमन्त्री शाहसँग भेट्न पाएनन्।

त्यति मात्रै होइन, भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री शाहलाई भेट्न नपाउने भएपछि अन्तिम समयमा आएर रद्द भएको थियो। उनी वैशाख २८ र २९ गते दुई दिनका लागि नेपाल आउन लागेका थिए। 

नेपालमा शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो।

नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धमा नयाँ आयाम आउने गरी उनको भ्रमण हुन लागेको भनिएको थियो। तर, प्रधानमन्त्री शाहले मिश्रीसँग भेटको लागि समय नदिएपछि अन्तिम समयमा उनले भ्रमण रद्द गरेका थिए।

भव्य सम्मानसहित रात्रिभोज
यसपटक आर्थिक विषयसँग जोडिएको संस्थाको नेतृत्व नेपाल आउँदा भने प्रधानमन्त्रीले भेटको लागि समय छुट्याएका छन्। यतिसम्म कि उनलाई भव्य सम्मानसहित रात्रिभोजनै आयोजना गरिएको छ।

अहिले भने प्रधानमन्त्री शाह एबीडीका अध्यक्षसँग भेट्न राजी भएका हुन्। सोमबार दिउँसो नेपाल आएलगत्तै अध्यक्ष कान्दाले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ। 

अर्थमन्त्री वाग्लेसँग दिउँसो ३ बजे हुने भेटपछि नेपाल र एडीबीबिच हुने सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।

सोमबार साँझ भने अर्थमन्त्री वाग्लेले कान्दाको सम्मानमा विशेष रात्रिभोज आयोजना गरेका छन्। उक्त रात्रिभोज नक्सालस्थित मेरियट होटलमा हुने तय भएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरलाई जानकारी दिए।

मंगलबार बिहान भने प्रधानमन्त्री शाहसँग कान्दाको वान-अन-वान बैठकको कार्यसूची तय भएको छ। त्यसपछि कान्दा नेपालबाट फर्कनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाएपछि नेपालको विकासमा सहायता प्रदान गर्दै आएको बहुपक्षीय  दातृ निकायमध्ये पहिलोपटक एडीबीका अध्यक्ष नेपाल भ्रमणमा आउन लागेका हुन्। 

एडीबीका अध्यक्ष कान्दासँग भेटका लागि प्रधानमन्त्रीले समय दिनुले उनले आर्थिक क्षेत्रलाई विशेष प्राथमितामा राखेको बुझ्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad