नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा विभाजन भएको छ।
सो पार्टीबाट हालै बाहिरिएकी नेत्री उमा भुजेल (शिलु) को संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन भएसँगै पार्टी औपचारिक रुपमा फुटेको हो।
भुजेल तत्कालीन नेकपा(माओवादी) ले सञ्चालन गरेको दशवर्षे जनयुद्धमा गोर्खा जेलब्रेक गरेर चर्चामा आएकी नेत्री हुन्।
उमा भुजेलको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय भेला आगामी भदौ महिनाभित्र गर्ने घोषणा गरिएको छ।
भुजेलद्वारा आज (असार २५ गते) जारी विज्ञप्तिमा ‘विभिन्न कम्युनिस्ट पार्टीहरू विशेष गरी विभिन्न माओवादी घटकहरूका बीचमा रूपान्तरण सहितको एकता अनिवार्य बनेको’ बताइएको छ।
सो पार्टीले विभिन्न ६ वटा बुँदामा पार्टी पुनर्गठनको उदेश्य स्पष्ट पारेको छ।
जसमा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा संघर्ष गर्नु, निर्वाचित निरंकुश फासिवादी सरकारका राष्ट्रविरोधी र जनविरोधी कार्यहरूका विरुद्ध संघर्ष गर्नु, विगतका बलिदानीपूर्ण संघर्षहरूबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै कम्युनिस्ट जनमतको रक्षा गर्नु, आम श्रमजीवी जनतालाई समाजवादी विचारद्वारा प्रशिक्षित गर्नु र समाजवादी क्रान्तिका निम्ति संघर्षका सबै मोर्चाहरूको प्रयोग गर्नु रहेको बताइएको छ।
यस्तै, पहिलो चरणमा माओवादीहरू बीच रूपान्तरण सहितको एकता गर्दै सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई एकता र पुनर्गठन गर्ने साथै कम्युनिस्टहरू सहित सम्पूर्ण देशभक्तहरू र सच्चा लोकतन्त्रवादी- गणतन्त्रवादी शक्तिहरूका बीचमा संयुक्त मोर्चा निर्माण गर्नु तथा महान् जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत सबै परिवर्तनकारी आन्दोलनका सम्पूर्ण शहिद बेपत्ता तथा घाइते योद्धाका सपनाहरूलाई एकताबद्ध भई पूरा गर्नु आफ्नो उद्धेश्य रहेको संयोजक भुजेलले स्पष्ट पारेकी छन्।


Shares

प्रतिक्रिया