यतिखेर निश्चल बस्नेतको परिचय छ, फिल्म निर्देशक तथा अभिनेता।
तर उनको जीवनमा फिल्म आउनुअघि फुटबलको एउटा लामो र सुनौलो अध्याय थियो।
उनी केवल रहरका लागि मात्र खेल्दैनथे, उनको लक्ष्य त देशको झण्डा छातीमा टाँसेर मैदानमा उत्रनु थियो।
‘मलाई १६-१७ वर्षको उमेरदेखि २२-२३ वर्षको हुँदासम्म नेसनल प्लेयर बन्छु, नेपालको लागि खेल्छु भन्ने ठूलो सपना थियो,’ नेपालखबर विश्वकप विशेषमा गफिन आइपुगेका निश्चलले ती दिन सम्झिएँ, ‘म स्कुल लेभल, कलेज लेभल र अस्ट्रेलिया जाँदा पनि फुटबललाई कहिल्यै छोडिनँ। मेरो एउटा सपना अझै बाँकी छ, जुन अहिलेसम्म पूरा भएको छैन। त्यो के भने मलाई आजसम्म पनि दशरथ रंगशालामा टिमको जर्सी लाएर फुटबल खेल्ने एकदमै ठूलो रहर छ।’
फिल्मको उचाइले उनलाई नाम र दाम त दियो, तर रंगशालाको त्यो हरियो दुबोमा राष्ट्रिय जर्सी लगाएर दौडिन नपाएको एउटा सानो पीडा उनले हाँसोभित्र लुकाएर राखेका छन्।
ब्राजिलका कट्टर फ्यान निश्चलका लागि यो विश्वकप अलि खल्लो भइदियो। नेयमारको कौशल र टोलीको लय देख्दा उनलाई लागेको थियो-यसपालि कप ब्राजिलतिरै जान्छ। तर फुटबल न हो, सोचेजस्तो कहाँ हुन्छ र?

‘ब्राजिलको सबैभन्दा राम्रो पक्ष भनेको उसको अट्याकिङ पावर हो,’ ब्राजिलको बहिर्गमनबारे उनी प्राविधिक विश्लेषण गर्दै भन्छन्, ‘तर यो चोटि चाहिँ अलिकति मिडफिल्ड र अट्याकिङको बीचमा तालमेल नमिलेको जस्तो लाग्यो। गेम हेर्दाखेरि ल अब यिनीहरूले जित्छन् भन्ने खालको फिलिङ नै आउँदैनथ्यो।’
नेयमारका आँसु र रोनाल्डोको बिदाइले उनलाई पनि भावुक बनायो। भन्छन्, ‘नेयमार एकदमै स्किलफुल प्लेयर हो, तर टिम प्लेयरको रूपमा कतै न कतै तालमेलको अभाव देखियो।’
हामी साढे दुई करोड जनसंख्या भएको देश, तर विश्वकप खेल्ने कुरा हाम्रा लागि आज पनि कथा जस्तै लाग्छ। तर साढे पाँच लाख जनसंख्या भएको केप भर्डे जस्ता देशको प्रगति देख्दा निश्चलको मनमा एउटा प्रश्न उब्जिएको छ। उनी नेपाली फुटबलको विकासका लागि पैसाभन्दा ठूलो सोच हुनुपर्नेमा जोड दिन्छन्।
‘नेपाल विश्वकपमा पुग्न सक्छ तर वर्ल्ड क्लास खेल्नको लागि त वर्ल्ड क्लास सोच्नु त पर्यो नि,’ उनले भने, ‘पैसा मात्र ठूलो लगानी होइन, सोच लगानी गर्नुपर्छ। ग्राउन्ड लेभलबाटै खेलाडीको क्षमता वृद्धिको लागि राज्यले लगानी गर्नुपर्यो। खेलाडीले खेल्दाखेल्दै आफ्नो परिवार कसरी पाल्ने भन्ने सोच्नुपर्ने अवस्था रहँदासम्म हामी माथि पुग्न सक्दैनौँ।’
विश्वकपका अन्तिम चरणहरू बाँकी रहँदा निश्चलको मनले फ्रान्सलाई बलियो दाबेदार देखिरहेको छ। एमबाप्पेको गति र टिमको स्थिरताले उनलाई लोभ्याएको छ।
‘मलाई यो पटक फ्रान्सको टिम एकदमै स्टेबल र राम्रो लागिरहेको छ,’ निश्चलको प्रेडिक्सन छ, ‘उनीहरू दाबेदार हुन्। अनि मेस्सीको कुरा गर्दा ऊ मैदानमा हुने बित्तिकै विपक्षी डिफेन्डरहरूको मेन्टालिटी चेन्ज हुन्छ। मेस्सीले गोल गर्ने चान्स एकदम धेरै क्रिएट गर्छ, ऊ एकदमै सक्सेसफुल प्लेयर हो। मलाई लाग्छ, मेस्सीले यो पटक केही विशेष गर्छन्, सायद गोल्डेन बुट जित्छन् होला।’

हेर्नुस्, बस्नेतसँग गरिएको विश्वकप विशेष कुराकानीः
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया