समाज


कोलम्बिया विश्वविद्यालयका प्रोफेसर प्रेम फ्याकसँग भिडिओ संवाद– कक्षाकोठा कसरी समावेशी बनाउने


रोश्ना सुब्बा
असार २६ , काठमाडौँ

एक विद्यालयमा खेलकुद कार्यक्रम भएको थियो। सय मिटर दौड, रिले दौड, चम्चा दौडमा आधारभूत तहका विद्यार्थी सहभागी थिए। उनीहरूका अभिभावक खुसी थिए। तर, आफ्नो छोरालाई दौडमा सहभागी नगराइएकोमा एक आमाको चित्त दुखाइ थियो। शिक्षकसँग उनी गुनासो गर्दै थिइन्– मेरो बाबुलाई कहिल्यै खेलाउनुहुन्न। किन नखेलाइएको हो?

‘ऊ मोटो छ। छिटो दौडन सक्दैन। त्यसैले छनोट भएन,’ शिक्षकको जवाफ थियो।

ती विद्यार्थी अलि मोटो थिए। शारीरिक बनावटका कारण उनलाई खेलमा सहभागी गराइएन। उनी जस्ता विद्यार्थी छिटो दौडन र प्रतिस्पर्धामा खरो उत्रन सक्दैनन् भनेर विद्यालयमा हुने खेलमा प्राय: सहभागी गराइँदैन।

उनीजस्ता विद्यार्थीको कुन खेलमा रुचि हुन सक्छ वा कस्ता खेलमा सहभागी गराउन सकिन्छ भनेर विकल्पका बारेमा सोचेको समेत पाइँदैन। बालबालिका र अभिभावकलाई कस्तो महसुस हुन्छ भन्ने वास्ता गरिँदैन।

यसैगरी, कमजोर आर्थिक अवस्था भएकी एक दृष्टिविहीन छात्रा शिक्षकले छिटो-छिटो बोलेको सुन्दा टिप्न सक्दैनथिन्। न त उनी शिक्षकलाई यसबारेमा भन्न सक्थिन्, न विद्यालय प्रशासनलाई नै।

यस्तै, चाडपर्व नजिकिँदै जाँदा कुनै एक समुदायले मनाउने पर्वलाई कतिपय विद्यालयमा विशेष महत्त्व दिइन्छ। जस्तो, दसैँ विद्यालयमा धुमधामसँग मनाउने गरिन्छ। तर, अन्य समुदायका यस्तै ठुला पर्वलाई त्यति महत्त्व दिइँदैन।

अन्य समुदायको एकजना मात्र विद्यार्थी भए, उसको पर्व पनि त्यसैगरी मनाइदिनुपर्छ भनेर हेक्का राखिँदैन। यसरी असमान व्यवहार हुँदा विद्यार्थी र तिनको अभिभावकको मनमा कस्तो असर पर्छ भनेर बेवास्ता गरिन्छ।

झट्ट हेर्दा विविध पृष्ठभूमिका विद्यार्थी विद्यालयमा हुँदा विद्यालय तथा कक्षाकोठा समावेशी जस्ता देखिन्छन्। कोही बहिष्करणमा परेको जस्तो लाग्दैन।

तर, माथिका केही उदाहरणले भने विद्यालयमा गरिने क्रियाकलाप वा कक्षाकोठामा गरिने शिक्षण सिकाइ वा व्यवहारले समान रूपले सबैको सहभागिता भइरहेको छ र कोही पनि बहिष्करणमा छैनन् भन्ने निश्चित गर्दैन।

यी त केही उदाहरण मात्र हुन्। कतिपय विद्यालयमा कक्षामा जान्ने र ज्ञानी विद्यार्थी भन्दै उनीहरूलाई मात्र विभिन्न कार्यक्रममा सहभागी गराउने वा बढी अवसर दिने गरिन्छ। अन्तरमुखी स्वभावका विद्यार्थीलाई बोल्दै बोल्दैन भनेर कम प्राथमिकता दिने गरिन्छ। विद्यालयमा भाषा नबुझेर पो कम बोलेको हो कि भनेर बुझ्ने प्रयास र सहयोग गरेको कम पाइन्छ।

कोलम्बिया विश्वविद्यालय, अमेरिकाको टिचर्स कलेजका एसोसिएट प्रोफेसर प्रेम फ्याक भन्छन्, ‘हामी शिक्षक र शैक्षिक संस्थामा काम गर्नेहरूले विद्यार्थीको पृष्ठभूमि त्यति अध्ययन गर्दैनौँ। कतै विद्यालय र कक्षाकोठामा हामीले गर्ने व्यवहार, प्रयोग गर्ने भाषा र शिक्षण विधिले विद्यार्थीको सहभागिता भइरहेको छैन कि? आफूले आफैँलाई आलोचनात्मक प्रश्न गर्नुपर्छ।’

एउटै किसिमको पूर्वाधार वा व्यवहार वा शिक्षण विधिले फरक पृष्ठभूमि भएको विद्यार्थीलाई सहयोग नहुने उनको भनाइ छ। 

‘अपांगता भएका विद्यार्थी विद्यालयमा आइसकेपछि विभेद हुँदैन वा गरिएको छैन भनेर हुँदैन। उसलाई कत्तिको सास्ती भइरहेको छ वा सिकाइमा उसको कत्तिको सहभागिता भइरहेको छ भनेर हामीले बुझ्नुपर्छ,’ फ्याक भन्छन्, ‘एउटा स्कुलमा फरक मातृभाषा भएका विद्यार्थी हुन्छन्। समावेशी त देखियो। नेपालीमा पढाइ हुँदा नेपाली मातृभाषीलाई त सजिलो हुन्छ तर गैरनेपालीमातृभाषीलाई सहयोग चाहिन सक्छ।’

शिक्षाका लागि शिक्षक कार्यक्रममार्फत उनी चार वर्षदेखि शिक्षक मेन्टरिङ गरिरहेका छन्। यो कार्यक्रममा देशभरिका शिक्षक सहभागी हुन सक्छन्। आफ्नो कक्षाकोठामा के समस्या छ र कसरी समाधान गर्न सकिन्छ भनेर छलफल हुन्छ। आवश्यकताअनुसार शिक्षकलाई सहयोग गरिन्छ। शिक्षकले भोगेको मुख्य समस्या नै सहभागिता र समतासम्बन्धी छ।

‘केही विद्यार्थीको सिकाइमा सहभागिता देखिँदैन। शिक्षकहरू निराश हुनुहुन्छ। तर, उहाँहरूले फरक विधि अपनाउँदा विद्यार्थीको सिकाइमा उल्लेख्य सुधार भयो, फ्याक भन्छन्, ‘शिक्षण विधि कत्तिको सहभागितामूलक भइरहेको छ भन्ने महत्त्वपूर्ण छ। सिकाउने तरिकामा विविधता ल्याएनौँ भने कोही विद्यार्थीले अत्यन्तै राम्रो गर्छ। कोही पछि परेको पर्‍यै हुन्छ।’

फ्याकको भनाइमा समावेशिता, सहभागिता र समता नारा होइन, यो हरेक दिन विद्यालय र कक्षाकोठामा व्यवहार, भाषा र शिक्षण विधिमा झल्किनुपर्छ।

समावेशी तथा समतामूलक शिक्षा के हो? कसरी विद्यालय तथा कक्षाकोठा समावेशी तथा समतामूलक बनाउन सकिन्छ?

कोलम्बिया विश्वविद्यालय, अमेरिकाको टिचर्स कलेजका एसोसिएट प्रोफेसर डा प्रेम फ्याकसँग नेपालखबरले गरेको भिडिओ कुराकानी–

असार २६, २०८३ शुक्रबार १०:४८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad