सशस्त्र प्रहरी निरीक्षक (लेखातर्फ) कल्पना गुरुङ ६ दिनदेखि नेपाल प्रहरीको हिरासतमा छिन्। कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयको रकम अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरी प्रधान कार्यालयकै पत्रपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।
उनलाई ७ दिन हिरासतमा राख्न पहिलो पटक जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। थप म्याद आवश्यक परे अब प्रहरीले आगामी सोमबार पुनः अदालतमा उपस्थित गराउनु पर्छ।
इन्सपेक्टर गुरुङले यसअघि आफ्नो संगठनलाई गुमराहमा राखेर विद्यालयको करोडौँ रकम अनियमितता गर्दै आएको खुलेको छ। विद्यालयमा विद्यार्थीबाट उठाएको रकम कल्याणकारी सेवा केन्द्रमा जम्मा गर्नु पर्नेमा उनले रकम जम्मा गरेको भनेर सशस्त्र प्रहरी मुख्यालयलाई नै झुक्याएको खुलासा भएको छ।
२०८२ मंसिर अन्तिम हप्ता विद्यालयबाट २ करोड बराबरको चेक कल्याणकारी सेवा केन्द्रमा पठाइएको उल्लेख गर्दै कल्पनाले पत्र पठाएकी थिइन्।
एक महिनापछि पुस अन्तिममा त्रैमासिक ब्याज तथा अन्य आम्दानी हिसाब मिलान गर्न कल्याण महाशाखाले सम्बन्धित बैंकबाट स्टेटमेन्ट ल्यायो। त्यसपछि कल्पनाले रकम जम्मा नगरेको खुलेको थियो।
केन्द्रको खातामा रकम जम्मा नभएको देखिएपछि लेखा अधिकृत गुरुङसँग पटक–पटक सम्पर्क गरिएको सशस्त्र प्रहरी मुख्यालयका एक डीआईजीले बताए।
उनका अनुसार कल्पनाले आफू बिदामा रहेको तथा विद्यालयका समादेशक पनि कार्यालय बाहिर रहेकाले फर्किएपछि रकम जम्मा गर्ने जवाफ त्यतिबेला दिएकी थिइन्।
त्यसपछि कल्याणकारी सेवा केन्द्रले विद्यालयलाई सञ्चालन खर्चबापत निकासा हुने बजेट समेत रोक्का गरेको थियो। साथै रकम समयमा जम्मा हुन नसक्नुको कारण स्पष्ट पार्न पत्राचार समेत गरेको थियो।
उक्त पत्रपछि लेखा अधिकृत गुरुङले बैंकिङ कारोबारमा प्राविधिक समस्या उत्पन्न भएकाले रकम समयमा जम्मा हुन नसकेको र थप रकमसहित ५ करोड जम्मा गरिएको दाबी गर्दै बैंक भौचर केन्द्रमा पठाएकी थिइन्।
यसपटक पनि मुख्यालयलाई झुक्याएको खुल्यो। सम्बन्धित बैंकबाट प्राप्त विवरणअनुसार उक्त रकम खातामा जम्मा भएको पाइएन।
त्यसपछि विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेलाई कल्याणकारी सेवा केन्द्रमा बोलाइएको थियो। एसपी पाण्डेलाई सोधपुछ गर्दा विद्यालयको रकम हिनामिना भएको तथ्य खुलेको सशस्त्र प्रहरी मुख्यालयको दाबी छ।
रकम हिनामिनाको घटनापछि सशस्त्र प्रहरी नायब महानिरीक्षक युवराज अर्यालको कमान्डमा छानबिन समिति गठन गरिएको थियो।
समितिले आफ्नो प्रतिवेदनमा विद्यालयकी लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङलाई रकम हिनामिनाको मुख्य जिम्मेवार ठहर गर्दै प्रतिवेदन बुझायो।
समिति समक्ष गुरुङले पनि रकम अनियमितता आफैले गरेको भनी स्वीकार गरेको दाबी सशस्त्रको आन्तरिक प्रतिवेदनमा छ। त्यसपछि कल्पनालाई थप अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो।
सशस्त्र प्रहरी बलले कल्याणकारी सेवा केन्द्रमार्फत कर्मचारीहरूका आश्रित परिवार तथा सर्वसाधारणका सन्ततिलाई सहुलियतपूर्ण तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यलेसहित २०६२ सालमा नेपाल एपीएफ स्कुल कीर्तिपुरमा स्थापना गरेको थियो। विद्यालयमा आवासीय सुविधा समेत छ।
विद्यालय स्थापना भएदेखि आर्थिक वर्ष २०७९/०८० सम्म वार्षिक बजेट विद्यालय आफैँले तयारी गरी व्यवस्थापन समितिबाट स्वीकृति लिएर खर्च गर्ने व्यवस्था थियो। सशस्त्र प्रहरीको तथ्यांक अनुसार २०७७/०७८ सम्म विद्यालय घाटामा सञ्चालन भइरहेको थियो।
२०७९/०८० सम्म विद्यालयको आर्थिक व्यवस्थापन तथा बजेट प्रणालीमा सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रको प्रत्यक्ष संलग्नता समेत नरहेको दाबी मुख्यालयको छ।
स्थापना भएदेखि हालसम्म विद्यालयका भौतिक संरचना तथा अन्य पूर्वाधार निर्माणमा कल्याणकारी सेवा केन्द्रले करिब १३ करोड लगानी गरेको छ।
विद्यालय सञ्चालनलाई थप व्यवस्थित बनाउन भन्दै सशस्त्र प्रहरीले २०८०/०८१ मा अध्ययन समिति गठन गरेको थियो।
समितिले विद्यालय सञ्चालनका लागि आवश्यक बजेट कल्याणकारी सेवा केन्द्रबाट उपलब्ध गराउने र विद्यार्थीबाट संकलित सम्पूर्ण शुल्क केन्द्रको खातामा जम्मा गर्ने व्यवस्था लागू गर्न सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा विद्यालयहरूलाई आवश्यकता अनुसार बजेट निकासा गर्ने तथा प्रत्येक आर्थिक वर्षको अन्त्यमा आय/व्यायको हिसाब मिलान गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको थियो।
आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण अनुसार नेपाल एपीएफ स्कुल, कीर्तिपुरले विद्यार्थी शुल्कबाट करिब ११ करोड संकलन गरेको थियो।
सोही अवधिमा चालु तथा पुँजीगत शीर्षकमा करिब ९ करोड खर्च भएको थियो। बाँकी २ करोड बचत देखिएको छ।
आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक बजेट पनि भदौ महिनामै विद्यालयलाई निकासा गरिएको थियो। त्यसबेलासम्म अघिल्लो आर्थिक वर्षको सम्पूर्ण शुल्क रकम केन्द्रले प्राप्त गरिसकेको जनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा विद्यार्थीबाट संकलित शुल्क सोही आर्थिक वर्षभित्र केन्द्रको खातामा जम्मा गर्न विद्यालयलाई मौखिक र लिखित रूपमा पटक–पटक निर्देशन दिएको थियो। जवाफमा लेखापाल गुरुङले विद्यालय आवासीय भएकाले शुल्क मासिक रूपमा नभई किस्तागत वा शैक्षिक सत्रको अन्त्यतिर मात्र संकलन हुने जानकारी दिएकी थिइन्।
यस्तै सशस्त्र प्रहरीका कर्मचारीका सन्ततिको शुल्क तलबबाट कट्टा हुने भएकाले उक्त रकम समयमै उपलब्ध गराउन पनि निर्देशन केन्द्रले दिएको थियो।
तर गुरुङले असारको अन्तिम सातासम्म पनि रकम जम्मा नगरेपछि कानुनी दायरामा परेकी हुन्। नेपाल प्रहरीले उनीसँगै उनका साथी लिला लामालाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। कल्पनाले विद्यालयको रकम लामाको खातामा पठाएको अनुसन्धानबाट खुलेको छ।
विद्यालयको करिब ११ करोड रूपैयाँ अनियमितता भएको सशस्त्र प्रहरीको दाबी छ। उनीहरूमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
Shares

प्रतिक्रिया