राजनीति


आत्मदाह प्रयास गरेका गणेशको अवस्था चिन्ताजनक, शरीरको झन्डै ६० प्रतिशत भागमा जलन

आत्मदाह प्रयास गरेका गणेशको अवस्था चिन्ताजनक, शरीरको झन्डै ६० प्रतिशत भागमा जलन

नेपालखबर
असार २५, २०८३ बिहिबार १६:५४, काठमाडौँ

त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। उनको अहिले वीर अस्पतालमा उपचाररत छन्। 

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ।

बिरामीको शरीरको झन्डै ६० प्रतिशत भाग जलन भएको डा. दाहालले नेपालखबरलाई बताए।
 
‘बिरामीको अनुहार, टाउको, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। आकस्मिक कक्षमा उपचार गराइरहेका छौँ। एनेस्थेसिया टोलीसँग समन्वय गरी आईसीयूमा सार्ने तयारी भइरहेको छ,’ उनले भने।

डा. दाहालले बिरामीले सामान्यरूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताए।

उनले भने, ‘शरीरको ६० प्रतिशत भाग जलन भएकाले अवस्था चिन्ताजनक छ। हामी उपचारकै क्रममा छौँ।’ 

चिकित्सकका अनुसार शरीरको ठूलो भागमा जलनका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा संक्रमणको जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील मानिन्छ। 

जलनका बिरामीमा ‘सेप्सिस’ (रगतमा संक्रमण फैलने अवस्था) भएर ज्यान जाने जोखिम बढी हुने चिकित्सक बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad