प्रवास


पोल्यान्डमा पहिलोपटक नेपाल महोत्सव हुँदै

नेपाली संस्कृति र पर्यटनको प्रचार हुने
पोल्यान्डमा पहिलोपटक नेपाल महोत्सव हुँदै

शेरबहादुर परियार
असार २१, २०८३ आइतबार २१:१९, मध्य युरोप

युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक नेपाल फेस्टिबल-२०२६ हुँदैछ।

वारसा र बर्लिनको बीचमा पर्ने महत्त्वपूर्ण यातायात केन्द्र रहेको पोजनान सहरमा आगामी जुलाई ११ मा यो फेस्टिबल आयोजना हुन लागेको हो।

हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोजनानस्थित इम्पेरियल क्यासलमा हुने महोत्सव आगामी शनिबार ११:३० बजेदेखि सुरु हुनेछ।

आयोजकका अनुसार महोत्सव पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीका लागि नेपाली कार्यवाहक राजदुत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा हुनेछ।

साथै पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।

कार्यक्रममा नेपाली झण्डा र सम्भव भएमा आफ्नो सांस्कृतिक वेशभूषासहित कार्यक्रममा सहभागी भइदिन पोल्यान्डमा रहेका नेपालीलाई आयोजकले आग्रह गरेका छन्। 

आयोजक संस्था हामी नेपाली ग्लोबल पोल्यान्डका अध्यक्ष शान्ति श्रेष्ठका अनुसार कार्यक्रम दुई चरणमा हुनेछ।

पहिले पोजनानको मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखमा उपस्थित भई नेपालको झण्डासहित  मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी, संगीत, परम्परागत पोशाकमा सहरका मुख्य चौकको परिक्रमा गरिनेछ। 

दोस्रो चरणमा इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा दिउँसो १:३० कार्यवाहक राजदूत तथा पोल्यान्डका सरकारी निकायका प्रतिनिधिहरू लगायतको भव्य सहभागितामा औपचारिक कार्यक्रम हुनेछ।

'नेपाल संस्कृतिको धनी देश हो। महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउने तथा नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ,' अध्यक्ष श्रेष्ठले नेपालखबरसँग भनिन्।

यो पहिलो नेपाल महोत्सव कार्यक्रम हो। यो कार्यक्रमलाई प्रत्येक वर्ष पोल्यान्डका फरकफरक मुख्य ठूला सहरमा आयोजना गर्ने र सबै ठाउँका पोलिस नागरिक तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको बारेमा प्रचारप्रसार गर्ने हामी नेपाली ग्लोबल पोल्यान्डको योजना छ।

कार्यक्रम संयोजक भविन्द्र गाहा मगर (भविन) ले महोत्सवलाई भव्यरूपमा सफल बनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी भइरहेको बताए। 

आफ्नो देशबाट टाढा रहेकालाई एउटै थलोमा जोड्ने यो कार्यक्रम विदेशमै जन्मेर यतै हुर्केका बच्चाहरूलाई नेपाली कला र संस्कृतिकोबारे प्रत्यक्ष बुझाउन अझ खास हुने उनको भनाइ छ।

'भनौँ भने यो महोत्सव मिनी नेपाल जस्तो देखाउने हाम्रो चाहना हो,' संयोजक गाहा मगरले नेपालखबरसँग भने, 'परदेशबाट देशलाई, आफ्नो माटोलाई सम्झने पनि हो।'

हामी नेपाली ग्लोबल पोल्यान्ड शाखा पोल्यान्डको सरकारी निकायमा दर्ता भएका थोरै संस्थामध्ये एक हो। यो संस्था सन् २०२१ मा पोल्यान्डको केआरएसमा दर्ता भएर आफ्नो सामाजिक कार्य गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad