ब्लग


यसकारण भीम रावल जिते, केपी ओली हारे

यसकारण भीम रावल जिते, केपी ओली हारे

रूपबहादुर विश्वकर्मा
मंसिर १५ , काठमाडौँ

शीर्षक देखेर अचम्मै लाग्यो होला मात्र होइन, कतिपय पाठकलाई हाँसै उठ्यो होला। तर एकछिन धैर्य धारण गर्नुस्।

वास्तवमा तोकिए (मंसिर १०–१२) भन्दा २ दिन बढी अर्थात् ५ दिन लगाएर चितवनको सौराहामा मंगलबार (मंसिर १४) सम्पन्न एमालेकाे दसौं महाधिवेशन आफैंमा केपी शर्मा ओलीको हार हाे भने भीम रावलको जित! 

किनकि एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनु नै ओलीको पराजय हाे भने भीम रावलको विजय।

कसरी? 

ओलीले निर्वाचन हुनै नदिन ‘सर्वसम्मत’का लागि कति प्रयास गरे? सम्भवतः सञ्चारमाध्यमको पहुँचमा रहेका हामी कोही बेखबर छैनौं। 

तर रावलले ‘सिंगो हल’ आफ्ना विपक्षमा हुँदाहुँदै पनि एमाले पार्टीलाई आफ्नो ‘गोजी’ बनाइसकेका ओलीलाई घुँडा टेकाएरै छाडे। 

आइतबार मध्यराति सौराहास्थित होटल सेभेन स्टारको हलमा ओलीले आफूले आफैंलाई अध्यक्षमा राख्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको ‘सर्वसम्मत’ सूची पेस गरे र तत्काल गडगडाहट तालीका साथ अनुमोदन पनि गराए। 

तर पनि रावलले हार खाएनन्। भनिरहे– निर्वाचन हुनैपर्छ, म अध्यक्षमा उम्मेदवारी दिन्छु, दिन्छु।

अवस्था यस्तो भइसकेको थियो कि बन्दसत्रको त्यो ‘हनुमान’ हलमा रावलले आफ्नो धारणा राख्नसमेत सोच्नुपर्ने वातावरण बनेको थियो। त्यसैले त आइतबार मध्यराति रावलले यत्ति मात्र भन्न सके, ‘म यति अगाडि बढिसकेको छु कि मलाई फर्किन गाह्रो छ। माफ गर्नुहोला, म अध्यक्ष पदमा उम्मेदवारी दिन्छु, धन्यवाद!’

यसबीच ओलीले ‘सहमति’का लागि रावलसँग ‘अनुनय विनय’समेत कम्ता गरेनन्। उनले उपाध्यक्ष पद ‘दान’ गर्ने लाेभसमेत नदेखाएका हाेइनन्। ​आफ्नो आस्था र स्वाभिमानलाई बन्दसत्र नजिकैकाे नारायणी नदीमा बगाएर ‘लम्पसार’ परेको भए भीम रावल यतिबेला एमालेको केन्द्रीय कमिटीबाटै ‘आउट’ भएर ‘अलपत्र’ पर्नुपर्ने अवस्था आउने थिएन (ओलीले केन्द्रीय सदस्यमा राखेका कारण चुनावबाट चुनिए पनि उनले यो पद अस्वीकार गरेका छन्)।

उपाध्यक्ष पद ‘बक्सिस’ लिएर ‘सुरक्षित’ राजनीतिक जीवन प्राप्त गर्न सक्थे। तर रावलले दासता स्वीकारेर बाँच्नुभन्दा शिर ठाडो पारेर ‘मर्नु’ बेस ठाने। 

अन्ततः रावलको चट्टानी अडानका अगाडि हार खाँदै ओली पराजित मानसिकतामा आइतबार मध्यराति भन्न बाध्य भए, ‘भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ।’

त्यसपछि एमालेको दसौं महाधिवेशन सोमबार बिहानै निर्वाचन प्रक्रियामा जान बाध्य भयो। त्यही बेला ओलीको अहंकार ‘ठूलो मतान्तर’ले हारिसकेको थियो भने रावलको आस्था र स्वाभिमानले जितिसकेको थियो। ​

त्यसको तुलनामा ओलीको चुनावी जित त प्राविधिक मात्रै हो। 

‘सिंगो हल’ आफूविरुद्ध उल्टिसक्दा पनि अध्यक्ष पद जित्छु भन्ठानेर रावल चुनाव लड्ने जिकिर गरिरहेका थिए?

कदापि होइन, बरु उनलाई नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन हुनुभन्दा अघि नै थाहा थियो– चुनाव लडेँ भने मेरो हार निश्चित छ। 

त्यसैले त निर्वाचनकै पक्षमा रहेका रावल समूहकै नेता घनश्याम भुसालले ओलीसमक्ष ‘अनुनय’ गरिरहेका थिए, ‘हामीले चुनावमा उठेर हार्न पनि नपाउनु!’ 

वास्तवमा उनीहरू हारेर ओलीलाई जित्न चाहन्थे। 

उसो त ओलीलाई पनि थाहा नभएको होइन– निर्वाचनै गर्ने हो भने पनि रावलविरुद्ध ठूलै मतान्तरले आफ्नो विजय सुनिश्चित छ। तर उनलाई के पनि थाहा थियो भने चुनाव हुनु नै आफ्नो हार र रावल–भुसालहरूको जित हो। 

त्यसैले जसरी चुनाव गराउनैपर्ने अडान रावलकाे थियाे, त्यसैगरी निर्वाचन हुनै नदिने जिकिर ओली गरिरहेका थिए। 

किनभने खासमा रावल अध्यक्ष पद जित्न होइन, ओलीको निरंकुशता हराउन चाहन्थे।

उता ओली पनि वास्तवमा चुनावभन्दा पनि एमाले भनेकै आफू (ओली) हो भन्ने आफ्नो अहंको जित गराउन चाहन्थे।

तर ‘सर्वशक्तिमान’ ओली ‘निरीह’ रावलको ‘एकै मुक्का’ले नराम्रोसँग पछारिन पुगेका छन्। लोकतन्त्रका अगाडि झुक्न बाध्य भएका छन्।

लोकतन्त्रका अगाडि ओली हारेको पछिल्लो समय यो तेस्रोपटक हो। यसअगाडि दुईपटक प्रतिनिधि सभा विघटन गराउँदा उनी हारेका थिए। त्यसबेला पनि भीम रावल र घनश्याम भुसालहरूकै ठूलाे भूमिका थियाे भन्दा अत्युक्ति नहाेला।    

यसर्थ मलाई लाग्छ– यतिबेला ठूलो मतान्तरले जितेर पनि ओली हार महसुस गरिरहेका छन् भने हारेर पनि रावल विशाल जितको अनुभूति गरिरहेका छन्। 

किनकि पार्टीकाे नेतृत्वमा केपी ओली पुगे पनि एमालेमा विचार (लोकतान्त्रिक) र विधि भीम रावलको स्थापना भएकाे छ। 

आखिर राजनीतिमा आफ्नो विचारको जित हुनुभन्दा ठूलो जित अर्काे कुन होला र? अनि आफ्नो विचार (चुनाव नगराउने) बहिष्कार हुनुभन्दा ठूलो हार अरू के होला र! 

उसाे त निर्वाचनकै बेला पनि रावलसँग ओली पलपल हारेका छन्। उनी रावलसँग यति भयभीत थिए कि मतदानका बेला मंगलबार बिहानै सुनियो– भीम रावललाई भोट नहाल्नू भन्ने पर्चा बाँडियो।

तर रावलले यस्तो कुनै ‘चलखेल’ गरेको सुनिएन। किनभने उनले पहिल्यै जितिसकेका थिए, त्यसैले हार्ने कुनै डर थिएन।

मतदानअघि हात जोड्दै हरेक प्रतिनिधिसँग भोट मागेर त उनले ‘ओली’हरूलाई राजनीतिक/लोकतान्त्रिक संस्कार सिकाइरहेका थिए।

माधव नेपालहरूको बहिर्गमनसँगै समाप्त हुन लागेको एमालेको लोकतान्त्रिक अस्तित्व जोगाउन भीम रावल सफल भएका छन्। अनि त्यो अन्त्य गराएरै छाड्ने भगीरथ प्रयत्न गर्दागर्दै पनि ओली असफल भएका छन्। 

यस मानेमा एमालेको दसौं महाधिवेशन भीम रावलको जित हो भने केपी ओलीको हार।​

यो पनिनारायणी किनारमा ‘असली कम्युनिस्ट’ ओलीको धार्मिक भाषण 

मंसिर १४, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.