ब्लग


विश्वप्रकाशका नाममा त्यो एक चुम्बन

विश्वप्रकाशका नाममा त्यो एक चुम्बन

राधिका अधिकारी
पुस ४ , काठमाडौँ

खुसी परिभाषा सधै स्थिर भएन जीवनमा। अझ भनौँ, खुसीका आकार परिवर्तन भइरहे। कहिले बाटोभरि छरिएका ढुङ्गामा खुसी देखियो, पोल्टाभरि बोकेर हिँडियो आफूले सकेजति। कहिले बनमाराका सिटाहरुमा खुसी भेटियो र बनाइयो तिनै सिटाहरुको खेल्ने घर। कहिले स्कुलले दिएका प्रमाणपत्रको अंकमा खुसी खोजियो। कुनै दिन बा–आमाका मुस्कुराएका ओठमा खुसी देखियो र लुकाइयो हजारौँ तुफान छातीमा। तर मलाई कहिल्यै लागेन भेट्दै नभेटेको एउटा मान्छेको जित र हारमा गएर अल्झिने छ मेरो खुसीको त्यान्द्रो। तर अल्झिँदो रहेछ।

राजनीतिको ‘र’ पनि उच्चारण नगर्ने म। मलाई कहिल्यै राजनीतिको स्वाद लागेन। घरमा दाइकी सानी छोरी छे। ऊ पार्टीको गीत गाउँदै हिँड्छे। बुबाको जीवन राजनीतिमै बित्न लाग्यो। दाइ र बैनीका आ–आफ्नै आस्था र झुकाव छन्। घरमा राजनीतिक गफ सुरु भएपछि म ‘हाई..’ काढ्दै हिँडिदिन्थेँ​। यसपटक त्यही कहिल्यै नछुने राजनीतिक हावाले नमज्जासँग हल्लायो। मलाई राजनीतिमा तान्ने त्यो दृश्य थियो– कांग्रेस महाधिवेशनमा विश्वप्रकाश शर्माको उम्मेदवारी।

मङ्सिर अन्तिमको साँझ। उम्मेदवारका पर्चा हातभरि बोकेर दुई भाइ कोठामा पस्छन्। मेरा आँखा गएर टक्क रोकिन्छन् विश्वप्रकाश शर्माको तस्बिरमा। पर्चा म आफ्नो टेबलमा राख्छु। कहिल्यै राजनीतिप्रति चासो नदिने दिदीले जतनले राजनीतिक पर्चा राखेको देखेर होला भाइले अनौठो आँखाले हेर्छ। म भन्छु– ‘अरू कसले जित्छ हार्छ मलाई मतलब छैन विश्वप्रकाशले जित्नुपर्छ।’ 

ताप्केमा कालो चिया उम्लिनै लागेको छ। र्याकबाट ३ वटा कप निकाल्दै सोध्छु, ‘भाइ कस्तो छ बाहिरको माहोल?’

कृष्णले जिस्काउँदै भन्यो, ‘दिदी तपाईंले यो फोटोमा चुम्बन गर्नु जित्छन् विश्वप्रकाशले।’

मैले केही सोचिनँ। अघि टेबलमा राखेको पर्चा उठाएँ। चुम्बन गरेँ​ र उसैगरी जतनसाथ टेबलमा राखेँ। भाइहरू केही बोल्न सकेनन्। दिनभरि म पनि उनीहरुसँगै भृकुटीमण्डपमा थिएँ। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका प्रवक्ता भएर उनै विश्वप्रकाश कार्यक्रम चलाउन जानेछन्। उनलाई नजिकैबाट हेर्नु थियो। भिडमा पछाडि परेँ। उसै पनि होचो कदका उनी देखिएनन्। पहिलोपटक राजनीतिक कार्यक्रममा पुगेकी म भिड छिचोल्दै एक्लै फर्किएँ। मन भने त्यतै कतै अल्झिरहेको थियो। यतिबेलासम्म प्रचार सुरु भए पनि कसैको उम्मेदवारी घोषणा भएको थिएन। 

भोलिपल्ट अबेर गरेर औपचारिक रुपमा उम्मेदवारी घोषणा भयो। विश्वप्रकाश महामन्त्रीमै उठे। तर उनले सहयोग गरिरहेको गुटले पाखा लगायो। परिवर्तनका लागि हात मागेको बेला पाएको यो घातलाई कसरी लिए उनले, मलाई थाहा छैन। मेरो भने नमज्जाले मुटु दुख्यो। भिडमा खोजिरहेथेँ उनका पर्चा बोकेर भोट माग्न दौडिरहेका कार्यकर्ता। कतै देखिनँ। म अशान्त मन बोकेर फर्किएँ भोलिपल्ट पनि। 

उनी न कहिल्यै सांसद भए। न मन्त्री बने। न पार्टीको पदाधिकारी भएर काम गरे। नत राज्यको लाभको पद नै सम्हालेका थिए। न त उनलाई आफूले सहयोग गरिरहेको गुटले नै संरक्षण गर्यो। जुन गुटबाट आफ्नो उम्मेदवारी घोषणा गरे, त्यो आफैंमा कमजोर थियो। उनको उम्मेदवारी पनि कमजोर जस्तै देखियो। मलाई जिन्दगीमा पहिलो पटक लाग्यो– भोट हाल्ने अधिकार मलाई पनि हुँदो हो! 

त्यतिबेला म २२ वर्षकी थिएँ। मेरो उजाडिएको रंगले आमाको छातीमा दौडिएका पीडाका धर्सा प्रष्ट देख्थे। मेरो भगवानप्रतिको आस्था त्यसैदिन उडेको थियो, जुन दिन आमाले च्याप्प अंगालो मारेर भक्कानिँदै भन्नुभएको थियो, ‘हे भगवान तिमीले यो के हेर्न खोजेको?’ त्यसपछिका दिनहरुमा भगवानप्रतिको त्यो आस्था कहिल्यै फर्केर आएन। र, लागेको थियो पुनः कहिल्यै फर्किएर आउने छैन।

त्यो साँझ के ले तान्यो थाहा छैन। मोहन दाइको पसलमा एक प्याकेट अगरबत्ती किनेँ। घर्रामा राखेको लाइटर झिकेँ र हान्निएँ– गणेशथान। अगरबत्तीबाट निस्किएको धुवाँ गणेशको सुँड वरिपरी घुमाउँदै प्रार्थना गरेँ, ‘हे भगवान तिमी छौ भने आफ्नाबाट उछिट्टिएका विश्वप्रकाश भोलि तिनै कित्तामा प्रश्न गर्ने भएर उभिन सकून्।’ मैले जीवनमा पहिलो पटक भाकल गरेँ। 

चुनाव सकियो। मत परिणाम आयो। उनी जुन गुटबाट उभिएका थिए उनको मत ३ सयको हाराहारीमा आयो। सामाजिक सञ्जालभरि महामन्त्रीमा विश्वप्रकाश र गगनले जित्छन् भन्ने चर्चा त थियो। त्यो पनि दोस्रो चरणमा भएको सभापतिको निर्वाचनको परिणामले आधा सकियो। महाधिवेशनकै दौरानमा दाइ नवराज लम्साल भेटिनु भयो। सुनाएँ छट्पटी। पहिले हाँसिरहेका दाइ एकाएक गम्भीर हुनुभयो र भन्नुभयो, ‘विवेक मरिसकेको छैन, बुने।’ दाइले मलाई भेटेकै दिनदेखि बुने भन्नुहुन्छ। भेट दशकभन्दा बढीको भयो तर आज बुने भन्दा विश्वले जित्छ भनेझैँ लाग्यो। त्यहाँ आत्मविश्वास भेटेँ। लामो सास तानेँ। सासमा पनि सन्तोष हुने रहेछ, बुझेँ।

जब महामन्त्रीको मत गणना सुरु भयो, अघिअघि थिए गगन थापा। गगनलाई पछ्याइरहेका विश्वप्रकाशको अंक तालिका केहीबेर तलमाथि भइरह्यो। मतपरिणाम घोषणा नहुँदासम्म कहिले पुसको चिसोमा पनि पसिना छुट्ने गरी तातेर आउँथ्यो आफ्नै शरीर। अस्वाभाविक हुन्थ्यो, आफैँले फेर्दै गरेको श्वासको गति। श्वाससँगै तीव्र गतिमा चल्थ्यो मुटुको धड्कन। योभन्दा अघि कहिल्यै लागेकै थिएन राजनीति कार्यकर्ता यति विवेकी हुन्छन्। यसपटक यो भ्रम पनि टुट्यो। कांग्रेस महाधिवेशन प्रतिनिधिले विश्वप्रकाशको विवेकको परख गरे, पहिचान गरे। एक्लै उभिएर विश्वप्रकाशले महामन्त्रीजस्तो गरिमामय पदमा विजय हासिल गरे। विश्वप्रकाशको जितले कांग्रेसीलाई मात्रै होइन मजस्ता कुनै पार्टीको रंगले नछोएका मान्छेलाई पनि खुसी मिल्यो। यसपटक फेरि फेरियो खुसीको परिभाषा। यो मत परिणामपछि लाग्यो ‘यस्तो पो निर्वाचन! जहाँ मतदाता सम्पूर्ण विवेक पुर्याउँछन् र दिन्छन् एउटा सुन्दर नतिजा। कुनै सिद्धहस्त चित्रकारले सुन्दर चित्र कोरेजस्तो!’ चित्र हेरेर मजाले रमाइरहेकी छु। त्यो चित्र एउटा आशालाग्दो चरित्र हो नेपाली राजनीतिको।

विश्वप्रकाशले एक समय सम्पादक भएर रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाए। त्यही आवाजले तानेर हो मेरो मनलाई उनको नजिक पुर्याएको। उनी गीत पनि लेख्छन्, संगीत पनि गर्छन् र गाउँछन् पनि। राजनीतिको भाषा बुझ्दिनँ म, गीतको भाषा बुझ्छु। त्यसैले पनि नेता विश्वप्रकाशलाई चिन्दिनँ होला, गीतकार विश्वप्रकाशलाई चिन्छु। सञ्चारकर्मी विश्वप्रकाशलाई चिन्छु। धेरै राजनीतिज्ञलाई कला साहित्यको रस हुँदैन। उनी कलासँग जोडिएका छन्। मलाई लाग्छ, उनमा सांस्कृतिक चेत छ, उनले भूगोल बुझेका छन्। युवाको संवेदना बुझेका छन्। 

अन्तिममा प्रिय विश्व दाइ, तपाईंले प्राप्त गर्नु भएको मतले यस देशका जनताले राखेको परिवर्तनको उत्कट चाहनालाई प्रतिबिम्बित गरेको छ। यहाँको कार्यकाल नेपालका लाखौँ युवाहरुलाई राजनीतिसँग जोड्ने उर्जाशील बाटो बन्ने छ भन्ने विश्वास लिएकी छु। तपाईंकै कार्यकालमा अझै कम उमेरमा, अझै छिटो नेतृत्वदायी भूमिकामा क्षमतावान् युवाहरुलाई पुर्याउन बदल्नुपर्ने राजनीतिक संस्कार र परिपाटी बदल्न यहाँको सक्रिय र रचनात्मक भूमिका रहने नै छ। उम्मेदवारीका क्रममा गरेका बाचा नभुल्नुहोला। विश्वासले नजितेपछि भाकल गरेर भगवानप्रतिको आस्था फर्काएका मजस्तै हजारौँ शुभचिन्तक तपाईंले गरेका बाचा सम्झिरहनेछौँ।  

उम्मेदवारी घोषणा सुन्दरीजलबाट गर्नु, रुद्राक्षको रुखमा पानी हालेर यात्रा सुरु गर्नु, चुनाव जितेपछि त्यहीँ पुगेर त्यही माटो शिरैले ढोग्नु, त्यही रुद्राक्षमा पानी हाल्नु, जनआन्दोलनका घाइतेलाई भेट्नु र टिमसँग मिलेर काम गर्छु भन्नुले लाग्छः बिहानले दिनको संकेत गरेको छ। त्यो दिनको आकाशमा बादल नलागोस् र अरू नेता असफल हुँदा नेतामात्रै असफल हुन्छन् तर तपाईं असफल हुँदा गीतकार विश्वप्रकाश, संगीतकार विश्वप्रकाश र गायक विश्वप्रकाश पनि असफल हुन्छ। हरपाइलामा सफल हुनुको विकल्प छैन र तपाईंलाई त्यो छुट पनि छैन। 

हामी हेरिरहेछौँ, पर्खिरहेछौँ। विवेकको नतिजा विवेक हुनेछ र विवेकको बोटमा विवेककै फल लाग्ने छ।

 

पुस ४, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad