ad ad

ब्लग


एमसीसी प्रकरणमा सरकार छोड्दा यस्तो हुनेछ माओवादीको बाटो

एमसीसी प्रकरणमा सरकार छोड्दा यस्तो हुनेछ माओवादीको बाटो

जीवन आचार्य
फागुन ६, २०७८ शुक्रबार १६:१७, काठमाडौँ

तत्कालीन केपी ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चाल्दै देशलाई प्रतिगमनतर्फ धकेल्यो। प्रतिगमनको यात्रा ‘कोरानाविरुद्ध उच्चस्तरीय संयन्त्र बनाएर आसन्न संकटलाई राष्ट्रिय सहमतिका आधारमा सामना गरौं’ भनेर तत्कालीन नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव ओलीले अस्वीकार गर्दा भएको थियो।

दुईतिहाइको सरकार हुँदा प्रतिपक्ष र अन्य दललाई समेत किन विश्वासमा लिनुपर्यो र अझ आफ्नै पार्टीभित्र समेत किन सुझाव लिइ राख्नुपर्यो भन्ने तत्कालीन नेकपाका अर्का अध्यक्ष केपी ओलीको अधिनायकवादी सोचले प्रतिगमनका जरालाई मलजल गरेको थियो।​

गठबन्धनको जग
अहिले एमसीसीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति खोजेजस्तै त्यतिखेर पनि उच्चस्तरीय संयन्त्रको कुरा अगाडि सारिएको थियो। तर केपी ओलीले अधिनायकवादलाई यसरी अघि बढाए कि त्यसले नेकपा त विभाजन भयो नै, हजारौं जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि, परिवर्तन र संविधानमै गम्भीर संकट र खतरा उत्पन्न भयो। यसविरुद्ध जनस्तरबाट सशक्त प्रतिकार भएपछि प्रतिनिधि सभा पुनःस्थापनासँगै प्रतिगमनविरुद्ध अग्रगमनकारी शक्तिहरूको गठबन्धन बन्यो।

यो कुरा विशेष रूपमा बुझ्नु जरुरी छ। स्मरण रहोस्, पाँचदलीय गठबन्धन एमसीसी पास गर्ने सर्तमा कदापी बनाइएको होइन। नेपाली कांग्रेसले प्रतिगमनअघि नै एमसीसीप्रति पक्षधरता देखाइसकेको थियो। गठबन्धन समग्र राजनीति उल्ट्याएर २०४७ तर्फ लैजान खोज्ने केपी ओली प्रवृतिविरुद्ध लड्न बनाइएको हो। विदेशी जासुसहरू राजकीय शक्तिको केन्द्र बालुवाटार गएर नेपालको राष्ट्रियतामा नांगो हस्तक्षेप गर्ने अवस्था अन्त्यका लागि बनाइएको हो। लोकतन्त्र रक्षाका लागि बनाइएको हो। त्यसैले कुनै अमुक परियोजनाको एजेन्डा गठबन्धनमा कहिल्यै प्राथमिकतामा परेन। अझ मुख्य कुरा के छ भने गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि एमसीसी कतै उल्लेख छैन। यही कुरा केपी ओलीले आलोचनाको विषयसमेत बनाए। तर अहिले आएर एक्कासि एमसीसी पास हुनुपर्छ भन्ने बालहठ केही राजनीतिक दलमा देखिँदा माओवादी केन्द्र सडकमा आएको हो।

अचम्म त के छ भने हिजो एमसीसी नै मुख्य कारण बनाएर नेकपा विभाजनसम्म र संसद् विघटनसम्म गरेका ओली आज एउटा अनुदान परियोजना अघि सारेर गठबन्धविरुद्ध प्रहार गरिरहेका छन् र विभिन्न कोणबाट अनेकन् शक्ति केन्द्रले समेत यसैलाई आधार बनाएर गठबन्धन फुटाउने प्रयास गरिरहेका छन्। 

माओवादी केन्द्रका लागि एजेन्डा प्रधान, सत्ता गौण
त्यसैले गठबन्धनको गरिमा र महत्त्व अग्रगमनका पक्षमा छ र यसले आफ्ना कार्यभार पूरा नगरी अमुक एजेन्डाहरूका आधारमा यो भत्किन हुन्न र भत्काइनेहरूविरुद्ध गठबन्धनले नै सशक्त ढंगले प्रतिवाद गर्नुपर्छ। 

इतिहास साक्षी छ– माओवादी केन्द्र अग्रगमनमा विश्वास गर्छ। यसको नेतृत्व यथास्थितिमा रुमलिन सक्दैन र नेपाल तीव्र गतिमा अग्रगमनतर्फ जानुपर्छ भन्ने कुरा स्थापना गरेको छ। माओवादीले पनि संसदीय दलहरूजस्तै सत्ताका लागि मात्रै राजनीति गरेको भए आज देशले यी उपलब्धि हासिल गर्ने थिएन। स्थानीय तह यति अधिकार–सम्पन्न हुने थिएनन्। हरेक तहमा महिला, दलित, अल्पसंख्यक, मुस्लिम, थारू, उपेक्षित क्षेत्रको अनिवार्य प्रतिनिधित्व हुने थिएन। एउटा कछुवा गतिमा देश चलिरहन्थ्यो। 

त्यसैले एमसीसी होस् वा अन्य कुनै प्रकरण, माओवादीले देशको राष्ट्रियता र सार्वभौमसत्तालाई मुख्य केन्द्रमा राख्दै समृद्ध नेपालको परिकल्पना गरेको छ। अब बुझ्नुपर्ने कुरा के छ भने माओवादीसँग खारिएको नेतृत्व छ र यो नै पाँचदलीय गठबन्धनको मुख्य सूत्रधार भएकाले माओवादी नेतृत्वले पहिला जनमतअनुसार निर्णय गराउने प्रयास गर्नेछ, जुन प्रयास जारी छ। गठबन्धनमा सहमति भएन भने र एमसीसीमा जबर्जस्ती गर्न खोजियो भने माओवादी ढुक्कसँग सरकार छाडेर जनतामा जानेछ। किनभने माओवादीका लागि जनता पहिलो हुन्, सरकार कदापी होइन। अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्न चाहेको भए नेकपा एकताको हतारो गर्ने थिएनन्, न त नेकपा विभाजन हुँदा कांग्रेससँग गठबन्धन नै गर्थे। 

माओवादी नेतृत्वका लागि सत्ता कहिल्यै केन्द्रबिन्दु रहेन भन्ने कुरा हिजोका दिनले पुष्टि गरिसकेका छन्। कटुवाल प्रकरणमा गिरिजाबाबुले राजीनामा नदिनूस्, यस्ता घटनाक्रम आउँछन्, जान्छन् भन्दै गर्दा ‘विदेशी प्रभुको सामुन्ने झुक्दिनँ, मेरा लागि सत्ता मुख्य होइन’ भनेर प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए भने तत्कालीन कांग्रेससँग गठबन्धन सरकारका बेला केपी ओलीहरूले समेत ‘सरकार राम्रो चलाउनुभएको छ, देउवालाई नछोड्नूस्’ भन्दा ‘मेरा लागि सहमति ठूलो कुरा हो’ भनेर देउवालाई सरकार छाडेर राजनीतिक नैतिकता देखाए। यस्तै पछिल्लो निर्वाचनपश्चात् कांग्रेसको सम्पूर्ण नेतृत्व खुमलटार आएर ५ वर्ष प्रधानमन्त्री बन्ने ‘अफर’ गर्दासमेत ‘मैले कम्युनिस्ट एकताको सपना देखेर वाम गठबन्धन गरी जनतासामु वाचा गरिसकेको छु त्यसैले म पदका लागि वाचा तोड्न सक्दिनँ’ भन्नेजस्ता अडान प्रचण्डले देखाएका छन्। यी सबै कुराका साक्षी हामी थियौं। त्यसैले ​सत्ताप्रति माओवादी नेतृत्वको दृष्टिकोण के छ बुझ्न गाह्रो हुँदैन। र, अहिले एमसीसी प्रकरणमा समेत सत्ता प्रधान हुन सक्दैन।

माओवादीले राष्ट्रवादको रोटी सेक्ने काम पनि गरेन 
अर्कातर्फ माओवादीले अन्धराष्ट्रवादको कहिल्यै समर्थन गरेन। ओलीले जस्तो तथाकथित राष्ट्रवादको रोटी सेक्ने काम पनि गरेन। माओवादीले आजसम्म कुनै राष्ट्रघाती सम्झौता पनि गरेको छैन। राष्ट्रवादको मुकुण्डो लगाउने, तर प्रकाशन भइसकेको देशको नक्सा लुकाउने काम पनि गरेन। माओवादीले धरातलीय यथार्थको सही विश्लेषण गरिरहेको छ। उसका लागि सत्ता केही पनि होइन र यथास्थितिमा रुमलिन माओवादीले जानेको छैन। 

त्यसैले राष्ट्रघाती प्रावधान कायमै रहने अवस्थामा एमसीसी अघि बढ्यो भने माओवादी जनतासँगै सडकमा आउँछ। र, त्यो अवस्था राष्ट्रवादको मुकुण्डो लगाउनेहरूका लागि साह्रै पीडादायी हुनेछ।

माओवादीको कोसिस गठबन्धन जोगाउने र देशको राष्ट्रियता, स्वाधिनता रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्नेमा केन्द्रित हुनेछ। यसमा माओवादी दायाँबायाँ हुन सक्दैन। माओवादीसँग मुलुक बनाउने बाहेक अरू सोच छैन। तर कुरा कहाँनेर बिग्रियो, माओवादीले चाहँदाचाहँदै देश समृद्ध किन हुन सकेन त भन्दा विश्व राजनीति हेर्ने हो भने जसको नीति, उसैको नेतृत्व भन्ने देखिन्छ। माओवादीले भनेजसरी सत्ताको बागडोर सम्हाल्न पायो त? आजको परिवर्तनको परिकल्पना प्रचण्डको हो र उनले एक कार्यकाल पूरा सत्ता चलाउने अवसर दिएर पनि केही भएन भने मात्रै उनलाई गाली गर्ने र दण्डित गर्ने हो कि?

माओवादीको अबको बाटो
माओवादी अहिले सरकारमा बसिरहेको छ, यसपछाडि कारण छन्। माओवादीलाई गठबन्धनको माया छ, किनभने गठबन्धन अग्रगमनकारीहरूको नेतृत्वमा छ, यसले परिवर्तनको रक्षा गर्छ, संविधानको कार्यान्वयन गर्छ र जनमतको सम्मान गर्छ भन्ने बुझाइ उसको छ। माओवादीले अहिले एमसीसीको सवालमा आफूले लिएको लाइन नै कार्यान्वयनका खातिर प्रयत्न गर्नेछ, जुन केही समयदेखि चलिरहेको छ। आफूले देश र जनताका पक्षमा वकालत गरिरहँदा गठबन्धनले फरक बाटो अपनाए माओवादी ढुक्कसँग सरकार त्यागेर जनतामा जानेछ। त्यसैले माओवादी आज सरकार र सडकमा किन छ भन्ने कुराको जवाफ उसले चाँडोभन्दा चाँडो छर्लंग पार्नेछ।

त्यसैले पनि इतिहासमा प्रतिक्रान्तिलाई मलजल गर्नेहरूका लागि माओवादी नै सबैभन्दा ठूलो बाधक बनेको छ। त्यसैले यो लडाइँ निरन्तर जारी छ। हामी के भन्न सक्छौं भने नियत र विचारमा स्पष्ट भएको हुँदा अन्तिम जित माओवादी एजेन्डाकै हुनेछ। आजसम्म मुलुकको सवालमा माओवादीलाई जे सही लाग्यो, त्यही गरेको छ। नेपाली जनताले बुझ्नुपर्ने कुरा कहाँनेर छ भने जबजब प्रचण्डविरुद्ध प्रहार हुन्छ, चौतर्फी घेराबन्दी गरिन्छ, मुलुक संकटमा पर्ने गरेको छ। 

प्रचण्डलाई आज आएर विश्लेषण गर्दा उनी खारिएका छन्, समकक्षी पार्टीका नेताहरूलाई उनले मज्जैसँग बुझेका छन्। आशा गरौं– एमसीसीको द्विविधालाई पनि प्रचण्डले नै किनारा लगाउनेछन्, प्रचण्डले नै जित्नेछन्। विरोधीले प्रचण्डले जित्ने भए भनेर चिन्ता नगर्दा हुन्छ, किनकि प्रचण्डले जित्दा मुलुकले जित्नेछ। अहिले एमसीसी प्रकरणमा देखिएका यावत् पक्षलाई त्यही अर्थमा बुझ्न सकिन्छ।

(जीवन आचार्य नेकपा माओवादी केन्द्रका युवा नेता हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .