आफ्ना केही साथीहरूका साथ परशु नारायण चौधरी ४–५ दिन अघि मात्र पंचायत पस्नु भएको थियो। उहाँले आफ्नो वक्तव्यको शीर्षक ‘अबको नयाँ बाटो’ राख्नु भएको थियो। यसका हस्ताक्षरकर्तामा यसअघि पंचायत पसेका केही मानिसहरू पनि थिए।
परशु नारायण चौधरीको पंचायततिर पलायनको बडो ठूलो चर्चा थियो। आजको जस्तो सामाजिक संजाल र मिडियाको विशाल संख्या त थिएन। तर, सरकारी संचार माध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्रमुखता दिइराखे।
जनमतसंग्रह ताकाको प्रचारका क्रममा काठमाडौँको टुँडिखेलको आमसभामा बीपी कोइरालाले मुलुकमा बहुदल आए परशु नारायण नेपालको प्रधानमन्त्री हुने भन्नु भएको थियो। त्यस सभाको मञ्चमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि रहनु भएको थियो। अप्रत्याशित रूपमा बीपीको यो भनाई सुनेर कालो चश्मा लाउनु भएका गणेशमानजी मुसुक्क हाँसेको र किसुनजीले मञ्चको सिमेन्टेड भूइँमा छाताको डण्डी थिचेको मैले प्रष्ट देखेको थिएँ। यो विषय उहाँहरूका बीचमा सुविचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन। यद्यपि बीपीको ठूलो विश्वास परशु नारायणका लागि मुखरित भएको थियो। बीपीको विश्वासमा रहेका यस्तो मानिस सुटुक्क पंचायत पसेको अवस्था थियो। यसर्थ बीपीको रोजाईका बारेमा पनि प्रश्न उठेको थियो।
परशुजीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन। ‘नेपाली जनताले जुन कारणले परशु नारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन’, यत्ति थियो बीपीको प्रतिकृया। बीबीसीलाई बीपीले यत्ति मात्र भन्नु भयो। एमालेबाट बामदेव निस्किँदा ‘पिलो निचोरियो’ भनेर उबेला केपी ओलीले भनेको आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझैँ, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेरबहादुर देउवाजीले शेखर कोइरालाको वजूदलाई इन्कार गरी शेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन क्यार। कांग्रेसभित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्र भित्र पंचायतसँग कुरा मिलाएर बीपीले परशुलाई पठाएका हुन कि भन्ने आशंका गर्दै लेखेका थिए।
तर, गम्भीर चर्चा के थियो भने बीपीको चयन प्रायः गलत हुने गरेको छ। बीपीले सारै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैनन्।
डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर प्रसाद सिंह, बखान सिंह गुरुङ, सूर्य प्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतु चौधरी लगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी जस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए। प्रदीप गिरी कहिले पंचायत पस्नु भएन, तर ०३०–३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना गर्नु हुन्थ्यो। जबकी हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुरन्धरै धुन्धकारी देखिएका थिए। यस्ता अनेकन प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि, सहकर्मीको रोजाइमा बीपीमा बढी त्रुटी छ। यस्तो चर्चा खुब हुने गर्थ्यो।
बीपी सन् १९७७ नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुँदा परशु नारायण र गिरिजा बाबु दुबै जनालाई उहाँले पटना–काठमाडौँको हवाई जहाज उडानमै प्रतिबन्धित नेपाली कांग्रेसको महामंत्री बनाउनु भएको थियो। राष्ट्रिय मेल मिलापको नीतिका साथ लामो भारत प्रवासपछि २०३३ सालमा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पन्थी, खुमबहादुर खडकाहरू काठमाडौँ हवाई अड्डाबाटै गिरफ्तार गरिनु भएको थियो। केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान पेरोलमा रिहा गर्ने सदाशयता देखाउनु भएको थियो। उपचार पश्चात बीपी पटना हुँदै नेपाल फर्किनु भयो र पुनः थुनामा राखिनु भयो। यसअघि पटनामा नेपाली कांग्रेसको सम्मेलन भएको थियो, जहाँ बीपीले किसुनजीलाई पार्टीको कार्यवाहक सभापति बनाउनु भयो।
यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट त्यो सम्मेलनमा सहभागी भएको थिएँ। अँ, यही बेला बीपीले शानेवानिको विमानमै बसेर परशुजी र गिरिजा बाबुलाई महामन्त्री नियुक्त गरिएको एक सानो विज्ञप्ति कुनै सहयात्रीलाई दिनु भयो, जो पछि सबैले थाहा पाए। यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो। यसरी एकै पटक दुई जना महामन्त्री भएको शायद गिरिजा बाबुलाई त्यत्तिसारो मन परेको थिएन।
त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो। परशुजीको पलायनपछि शेख साहेबले बीपीप्रति दरो भरोसा जनाउनु भएको थियो। बीपीले विशेष नेताहरूलाई भोजनमा बोलाउनु भएको थियो। खानाको अन्त्यमा बीपीले रूचीपूर्वक खीर खाँदै गर्दा चक्र बास्तोलाले कुरा उठाई हाल्नु भो। यो कुरा फेरी गिरिजा बाबुको पनि रूचीको कुरा थियो। त्यसैले बीपीले यसको जवाफ नपन्छाउनु होस् भनेर गिरिजा बाबुले चक्रजीतिर उन्मुख हुँदै जिज्ञासा गर्नु भो– ‘के भन्नु भो अरे चक्र जी?’ बीपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रीस, वीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत र म, सबै चक्रजी प्रति उन्मुख भयौँ। चक्रजी बीपीसँग सदैव निर्भिक रहनु हुन्थ्यो। गिरिजा बाबु सदैव थिचिएको। चक्रजीले भन्नु भयो– ‘हैन सान्दाजु, परशु नारायणलाई त तपाईंले निकै पत्याउनु भएको थियो। उनले धोका दिए। तपाईंलाई शंका थिएन? के पहिले देखिनै उनीप्रति तपाईंको विश्वास अडिग थियो र?’
बीपीले चक्रजीलाई भन्दा पनि गिरिजा बाबु तर्फ मुखातिव हुँदै सोध्नु भयो, गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट सुरू हुन्छ कि आशंकाबाट?’
गिरिजा बाबुले संकोचका साथ भन्नु भयो, ‘म त लामो समयसम्म मानिसको परख गर्छु। शुरूमा त शंका गरिरहन्छु। परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु।’
बीपीले सोध्नु भयो, ‘ओखलढुंगा काण्डमा के भयो? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए? दुर्गा सुवेदीहरू किन तिमिसँग रहेनन्?’
बीपीले थप्नु भयो, ‘सोच्दै गर्नु। म त विश्वासलाई नै आधार मान्छु। पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका निरन्तर र चिरस्थायी कहाँ हुन्छ र? यो सर्वकालिक हुँदैन। मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ। तत्कालिक परिस्थितिलाई भने उसको बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र निस्पृहताले निर्धारित गर्दछ। यसर्थ कोही सँगको सम्बन्ध भने सुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।’
सबैले विस्तारै दुधको खीर सकेका थिए। मन मिठो भएको थियो। तर यो संवादले भने सबैलाई, खासगरी बीपी बाहेक हामी सबैलाई उद्वेलित पारेको थियो।
म त्यसबेला चावहिलको बीपी निवासमै बस्थेँ। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर बीपीले जे जवाफ दिनु भयो, मेरो लागि आज पनि प्रश्न रहित नै छ। हो त, कोही सँगको सम्बन्ध भने सुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन। को कहाँ रहन्छ, को कहाँ पुग्छ। तर ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ।
आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ। हुनत् नेपाल मात्र हैन, सबैतिर यही अवस्था छ। बडेमानका विश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ। कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसँग त्यस नेताको सम्बन्ध विश्वासबाट सुरू हुन्छ कि आशंकाबाट?
बीपीको आदर्श त मेरो मनमा छ। तर मैले पनि मलाई पहिचान दिएको नेपाली कांग्रेसलाई छोडेँ, अझ गिरिजा बाबुलाई छोडेँ। म स्वयंसँग पनि यसको जवाफ छैन कि, ‘म विश्वास योग्य थिएँ कि, नेताले मलाई पत्याएको बखत उनी धोकामा परे, म आशंका योग्य थिएँ।’
जे होस्, यो मेरो इमान्दार स्वीकारोक्ति हो कि, ‘साथ रहुन्जेल, पुरै इमान्दार थिएँ, भरोसा योग्य थिएँ।’
आज बीपीलाई सम्झिँदैछु। थोरै भेटेँ तर भरपुर सम्झना छ। शुक्रबार साउन ६ गते हो। बीपीको प्राणहीन शरीरका छेउ उभिएको थिएँ, त्यसबेला। जीवनको थोरै काल उहाँको वरिपरि बित्यो। त्यसमा म गर्व गर्दछु।
साउन ६ गते। बीपी स्मृति दिवसमा उहाँलाई हार्दिक श्रद्धाञ्जली।
बीपीको प्राणहीन शरीरका साथ म : जयप्रकाश गुप्ता
Shares
प्रतिक्रिया