ad ad

ब्लग


जसले झापा विद्रोहबाट उठेर राजनीतिक चोला फेरे, तिनैलाई सम्झाउने पुस्तक

जसले झापा विद्रोहबाट उठेर राजनीतिक चोला फेरे, तिनैलाई सम्झाउने पुस्तक

प्रमोद धिताल
भदौ ९, २०८० शनिबार १४:१९, काठमाडौँ

झापा विद्रोहका जिवन्त पात्र–घटनाहरु समेटिएको निरोज कट्टेलको पहिलो कृति ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ भर्खरै बेला पब्लिकेशनले बजारमा ल्याएको छ। पुस्तकमा लेखकले नेपाली राजनीतिको एउटा चर्चित कालखण्डको कलात्मक चित्रण गरेका छन्। 

एकातिर माओको नेतृत्वमा क्रान्ति भएको लाल चीन। अर्कोतिर छिमेकी मुलुकको पनि नजिकैको नक्सलवाडी विद्रोहको राप–ताप। त्यसैबाट प्राप्त ऊर्जा र आवेगको जगमा क्रान्तिको सपना देख्ने युवाहरुको अगुवाइमा झापा विद्रोह सुरु भएको थियो।

झापा विद्रोहको प्रसंग उठ्नेबित्तिकै आज सत्ताको बार्दलीमा चढेका केही पात्रहरुको नाम चर्चामा आउँछ, जसका लागि त्यो विद्रोहको सपना आज दुस्वप्न भइसकेको छ। उनीहरुले यतिखेर अंगालेको राजनीति र बाँचेको जीवनले यसै भन्छ। 

कहाँ क्रान्तिको कर्मलाई साउँ–ब्याज असुल्ने लगानी बनाइरहेका आजका खलपात्रहरु, कहाँ झापा आन्दोलनका जिउँदा इतिहास राजेन राजवंशीहरु! परिवारका सदस्य गुमाएको र नक्सलबाडीदेखि नेपालको झापा विद्रोहको योद्धा भएर के प्राप्त भयो भन्ने लेखकको सवालमा राजेन राजवंशी भन्छन्, ‘क्रान्तिको उपलब्धि तराजुमा जोखिन्न।’ कति सरल र निष्कपट जवाफ! 

केही समयअगाडि राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ पढिरहँदा कैयन वास्तविकताहरु आँखैअगाडि आएको अनुभूति भयो। झापा विद्रोहसँग जोडिएर आउने थुप्रै विवरणहरु छन् त्यसमा। मैनालीको लेखनमा झापा विद्रोहको जगबाट उठेर राजनीतिक चोला फेरेकाहरुको प्रवृत्तिगत चित्रण पनि रोचक छ। त्यही पुस्तक हो, जसले झापा विद्रोहबारे जान्ने थप भोक जगाइदिएको थियो। उत्खनन् नभएका थप विषयहरु सहित आएको यो पुस्तकले त्यो भोक मेटाउने काम गरेको छ। 

एकातिर क्रान्तिको हुटहुटी। अर्कोतिर अन्धनक्कल र बचकाना अपरिपक्वता। एकातिर बेजोड समर्पण, संकल्प र प्रतिबद्धता। अर्कोतिर संगठनात्मक प्रणालीमा रहेको अपरिपक्वतासँगै व्यक्ति हत्या। एकातिर क्रान्तिकै नाउँमा निमुखा, निरापराधहरुले पाएको सास्ती, अर्कोतिर पञ्चायती शासकहरुको अकल्पनीय दमन, अत्याचार र आतंक! एकातिर शोषक, जाली, फटाहाहरुको राइँदाइँ, अर्कोतिर क्रान्तिप्रति समर्पित, आफू मरेर पनि सहयोद्धाहरुलाई बचाउने इमान्दारिता। यस्तै–यस्तै कुराहरुले उद्वेलित बनाइरहन्छन् पुस्तकमा आउने पात्र, संवाद, घटना र कथाहरुसँगै। 

यो अन्तर्कथा जसले झापा विद्रोहलाई रगतको मूल्यमा नमेटिने इतिहास बन्न लायक बनाए, ती ओझेल परेका पात्रहरुको चित्रण हो। अर्थात् झापा विद्रोहको जग र जमिनको कुशलतापूर्वक गरिएको उत्खनन्। लेखककै भनाइ सापटी लिएर भन्दा यसले ‘इतिहासको पैदल यात्रा’ कुशलतापूर्वक गरेको छ। पुस्तक तयार गर्ने दौरानमा लेखकले दस्तावेजहरुदेखि, भूगोल हुँदै जीवित पात्रहरुको जीवनसम्म यथाशक्य विचरण गरेका छन्। पठन यात्राले विद्रोहको दौरानमा कार्यकर्ताहरुले झेलेका जेलनेलका यातना, आँसु, रोदन, अभाव, बिछोड र मृत्युका पलहरुम्म पुर्‍याउँछ। झापादेखि नक्सलबाडी, चारु मजुमदार हुँदै चीनका नेता माओत्सेतुङसम्म पुर्‍याउँछ। 

लेखकले झापा विद्रोहको उत्खनन् गरेझैं कम्युनिस्ट आन्दोलनको सबैभन्दा पछिल्लो हिस्सा जनयुद्धको पनि बहुआयामिक उत्खनन् र समीक्षा हुन आवश्यक छ। यो काम हुँदै जाला भन्ने अपेक्षा गरौंं। तर निरोजको यो पुस्तक पढिभ्याउँदा पनि केही प्रश्नहरु उठिहाल्छन्। के नेपालको कम्युनिस्ट आन्दोलन मूलतः अन्धनक्कलभन्दा माथि उठ्न नसकेको हो? के अहिलेसम्मको कम्युनिस्ट आन्दोलनको नियति भनेको यसको अगुवाइ गर्नेहरुमा विद्यमान मध्यमवर्गीय प्रवृत्तिबाट मुक्त हुन नसक्नु हो? के बुर्जुवा डिग्रीधारी नै स्वतः नेता बन्ने मापदण्ड–मनोविज्ञानको सिकार भइरहेको हो? के मूलतः कथित उपल्लो जातका पृष्ठभूमिका अगुवाहरुकै छायामा आन्दोलन कुण्ठित भएको हो? यी प्रश्नहरुको जवाफ पनि खोज्नुपर्नेछ, दिनुपर्नेछ। 

यसरी हेर्दा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन वर्गविरोधीहरुको सुनियोजित घुसपैठ हुन्छ। त्यसमा कम्युनिस्टहरु सचेत रहनुपर्ने हुन्छ नै। त्यो भन्दा डरलाग्दो समस्या भनेको विरोधी वर्गीय चिन्तनको अघोषित घुसपैठ, त्योसँग क्रान्तिकारीहरुले गर्ने सुलह सम्झौता र अन्ततः आत्मसमर्पणले आन्दोलन कहिल्यै माथि उठ्न नसक्ने गरी थला पर्दोरहेछ। यो घुसपैठको प्रसंगको पनि लेखकले पुस्तकको अन्ततिर चर्चा गरेका छन्। 

झापा विद्रोहका ज्यामीहरुसँगको साक्षात्कारले त्यो समयको थप नजिक पुगेको महसुस हुन्छ। तत्कालीन सामाजिक, आर्थिक अन्तर्विरोधको चित्रणले विद्रोहलाई बुझ्न मद्दत पुर्‍याएको छ। गैह्रआख्यान कृतिलाई आख्यात्मक लेखन शैलीले थप रुचिकर बनाएको छ। 

लेखकमा दर्ज हुनकै लागि अर्थहीन गन्थनहरुले भरिएका पुस्तकहरु त दिनहुँ छापिन्छन्। समय र समाज चिनाउने र दिमाग आन्दोलित गर्ने पुस्तकका लागि भने केही समय प्रतीक्षा गनुपर्ने हुन्छ। त्यसकै साक्षी हो झापा विद्रोहको अन्तर्कथा। समाज र नेपालको राजनीतिमा चासो राख्ने जोसुकैले पढ्नुपर्छ यो पुस्तक। अपेक्षा गरौं, आगामी दिनहरुमा पनि यस्तै उपयोगी पुस्तकहरु भिन्न विषय, स्वाद र बान्कीमा लेखकबाट आउने नै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .