ad ad

ब्लग


मर्न डराउँदैनथे, परिवारको हकमा विपरीत थिए बीपी

बीपीको जीवन र विरोधाभास चिनाउने पुस्तक
मर्न डराउँदैनथे, परिवारको हकमा विपरीत थिए बीपी

संविदा वाग्ले एलएलबीकी विद्यार्थी हुन्


संविदा वाग्ले
भदौ ११, २०८० सोमबार १९:३४, काठमाडौँ

बीपी कोइरालाजस्ता महान् राजनीतिज्ञमाथि प्राध्यापक कृष्ण खनालले लेख्नुभएको ‘विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति’ पुस्तक पढेँ। म यो पुस्तकको समीक्षा गर्ने हैसियत कदापि राख्दिनँ। केवल पुस्तक पढेर त्यसबाट आफूले प्राप्त गरेको ज्ञान र आफूलाई लागेको केही सतही कुरा यहाँहरू माझ बाँड्ने प्रयत्न मात्र मैले गर्न खोजेकी छु। 

लेखक खनालले अथक खोज, अनुसन्धान, अध्ययन, परिश्रम गरेर हामीलाई यो एउटा पुस्तक पल्टाए पनि पुग्ने गरी बीपीको समग्र जीवन, राजनीति, साहित्य लगायत देशको राजनीतिक इतिहाससम्बन्धी गहन ठेली नै खडा गरिदिनुभएको छ।   

अब म आफूले यस पुस्तकमार्फत् हासिल गरेका जानकारीहरू प्रस्तुत गर्दैछु।

बीपी र राजनीति
लेखकले पुस्तकमा उल्लेख गरे अनुसार पिता कृष्णप्रसाद कोइराला सपरिवार भारत निर्वासित भएपछि शिक्षादीक्षासँगै बीपीको राजनीतिक सुरुवात भारतको स्वतन्त्रता आन्दोलनबाट भयो, जसका लागि उनी भारतीय राष्ट्रिय कांग्रेसको समाजवादी पार्टीमा संलग्न थिए।  

विसं १९९७ मा नेपालमा राणा शासकद्वारा चार सहिदलाई फाँसी दिइयो। त्यही बेला दार्जिलिङमा रहेका बीपीले नेपालको राजनीतिमा लाग्नुपर्छ भन्ने सोच बनाएका रहेछन्। तर लगत्तै उनी भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा भारतमै जेल परे। यसले गर्दा २००३ मा मात्र राजनीतिक पार्टी निर्माणका लागि आह्वान गरेर नेपालको राजनीतिमा प्रवेश गरेको कुरा लेखकले पुस्तकमा उल्लेख गर्नुभएको छ।  

विसं २००७ को क्रान्तिको निर्माता बीपी राजनीतिक सक्रियताकै कारण दुई पटक जेल पर्छन्। राणा विरुद्धको आन्दोलनका कारण १०४ वर्षे राणा शासनको अन्त्य हुन्छ। तर पनि नेपाली कांग्रेसलाई जानकारी नदिई दिल्लीमा राणा प्रधानमन्त्री मोहन शमशेर, राजा त्रिभुवन र भारत सरकारका बीचको ५ बुँदे सम्झौता हुनपुग्छ। त्यसपछि मोहन शमशेरकै प्रधानमन्त्रित्वमा राणा र कांग्रेसको १० सदस्यीय संयुक्त सरकार गठन हुने परिवेश बन्न पुग्यो, जसमा बीपी गृहमन्त्री बने। 

तर, ६ महिनापछि बीपीले गृहमन्त्रीबाट राजीनामा दिए। बीपीको राजीनामापछि मोहन शमशेरले पनि प्रधानमन्त्री पदबाट राजीनामा दिए।  

२०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट बीपीले पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री बन्ने इतिहास रचे। त्यतिबेला उनको ध्यान सरकारको काम कसरी जनतासम्म पुर्‍याउने भन्ने थियो। उनी प्रजातान्त्रिक संघर्ष र राष्ट्रियताको सवाललाई सँगसँगै लिएर जानुपर्छ भन्थे। तर राजा महेन्द्रले १ पुस २०१७ मा दलहरूमाथि प्रतिबन्ध लगाएर निर्दलीय व्यवस्था सुरु गरे, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी अपदस्त गरिए। त्यसपछि लामो समय उनले बन्दीगृहमा बिताउनु पर्‍यो। तर त्यतिबेला पनि उनको राजनीतिक आस्था रत्तिभर विचलित भएन। 

२०२५ सालमा जेलबाट छुटे। तर उनी फेरि कहिल्यै शक्तिमा पुगेनन्। 

पछि बीपी क्यान्सरले ग्रस्त भए, उपचारका लागि विभिन्न ठाउँमा लगियो। उपचारले काम नगर्ने अन्तिम अवस्थामा पुगेपछि उनी थाइल्यान्डबाट नेपाल ल्याइए। त्यसको केही महिनापछि ६ साउन २०३९ मा ६९ वर्षको उमेरमा उनको निधन भयो। 

दलहरूमाथि प्रतिबन्ध लागेको पञ्चायती राजमा समेत बीपीको शव र शववाहन ट्रकमा पार्टीको चारतारे झण्डा ओढाएर अथाह मानव सागरको बीचमा उनको गौरवपूर्ण अन्तिम यात्रा सम्पन्न भएको पुस्तकमा उल्लेख छ।

बीपी र जेल जीवन 
यस पुस्तकमा उल्लेख भएअनुसार बीपीले २ वर्ष भारत र करिब १२ वर्ष नेपालको जेलमा बिताए। २००७ अघि २ पटक गरेर ६ महिना जेल परे। २०१७ को ‘कू’ पछि लगातार ८ वर्ष ७ महिना थुनामा परे। २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल आएका उनलाई फेरि ३ वर्ष थुनियो। 

पढाइ, जेल र निर्वासन समेत गरेर बीपीले भारतमै ३८ वर्ष बिताएका थिए। बीपीले आफ्नो देशमा जेलबाहिर स्वतन्त्र रुपमा रहन पाएको समय भनेको २००७ फागुनदेखि २०१७ मंसिरसम्म १० वर्ष मात्र हो। विभिन्न स्वास्थ्य प्रतिकूलताले गर्दा उनको जेल बसाइ थप कष्टकर बनेको थियो। लेखकले पुस्तकमा उल्लेख गरे अनुसार २०३३ सालमा अदालतमा बयान दिएर प्रहरी कार्यालय फर्केपछि उनी बेहोस समेत भएका रहेछन्।

बीपी र साहित्य
राजनीतिमा उनको स्थान जति चुलीमा छ, साहित्यमा पनि उनको दक्खल त्योभन्दा कम मानिँदैन। राजनीति र साहित्य उनका जीवनका दुई अभिन्न पाटाहरू हुन्, जुन कुरा लेखकले पुस्तकमा उल्लेख गरेका छन्। 

भारतीय साहित्यकार शान्तिप्रिय द्विवेदीको संगतले उनी साहित्यतर्फ ९ कक्षा पढ्दा ताकादेखि नै मोडिएका थिए। ‘राजनीतिमा म समाजवादी हुँ र साहित्यमा अराजकतावादी’ भन्ने उनको धारणा थियो। यस भनाइले उनको स्वतन्त्र साहित्यिक विचरणलाई स्पष्ट संकेत गर्दछ। 

उनको साहित्यिक रचनाको केन्द्रमा यौन मनोविश्लेषण भए पनि तिनले समाज र व्यक्तिका जीवनको यथार्थलाई प्रष्ट रुपमा उतारेको लेखकले बताएका छन्। २००७ अघि नै कथाकार बनिसकेका बीपीले २०१७ सालपछिको जेल बसाइमा उपन्यास लेखन थालेको पाइन्छ। त्यसबेला लेखिएका उपन्यासहरु तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदीआइन, हिटलर र यहुदी र कथा संग्रह श्वेतभैरवी निकै चर्चित रहे। 

बीपी सेन्ट्रल जेलमा रहेका बेला लेख्ने कपीकलम नभएपछि भित्तामा नङले कोरेर दिनगन्ती गर्ने गरेको, खानेकुरा सँगै आएको न्यापकिन पेपरलाई लेख्नकै लागि सुरक्षित राख्ने गरेको, न्युजपेपरलाई कापीको आकारमा काटी त्यहाँका खाली ठाउँमा लेख्ने गरेको लगायत कैयौँ मर्मस्पर्शी क्षणहरू पुस्तकमा उल्लेख छन्।

बीपी र परिवार
राजनीतिक आन्दोलनमा होमिने संस्कार बीपीले पारिवारिक विरासतकै आधारमा पाएका थिए। विशेषतः राणाविरोधी आन्दोलनमा सक्रिय भएका कारण पिता कृष्णप्रसाद कोइरालाले समेत अनेकौं दुःखकष्ट झेले। त्यसैले गर्दा उनले सपरिवार भारत निर्वासनमा जानुसमेत पर्यो। परिणामतः बीपीको राजनीतिक जीवनको सुरुवात नेपालमा नभएर भारतमा हुन पुग्यो। 

नेपालको राजनीतिक आन्दोलनमा बीपीको मात्र नभएर कोइराला परिवारकै ठूलो योगदान छ। परिवारका महिला सदस्यहरू समेत जुझारु शैलीमा पुरुषसरह आन्दोलनमा भाग लिने गर्दथे। राजनीतिक आन्दोलनमा लागेका कारण कोइराला परिवारले निकै कारुणिक क्षणहरूको पनि सामना गर्नुपर्‍यो। 

उदाहरणको रुपमा भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा बीपी भारतको जेलमा रहेको बेला यता पिताजीलाई पनि नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्वतन्त्रता आन्दोलनमा सघाएको आशंकामा राणा शासकले पक्राउ गरी काठमाडौँमा बन्दी बनाएको थियो। जुन दिन बीपी उता भारतीय जेलबाट छुटे, त्यही दिन यता पिताजीको जेलमै निधन भयो। पटना छोड्न नपाउने स्थान हदका कारण पिताजीको मृत्युको समयमा समेत बीपी नेपाल आउन पाएनन्। 

बीपी स्वयंमा आत्मविश्वासी मानिस थिए। मर्न उनमा डर थिएन। तर परिवारको हकमा भने ठीक विपरीत थिए। विभिन्न स्वास्थ्य समस्याको कारण उनको अवस्था कहिलेकाहीँ निकै जटिल बन्न पुग्थ्यो। त्यतिबेला परिवारका लागि उनी मृत्यु चिन्तनमा डुब्दथे। आफू मरिहाले आफ्नो परिवार धरासायी हुनेछ र यसका सदस्यले मनोबल गुमाउने छन् भनेर चिन्ताग्रस्त रहन्थे।  

बीपीका विरोधाभासहरू
दूरदर्शी राजनीतिज्ञ र प्रतिष्ठित साहित्यकार हुँदाहुँदै पनि बीपीका केही कमजोरी र विरोधाभास पुस्तक पढ्ने क्रममा मैले फेला पारेँ, जुन निम्न छन्–    

१. मार्क्सवाद मान्ने तर कम्युनिस्ट राजनीतिसँग भने घोर असहमति राख्दा रहेछन्। 

२. २०३६ मा बहुदल कि पञ्चायत भनेर जनमत संग्रह हुँदा बीपीले कम्युनिस्टसँग एकता गर्न नमानेकाले बहुदल पक्षले हारेको चर्चा हुने गरेको रहेछ। 

३. २०१७ मा राजा महेन्द्रले अपदस्थ गरेपछि बीपी फेरि कहिल्यै सत्तामा पुग्न नसक्नु उनको राजनीतिक सिद्धान्त र व्यवहारबीचको बेमेललाई ठान्ने गरिएको रहेछ। 

४. अस्थिर राजनीतिक चाल, शंकालु स्वभाव, आफूबाहेक अरु कसैले गर्न सक्दैन भन्ने अहंयुक्त स्वभावले बीपी ग्रस्त रहेछन् भन्ने कुरा पुस्तकले खुलासा गरेको छ।  

५. पुस्तकमा राजा र राजसंस्थालाई हेर्ने दृष्टिकोणको फरकपनाका अलावा कोइराला–राजपरिवारको सम्बन्धमा भइरहने उतारचढाव र द्वन्द्वको पनि मिहिन चर्चा गरिएको छ।  

उपरोक्त कारणले कतिपय सन्दर्भमा बीपीको चर्चा आलोचनात्मक हिसाबले पनि हुने गरेको तथ्य लेखकले पुस्तकमा केलाएका छन्।  

पुस्तकका अन्य विषयवस्तु         
५९१ पृष्ठको जम्बो आकारको पुस्तकभित्र ११ वटा फरकफरक शीर्षकमा लेखकले विषयवस्तु संग्रह गर्नुभएको छ। पुस्तकको आवरण मात्रै हेर्नेले प्रस्तुत पुस्तक बीपी बारेको सामग्री मात्रै हो कि भन्ने अनुमान गर्न सक्दछ। तर नेपालको राजनीतिका अन्य महत्वपूर्ण विषयवस्तुलाई पनि लेखकले पुस्तकमा समेट्नु भएको छ।

बीपीकालीन समयको भारतीय स्वतन्त्रताको आन्दोलन, भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको महत्वाकांक्षा, पाकिस्तान विखण्डन लगायत नेपालमा मुक्ति मोर्चाको संघर्ष, कांग्रेस अन्र्तगतको मुक्ति सेनाको विद्रोह, संयुक्त सरकारमा राणा काग्रेसको द्वन्द्व, खुकुरी दल काण्ड, चिनियाँकाजी काण्ड, जनमत संग्रह आदिका बारेमा जानकारीमूलक विषयवस्तु छन् भने बीपीको मृत्युपछि गणेशमान र किसुनजीको चर्चा, बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको संघर्षदेखि लिएर संघीय गणतन्त्र नेपाल हुँदाको बेलासम्मका राजनीतिक घटनाक्रम विभिन्न खण्डमा संग्रहित छन्।  

त्यसैले, बीपी सम्बन्धी सामाग्री होस् वा नेपालको राजनीतिक इतिहासको अध्ययन गर्न चाहने जोसुकैले यस कृतिको अध्ययन नगरेसम्म ऊ आफ्नो उदेश्यमा पूर्ण हुन्छ भन्ने लाग्दैन।  

प्रसंग फेरि बीपीकै 
बीपीले आफ्नो १६ पुस २०३८ को अन्तिम सार्वजनिक भाषणमा भेट्न आउनेसँग आफूले भन्ने गरेको कुरा उल्लेख गरेका थिए। उनी भन्ने गर्थे, ‘यदि तपाईं विदेशबाट सञ्चालित हुनुहुन्न र देशको भावनाले आउनु भएको छ भने नेपालको माटोलाई सोध्नुस्– माटोले जे जवाफ दिन्छ, त्यही काम गर्नुस्। हृदयलाई सोध्नुस्, जे जवाफ दिन्छ त्यही काम गर्नुस्। नेपाली जनतालाई सोध्नुस्, जे जवाफ पाउनुहुन्छ, त्यही काम गर्नुस्।’ 

अहिले राजनीतिको केन्द्रमा रहेका नेताहरूले बीपीको यो भनाइलाई आत्मसात गरे कति राम्रो हुन्थ्यो होला!

(१८ वर्षीया संविदा वाग्ले एलएलबीकी विद्यार्थी हुन्। प्राध्यापक खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला, चेतना, चिन्तन र राजनीति’ को ८ भदौमा भएको विमोचन कार्यक्रममा उनले यो समीक्षा प्रस्तुत गरेकी थिइन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .