बाल्यकालदेखि नै आफूले चिनेका नेतामध्ये सबैभन्दा धेरै सुनेको नाम थियो– सुवास नेम्वाङ। पूर्वको मोरङमा बाल्यकाल बिताउँदै गर्दा टेलिभिजनदेखि चोक र चिया पसलमा पनि नेम्वाङकै चर्चा सुनिन्थ्यो।
राजनीतिप्रति उति चासो नभए पनि मेरो मन उनको शालीनता, बौद्धिकता र भद्र स्वभावले जितिरहेकै थियो। उनको बारेमा मैले धेरै चर्चा सुनेको थिएँ। मोरङ र झापाका चिया चौतारामा उनी गफको विषय बन्थे।
त्यही बेलादेखि नै नेम्वाङलाई एकपटक भेट्ने मनोकांक्षा मनमा पालिरहेको थिएँ।
गत चैत ८ गते ‘हस्याङफस्याङ’ गर्दै जब म कार्यालय पुगेँ, उनै नेम्वाङको ‘प्रोफाइल स्टोरी’ गर्नेबारे नियमित बैठकमा कुरा उठ्यो।
राजनीतिक ब्युरोमा कार्यरत साथीलाई उनको स्टोरी गर्ने जिम्मेवारी दिइयो, फोटो र भिडिओ खिच्ने जिम्मेवारी मैले पाएँ।
मनमा केही कुतूहल र उत्सुकता जाग्यो। सानैदेखि भेटेर उनको शालीनतालाई नजिकबाट नियाल्ने रहर पालेको मलाई यो एक खास अवसर थियो।
एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष नेम्वाङको सिंहदरबारस्थित कार्यकक्षमा पुग्दा उनी थिएनन्। तर उनलाई केही नेता/कार्यकर्ता कुरेर बसिरहेका थिए।
म भने नेम्वाङ आउने बाटोमा ‘क्लोजअप’ क्याच गर्ने उपाय खोज्दै थिएँ।
नेम्वाङसँगको पहिलो भेट भएकाले पनि उनका प्रत्येक मुभमेन्ट नछुटोस् भन्ने म चाहन्थेँ।
म पुगेको झण्डै १० मिनेटपछि स्कर्पियोबाट उनी झरे। तर, दुर्भाग्य मैले त्यो क्षण खिच्न सकिनँ। किनभने उनलाई अगाडिदेखि नै कुरेर बसेकाहरूले घेरा हाले। केहीबेर उनको भेटघाट सकिएपछि हामीसँग औपचारिक कुराकानीका लागि भित्रबाट निमन्त्रणा भयो।
सहकर्मी साथीले स्टोरीका लागि आवश्यक कुराकानी गरे। म भने उत्साहित हुँदै नेम्वाङका हरेक ‘एक्सन’लाई क्यामेरामा कैद गर्नतिर लागेँ।
नेम्वाङको यो स्टोरी विशेष बनाउनुपर्ने सल्लाह सम्पादकसँग भएको थियो।
म पनि आफ्नो क्षमता प्रयोग गर्दै फोटो खिच्न थालेँ। मैले टेलिभिजनमा देखेको र चिया चौतारामा सुनेका नेम्वाङभन्दा प्रत्यक्ष भेटिएका नेम्वाङ फरक देखिए।
औपचारिक कुराकानी सकिएपछि थप केही तस्बिर खिच्न मैले नेम्वाङलाई प्रस्ताव राखेँ।
मेरो प्रस्तावमा मुसुक्क मुस्काउँदै उनी केहीबेर लजाए।
आफ्ना हरेक वाक्यहरू अडिएर प्रस्तुत गरेका नेम्वाङ मैले ‘फोटोसुट’को प्रस्ताव राख्दा आफूले अहिलेसम्म यसरी तस्बिर कैद नगरेको भन्दै लजाएका थिए।
तर, मलाई उनका अन्य मुभमेन्टसहितका तस्बिर आवश्यक थिए।
पहिलो पटक भेटिएका नेम्वाङलाई पुनः आग्रह गरेँ।
‘मैले त अहिलेसम्म यसरी फोटो सुट नै गरेको छैन,’ मेरो प्रस्तावमा नेम्वाङको जवाफ थियो।
उनलाई कन्भिन्स गर्दै मैले भनेको थिएँ– ‘तपाईंका तस्बिरहरू त मलाई पछिसम्म पनि चाहिन्छ।’
मैले कर गरिरहँदा शान्त देखिएका नेम्वाङले मौन स्वीकृति दिए।
लगत्तै मैले उनकै कार्यकक्ष पूरा देखिनेगरी केही तस्बिर कैद गर्न भ्याएँ। केही तस्बिर खिचेपछि उनले भनेका थिए– ‘पुग्यो होला अब त!’
उनलाई पुनः कार्यकक्षमै हिँड्न लगाएर केही तस्बिर खिचेँ।
नेम्वाङसँगको पहिलो र अन्तिम भेट त्यही नै भयो।
मंगलबार बिहान उनको निधनको खबर कानमा पर्दैगर्दा मन भारी बन्यो। गह्रौँ पाइला चाल्दै नेम्वाङको शव पछ्याउँदै त्रिवि शिक्षण अस्पतालदेखि पार्टी कार्यालय च्यासलसम्म पुगेँ।
उनको निधनपछि शीर्ष नेता र शुभेच्छुकले देखाएको आत्मीयताले मैले यसअघि उनीप्रति राखेको भरोसा अझै बलियो बनेको छ। अलविदा सुवास नेम्वाङ!
Shares
प्रतिक्रिया