ad ad

ब्लग


च्यासलमा झाँक्रीको मुहारमा देखिएको त्यो चमक

च्यासलमा झाँक्रीको मुहारमा देखिएको त्यो चमक

एमालेको चियापान कार्यक्रममा ओलीलाई फूलको गुच्छा दिँदै रामकुमारी


सरोज नेपाल
कात्तिक १५, २०८० बुधबार १८:३७, काठमाडौँ

नेकपा एमाले, त्यसमा पनि विद्यार्थी राजनीतिबाट रामकुमारी झाँक्रीको नाम अलग गर्न सकिँदैन। युवा तथा विद्रोही राजनीतिको विम्ब बनेकी उनले २ वर्षअघि एमालेमै विद्रोह गरिन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै कार्यशैलीमा प्रश्न उठाउँदै झाँक्रीले विद्रोहको बाटो रोज्ने निर्णय लिएकी थिइन्। त्यतिखेर उनीजस्तै धेरै आलोचक नेताहरूले अन्तिम समयमा एमाले नछाड्ने निर्णय लिँदा पनि विचलिन नभएकी उनले माधव नेपालको हातै समातेर निर्वाचन आयोगमा पार्टी दर्ता गराउन पुगेकी थिइन्। 

एमाले फुटाएर माधव नेपालको नेतृत्वमा गठन गरिएको नेकपा एकीकृत समाजवादीलाई गएका २ वर्षमा ओलीले पार्टीको मान्यता नै दिन तयार रहेनन्। नेपालको उपस्थिति रहने कतिपय राष्ट्रिय महत्त्वका सभा-समारोह समेत बहिष्कार गरे।

तर, यसपालि दसैँ-तिहारलगायत राष्ट्रिय चाडहरूको अवसरमा एमालेले गरेको चियापानमा एकीकृत समाजवादीका सबैजसो नेतालाई ओलीले चियापानमा निम्त्याए। माधव नेपाल चियापानमा पुगेनन्। उनी एकाबिहानै रौतहटतिर लागे।

झलनाथ खनालले च्यासलस्थित एमाले मुख्यालय पुगेर ओलीसहित एमाले नेताहरूसँग तस्बिर खिचाउन भ्याए। एमाले र समाजवादी दुवै पार्टीमा नरहे पनि राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमाले नेताहरूसँग लामै भलाकुसारी गरे।

यी कुनै पनि दृश्यभन्दा फरक देखियो, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको उपस्थिति।

च्यासलमा उनले टेक्नेबित्तिकै अनुहारमा विशेष चमक छाएको थियो। त्यसखबत झाँक्रीको अनुहारमा देखिएको चमक जति हेर्नलायक थियो, च्यासलमा उनलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरूमा देखिएको व्यग्रता कम रोचक थिएन।

नेता-कार्यकर्ताहरूले पार्टीमै भित्र्याएसरह भावभंगी प्रकट गरे। उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले विशेष सम्मान र सत्कार गरे।

झाँक्रीलाई एमाले अध्यक्ष ओलीले पनि हँसमुख भावमै स्वागत गरे । झाँक्रीले ओलीलाई पुष्पगुच्छा दिइन् तर ओलीसँग धेरैबेर बिताइनन्। बरू अष्टलक्ष्मी शाक्यसँग अँगालोमा बाँधिइन्। यो क्षण विशेषरूपमा हेर्नलायक थियो। यसबेला उनीहरू दुवै केही भावुक बनेका थिए। 

चियापानको भिडभाडमा उनीहरूले के कुरा गरे भन्नेचाहिँ सुनिएन। तर, एमालेभित्र छँदा ओलीको कार्यशैलीको विपक्षमा यी दुवै नेतृले स्पष्ट मत राखेका थिए। सँगै संघर्ष गरेका थिए। तर, अन्तिम समयमा शाक्यले पार्टी नछाड्ने निर्णय लिइन्। उनले एमाले छाडिनन् तर पार्टी राजनीतिमा धेरै सक्रिय पनि रहिनन्। गत वर्ष उनले चुनावसमेत नलड्ने निर्णय लिइन्।

उता झाँक्री पछिल्लो समय एकीकृत समाजवादीमा असन्तुष्ट सुनिन थालेकी छन्। च्यासलको चियापानमा उनको अनुहारमा देखिएको चमकले सायद केही राजनीतिक भाषा बोलिरहेको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .