ad ad

ब्लग


ओलीलाई ९ वर्षे किशोरले दिएको त्यो चिर्कटो

ओलीलाई ९ वर्षे किशोरले दिएको त्यो चिर्कटो

सीताराम बराल
मंसिर २०, २०८० बुधबार २०:५७, काठमाडौँ

मुलुकमा देखिएका संक्षिप्त समस्याहरूको संक्षिप्त वर्णनका साथ नेपालखबर सहकर्मी राधिका अधिकारीले मंगलबार (१९ मंसिर) अपरान्ह ती समस्या समाधानका उपायहरू पनि संक्षिप्त रुपमा आफ्नो फेसबुकमा पोस्ट गरेकी थिइन्। 

‘समाजमा नकारात्मक मनोविज्ञान छरपष्ट भइरहेको अवस्थामा विज्ञहरूसँग छलफल गर्नु, योजना बनाउनु, बनाएका योजना कार्यान्वयन गराउन दबाब दिनु, बन्द भएका उद्योग सञ्चालनमा ल्याउन तर्जुमा गर्नु, सम्बन्धित विषयका विभिन्न क्षेत्रमा रहेका विज्ञ समूहलाई काम गर्न उत्साहका साथ आव्हान गर्नुको सट्टा चिठीको चिर्कटो भाइरल बनाएर बालबालिकालाई सुस्त–सम्मोहनमा प्रेरित गराउनु ठीक हो?’ उनले प्रश्न गरेकी थिइन्, ‘हामी यस्तै सस्तो प्रचार–प्रसार गर्ने अवस्थामा छौँ? यो ठीक हो भन्दै उफ्रनेहरूले आउँदो पिँढीको अनुहार हेरेर बोलून्।’

मंगलबार दिनभरि म आफ्नै कामको धुनमा थिएँ। अधिकारीले उल्लेख गरेको ‘चिठीको चिर्कटो’ के हो, राति सुत्ने बेलासम्म मलाई भेउ थिएन। सुत्नै लाग्दा मोबाइलमा फेसबुक स्क्रोल गर्दै जाँदा चाल पाएँ, त्यो चिर्कटो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित रहेछ। 

आफ्नो फेसबुक एकाउन्टमार्फत् सार्वजनिक गरेको त्यो ‘चिर्कटो’ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा सुर्खेतबाट सल्यान हुँदै जाजरकोट जानेक्रममा ९ वर्षीय किशोर पौडेलले दिएको ओलीले उल्लेख गरेका छन्। 

ती किशोरले त्यो चिठी दिएको कुरामा रत्तिभर शंका छैन। चिठीमा उल्लिखित विषय पनि गम्भीर नै छ। ‘म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु’ त्यसमा लेखिएको छ। 

ओलीले फेसबुक पेजमार्फत् सार्वजनिक गरेको चिठी

ओलीको सचिवालयको फेसबुक पेज ‘बालकोट’मा झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राका क्रममा खिचिएका बग्रेल्ती तस्बिर पोस्ट गरिएका छन्। कतिपय तस्बिरमा किताब आकारकै प्रतिवेदन वा सुझावहरू ओलीलाई दिइएको देख्न सकिन्छ।  

यो टिप्पणी त्यो ‘चिठी’ ९ वर्षका किशोर पौडेलले लेखेका हुन् वा होइनन् भन्ने बहसका लागि होइन। बरु, त्यो ‘चिठी’मार्फत् प्रकट हुने नेपालका शासकहरूको मनोविज्ञान र तिनको चम्चागिरी गर्नेहरूको मनोवृत्तिको सर्सर्ती अध्ययन यस टिप्पणीको उद्देश्य हो। 

राणाहरूले देश र जनताको कति र कसरी शोषण गरेका थिए, यहाँ उल्लेख गर्नु आवश्यक छैन। तर, राणाकालीन गोरखापत्रका अंकहरू पल्टाउने हो भने त्यहाँ राणा शासकहरूका लागि ‘धर्मावतार’, ‘दुःखहरक’, ‘मुक्तिदाता’ जस्ता अनेकाअनेक विशेषण प्रयोग गरिएका पाइन्छन्।  

राणा शासकहरू जस्तो महिमा चाहन्थे, चम्चागिरी गर्नेहरूले त्यस्तै महिमा छापिदिन्थे। दुर्भाग्य हो कि यस्तो महिमागानको चाहनाको कमी राणापछिका शासकहरूमा पनि भएन। स्वार्थपूर्तिको बलियो अस्त्र ‘महिमागान’ र ‘चम्चागिरी’ हुने भएपछि यस्तो प्रवृति झन् मौलाएको छ।    
ओलीले अहिले एमालेभित्र विकास गरिरहेको संस्कृति भनेको त्यही चम्चागिरीको संस्कृति हो। 

नपत्याए हेर्नुस् त! एमाले केन्द्रीय पदाधिकारीको त्यत्रो फौज मध्यपहाडी लोकमार्गको यात्रामा छ। केन्द्रीय पदाधिकारीको त्यत्रो ठूलो डफ्फा यतिका दिनसम्म ओलीको पछुवामा सीमित छ। यसअघि तुल–ब्यानरमा छापिन तिनका तस्बिर प्रतिबन्धित थिए, अहिले यति ठूलो यात्रामा बोली प्रतिबन्धित छन्।   

यात्रामा बाँकी नेताहरूको ‘कर्तव्य’ ओलीको गाडी पछिपछि दौडनु हो। ओली सवार गाडी जहाँ रोकिन्छ, त्यहाँ रोकिएर ओलीको जयजयकार गर्ने समूहको आकार बढाइदिनु हो। ओलीले जहाँ भाषण गर्छन्, त्यहाँ ताली ठोकिदिनु हो। 

हो, यात्राका दौरान थोरैले अलिक फरक र ‘सम्मानित’ अवसर पनि पाएका छन्। बाटो छेउछाउको मन्दिरमा ओली र राधिका शाक्य प्रवेश गर्दा केहीले सँगै मन्दिर प्रवेशको अवसर र ओलीले ओढेपछि बाँकी रहेको गेरु–दोसल्ला ओढ्ने मौका र पूजारीबाट टीका लगाउने अवसर पाएका छन्। 

कतिपय केन्द्रीय पदाधिकारीहरूले अलिक रचनात्मक ढंगले भूमिका आफै खोजेका पनि छन्। ओलीलाई ‘हँ, गज्जप् रहेछ’ भन्ने फोटो खिचेर साँझपख आफ्नै फेसबुक पेजमा पोस्ट गरिदिएका छन्।   

ओलीको सचिवालयद्वारा सञ्चालित ‘बालकोट’ पेज वा कुनै केन्द्रीय पदाधिकारीका फेसबुक पेज कसैले हेर्नुभएको छ भने योभन्दा फरक दृश्य (भूमिका) तपाईंहरू कसैले कहीँकतै पाएको देख्नुहुन्छ?  

ओलीले विकास गरेको ‘सांस्कृतिक स्कुल’ले सिकाउने यस्तै चम्चागिरी कला हो। मध्यपहाडी लोकमार्ग यात्राका दौरान त्यो चम्चागिरी संस्कृतिको मूर्तरूप काठमाडौँमा बसीबसी फेसबुकबाटै मज्जासँग देख्न पाइन्छ। त्यो चम्चागिरी कहिले ओलीसँगै गेरु दोसल्ला लगाएर प्रकट भइरहेको छ, कहिले ओलीले क्यामेरा ताकिरहेको तस्बिरमार्फत्। अनि कहीँकतै यस्तै चिर्कटोमार्फत्।

डोटीको शैलेश्वरी मन्दिरमा एमाले उपाध्यक्ष विष्णु पौडेल (वायाँ) र सुरेन्द्र पाण्डे (दायाँ) का साथ अध्यक्ष ओली, १५ मंसिर
  

सार्वजनिक चिर्कटोले ओलीलाई ‘दुखहरक’का रूपमा प्रस्तुत गरेको छ र त त्यसले ओलीको फेसबुकमार्फत् सार्वजनिक हुने अवसर प्राप्त गरेको छ!

मानौँ त, ‘हाम्रा बुवाआमाले जुन विश्वास र सपनाका साथ हिजो बाम गठबन्धनलाई विश्वास गरेर मत दिएका थिए र त्यो विश्वास र सपनामाथि कसले के कारणले कुठाराघात गरेको हो?’ लेखिएको चिर्कटो त्यो भैदिएको भए यसरी सार्वजनिक हुन्थ्यो?  

झुलाघाटबाट ओली मध्यपहाडी लोकमार्ग हुँदै पूर्वतर्फ लागेको बुधबार एक हप्ता पुग्यो। यस एक हप्ताका गतिविधिले के प्रष्ट पारेको छ भने पहाडी क्षेत्रका दुःख र समस्याहरू ‘आँखोदेखा’का लागि यो यात्रा–कार्यक्रम बनेको होइन रहेछ। यसको अभीष्ट ओलीको महिमागान र चम्चागिरी विस्तारका लागि रहेछ।  

पहाडी क्षेत्रमा अनगिन्ती दुःख र समस्या छन्। निराशाको चाङ छ। भविष्यको कुनै आशारेखा छैन। र त, मानिसहरू गाउँ छाडेर शहर र विदेशतिर भासिएका छन्। 

जाजरकोटको रिम्नामा कार्यकर्ताहरूको तस्वीर खिच्दै ओली । स्रोत : शंकर पोखरेलको फेसबुक

पहाडी क्षेत्रले बेहोरेको दुःख, समस्या, हैरानीहरूको ‘आँखोदेखा’ का लागि हुन्थ्यो भने यात्रा सुरु हुनुअघि दुई उपमहासचिवको नेतृत्वमा पूर्व–पश्चिम ‘रेकी टोली’ पठाइन्थेन। ‘जे पर्छ–पर्छ, आफैले भोगेपछि वास्तविकता देखिन्छ’ भनेर यात्रा सुरु हुन्थ्यो।   

त्यसैले, ‘चिर्कटो’ त्यो आँखीझ्याल हो, जहाँबाट चियाउँदा ओलीको ‘महिमा–चाह’ र ‘चम्चागिरी–चाह’ ह्वार्ह्वार्ती प्रष्टसँग देख्न सकिन्छ।

यस्तोमा समाजमा नकारात्मक मनोविज्ञान छरपष्ट भइरहेको अवस्थामा विज्ञहरूसँग छलफल गरेको कहाँ भेट्न पाइन्छ? योजना बनाइरहेको र कार्यान्वयनका लागि दबाब दिइरहेको कहाँ देख्न पाइन्छ? बन्द भएका उद्योग सञ्चालनमा ल्याउन सम्बन्धित विषयका विभिन्न क्षेत्रमा रहेका विज्ञ समूहलाई काम गर्न उत्साहका साथ आव्हान गरिरहेको सकरात्मक कुरा कहाँ लेख्न पाइन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .