ad ad

ब्लग


११ वर्ष भो श्रीमान् बनेको, अब जीवनसाथी बन्नु छ

११ वर्ष भो श्रीमान् बनेको, अब जीवनसाथी बन्नु छ

सुरज पराजुली
माघ २७, २०८० शनिबार १४:४०, काठमाडौँ

आज कुनै काम विशेषले सडकमा पाइला चालिरहँदा अचानक रोकिएँ। या कुनै कुराले मेरो यात्रा रोकिदियो भनौँ न। विवाह गरेको १० वर्षभन्दा बढी भइसक्दा पनि मैले यो कुरा किन ख्याल गरेको रहेनछु भन्ने कुराले मन खान थाल्यो। वास्तवमा श्रीमतीजीले मलाई ‘तपाईँ’ भन्ने रहेछिन्। मेरा कानमा ‘तपाईँ’ शब्द लगातार बजिरह्यो।

भ्यालेन्टाइन सप्ताहमै यो कुरा याद आउनुले थप पोल्यो। अहो! यत्रो वर्ष श्रीमतीजीले मलाई ‘तपाईँ’ भनिरहेकी रहेछिन्। किन मैले ध्यान दिएको रहेनछु? सम्बन्ध सुमधुर बनाउन साना-साना कुराले निकै ठूलो भूमिका खेल्छन्। यस्तो कुराले पहिल्यै मेरो दिमाग किन खराब गरेन?

मैले बदलामा उनलाई तिमी र कहिलेकाहीँ ठाकठुक पर्दा ‘तँ’सम्म भनी भ्याउँदो रहेछु। मनमा उनीप्रति कृतज्ञता र सम्मान त पलायो नै आफूलाई समेत केलाएर हेर्ने जाँगर चल्यो। आखिर मैले ‘तपाईँ’ हुनुपर्ने जस्तो के नै गरेको छु? सम्बन्धमा कस्तो योगदान दिएको छु, कति पटक उनलाई प्रेम दर्साउन खोजेँ या उनलाई विशेष महसुस गराउन सकेँ? यी कुराले छटपटी अझ बढायो।

के म उनको जिन्दगीको मालिक हो? कोही कसैको जीवनको मालिक कसरी हुनसक्छ। या आफूलाई कसरी मालिक सोच्न सक्छ। कसैले आफूलाई के ठानेपछि मालिक्याइँ देखाउन सक्छ। किन घरको चार भित्ताबाहिर पनि उनको संसार छ भन्ने कुरा मेरो दिमागले सोचेन? मैले उनीसँग प्रेमिल जीवन बिताउन सक्छु भनेरै होला हामी जीवनसाथी भएको। तर, मैले आफ्नो कर्तव्य पूरा नगरेपछि पनि हामी जीवनसाथी नै रहिरह्यौँ र?

अचेल सोच्छु उनको सिउँदोमा राखेको सिँदुर नभएर औँठा छाप त होइन? हातमा मैले पहिर्‍याएको चुरा हो कि हतकडी? गलाको पोते फन्दा जस्तो किन लाग्छ? कतै मैले उनलाई दासजस्तो जीवन दिइरहेको त छैन?

म आफ्ना सपना पूरा गर्न हिँडिरहँदा उनका सपनाको ख्याल मलाई आएन। बाहिरी रूपमा घरको जिम्मेवारीले मेरो काँध थिचिरहेको महसुस म स्वयम् या मेरा नजिककाले गरे तापनि उनको दैनिकी नै बन्दी बनेको कसैले देखेन। या नदेखे झैँ गरे। निश्चल प्रेमको आशमा मेरो हात समाएर मसँग जीवन कटाउन आएकी उनको समय घरभित्र कैद झैँ भयो।

यस्तै मनोवादको सिलसिला चलिरहँदा झट्ट मेरो मस्तिष्कमा केही प्रश्नहरूको सुइरोले घोच्न थाल्यो। मसँग मेरो घरमा बस्ने एउटी महिला जिउँदै छिन्? या समाजमा भएका यस्ता लाखौँ निसासिरहेका सम्बन्ध झैँ उनलाई पनि सास फेर्न सकस भएको छ होला? उनले आफ्नो निम्ति कुनै माग किन नगरेको होला? या उनले आवश्यकता बुझेर त्याग/बलिदान/स्नेह/प्रेम दिए झैँ मलाई दिनबाट केले रोक्यो?

विवाहअघिका मेरा व्यवहारमा निकै परिवर्तन आइसकेका रहेछन्। सायद विवाह भएको केही वर्षसम्म मैले प्रेमीको भूमिका निभाएँ कि? त्यसपछि म के भएँ? श्रीमान्? पुरुष? या पितृसत्तात्मक समाजको नीति नियमलाई निरन्तरता दिने एक सामान्य पक्षधर?

भ्यालेन्टाइन सप्ताहमै मेरा गतिविधिहरू फरक हुने गर्थेँ। भ्यालेन्टाइन सप्ताह आउन अघिबाटै रमणीय योजनाहरू तयार गर्थेँ। मिठास भरिएको उक्त कल्पनाले हृदय ओतपोत हुन्थ्यो। ‘रोज डे’मा रातो गुलाब, ‘प्रपोज डे’मा प्रेम जाहेर, ‘चकलेट डे’.....गर्दै सप्ताह नै प्रेम बनाउन कुनै कन्जुस्याइँ मबाट हुँदैन थियो।

भ्यालेन्टाइन बाहेकका दिनमा पनि उनको स्मरण गर्नासाथ मुटु प्रेमले भरिएर आउँथ्यो। या भनौँ कुनै बेला हाम्रो लागि हरेक दिन प्रेम दिवस हुन्थ्यो। आंशिक रूपमा यो कुराको निरन्तरता उनीबाट भइरहे तापनि मैले भुलिसकेछु। या बेवास्ता गर्न थालेछु। यस्तै बेवास्ताले उनीमा यी कुराको मोह घट्दै गएको हुनसक्छ। आखिर कतिञ्जेल कसैले प्रेम लुटाइरहन सक्छ? आफ्ना अपेक्षा र रहरको घाँटी निमोठेर उनी मसँग कसरी सास फेरिरहेकी होलिन् भन्ने कुराले मलाई एकछिन् ऐँठन नै भयो।

जन्मदिनमा राति १२ बजे उठेर प्रेम शुभकामना दिनु, उनलाई मनपर्ने/नपर्ने कुराहरूको उचित ख्याल गर्नु, उपहार/सरप्राइज दिनु लगायत धेरै कुरा छुट्दै गएछन्। अथवा म स्वार्थी हुँदै गएर यी कुराहरू छोड्दै गएँ।

धेरै जनाले श्रीमतीलाई असन्तुष्टिको पात्र बनाएर देखाउने गरेको मैले देखेको छु। त्यसको मजाक बनाएर प्रस्तुत गरेको सुनेको छु। तर कसैले पनि त्यो असन्तुष्टि कसरी पैदा भयो भन्ने कुरा सोचेनन्। त्यसमा आफू कति जिम्मेवार भन्ने कुराको लेखाजोखा गरेनन्। यसमा ती श्रीमानहरूको मात्र दोष छैन। उनीहरू हुर्किएको समाजले जसरी शिक्षित गर्‍यो त्यही अनुरूप व्यवहार देखाए। यद्यपि सुरुवात आफैँबाट गर्न सकिन्छ, आजैबाट थाल्न सकिन्छ।      

मनमा यस्तै कुराहरू खेलिरहे निरन्तर। आँखाअगाडि विवाहपछिका ११ वर्षको कोलाज आइरहे। आत्मग्लानिले हृदयमा भतभती आगो लागे झैँ भयो। थाहै नपाई म ढुङ्गा भइसकेको रहेछु। अब पग्लिनुपर्छ या नरम हुन जरुरी छ। म पनि श्रीमान् बन्नु छ। उनका सपनाहरूलाई महसुस गर्नु छ। तिनलाई पूरा गर्न साथ दिनु छ। सबैभन्दा बढी प्रेमको बदलामा प्रेम दिनु छ। जीवनसाथी हुनु छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .