ad ad

ब्लग


ह्रास लेखनमा आएको हो कि अस्तित्वमा?

ह्रास लेखनमा आएको हो कि अस्तित्वमा?

बिकेश कविन
फागुन ७, २०८० सोमबार १८:१०, इटहरी

के साँच्चै ह्रास आएको हो लेखनमा? आख्यान, कविता, नाटक, निबन्ध लेखनमा?

नेपाली साहित्यिक लेखनमा मात्र ह्रास आएको हो कि समग्र वैश्विक लेखनमा? ह्रास साहित्यमा मात्र कि साहित्यइतरको लेखनमा पनि आएको हो?

अनि ह्रास लेखनमा मात्र आएको हो कि अन्य क्षेत्रमा पनि? अर्थमा? राजनीतिमा? कलामा? मनोरञ्जनमा? प्रशासनमा? प्रकृतिमा? चेतमा? अवधारणामा? भाषामा? संस्कृतिमा? मनोविज्ञानमा? हृदय, भावना अनि संवेदनामा? कि अस्तित्वमै?

अक्सर सुनिन्छः
–लेखन पहिलेकै राम्रो थियो। अहिलेका लेखनले त न मस्तिष्कलाई छुन्छ, न हृदयलाई।

–पहिलेका कविताले सीधै मुटु अनि दिमागलाई छुन्थ्यो। अहिलेका कविता त निबन्धजस्ता भए। निबन्ध पढेको हो कि कविता, थाहै हुँदैन। पाठकले पठनको सन्तोष नै पाइरहेका छैनन्।

–विशेषतः कविता लेखन भुत्ते भयो। जबकि लेख्न पहिलेभन्दा सजिलो छ। उपकरणहरु अथाह छन्। ज्ञान आर्जनका माध्यम अथाह छन्। तथापि, पहिले लेखिने कविताका अगाडि आजका कविताको उपस्थिति लाजमर्दो छ।

–पहिले कविता अनि समग्र लेखन मोटो थियो। अहिले दुब्लाएर मर्न लाग्यो।

–हरेक दिन कविता मरिरहेको छ। साहित्य मृत्युशय्यामा छटपटाइरहेको छ।

–साहित्यले लालित्य गुमाएको छ।

–साहित्यमा रस छैन।

–साहित्यले आफ्नो धरातल गुमाएको छ। 

–ह्रास आएको छ सिंगो साहित्यमा।

ह्रास के केमा मात्र आएको छैन? या हाम्रो मगजमा आएको हो ह्रास, जसका कारण हरेक कुरामा ‘पहिले र अहिले’ भनिरहेका छौँ?

पहिले परेवा पालिन्थ्यो। अहिले फालिन्छ, भगाइन्छ अथवा मारिन्छ। पहिले बाँदरले यतिविधि दुःख दिँदैनथे। पहिले हात्तीहरु बस्तीमा देखापर्दैन थिए। अहिले बस्तीमै छिरेर विध्वंश मच्चाउँछन्। पहिले हिउँचितुवा हिमालतिरै बस्थ्यो, अहिले मधेसतिर झर्न थालेको छ। पहिले चराहरु रुखमा बस्थे, अहिले घरघरभित्र छिर्छन्, घर फोहोर बनाइदिन्छन्। सबैथोक जुठो पारिदिन्छन्।

यस्तैयस्तै गुनासा ज्यादा सुन्न पाइन्छन्।

खासमा ह्रास आएको चाहिँ कुन कुरामा हो? किन आएको हो? यो निको हुने रोग हो कि नहुने हो? रोग लागेको हो कि अन्त्य आएको हो?

लेखन पहिलेजस्तो छैन। पठन पहिलेजस्तो छैन। चिन्तन पहिलेजस्तो छैन। संवेदना पहिलेजस्तो छैन। सृष्टि र दृष्टि दुवै पहिलेजस्ता छैनन्।

एउटा लेखकसँग सबथोक छ, तथापि ऊ लेख्न सकिरहेको छैन। पाठकसँग पुस्तक, समय र पठनको मनस्थिति पनि त, तथापि ऊ पढ्न सकिरहेको छैन। कोही बाँच्न चाहन्छ, उसँग सबैकुरा छ, इच्छाशक्ति छ, तथापि ऊ बाँचिरहेको छैन।

यो ह्रास हो कि अरु नै कुरा?

अक्सर दोष खेप्ने अर्को चिज हो सामाजिक सञ्जाल। कोही किन बिग्रियो? कोही किन भड्कियो? कोही किन मात्तियो? कोही किन पढ्दैन? कोही किन लेख्दैन? किन गहिराइ, स्तर र सौन्दर्य छैन? किन जीवन छैन? किन रङ छैन? सबैको कारण एउटै सुनिन्छ, सामाजिक सञ्जालको असामाजिक उपस्थिति? तर, यत्रो चिज जुन यही सामाजिक सञ्जालले मान्छेलाई दिएको छ, त्यसको मूल्यांकन चाहिँ खोई?

जीवन पहिलेभन्दा जटिल बनेको छ। समस्या पहिलेभन्दा बढ्दै गएका छन्। पहिलेभन्दा अहिले यो पृथ्वीको जीवन क्षमतामै ह्रास आउँदै गएको छ। ह्रास सबै कुरामा छ। हृदयदेखि मस्तिष्कसम्म, लेखनदेखि पठनसम्म, हावादेखि पानीसम्म अनि माटोदेखि जीवनसम्म।

वास्तवमा ह्रास लेखनमा आएको हो कि अस्तित्वमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .