ad ad

ब्लग


यौन शब्द सुन्नासाथ किन झस्केको?

यौन शब्द सुन्नासाथ किन झस्केको?

सुरज पराजुली
फागुन १२, २०८० शनिबार १७:४१, काठमाडौँ

यौन भन्ने शब्द सुन्नासाथ नेपाली समाजमा हुर्किएको कुनै सामान्य मानिसको दिमागमा के-के आउला? उसको मन मस्तिष्कमा कस्तो सोचको आँधीबेहरी चल्ला? घोसे मुन्टो लगाएर लजाउला कि गाला राता पार्दै यस्तो कुरा गर्नेसँग आँखासम्म जुधाउन सक्ला? यस्ता धेरै किसिमका सवालले मेरो मनमा कहिलेकाहीँ धावा बोल्छन्।

यही लेख पढ्दै गर्दा पनि कति जनाको मनमा ‘कस्तो अश्लील लेखक रहेछ’ भन्ने भाव नपलाउला भन्न सकिन्न। आखिर यौनलाई हामीले किन यति जटिल विषय बनाएको होला?

यसले त समाजमा नकारात्मक प्रभाव पार्छ भन्ने पनि कतिलाई लाग्न सक्छ। कुनै पनि विषयको सही ज्ञान हासिल गर्नाले या सचेत हुनाले समाजमा नकारात्मक प्रभाव पर्ला? झन् यो त हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य र समाजसँग नजिक रहेको विषय हो।

यौन शिक्षाको उचित ज्ञान नभएकै कारण पनि समाजमा कतिपय मानिस हिंसाको सिकार भइरहेका छन्। यहाँ अझ विकराल के छ भने पीडितलाई म हिंसाको सिकार भइरहेको छु भन्नेसम्मको ज्ञान हुँदैन। हिंसकलाई प्रभुत्वकरण गरिनु र पीडितलाई नानाभाँती दोषारोपण गरिनु पनि यौन शिक्षासम्बन्धी सचेतनामा कमी हुनुका उदाहरण हुन्।

सर्वप्रथम त यौन शिक्षा भनेको यौन सम्पर्कसम्बन्धी ज्ञान मात्र हो भन्ने कुरा नबुझौँ। यौन रोग, हिंसा या आपसी समझदारीमा राखिएको सम्बन्ध छुट्याउन सकिने चेतना, यौनिक स्वास्थ्य लगायतका कुराहरू पनि यसैभित्र पर्छन्। यो शारीरिक मात्र होइन मानसिक स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। यस विषयमा खुलेर कुरा गर्दा यसका नकारात्मक पक्षहरूबारे पनि सचेत हुन सकिन्छ।

यहाँ विचार गर्ने कुरा के हो भने यौन शिक्षासम्बन्धी कुरा गर्नु भन्नाले अश्लील कुरा गर्नु भनिएको होइन। यसका विभिन्न पक्षबारे छलफल गरी यौन शिक्षालाई लिएर मस्तिष्कमा लागेको पर्खाल भत्काउने प्रयास गर्नु भनिएको हो।  

मलाई अझै पनि याद छ, विद्यालयमा पाठ्यक्रममै रहेको ‘यौन शिक्षा’ सम्बन्धी अध्याय पढाउन शिक्षकहरू नै धक मान्ने गर्थे। शिक्षकहरू सकेसम्म उक्त अध्याय छोडेर अन्य अध्याय पढाउन बल गर्थे। कथंकदाचित् पढाइ भइहाले पनि किशोर-किशोरीहरू लजाएर भुतुक्कै हुन्थे। उक्त कक्षा सकिएको निकै समयसम्म एक अर्कासँग आँखा जुधाउन समेत सकस मान्ने गर्थे। केही उत्ताउलो भएर हल्लाखल्ला पनि गर्थे।

तर, अवस्थालाई सम्हाल्दै शिक्षकले यससम्बन्धी सचेत गराउँदै बुझाएर पढाएको भए यसलाई हेर्ने दृष्टिकोणमा पनि बिस्तारै सुधार आउँदै जान्थ्यो कि जस्तो मलाई लाग्छ।  

विषयको संवेदनशीलता बुझेर मासिक चक्र, मैथुन, यौन व्याकुलता, विपरीत लिङ्गीप्रतिको आकर्षण आदिका बारेमा बुझाउने प्रयास गर्न सकिन्थ्यो। सुरक्षित यौन सम्बन्ध, यसका लागि उचित उमेर, अवस्था, टिनएज प्रेग्नेन्सी, प्रोर्नोग्राफी, अश्लील साहित्य, गर्भ निरोधक साधन आदि विषयमा उचित जानकारी दिन सकिन्थ्यो। किशोरावस्थामा आउने यौनिक भावनाहरूलाई यससँग सम्बन्धित ज्ञान/परामर्श दिएर, कुरा गरेर व्यवस्थापन गर्न प्रेरित गर्न सकिन्थ्यो। जसले सभ्य समाज निर्माणमा समेत टेवा पुग्ने थियो।

विद्यालयबाट नपाएको शिक्षा अभिभावकबाट पनि पाउन सकिन्थ्यो। तर, चलचित्रमा आएको ‘किसिङ सिन’, ‘कन्डमको विज्ञापन’ सँगै हेर्न नसकिने समयमा यो कुरा सम्भव हुने कुरै भएन।

यद्यपि अहिले समय परिवर्तन भएको छ। केही मात्रामा भएपनि मानिसहरू यस विषयमा कुरा गर्न थालेका छन्। केही सहरका कतिपय विद्यालयमा यस विषयको ज्ञान समेत दिन थालिएको देखिन्छ। बालबालिकालाई आफ्नो शरीरको अंगका बारेमा बुझाउन थालिएको छ। यसको संवेदनशीलता र गाम्भीर्यलाई बुझेर यस विषयसँग सम्बन्धित उचित शिक्षा प्रदान गर्ने कोसिस भइरहेको छ। तर, सबै स्थानमा यो सम्भव हुन सकेको छैन।

यस विषयमा कुरा गर्नेलाई अहिले पनि कतिपय ठाउँमा ‘छाडा’ नै भनिन्छ। या तुच्छ नै ठानिन्छ। ठूला सहरमै पनि महिनावारि हुँदा प्रयोग गरिने स्यानिटरी प्याड अझै पत्रिकामा पोको पारेर या लुकाएर दिने गरेको मैले देखेको छु। गाउँघरमा त अवस्था अझ भयावह छ। यौन शिक्षा त धेरै परको कुरा भयो, महिनावारी भएका किशोरीलाई छुट्टै राख्ने, सामान्यभन्दा फरक व्यवहार गर्ने गरिन्छ।

सयौँ वर्षअघि हामीले पवित्र मान्ने मन्दिरका टुँडालहरूमा कलात्मक ढंगले यौन क्रियाकलाप कुँदिएको छ। जसले खुलेर यस विषयमा बोलिरहेको थियो या कुरा गर्नुपर्छ है भनी सङ्केत गरिरहेको थियो भन्ने मलाई लाग्छ। तर यसबारेमा कुरा गर्नु महापाप हो भन्ने सायद हामीलाई लागिरह्यो।

हामी लजाइरह्यौँ, धक मानिरह्यौँ, यौन शिक्षालाई असामाजिक तत्त्व ठानिरह्यौँ। घर, विद्यालय, साथी कतै पनि कसैसँग पनि यस विषयमा बोलेनौँ। यस विषयमा प्रभावकारी तरिकाले बुझाउँदा मात्र पनि त्यसपछिका पुस्तामा यसको सकारात्मक तथा नकारात्मक पक्षबारे ज्ञान प्रवाह हुने थियो। यौन शिक्षा भन्नासाथ शारीरिक सम्पर्क मात्र बुझ्ने जमात कम हुने थियो। हिंसाका कुरामा समेत समाज सचेत हुने थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .