ad ad

ब्लग


‘राप्ती सल्यान’ मा घन्किएको त्यो मधुर आवाज

‘राप्ती सल्यान’ मा घन्किएको त्यो मधुर आवाज

इन्द्रबहादुर देवकोटा
फागुन १९, २०८० शनिबार १५:९, काठमाडौँ

खुसी ला'छ किन हो खोई आज
मनमा देउता झुल्कियो कोई आज।

राप्ती सल्यान..... तिम्रो माया पाए त आहा! हुन्थ्यो कल्याण।।

यो भर्खरै बीबी अनुरागी युट्युब च्यानलबाट प्रसारित राप्ती सल्यान गीति भिडिओमा सरिता के. सी. को सुरिलो आवाजमा घन्किने गीत हो। यस गीतको रचना तथा संगीत नेपाली संगीतका साधक, श्रष्टा, विशिष्ट संगीतकार, सर्जक, सुप्रसिद्ध गायक बीबी अनुरागीले गरेका छन्। गीतमा मीठो स्वरका धनी अर्का सशक्त प्रतिभा मोहन नेपालीले आवाज दिएका छन्।

साविक राप्ती अञ्चलमा पर्ने सल्यान सुन्दर जिल्ला हो। अविरल पानी बग्ने शारदा नदी, स्याउ फल्ने कुमाख लेक, मनमोहक कुभिण्डे दह, खैरावाङ भगवती मन्दिर, छायाक्षेत्र, रमणीय पहाड, तरेली परेको गरिजिउला लगायतका यहाँका प्राकृतिक, साँस्कृतिक सम्पदाले गर्दा सल्यानको सौन्दर्य मनमोहक छ। माल्नेटाको अदुवा र सल्यानी खुकुरी त प्रख्यात नै छन्।

यसै जिल्लामा छत्रेश्वरी गाउँपालिका छ। स्वस्थानी कथामा समेत उल्लेख भएको छायाक्षेत्रमा रहेको छत्रेश्वरी मन्दिरको नामबाट यस गाउँपालिकाको नाम रहेको छ। छत्रेश्वरी गाउँपालिकाको दहखोलामा जन्मिएकी प्रतिभा हुन् सरिता के. सी. बहिनी। प्राकृतिक रूपले मनोरम दहखोलाको नजिकै रहेको तीनछहारी झरनाबाट छङछङ झर्ने पानीको छहरासँग खेलिन् सरिता। छहराको कलकल पानीको मधुर स्वरसँगै स्वर मिलाइन्। छहराकै चालमा आफ्नो स्वर घुमाइन्। गाउँको छेवैको चमेरे गुफाको मीठो गुञ्जनसँग गुनगुनाइन् र लय मिलाइन्। झरनाको छङछङ र गुफाको अनुपम ध्वनिको आभाष सरिताको आवाजमा प्रतिध्वनित हुन्छ। सल्यान जिल्लाको सबैभन्दा अग्लो लेक जथाकभन्दा उच्च छ उनको स्वरको उचाइ। सल्यानी सल्लाको सुसेलीभन्दा मीठो छ उनको स्वर।

काठमाडौँको शहीद आदर्श क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् सुमधुर स्वरकी धनी सरिता। उनी सङ्घर्षशील प्रतिभा हुन्। नेपाली लोक गीत प्रेमीका लागि चर्चित कार्यक्रम जुनकिरी दोहोरी घरकी सञ्चालिका शिक्षा रसाइलीको शब्दमा भन्नुपर्दा 'भगवानले सबैलाई सबै चीज दिएको हुँदैन, एउटै व्यक्तिमा कला, गला र प्रतिभा दिएपछि उसको पनि केही न केही चीज लिएकै हुन्छ। एउटा त्यस्तो प्रतिभाकी खानी हुन् सरिता के.सी., जसलाई एउटा मानवमा हुने सबै गुण कला, गला र प्रतिभाका साथै तेजिलो दिव्य दृष्टि दिए, साटोमा भगवानले बाहिरी आँखा लिए।'

सरिता बहिनी फरक क्षमता भएकी प्रतिभा हुन्। उनी दृष्टविहिन हुन् तर उनको दिव्यदृष्टि तेजिलो छ, स्वर सुरिलो छ, मीठो छ। उनको स्वरले मन-मुटु छुन्छ, स्रोताका हृदयमा कम्पन ल्याइदिन्छ। उनका गीत पटकपटक सुन्न मन लाग्छ। शिक्षा भन्छिन्- 'पक्कै पनि उहाँको जीवन त्यति सहज त छैन तर आफ्नो प्रतिभाको कारण सारा नेपालीको ढुकढुकी बनेकी छिन्।' हुन पनि उनको स्वरका कारण लोकगीत प्रेमी स्रोताकी ढुकढुकी भएकी छिन् सरिता। मीठो स्वरकी धनी उनमा केही गर्ने धैर्य छ, आँट छ र छ दृढ इच्छाशक्ति।

सरितासँग स्वर छ, प्रतिभा छ। नेपाली गीतसंगीतमा लाग्ने जोस र जाँगर छ। अझ भनौँ, गीत संगीतमा लाग्ने तीव्र इच्छा छ। अब उनलाई आवश्यकता छ अवसर र साथ-सहयोगको। अवसर नपाएमा प्रतिभा प्रस्फुटन हुन सक्दैन। राज्यका प्रतिभालाई राज्यले नै अवसर जुटाइदिने, साथ सहयोग गर्ने हो भने विशिष्ट सिर्जना पाउन सकिन्छ। यस्ता नवप्रतिभालाई राज्य, समाज र व्यक्तिले सक्दो सहयोग गर्ने वातावरण भएमा साहित्य, कला, संस्कृतिको संरक्षण हुन जान्छ। यसबाट नै मुलुकको विशिष्ट पहिचान बन्न जान्छ र सभ्यताको संरक्षण हुन्छ।

प्रतिभालाई चिन्ने र अगाडि बढ्न हरतरहले सहयोग गर्ने बीबी अनुरागीको आँगनमा टेकेकी छिन् सरिता बहिनी, उनी संगीतको विशाल चौतारीमा पुगेकी छिन्। त्यहाँ वर-पीपलको छहारी प्राप्त भएको छ उनलाई। उनले साथ-सहयोग र आँट पाएकी छन्, उत्प्रेणा पाएकी छन् र उनी उत्साहित देखिएकी छिन्।

पछिल्लो समयमा उनको प्रतिभाले झन् माझिने र झाँगिने वातावरण पाएको छ। अब साधना गर्ने अवसर पाउने छिन्। गीत-संगीतमा खेल्ने मैदान पाउने छिन्। उनको सपना साकार हुनेछ। लोकगीतका पारखी स्रोताले उनका मीठामीठा उत्कृष्ट गीत निरन्तर सुन्न पाउने छन्। हालै बीबी अनुरागी युट्युब च्यानल र जुनकिरी रोधी घर च्यानलमा उनको मीठो स्वरयुक्त गीत गुञ्जिरहेका छन्। यसले निरन्तरता पाउनेछ र सरिता स्थापित कलाकार हुनेछिन् भन्ने आशा छ।

प्रतिभा जस्तोसुकै कठिन अवस्थामा पनि प्रस्फुटन भएरै छाड्छ। यो प्रतिभाको गुण हो। प्रतिभा भनेको ढुङ्गामा उम्रेको पीपल हो, यसले कडा ढुङ्गाको काप फोरेर पनि आफ्नो अस्तित्व देखाउँछ। यस सम्बन्धमा राष्टकवि माधव घिमिरेज्यूले लेख्नुभएको छ-

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल।।

नेपाली लोक गीतको क्षेत्रमा स्रष्टाहरूको योगदान विशिष्ट छ। लोकस्रष्टाहरूले नै लोक संगीत र परम्परालाई जीवन्त राखेका छन्। लोकले गाउने गीत लोक गीत हुन्। परापूर्वकालदेखि गाइँदै आइएका गीतलाई टपक्कै टिपेर गाउने र यसलाई संरक्षण गरी पुस्तान्तरण गर्ने, नयाँ पिँढीलाई आफ्नो कला, संस्कृति, संस्कार, प्रथा, परम्परालाई सुम्पने कार्यमा स्रष्टाको योगदान ठूलो छ। यसबाट नै हाम्रो कला, साहित्य, परम्पराको संरक्षण र सम्वर्द्धन भएको छ। यसमा अग्रज श्रष्टाले धेरै अघिदेखि योगदान गर्नुभएको छ। यो निरन्तर चलिरहेको छ।

लोकगीतको क्षेत्रमा पछिल्लो समयमा चकित पार्ने प्रतिभाहरू आएका छन्। उदाहरणका रूपमा कमला घिमिरे, पूजा देवकोटा, किसान सिजापती, सुप्रिम मल्ल ठकुरी, प्रिन्स लम्साल, विराज गन्धर्व, निर्जला गुरूङ, रिया खड्का, सञ्जिता चेपाङ, इब्सल सञ्ज्याल, विपना सिंह, अन्जु विश्वकर्मा, सरिता के. सी. लगायतलाई लिन सकिन्छ। यी यस्ता प्रतिनिधि पात्र हुन् जसले आफ्नो विशिष्ट प्रतिभाको प्रर्दशन गरेका छन्। अरू यस्ता थुप्रै प्रतिभा आएका छन्। पछिल्लो समयमा साहित्य, कला क्षेत्रमा देखापरेका नव प्रतिभाहरूले राम्रो वातावरण, प्रोत्साहन पाए भने साहित्य, कला र लोकगीतको बागडोर काँधमा लिएर यसको ख्याति सगरमाथाको शिखर झैँ उच्च बनाउने क्षमता राख्छन्।

गीत संगीतमा लागेका प्रतिभाहरूले फरक कला, संस्कृति र विविध संस्कार, परम्परालाई उजागर गरेका छन्। अग्रजलाई सम्मान गर्ने, साधना गर्ने र प्रतिभालाई निखार्न निरन्तरता दिए भने अरू भन्दा पृथक पहिचान बनाउनेछन्।

नव प्रतिभा सरिता बहिनीको बारेमा मैले लेख्नुको कारण उनको जीवन संघर्ष हो। शारीरिक रूपले फरक क्षमता भएकी बहिनीको जीवन संघर्ष कति कठिन होला भन्ने त उनले जुनकिरी दोहोरी घरमा गाएको प्रत्यक्ष दोहोरी गीतमा व्यक्त गरेको भावबाट समानुभूति गर्न सकिन्छ। उनी भन्छिन्-

आफ्ना आफ्नै सबैका छन् दु:ख
अशक्त भई जन्मिनु झन् दु:ख।।

सरिताले मन छुने गीत सिर्जना गर्छिन्। उनका गीतमा पीडा, दु:ख व्यक्त भएका हुन्छन्। उनले प्रत्यक्ष (लाइभ) गाएको दोहोरी गीत मार्मिक र मीठो छ। कर्णप्रिय स्वरका धनी गायक मोहन नेपाली र सरिताबीच भएको दोहोरी यसरी सुरू हुन्छ-   

मोहन- किन तिम्लाई के भयो चेली
          देख्दिनँ म ओभानो परेली।
          राप्ती सल्यान..... तिम्रो माया पाए त आहा! हुन्थ्यो कल्याण।।

सरिता- चारैतिर दु:खको घेरो
            छैन हेर उज्यालो मन मेरो।
            राप्ती सल्यान..... तिम्रो माया पाए त आहा! हुन्थ्यो कल्याण।।

सरिताले सिर्जना गरी गाएका केही मर्मस्पर्शी गीतका तुक्का हेरौं-

पार्ने छैन मैले मन खिन्न
माया दिनु अरू केही चाहिन्न।।

छैनन् कोई नि सुन्दिने रूँदा नि
एक्लै भ
'छु आफन्त हुँदा नि।।

आज मेरो यो गति हुन्थेन
कोईको साथ पाई मन रून्थेन।।

पक्कै एउटा लिनेछौ भार
मेरो सपना पार्नलाई साकार।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .