ad ad

ब्लग


‘तोरी थन्क्याएर आउँछु’ भन्नुहुन्थ्यो, बुवा! तपाईं कता जानुभयो?

‘तोरी थन्क्याएर आउँछु’ भन्नुहुन्थ्यो, बुवा! तपाईं कता जानुभयो?

सुमनराज घिमिरे
फागुन २३, २०८० बुधबार १०:५३, काठमाडौँ

‘बुबा, तपाईंलाई कस्तो छ?’ कामको सिलसिलामा दाङमा रहेको मैले रामेछापको बाबियाखर्कमा रहनुभएका बुबालाई हत्तपत्त फोन गरेँ। उताबाट मसिनो स्वरमा जवाफ आयो, ‘ठिक छ, अलिअलि स्वाँस्वाँ भा‘छ।’ 

मैले थपेँ, ‘बुवा, दाइ आउँदै हुनुहुन्छ, तपाईं आउनु है।’ बुबाले ‘ल’ भन्नुभयो। २०७९ साल फागुन ४ गते साँझ ६ बजेतिर बाबुछोराबीचको संक्षिप्त संवाद थियो यो। ठूल्दाजुले बुवालाई धेरै गाह्रो भयो भनेर फोन गरेपछि गाउँबाट टाढा रहेको मैले तत्काल गर्न सक्ने त्यही मोबाइल संवाद थियो। संवादले क्षणिक शीतलता दिएझैँ गरेपनि अशान्ति बढायो। धेरै बोल्न नसकेर ठूल्दाजुले फोन काटेपछि मन अति नै आत्तियो। परपरसम्मका पत्याउनै नसकिने र नहुने कुराहरुले एक्कासि मन र मस्तिष्कमा आक्रमण गर्‍यो। 

विकल्पहरुको खोजीमा लागेँ। घरमा हुनुभएका दिदी र दाइलाई फोन गरेँ। कसैले उठाउनु भएन। जता नजान परे र जुन कुरा सोच्न नपरे हुन्थ्यो भन्यो मन त्यतै मात्र जोडले जाँदै थियो। फेरि हरिश्चन्द्र दाइलाई फोन गरेँ। उहाँले उठाउनु भयो तर ‘बुवालाई झन् धेरै गाह्रो भयो भाइ गाडी पाउँछ भने चढ्’ भन्नुभयो। त्यसपछि त झन् मन अधीर भयो, बतासियो। सपना देखेजस्तो भयो। साथमा दाङ फिल्ड कार्यालयका इन्चार्ज विष्णु सर हुनुहुन्थ्यो। उहाँ खाजा खाँदै हुनुहुन्थ्यो तर मलाई के गरौँ के गरौँ भयो। मैले सबै बताएपछि विष्णु सरले खाँदै गरेको खाजा पनि छोड्नुभयो। हामी होटल हान्नियौँ। कोठामा गएर लुगाहरु प्याक गरी बाहिर निस्कियौँ। 

साँझको ७ः४५ जति भइसकेको थियो। नेपालगञ्ज र भैरहवामा रातको ९ बजेसम्मको मात्र फ्लाइट थियो तर त्यहाँ पुग्न सम्भव थिएन। त्यसपछि लमहीसम्म मोटरसाइकलमा जाने तयारी गर्दै थियौँ, तुल्सीपुरबाट आएको नाइट गाडी पाइयो। विष्णु सरले सिटको व्यवस्था गर्नुभयो। उहाँले दिएको ढाडस कोसेली बोकेर बाटो लागेँ।

गाडीबाट फेरि दाइलाई फोन गरेँ। नानीबाबु दाइले फोन उठाउनु भयो। ‘बुवालाई अस्पताल लाने तयारी गर्दै छौँ’ भन्नुभयो। अधीर मनलाई त्यो वाक्यले धीर बनायो। बुवालाई अब ठिक हुन्छ भन्ने आशा जगायो। बाहिर खुसी हुन नसके पनि मनको अन्तरकुन्तरमा कतै खुसीका मसिना धर्साहरु कोरिए। तर, त्यो क्षणभर पनि टिकेन। चन्द्रौटामा खाना खान गाडी रोकिएको मात्र के थियो, सान्दाजुले फेरि फोन गर्नुभयो। मोबाइलको घन्टी बजेपछि मनमा भयको घन्टी झन् ठूलो स्वरमा बज्यो। परिस्थितिले पनि होला, प्रत्येक फोनका घन्टीसँगै अशुभ कुराहरुको मात्र आशंका बढ्थ्यो। जे नहुनु थियो त्यही भयो। 

‘कान्छा, बुबा बित्नुभयो!’ दाइले सुनाउनुभयो। 

त्यसबेला दाइलाई बेस्सरी गाली गर्न मन लाग्यो। घ्ँवा घ्ँवा रुँदै दाइलाई भन्न मन लाग्यो, ‘दाइ के भन्नु भएको त्यस्तो! त्यस्तो कुरा गर्ने हो! नगर्नुहोस् त्यस्तो कुरा! हाम्रो भन्दा पनि मेरो बुबा भन्दै भन्न मन लाग्यो, ‘दाइ, मेरा बुबा अहिल्यै कसरी बित्नुहुन्छ? मेरो बुबा त्यति माया गर्ने कान्छो छोरालाई छोडेर अकालमै कसरी टाढिनुहुन्छ? यो हुनै सक्तैन। तपाई मलाई अत्याउँदै हुनुहुन्छ!’ 

बुवा बित्नु करिब ४५ मिनेटअघि बेलुकी ६ बजेतिर उहाँसँग भएको त्यो अन्तिम संवाद फेरि एकपटक सम्झनामा आयो। बुबासँगको अन्तिम क्षणतिरका मसिना तर मूल्यवान शब्दहरु मन र मस्तिष्कमा दोहोरिरहे। फागुन ४ गते ‘मेरा बुबा’ मलाई छोडेर धेरै टाढा जानुभयो।

तर, म थाहै नपाइ सम्हालिएछु। आकाश खसेजस्तो अनि पृथ्वी भासिएजस्तो भए पनि गाडी भित्र मैले अस्वाभाविक प्रतिक्रिया केही जनाइनँ। गाडीभित्र टनाटन मान्छे हुँदा मैले आफूलाई एक्लो महसुस गरेँ। सन्नाटा छायो। मन थामिएन, आँखा रसिलो भयो। केही छिनपछि दाजुहरुले फोन गरेर ‘गाँउलेहरु टन्नै जम्मा हुनुभयो घरमा राख्न मिल्दैन के गर्ने?’ भन्नुभयो। मैले केही भन्नै सकिनँ, किनकि ती मेरा लागि गौण विषय थियो। मुख्य विषय नै सकिएपछि गौण विषयहरुमा गलफत्ती गरेर खासै अर्थ थिएन। ‘अवस्था बुझेर गर्नुस्’ मैले त्यत्ति भनेँ। 

गाडी गुड्दै गर्दा मनले दाङ एकदमै दुर्गम मान्यो। ‘सारा विश्व एउटा सानो गाउँ’ भन्ने ग्लोबलाइजेसनको कुरा केवल गफ लाग्यो। दाङबाट रामेछाप पुग्न मलाई नेपालबाट नर्वे गएको भन्दा टाढा लाग्दै थियो। नागढुङ्गामा ट्राफिक जाम भएकोले सुरुङमार्ग माथिसम्म साथी रामबाबु खनाल लिन पुग्यो। काठमाडौँ पुग्दा बिहान ११ बज्यो। आकाश भिनाजु र कपन रामकृष्ण बुवाले गाडीको व्यवस्था मिलाउनु भएको रहेछ। त्यसपछि विकाससहित गाडी चढ्यौँ। गाडीमा न हामी कोहीसँग बोल्न सक्यौँ न रुन नै। मन भतभत पोलेको थियो, डाँको छोडेर रुन मन थियो तर सबैले सान्त्वना दिनुभयो। भित्र मन बेस्सरी रोयो। 

अपरान्ह ३ बजेतिर घर नजिकैको साउने पानी पँधेरोमा गाडी रोकियो। तल्लाघर, पल्लाघर दाइहरु हुनुहुँदो रहेछ। उहाँहरुले कपाल भिजा भन्नुभयो। मैले भिजाएँ, कपाल खौरिने काम सकिएपछि नुहाएर खल्को गरेँ। एकदमै पश्चाताप भयो छोरा हुनुको कर्तव्य पूरा गर्न पाइनँ भनेर। बुवाको अन्तिम बिदाइमा सँगै हुन पाइनँ। जिन्दगी जिउने क्रममा मैले के पाएँ अनि के गुमाएँ त्यो त मलाई थाहा छैन तर बुबाले अन्तिम सास फेर्दा चाहेर पनि उहाँसँग हुन सकिनँ। पुत्रधर्म पूरा गर्न नसकेकोमा सारै ननिको लाग्यो। एकपटक आफैले आफैलाई धिक्कारेँ। 

म छोरामध्ये कान्छो। कान्छो छोराको अभिभावकसँग बस्ने समय पनि कान्छो हुने रहेछ। बुवासँग धेरै ठाउँ घुम्न जाने रहर थियो तर त्यो रहर, रहर नै रहने भयो। मैले केही नयाँ काम गरेँ भने बुवा खुसी हुनुहुन्थ्यो। केही काम गर्दा बुवाले मलाई यसो गर भनेर सल्लाह दिनु हुन्थ्यो। डेढ वर्षअघि मैले जग्गा किनेँ भन्दा ‘मलाई देखाउँदैनस्?’ भन्नुभयो र मोटरसाइकल चढेर हेर्न जानुभएको थियो। मैले आउने दिनमा थप प्रगति गरेर परिवार अनि आफन्तसँग खुसी बाँड्दै गर्दा बुबा त्यसमा भौतिक रुपमा सामेल हुनुहुनेछैन। जिन्दगीमा यस्ता धेरै धोकोहरु धोकोमै सीमित रहने भए। 

काठमाडौँ खाल्डोका कुरा
म २०६५ साल कार्तिक २५ गते स्नातक तह अध्ययन गर्ने सिलसिलामा काठमाडौँ प्रवेश गरेको थिएँ। हामी गाउँका मानिस काठमाडौँको खाल्डोमा यस्तोसँग भाँसिदा रहेछौँ, शिक्षापछि रोजगारी, रोजगारीपछि आवास, स्वास्थ्य, पहुँच आदिका लालसाले हामी सहरमा भाँसिदै गइनेरहेछ। भाँसिदै गएपछि गाउँको स्वच्छ हावाभन्दा सहरको प्रदुषित हावा गज्जब लाग्दो रहेछ, गाउँको रोपनी जग्गाभन्दा सहरको ३ आना ४ आना जग्गा ठूलो लाग्ने रहेछ। राज्यको केन्द्रीकृत नीतिले हाम्रो सोचाइ पनि साँघुरो बनाउँदो रहेछ। 

बुवालाई गाउँप्रति अन्यन्त लगाव थियो। बुवा सिन्धुलीमा सरकारी जागिरे हुनुहुन्थ्यो तर जग्गा जमिन बाँझो हुने भएपछि त्यो जागिर छोडेर खेती किसानीमा लाग्नुभयो। बुवाले विभिन्न दुःखकष्ट आउँदा पनि एक टुक्रा जग्गा बेच्नु भएन। त्यसैले हाम्रो बुवा सच्चा किसान हुनुहुन्थ्यो। बुवा गाउँको जग्गालाई बाँझो राख्नुहुदैन भन्ने पक्षमा हुनुहुन्थ्यो तर हामी हिसाब गथ्र्यौं र नाफा नोक्सान निकाल्थ्यौँ किनकि विश्वव्यापीकरणको कारणले ज्याला, गोडमेल, जोत्ने खर्च, बाली थन्क्याउने खर्च आदि हिसाब गर्दा हामी खेती नोक्सानीमा देख्थ्यौँ। तर बुवाले जहिल्यै नाफा देख्नुहुन्थ्यो। बुवा भन्नुहुन्थ्यो भूमि जननि हो र भूमिलाई बाँझो राखे श्राप लाग्छ। मेरा दुई दाजुको घर काठमाडौँ र भक्तपुरमा थियो। बुवा काठमाडौँमै बसौँ, दुःख नगरौँ भन्दा पनि जीवनको उत्तरार्धसम्म पनि कृषिप्रतिको लगाव कहिल्यै छोड्नु भएन। 

बुवा मोदनाथ उपाध्याय घिमिरेको जन्म वि.सं. १९९९ जेष्ठको ९ गते भएको थियो। कृषक बुबाको जीवनभरको मुख्य परिचय रह्यो। हुन त गुरुकुलको शिक्षा हासिल गर्नुभएका उहाँ २०३२ सालतिर सिन्धुलीमा सरकारी सेवामा पनि हुनुहुन्थ्यो। तर, त्यसबेला आफ्नै खेतबारीको उब्जनीले खान पुग्यो भने त्यो परिवारलाई सम्पन्न मानिन्थ्यो रे! बसाहा खानु राम्रो मानिँदैनथ्यो। त्यसैले, बुवाले खेतबारी बाँझो हुन्छ भनेर २०३६ सालतिर जागिर छोड्नुभयो। त्यसपछि कृषि कर्मप्रति उहाँको खुब लगाव बस्यो।

गत मंसिरमा कामको सिलसिलामा घर गएको थिएँ। यो वर्ष बुवा अलि गल्नु भएको थियो। ‘अब म खेती गर्न सक्दिनँ, तिमीहरुले बाँझो राखे नि राख, जेसुकै गर म अब चैँ म तिमीहरुसँगै बस्छु’ भन्नुहुन्थ्यो। त्योबेला ‘बुवा अहिले सँगै जाऊँ न त काठमाडौँ’ भन्दा ‘यो तोरी थन्क्याए पछि आउँछु’ भन्नुहुन्थ्यो। 

त्यस्तै माघमा ठूलो दाजु पनि गाउँ जानु भएको थियो दाजुले जाऊँ भन्दा मान्नुभएनछ र ‘उता अलि चिसो छ, अब फागुन लागेपछि गाउँ नफर्कने गरी त्यतै बस्ने गरी आउँछु’ भन्नु भएको रहेछ। तर दैवको नियत अर्कै रहेछ। फागुनमा बुवाले हामी सबैलाई छोडेर जाने कुरा पो गर्नु भएको रहेछ। बित्ने दिन पनि बुवा गाउँतिर घुम्नु जानु भएको रहेछ। केरा पाक्ने बेला भएकोले केरा काटिदिनु भएको रहेछ। काठमाडौँ जानको आफ्नो लुगाफाटो सबै झोलामा आफै हाल्नु भएछ। 

बेलुका माइलो दाइ ६ः३० तिर घर पुगेपछि बुवाले खाना खानु भएछ र हात खुट्टा धोएर ओच्छ्यानमा जान लाग्नु भएछ। दाइ पनि बुवासँगै जानु भएछ। ओच्छ्यानमा पुगेपछि बुवालाई अढेस लाग्नको दाइले सिरानी राख्न खोज्दा उहाँले जिब्रो निकाल्नु भएछ र देह त्याग गर्नुभएछ। दैवले हामी सबैलाई झुक्यायो। त्यो दिनबाट हामी टुहुरो भयौँ।

गाउँसँगको पुनर्मिलन
संयोग भनौ बुवाको ४५ औँ दिनको मासिक गर्नको लागि गत चैतको १६ गते म गाउँ आएको थिएँ। चैतको १८ गते बुवाको ४५ औँ दिनको मासिक सम्पन्न गरेँ र चैत २१ गते जिरीको आकासद्वीप साकोसको सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सहजीकरणको लागि सिन्धुली गइयो। सोही तालिममा सहजीकरणको क्रममा रहँदा मेरो छिमेकी जिल्लामा एक्कासि सरूवा पत्र पाइयो। बुवा बितेको पीडामा थिएँ, यो पीडा केही लागेन र सोही अनुरूप म कार्यक्षेत्रमा कर्ममा होमिएँ। 

मैले १५ वर्षपछि काठमाडौँको खाल्डोबाट मुक्त हुने मौका पाएँ। दोलखा, रामेछापको हावापानी, मौसम, सौन्दर्यमा फराकिलो हुने मौका प्राप्त गरँे। बुवाले माया गरेको प्यारो ठाउँ समीप हुन पाएँ। मैले यहाँको माटो, हावापानीको सुगन्धमा बुवाको सुगन्ध पाएँ। अहिले हरेक गाउँमा घरहरु त धेरै छन् तर सहरमा शिक्षा तथा रोजगारीको लागि जाने युवा तथा गृहिणी र वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बनिरहेको छ। अहिले गाउँमा बालबालिका र ज्येष्ठ नागरिक मात्रै छन्। 

यसरी, गाउँगाउँमा कामको सिलसिलामा जाँदा मैले बुवाजस्तै हजारौ बुवाहरू पाएँ, जो मजस्ता छोराछोरीहरूले काठमाडौँ जाऊ, विदेश जाऊ, दुःख गर्नुपर्दैन भन्दा पनि विद्रोह गरेर भए पनि कृषि कर्म गरी गाउलाई हराभरा बनाउँदै हुनु हुन्थ्योे। गाउँको साख र मर्यादा तथा सौन्दर्य पनि यही पुस्ता रहेसम्म रहनेछ। त्यसपछि त गाउँ जंगल हुने निश्चितप्रायः छ। किनकि राज्यलाई युवालाई विदेश बेच्नु छ, हरेक सुख–सुविधा सहर केन्द्रित बनाउनु छ र रेमिट्यान्स भित्र्याई बेसाहा खुवाउनु छ। हरेक युवालाई सके अमेरिका, युरोप, अस्ट्रेलिया गई उतै सेटल हुनुछ भने नसके खाडी गई छिमेकी दाजुभाइदिदिबहिनी जस्तै परिवार र देश पाल्नु छ। 

हामीमा स्वाभिमान मरेको छ किनकि राज्यले उत्पादन गर्नेलाई प्रोत्साहन गर्दैन। फेरि उत्पादन गर्ने गाउँको उत्पादनले जीविकोपार्जन हुँदैन, गाउँमा टिक्नै सक्दैन। गाउँको सौन्दर्य तथा स्वाभिमान बचाउने भनेको माटोको सुगन्ध थाहा पाउने पुस्ताले हो। त्यो पुस्ता मेरो बुवाको उमेर समूहको पुस्ता मात्र नै हो। यहाँको बसाइले मैले बुवाले छोडेका महान् कार्यलाई थोरै भएपनि बुझ्न मौका पाएँ। बुवा महान् र दुरदर्शी हुनुहुन्थ्यो। मैले त मेरो बुवालाई समयमा चिन्न र बुझ्न सकिनँ र उहाँ अब यो संसारमा हुनुहुन्न पनि। तर, हजारौँ महान् बुवाहरु अझै गाउँमा हुनुहुन्छ। जो भागवत गीतामा भनिएझैँ कर्म गर फलको आश नगर भन्ने उक्तिअनुरुप आफ्ना सन्तानले सहयोग नगरे पनि आफ्नो कर्ममा निरन्तर अगाडि बढिरहनु भएको छ। बुवाआमाको स्वार्थ भनेकै आफ्नो सन्तानको खुसी हो। तैपनि हामी हाम्रो खुसीको कामना गर्दै बस्ने अभिभावकलाई आफ्नो खुसीमा सामेलसम्म गर्न सक्दैनौँ।

बाँचुञ्जेल इमान्दार, निष्ठावान, लगनशील अनि स्वाभिमानी रहनुभएका बुवाले तयार पारेको पृष्ठभूमिमा उभिएर बाँच्न पाउँदा गर्व लाग्छ। उहाँको कर्मले अहिले पनि छाती उँचो पारेको छ। तर, अब छोराहरुसँगै काठमाडौँ बस्ने भनेर भन्ने बुबा एक्कासि झन् हामीबाट कहिल्यै नफर्किने गरी टाढा जानुभएकोमा भने असह्य पीडा भएको छ। बुबाप्रति श्रद्धासुमन अर्पण गर्न मानसपटलका स्मृतिभाव खोतल्दै गर्दा आँसु थामिँदैनन्। अनि, घ्वाँघ्वाँ गर्दै भन्न मन लाग्छ, ‘बुबा तपाईं किन यति छिटै हामीबाट टाढिनुभयो?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .