सुनसान रात, काठमाडौँको कोलाहलयुक्त वातावरण पनि शान्त भइरहेको छ। नहोस् पनि कसरी, आखिर मध्यरात न हो। मध्यरात भए पनि त्यसबेलासम्म मेरो निद्रा आएको थिएन। रात छिप्पिँदै थियो। आकाशमा जुन देखिँदै थियो। बीचबीचमा टोलमा एकनास भुकेका कुकुरको आवाज कानमा ठोकिइरहेको थियो। भित्ताको घडीले रातको संकेत गरिरहँदा तिमी उड्ने समयको प्रतीक्षामा थिएँ म।
न तिमीलाई नजाऊ भन्न सक्थेँ न त तिम्रो बिदाइमा फूलमाला लिएर आउन नै सक्थेँ। समय थियो त केवल तिमीलाई बोकेर उडेको जहाजको दृश्य हेर्ने र आवाज सुन्ने। मध्यरातमा काठमाडौँको आकाश गुन्जिँदै ठूलो जहाजले फन्को मार्न लाग्यो। जुरुक्क उठेर छतमा पुगेँ अनि जहाजको बत्ती देखुन्जेल एकोहोरो हेरिरहेँ, तिमीलाई बोकेर उडेको जहाज हो भनेर।
जहाजले जमिन छोडेर उचाइ लिँदै गयो। यता मेरा आँखाको डिलसम्म आएको आँसुलाई भित्रै दबाउँदै एकोहोरो आकाशतिर हेरिरहेथेँ। घरको छतबाट सिरिरी बग्दै गएको मन्द हावा, चम्किरहेका जुनतारा, स्वयम्भूको डाँडामा चम्किरहेको बत्तीबीच मेरा आँखाको क्षमताले भ्याएसम्म जहाज नियालिरहेँ।
बत्ती मधुरो हुँदै गयो, सायद जहाजले धेरै उचाइ र दूरी पार गर्यो होला। त्यो जहाजले तिमीलाई गन्तब्यसम्म पुर्याउन हजारौँ माइल पार गर्ने छ। अनि मेरो तिमीसँग भेटहुने दिन, महिना पनि त धेरै नै छन् होला। होला, किनकि मैले यहाँ फेरि पनि तिमीसँग भेट हुने प्रतीक्षा त गर्ने हो। न भनेको बेला तिमी आउन सक्ने, न मैले चाहेर तिमीसम्म पुग्न सक्ने, भूगोलले हामीलाई भौतिक रूपमा टाढा पुर्यायो। भौतिक रूपमा पो टाढा पुर्यायो, भावनात्मक रूपमा त टाढा पुर्याउने कुनै तत्व छैन हामी बीचमा।
आखिर न देखिने न त चटक्कै बिर्सिने, यही दोभानमा त थियौँ हामी। भन्छन् नि दुई किनारको सम्बन्ध न नजिक न टाढा। जहाज नजरबाट टाढा भए पनि तिमी घुमिरह्यौ आँखा वरिपरि र घुमिरन्छन् जीवनपर्यन्त।
सम्बन्धले २ दशक पार गर्दा पनि अझै सोचिरहेछु, आखिर किन भेट भयो होला अनि किन भेटिइरहन्छौँ हामी? कति देश विदेशका यात्रा हाम्रा सँगसँगै भए, तर ती समुन्द्र किनारका हाम्रा तस्बिर न सामाजिक सञ्जालमा सजिए न घरको भित्तामा, सजिए त केवल हाम्रो मनको भित्तामा, जुन कहिल्यै डिलिट हुने छैन अनि हराउने, नासिने छैन। हामीले सँगै यात्रा गरेका स्वदेशका अनि विदेशका सडक, ताल अनि समुन्द्र किनार, यी सबै निर्जीव वस्तु साक्षी छन् हाम्रो सम्बन्धमा।
ती यति इमान्दार छन् कि तिनले कहिल्यै यो समाजले जस्तो चियो चर्चो गरेनन्। अनि आँखा तन्काई तन्काई नेपथ्यबाट पनि चिहाएनन्। तिनले ओहो यिनीहरू सँगै भनेर सानो मन र छोटो सोचाइ पनि गर्ने छैनन्। केवल साक्षी बस्छन् हाम्रो घुमफिरको अनि साथ दिने छन् हाम्रा हिडाइँको। आखिर भेटिनु र छुट्टिनु जीवनचक्र हो। यही भेटघाट, छुटाइ, प्रतीक्षा, माया, सम्झना आदि–आदिको चक्रमा त अडिएको छ जीवन। देखिएर पनि आत्मीय नबनेका सम्बन्ध, नदेखिएर पनि प्रगाढ रहेका भावना आदि–आदि जिन्दगीका रंगमञ्चमा मञ्चन भइरहन्छन्। जसबाट हामी पनि त अलग हुन सकेनौँ।
दिन, महिना, वर्ष गर्दै धेरै समय बितेछ, उमेर ढल्किएछ। सोच फराकिलो भयो। तर हाम्रो सम्बन्ध बदलिएन, न त यो बदलिन पर्ने नै छ। आखिरी यो भौतिक शरीर रहेसम्म त्यसलाई बदल्नुपर्ने पनि त होइन। पाएको के, गुमाएको के, सोचाइ के, भोगाइ के, त्यो सबै मेल खाने कुनै संयन्त्रकको विकास नहुँदै त यस्ता कथाको हरफहरू कोरिने हुन्। नत्र त किन यी भावना पोखिन्थे? न कुनै शब्द नै खर्च हुन्थे। भौतिक सुख, धन, पैसा, रूप आदिले नछोएको हाम्रो सम्बन्धका २ दशक यही सम्झना र मिठा पलहरू त छन् मनभरि।
समय, परिस्थिति सबै आफ्नो पकडमा हुन्न, हुने भएको भए त किन यी कुरा शब्दमा वर्णन गर्नुपर्थ्यो र! त्यही भएर त नदेखिएका सम्बन्ध पनि गाढा हुन्छन्। त्यही नदेखिएको सम्बन्धले त मलाई आकाशमा तिमीलाई बोकेको जहाज हेर्ने बाध्यता पर्यो। नत्र त बिदाइको क्षणमा तिमीलाई फूलमालाले सजाएर कसिलो अङ्गालोमा बेर्दै शुभयात्रा भन्न मन नभएको त कहाँ हो र? तर न साइनो, न बोलाउने नाम, न आउने बहाना। बन्धनले बाँधेपछि जहाज हेर्नुको विकल्प पनि त भएन।
जहाजले तिमीलाई गन्तव्यमा पुर्यायो। यता मेरो मन चाहिँ धागो चुँडिएको चङ्गाजस्तै बेतरतिब उड्न थाल्यो। आत्मीय दूरी कम भए पनि भूगोलको दूरीले अब ती पहिले जस्तै हाम्रो भेट त कसरी होला र? मनले यस्तो सोच्यो– अब सहर सुनसान भयो। तिमीसँगको सामीप्य टुट्यो, सहरको कोलाहलमा केही हराएको, केही छुटेको, केही फेला नपरेको रित्तो रित्तो पो हुनथाल्यो। जहाँ हामी खाजा खाने र पिउने बहानामा घण्टौँ गफिएका थियौँ, जिन्दगीका थुप्रै भोगाइ अनि सुखदुःख साटासाट गरेका थियौँ।
कथा उही व्यथा उही, हाम्रा सोच उस्तै तर हामी सामु खडा भएका ठूला पर्खालले एक हुन नदिएको हाम्रो सम्बन्ध आदि–आदिका तितामिठा कुराले हामी कहिले विगत सम्झिएर भावुक भयौँ, कहिले त्यही चिज बिर्साउन मस्त हास्यौँ। कहिले सँगै बोतल रित्यायौँ अनि फेरि माया त माया हो नि भन्दै विदेशका सडकमा हात समाएर निस्फिक्री घुमेका थियौँ।
हात समाएर निस्फिक्री घुम्न पनि त यहाँ कहाँ सजिलो छ र? दुनियाँका अनेक नजर, शंका। त्यही भएर त हामी घुम्दा कति आनन्दित र रोमाञ्चित हुन्थ्यौँ। अंगालोमा बेरिएर हामीले संसार भूलेका थियौँ। त्यो स्पर्श आत्मीय थियो अनि निस्वार्थ थियो। त्यही निस्वार्थ र यथार्थको धरातलमा टेकेर हिँडेका कारण त हाम्रो सम्बन्ध पनि चट्टानजस्तै मजबुत थियो नि। अब फेरी पनि जाने छु, ती सहरका ती ठाउँ, जहाँ हामी घण्टौँ गफिएका थियौँ, कहिले निलो आकाश हेर्दै त कहिले सिमसिम पानीमा भिज्दै। तर ती टेबल, कुर्सी रित्ता हुनेछन्। तिनले पनि भन्दा हुन्– खोइ त तिम्रो मान्छे आज त एक्लै छौ नि?
हो एक्लै छु यो सहरमा। त्यसैले त टेबलमा त्यही साथी छ मेरो, जसले मलाई मात चढाउँछ र पीडामा मलमपट्टीको क्षणिक आनन्द दिन्छ। त्यही क्षणिकतामा पनि तिमीलाई खोज्छु अनि डुबुल्की मार्छु, त्यही प्रिय संसारमा अनि कल्पिन्छु, मध्यरातमा जब तिमीलाई बोकेर ठूलो जहाज उडेथ्यो र छतमा पुगेर परेली भिजाउँदै परसम्म त्यही जहाजलाई हेरिरहेथेँ, फेरि अनि त्यस्तै जहाज तिमीलाई बोकेर आउँछ एकदिन भनेर।
त्यही प्रतीक्षामा छु, त्यो जहाजले तिमीलाई फेरि बोकेर आउनेछ अनि हाम्रा गन्तव्य उज्यालिने छन्। र, त्यहाँका टेबल, कुर्सीले पनि भन्नेछन् आज त उज्यालो छ। सहर उज्यालो देखिने छ, जहाँ मन रमाउने छ। आखिर जिन्दगीको गोरेटो यस्तै पर्दापछाडि रहेर त कटाउनु छ अनि अन्तिम सास रहेसम्म तिम्रो वरिपरि यो मनलाई घुमाइरहने छु, होइन र सानु!
(लेखक सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी हुन्)
Shares

प्रतिक्रिया