ब्लग


दसैँमा घर आउन नसक्ने भएँ भन्दा ९० वर्ष कट्नु भएका बुबा बोल्नु भएन

दसैँमा घर आउन नसक्ने भएँ भन्दा ९० वर्ष कट्नु भएका बुबा बोल्नु भएन

हरिकुमार श्रेष्ठ पूर्वराजदूत हुन्


हरिकुमार श्रेष्ठ
असोज २३, २०८१ बुधबार १३:५६, काठमाडौँ

यसपालिको दसैँको मुखमा मैले आफूलाई नितान्त एक्लो र असहाय महसुस गरेँ। यस्तो लाग्थ्यो- दसैँका बेला सहरको भीडभाड र कोलाहलमा म नितान्त एक्लो अनि असहाय छु। त्यस्तो कहिल्यै भएको थिएन। त्यो अकारण पनि भएको थिएन।

दसैँमा घर नगएको धेरै वर्ष भएको थियो। यसपालि जसरी भए पनि जान्छु भन्ने मुड बनाएको थिएँ। ९० वर्ष उमेर कट्नु भएका वृद्ध बुबाको हातबाट टीका थाप्ने रहर थियो। त्यो रहर एकाएक त्यसै सेलाएर जाने भयो। दसैँको संघारमा आएको भीषण बाढीपहिरोका कारण जनधनमा भएको अकल्पनीय क्षति र राजमार्ग ठाउँठाउँमा भत्किएकाले यात्रा गर्ने उमंग आएन। 

त्यसै मन मारेर बसेको थिएँ अनि केही सीप नलागेर अस्ति बुबालाई फोन गरेर भनेँ, ‘बुबा! यस वर्ष पनि म दसैँमा घर आउन नसक्ने भएँ। बाटोघाटोको अवस्था यस्तो छ, त्यसमाथि बसमा लामो समयसम्म बस्दा घुँडा करकर दुखेर हैरान हुन्छ। त्यसैले परिवारमा जो जहाँ छन्, त्यहीँ नै दसैँ मनाउने हो।’

बुबा बोल्नु भएन। 

हुन पनि जसरी हिजोआज धेरै नेपालीका परिवार देशविदेशमा छरिएका अवस्थामा छन्, हाम्रो हालत पनि त्यस्तै छ। हुर्केबढेका छोराछोरी विदेशतिर, नातिनातिना उतैतिर। यता नेपालमा बूढाबूढी मात्र। केटाकेटी नभएको घरमा दसैँको के उल्लास आउथ्यो! 

त्यसो भनिरहँदा मलाई आफ्नै बाल्यकालको सम्झना झल्झली आयो। ‘दसैँ आयो, खाउँला पिउँला’को उखान हामी केटाकेटीका लागि अझ बढी सार्थक हुन्थ्यो। केटाकेटीले नयाँ लुगा लाउन पाउने भनेकै दसैँ हुन्थ्यो, पिङ खेल्ने अनि रमाएर मामाघरमा टीका लाउन जाने पनि दसैँमा नै। 

अब दसैँमा त्यस्तो रौनक रहेन। त्यसैले पनि दसैँमा घर जान पहिला-पहिलाजस्तो मरिहत्ते गर्न मन लाग्दैन। कुनै समय थियो- दसैँमा घर जान पाइएन भने वर्षभरिनै शून्य लाग्थ्यो। सानो उमेरमा बन्दीपुर पढ्न बसेका बेला दसैँको बिदामा जसरी भए पनि म घर गएकै हुन्थेँ। त्यतिखेर मर्स्याङ्दी नदीमा झोलुंगे पुल थिएन। सतीघाट र खोलाघाटमा बोटेहरूले वर्षात्‌को अन्त्यको मर्स्याङ्दीको भेलमा जोखिम मोलेर डुंगा चलाउँथे।

नदीको उर्लेको छालले अनुहार, लुगा सबै भिज्थ्यो। त्यसरी ज्यान हत्केलामा राखेर दसैँको बिदामा म घर पुग्थेँ। घरको आँगनमा पुग्नेबित्तिकै ती दु:ख तत्कालै बिर्सन्थेँ। किनकि घरमा दसैँको आगमनको खुसी यत्रतत्र फैलिएको हुन्थ्यो। बारीको डिलमा सयपत्री र मखमली फूल ढकमक्क फुलेका हुन्थे। घर रातो र सेतो माटोले टिलिक्क टल्किएको हुन्थ्यो। हामी केटकेटीका लागि भनेर बुबाले घरको आँगनमनै पिङ हालिदिनुहुन्थ्यो। तब न दसैँ आएजस्तो हुन्थ्यो।

स्कुल सकेर कलेज पढ्न काठमाडौँ आएपछिका वर्षमा पनि दसैँमा घर जान कहिल्यै छुटेन। त्यतिखेर पनि पृथ्वी राजमार्गमा ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भइरहन्थ्यो। कृष्णभीरको पहिरो भन्ने त प्रख्यात् नै थियो। एक वर्ष त्यस्तै पहिरोमा परेर गजुरीदेखि मुग्लिनसम्म झन्डै ४० किलोमिटर बाटो हन्डर खाँदै यात्रा गरेको अनुभव छ। त्यतिबेला सडकको स्थिति थाहा पाउन अहिलेजस्तो मोबाइल फोन थिएन। अनि ठाउँठाउँमा पहिरो फाल्न डोजर, एक्साभेटर पनि हुन्थेनन्। स्थानीय श्रमिक र यात्रु स्वयंको सहयोगमा पहिरो पन्छाउने काम हुन्थ्यो। त्यसरी कुकुरले नपाएको दुःख पाएर रातबिरात घर पुगेको मेरो अनुभव छ। त्यो दु:ख पनि घर पुग्नासाथ सजिलै बिर्सिइन्थ्यो, किनकि दसैँको आगमनले अर्कै पुनर्ताजगी गराउँथ्यो। 

समय बदलियो, परिस्थिति बदलियो, मैले पनि सरकारी जागिर सुरु गरेँ। तै लालाबाला लिएर दसैँमा घर जान कहिल्यै छुटाइनँ। नयाँ लुगा, जुत्ता लाएर घर जान पाएपछि केटाकेटी त्यसै मक्ख, भलै एक महिनाको दसैँ पेस्कीले दसैँ धान्न मजस्ता जागिरेलाई कति धौधौ हुन्थ्यो भन्ने त भुक्तभोगीलाई मात्र थाहा छ।

तर जस्तोसुकै कष्ट खप्न परे पनि ती सबै कुरा घर पुग्नेबित्तिकै बिर्सिहाल्थेँ, किनकि त्यहाँ मायाले संसार ढाक्ने बुबाआमा हुनुहुन्थ्यो। उहाँहरूका हातबाट टीका-जमरा लाउन पाउँदा, आशीर्वाद थाप्न पाउँदा अनि आमाले पकाउनुभएको तात्तातो सेलरोटी खान पाउँदा आफूजस्तो भाग्यमानी कोही छैन जस्तो लाग्थ्यो। भाइबहिनी र आमालाई मैले काठमाडौँबाट लगेका लुगाकपडा र ससाना उपहार थमाउन पाउँदा म आफूलाई धन्य सम्झन्थेँ। 

समयक्रमसँगै ती दिन बिस्तारै ओझेलमा पर्न थाले। परराष्ट्रमा प्रवेश गरेपछि कति वर्ष त हामीले विदेशमै दसैँ मनायौँ। तर घरको सम्झनाले कहिल्यै छाडेन। दसैँको टीकाको दिन निधार रित्तो हुँदा बुबाआमाको यादले सताउँथ्यो। अनायासै निधार छाम्न पुग्थेँ। आमाले निधारभरि टीका अनि कानमा जमरा लगाइदिएर आशीर्वाद दिनुभएजस्तो लाग्थ्यो। अनि तात्तातो सेलरोटी र काँक्रोको अचार थालमा राखिदिनुभएजस्तो लाग्थ्यो। हुन त त्यो मेरो कल्पना हुने गर्थ्यो। तर लन्डनको पोस्टिङमा भने त्यो यथार्थ हुन पुगेको थियो।

त्यहाँ छँदा एक सालको दसैँमा आमा हामीसँगै हुनुहुन्थ्यो। जसरी घरमा छँदा जमरा राख्नुहुन्थ्यो लन्डनको हाम्रो अपार्टमेन्टमा पनि त्यसरी नै जमरा उमार्नु भयो। अनि जसरी नेपालमा छँदा डालाभरि सेलरोटी पार्नुहुन्थ्यो त्यसरी नै त्यहाँ पनि किस्तीभरि सेल फिँजाउनु भयो। त्यसबेला हामीलाई बल्ल दसैँ आयोजस्तो भयो। 

अहिले त्यसरी दसैँ आउन हाम्रासामु आमा हुनुहुन्न। पहिलेजस्तो घरमा सेल पाक्दैन, घर रातो माटो र कमेरोले पनि लिपिँदैन। त्यसैले मलाई दसैँ आएजस्तै लाग्दैन। त्यसैले पनि होला- दसैँका बेला मलाई घर जाने त्यति तलतल लाग्दैन। त्यही भएर फोनमा बुबासामु थोरै बहानाबाजी गरेको थिएँ।

त्यसो त दसैँका बेला घर छाड्न नपाइने अरू व्यावहारिक कारण पनि थिए। दसैँको संघारमा राजधानीमा चोरी, डकैती तथा लुटपाटका घटना हुन्छन्। केही दिनअघि मात्र मेरो घरअगाडिको छिमेकीको घरमा सुतेकै ठाँउबाट उनका छोराले विदेशबाट पठाएको महँगो आइफोन, घडी र श्रीमतीले किस्ताबन्दीमा भर्खर किनेको नयाँ स्यामसङ मोबाइल फोन चोरी भयो। चोरले बैंकको एटीएम कार्ड र चेकबुकसम्म बाँकी राखेनछ। त्यस्तो अवस्थामा ढोका ढ्यामढुम पारेर दसैँमा घर जानु भनेको चोर पल्काउनुजस्तै हुन्थ्यो। त्यसैले पनि हामी बूढाबूढीले नीच मारेर कतै नगई घरमा नै कोक्रिएर बस्ने निधो गऱ्यौँं। 

त्यहाँसम्म त ठिकै थियो। तर दसैँको मुखमा दाँतमा ढुंगा लागेजस्तो एउटा सानो घटनाले मैले आफूलाई नितान्त एक्लो र असहाय महसुस गरेँ। दसैँको मुखमा मेरो इन्टरनेट, वाइफाई एकाएक बन्द भयो। जागिरबाट अवकाशपछिका फुर्सदिला दिनमा म त्यसमै रमाउने गरेको थिएँ। फेसबुक, ट्विटरमा हल्काफुल्का टिप्पणी गर्नु अनि साथीभाइसँग रमाइलो छेडखानी गर्ने त बानी नै परेको थियो। त्यो सम्बन्धको धागो एकाएक चुँडियो। म दसैँमा चुँडिएको चंगाजस्तै हुन पुगेँ।

म ग्राहक बनेको नेपाल टेलिकमको एनटी फाइबर नेटले वर्षदिनजस्तो राम्रै सेवा दिइरहेको थियो। त्यसलाई पनि दसैँको मुखमै बिग्रन पर्ने! लाइनको गडबडी होला भनेर एक/दुई दिन चुप लागेर बसेँ। तर वाइफाई चलेन। केही सीप नलगेर १९८ मा फोन हानेँ। त्यहाँ पनि सजिलैसँग के लाग्थ्यो र! मजस्तै ग्राहक कम्प्लेन दर्ज गर्न आफ्नो पालो कुरिबसेका थिए। बल्लतल्ल एउटी महिला कर्मचारीले फोन उठाइन्। उनी सहयोगी स्वभावकी रहिछन्।

आफ्नो समस्या बताएपछि उनले सिस्टममा चेक गरिन् र भनिन्- तपाईंको राउटरमा समस्या छ। म कम्प्लेन लिस्टमा राखिदिन्छु, हाम्रो प्राविधिक आएर हेर्छन्।

मैले उनको सहयोगका लागि भित्री मनदेखिनै धन्यवाद भनेँ। साथमा दसैँको शुभकामना भन्न पनि छुटाइनँ। त्यतिबेला मैले नारायण गोपालले गाएको कालजयी गीत ‘एउटा मान्छेको मायाले कति फरक पार्छ जिन्दगीमा’ सम्झेँ।

नभन्दै त्यसै दिन दिउँसोतिर एकजना प्राविधिकले फोन गरे, जुन मैले अपेक्षा गरेको थिइनँ। नेपाल टेलिकमको फाइबर सेवा निजी क्षेत्रलाई आउटसोर्सिङ गरेको फलदायी नतिजा थियो त्यो। दूरसञ्चारको हालत त हामीले पहिल्यै देखेका थियौँ। एउटा ल्यान्डलाइन जोड्न पनि मलाई सरकारी कोटाको शरण लिनुपरेको थियो। सरकारी क्षेत्रले व्यापार गरेर खाँदैन भन्ने हामीलाई पहिल्यै थाहा थियो। निजी क्षेत्रसँग हातेमालो गरेर नेपाल टेलिकमको सेवामा सुधार आएको रहेछ। अब भने मेरो बिग्रेको वाइफाई बन्नेमा हामी थोरै आशावादी भयौँ।

सोही दिन अपराह्न दुईजना प्राविधिक सोध्दै खोज्दै हाम्रो गल्लीको घर आइपुगेँ। उनीहरूको आगमनले मात्र पनि घरमा दसैँ आएजस्तो भान भयो। ती प्राविधिकले राउटर परिक्षण गरेपछि पक्का भयो- गडबडी त्यही रहेछ, लाइनमा केही समस्या थिएन। दुईजनामध्ये एकजना अलि टर्रा खालका रहेछन्, उनले भने, ‘तपाईंको राउटरमा समस्या छ। यो लिएर नेपाल टेलिकमको छाउनी अफिस जानुहोला। फेर्नुपर्ने वा बनाउने उनीहरूले त्यहीँ भन्छन्।’

उनको शब्दले मलाई दसैँको मुखमा फेरी बाढीपहिरो आएजस्तो भयो। 

मैले सम्हालिँदै भनेँ : हेर्नुस् दसैँको मुखमा म कहाँमात्र धाउनु? अर्को कुरा, मेरो साधन पनि छैन। पेन्सनवाला कर्मचारी हुँ। त्यसमाथि टेलिकमले ग्राहकलाई सेवा सुलभ गर्नुपर्नेमा तपाईंहरूले त्यसो भन्न मिल्दैन। त्यसो हो भने तपाईंको सेवा आफैँ लिनुस्, मलाई चाहिएन।

मेरा कुराले उनीहरू अलि हच्किए।

तर उनीहरूले आफ्नो अड्डी छाडेनन्। भाँजो हाल्दै भने, ‘यति धेरै कम्प्लेनको लिस्ट छ। कति ठाउँमा पुग्नु छ। तपाईंको राउटर बोकेर हिँड्न हामीलाई फुर्सद छैन।’

उनीहररू नगलेपछि गल्ने पालो मेरो थियो। अविरल वर्षाले गलेको रातो माटोजस्तै गलेको स्वरमा मैले भनेँ, ‘भैगो नि त! राउटर लिएर जानुस्, बरु एकदुई दिन म वाइफाई नचलाएरै बसौँला, मोबाइल डाटाबाटै काम चलाउँला, हुन्न?’

म गलेको देखेर अर्का प्राविधिकको मन अलि पग्लिएछ क्यारे, उनले नेपाल टेलिकममा फोन घुमाएर यस्तो भनेको सुनेँ :

‘यहाँ घरमा बूढाबूढी बुबाआमा मात्र हुनुहुँदो रहेछ। उहाँलाई राउटर बोकेर अफिस आउन झन्झट हुने देखियो। भोलिसम्म बनाएर ल्याइदिए हुन्छ भन्नुहुन्छ, के गरौँ होला?’

उनका ती शब्दले म खर्ल्याङखुर्लुङ भएँ। हामी त्यसै त एक्लो थियौँ, अब नितान्त असहायजस्ता पनि भयौँ। वृद्धावस्थातिर ढल्कँदै गरेको अवस्था देखेर आफैँलाई अत्यास लाग्यो। 

हाम्रो अवस्था बुझेर होला- उतापट्टि फोनमा बोल्नेले सहानुभूति राखेछन् क्यार, ती प्राविधिकले राउटर खोलखाल गरेर झोलामा राखे र भने, ‘अब काम गर्ने आज र भोलि जम्मा दुई दिन बाँकी छ। सकभर भोलिसम्म तपाईंको राउटर बनाएर ल्याउने कोसिस गर्नेछौँ, नभए दसैँपछि मात्र हुन्छ।’ 

दसैँको मुखमा मेरो संसारमा फेरि एकाएक नसोचेको बाढीपहिरो आयो। उनीहरूले राउटर झोलामा कोचकाच गरेर लगेपछि मेरा साथीभाइ आफन्तसँगको सम्पर्क पनि अवरुद्ध हुने नै भयो। बाढीपहिरोपछिका बाटाघाटाजस्तै त्यो कहिले खुल्ने थाहा छैन।

यतिखेर जंगलमा बाटो बिराएको बटुवाजस्तै मैले आफूलाई नितान्त एक्लो र असहाय महसुस गरिरहेको छु। त्यो एक्लोपन र असहायपनलाई चिर्न मोबाइल डाटाको सहायताले मैले फेसबुकमा फोटोसहित हिजो एउटा पोस्ट गरेँ: जाम भो साइँली, त्यो डाडाँमाथिको गुम्बामा घुम्न। एकछिन भए पनि मन हलुंगो हुन्छ।

त्यति लेखेपछि मेरो मन दसैँको चंगाजस्तै हलुंगो भयो।

(हरिकुमार श्रेष्ठ पूर्वराजदूत हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad