ब्लग


दुःखैदुःख मात्र पनि होइन विदेश

दुःखैदुःख मात्र पनि होइन विदेश

निरज सापकोटा
मंसिर ३०, २०८१ आइतबार १६:३२, अस्ट्रेलिया

जेबी टुहुरेको गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ भनेझैँ दैनिक देश छोड्नेको ताँतीले नेपाल बस्नेको मन रुवाइरहेको होला। पछिल्लो तीन वर्षमा करिब १७ लाख नेपालीले उच्चशिक्षा, वैदेशिक रोजगारी वा अन्य बहानामा देश छोडेको सरकारकै तथ्यांकले देखाउँछ। 

विश्वव्यापीकरण, उच्चशिक्षासम्म निम्नमध्यम वर्गको पहुँच, उच्चतम सञ्चार प्रविधिमा आम मानिसको पहुँच, नयाँ अवसरको खोजी, राजनीतिक व्यक्तिहरूमा देखिएको चरम सत्तालिप्सा, कुरूप प्रशासनिक प्रणाली तथा देशमा रोजगारी नहुनुजस्ता कारण नेपालीहरू विदेशिने क्रम बढेको हुन सक्छ। आम नेपालीमा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान र कोरियाजस्ता देशमा जान पाउनु आफूलाई सफल भएको हो भन्ने मानसिकताले काम गर्दै गएको छ। 

आफन्त, अभिभावक र इष्टमित्र पनि विदेश नै गएको हेर्न रुचाउँछन्। १२ कक्षा सक्न नपाउँदै विदेशको भूत चढ्न थाल्छ। अल्लारे उमेर, नयाँ चिजप्रतिको आकर्षण, विदेश जानेको ताँतीको संक्रमणबाट अछुतो सायदै कोही रहन्छ। 

विदेश जानेहरूले सामाजिक सञ्जालमा हाल्ने सुन्दर सहरको तस्बिर, समुद्र किनारका नजारा, कार चलाइरहेको भिडिओ, कन्सर्टहरूमा उफ्रिँदै रमाउँदै गरेको मध्यरातको तस्बिरहरूको माहोलले त्यसप्रति लालायित बनाएको हुन्छ। 

आफ्नो देशमा केही हुन्न, भविष्य छैन, अवसरहरू सिर्जना हुँदैन, पढेर मात्र के गर्ने जागिर पाइन्न, जागिर खान कि त आफ्नो मान्छे चाहिन्छ कि त पैसा खुवाउनुपर्छ भन्ने मान्यता करिबकरिब स्थापितजस्तै छ। राजनीतिप्रति चरम वितृष्णा छ। सरकारी निकायप्रतिको अविश्वास बढ्दो छ। कर्मचारीतन्त्र पैसा नखाई वा घुस नखाईकन काम नै गर्दैन भन्ने भाष्य स्थापित छ। बेथितिहरू बिस्कुन सुकाएजसरी जताततै छन्। 

केही गर्छु भनेर नवीनतम प्रयोग गर्नेहरूलाई हौसला नै छैन, या त भनौँ त्यसबाट पलायन नै भएको देखिन्छ। अन्ततः हुर्कँदै गएको तन्नेरीको एउटै लक्ष्य हुन्छ आफ्नो देशको माटो छोड्नु। जब तन्नेरीहरू माटो छोड्छन् अत्यन्तै खुसी भएको महसुस गर्छन्। युद्ध जितेझैँ मान्दछन्। 

तर, जब अर्को देशको माटोमा पाइला टेक्छन् आफूले सोचेभन्दा बिल्कुल बेग्लै किसिमको परिदृश्यहरू देखा पर्न थाल्दछन्। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भाषा, नयाँ संस्कृति र भिन्नै किसिमको हावापानी। नजिकका आफन्त, साथीभाइ नहुने र यहाँका चलनचल्तीका नियमहरू थाहा नहुने हुँदा सुरुवाती दिनमा निकै कठिनाइ पैदा हुन्छ। अझ आएको लामो समयसम्म कोठा नपाउने, काम नपाउनेजस्ता कारणले चिन्ता थपिँदै जान्छ। सुरुवाती दिनमा काम खोज्दा अनुभव पनि खोज्ने हुँदा अझ समस्या सिर्जना हुन्छ। 

स्वदेशमा नै कतिपय कामको तालिम लिएर आयो भने पक्कै पनि केही सहजता भने हुन्छ। प्लस टु जीवनसम्म नै अभिभावकमा पूर्ण निर्भर भएर पढ्ने गरेका विद्यार्थीहरूलाई एकैपटक काम गरेर पढ्नुपर्ने अवस्था आउँदा कठिनाइ आउँदछ। त्यसमाथि छ/छ महिनामा कलेजको शुल्क बुझाउनुपर्दा अर्को खालको मानसिक तनाव हुन्छ। कामको थकाइ, पढाइको बोझ, कलेजको शुल्क जोडजाम। 

त्यसमाथि नेपालमा रहेका आफन्त, साथीभाइ र इष्टमित्रहरूमा ह्वात्तै बढेको उपहारको आशले यहाँका विद्यार्थीहरूलाई बिछट्टै पीडा दिन्छ। नेपालमा सोचजस्तो यहाँ नहुँदा कतिपयमा आत्मग्लानि हुने, मानसिक तनाव हुने, आत्मबल गिर्दै जाने र परिवारको यादले सताउँदै जाने हुँदा कतिपयले गलत कदम समेत उठाउने गरेका छन्। विदेशमा नेपालबाट जेजस्ता कुरा सोचेर आइन्छ त्यस्ता कुरा प्राय हुँदैनन्। 

यसो भएको हुनाले नेपालबाट आउँदा नै आफ्नो आत्मबललाई बढावा दिनुपर्छ। विदेशमा दुःख मात्र पनि छैन। हरेक क्षेत्रमा कामको बडो सम्मान हुन्छ। काममा सुरक्षा र उसले पाउने अधिकार सुनिश्चित हुन्छ। बिरामी बिदा, वार्षिक बिदाजस्ता बिदाहरू सुरक्षित हुन्छन्। आफ्नो पढाइ इमान्दारीपूर्वक गर्ने र अध्ययनअनुसारको क्षेत्रमा काम गर्ने हो भने भविष्य सुन्दर नै छ। आफ्नो क्षमताअनुसार प्राप्तिमा सहजता प्रदान गर्दछ।

स्वच्छ प्रतिस्पर्धात्मक प्रणाली, योग्यताको आधारमा व्यक्ति छनौट, संरचनात्मक प्रणालीहरूमा अत्यन्तै पारदर्शिता रहेको हुनाले पनि यहाँका संस्थाहरूप्रति आम नागरिकहरू पूर्ण विश्वास गर्दछन्। इमान्दारीपूर्ण मेहनत गर्ने र यहाँको नियम कानुनलाई पूर्ण पालना गर्ने व्यक्तिहरूलाई यो देश एकप्रकारको स्वर्ग नै हो। 

हरेक चिजका राम्रा र नराम्रा पक्ष हुन्छन् नै। नेपाली नौजवान युवायुवतीहरू विदेशिने क्रमले देशमा पारिरहेका सामाजिक संरचनात्मक असर होलान्। सँगसँगै यसका राम्रा पक्षलाई राज्यले अवसरको रूपमा प्रयोग गर्नुपर्दछ। विदेशमा बसेर फर्केकाहरूसँग काम गर्ने बानी, सम्बन्धित क्षेत्रमा कामको सीप र अनुभव हुन्छ। साथै महत्त्वपूर्ण कुराचाहिँ ऊसँग केही आर्थिक तरलता हुन्छ। जुन लगानीयोग्य पुँजीको रूपमा प्रयोग गर्न सहज हुन्छ। 

राज्यले विदेशिएकाहरूलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाउनुपर्छ। यसले विदेशमा आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई उपयोग गरोस्। करका दरहरूमा छुट, सहज लगानीको वातावरण, आवाश्यक आधारभूत प्रतिस्पर्धात्मक निर्माण तथा नीतिगत झन्झटबाट छुटकारा दिने काम गर्ने हो भने विदेशिएका नेपाली वा विद्यार्थीहरूबाट राज्यले लाभ लिन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad