विसं २०५२ सालमा म हिमालयन बैंकमा काम गर्थें। आफ्नै थातथलो भक्तपुर कटुञ्जेमा मेरो आफ्नै करेसा बारीमा जोडिएको करिब १० आना जमिन छिमेकी परिवारको थियो। शनिवारको दिन बिहान जग्गावाला छिमेकी हजुरबा मलाई भेट्न आउनुभएछ।
उहाँले मेरो बुबाकै सामुन्ने मलाई भन्नुभयो, ‘हेर नाति, तँ बैंकमा काम गर्छस्, तँसँग पैसा पनि छ, तेरोसँग जोडिएको मेरो १० आनाको पाटो बेच्नु परेको छ। मलाई पैसाको साह्रै खाँचो छ, तैँले त्यो बारी किन्, तँलाई पछि काम लाग्छ। बाटो नभएको बारी अरुले किन्दैनन्, त्यो जग्गा तेरो घर र यत्रो ठूलो पाटोसँग जोडिएको छ।’
अनि फेरि मेरो बुबा, जसलाई गाउँटोलमा सबैले सान्दाइ भन्थे, तिर फर्केर भन्नुभयो, ‘साने, तैँले भनेपछि तेरो छोरोले मान्छ, त्यत्ति किन्न भन्दे न। १० आना जग्गा लिएर मलाई दुईलाख रूपैयाँ दे।’
मेरो बुबाले मलाई केही नभनी ती हजुरबालाई भन्नुभयो, ‘हुन्छ काका, मेरो छोरोले तपाईंको जग्गा किन्छ।’
बुबाको आदेशले मैले त्यो बारीको पाटो किनेँ। बैंकमा काम गर्दै गरेकोले बैंकले मलाई कर्मचारी सुविधामा कर्जा पनि दियो र जग्गा मालपोतमा रोक्का राख्यो। विसं २०६१ सालमा मैले हिमालयन बैंक छाडेँ। बैंकको कर्जा चुक्ता गरेँ, आफ्नो जग्गाको लालपुर्जा लिएर घर आएँ। तर त्यो बेलामा मैले मालपोतमा गएर जग्गा फुकुवा गर्न बिर्सेछु। समय बित्दै गयो। लालपुर्जा आफूसँग, सरकारी दस्तुर हरेक वर्ष तिरेको छु, बारीमा तरकारी फलेकै छ। म ढुक्क थिएँ।
किनेको २९ वर्षपछि अचानक मलाई अहिले त्यो जग्गाको काम पर्यो। एउटा बैंकमा मलाई केही रकम कर्जा देऊ न भनेको, सर कुनै धितो दिनुस् न भनिन् बैंक कर्मचारीले। यसो सोचेँ, आफूसँग भएको सबैभन्दा सानो टुक्रा जमिन त्यही हो। श्रीमतीसँग लालपुर्जा मागेँ, बैंकले मूल्यांकन गर्यो, बाटो छैन नि सर भन्दै थिए, अरु तीनतिर जोडिएको सबै मेरै हो भनी प्रमाण दिएँ, बैंकले चित्त बुझायो।
मूल्यांकनकर्ताले सरलाई धेरै कर्जा चाहिने हैन, त्यसैले २ करोड रूपैयाँ मात्रै मूल्यांकन गरेको छु है भन्दा झण्डै ३० वर्षअघिको दुईलाख रूपैयाँ अहिले २० गुणा बढेछ भनेर खुसी लाग्यो।
वडा कार्यालयमा गएर चारकिल्ला सिफारिस निकालेँ। सबै कागजपत्र मिलाएपछि बैंकले कर्जा स्वीकृत गर्यो। सबै कागजातमा साक्षी सहित सही ल्याप्चे लगाएँ, अब पालो मालपोत जाने।
एक बिहानै बैंकका कर्मचारीसँग मालपोत कार्यालय भक्तपुर पुगेको त लेखनदास भाइले कम्प्युटरमा हेरेर भन्छन्, ‘सर यो जमिन त एउटा सहकारीले रोक्का राखेको छ। मालपोतको प्रणालीमा तीनलाख रूपैयाँ कर्जाको लागि वि.सं. २०७६ सालमा पोखराको सहकारीले रोक्का राखेको देखिन्छ।’
म भित्रैबाट हासेँ तर अब मैले पाउने दुःखको कल्पनामा डुबेँ। केही फोन घुमाएँ। मैले सहकारीमा कुनै कारोबार गरेको छैन, कुनै कर्जा छैन। कसरी मेरो जमिन रोक्का हुन्छ?
मालपोत अधिकृतसँग त्यो रोक्काको पत्र देखाउनुस् भन्दा ‘त्यो त छैन मालपोतमा हराएछ’ रे। यो भन्दा दुःख दिने काम अरु केही हुन्छ?
फेरि एकछिनपछि लेखनदास भाइ फोन गरेर भन्छन्, ‘सर तपाईंको जग्गा त हिमालयन बैंकले पनि रोक्का राखेको देखियो मोठमा। विसं २०५२ सालको रै’छ।’
मैले भनेँ, ‘त्यो त होला।’ मैले फेरि सोधेँ, ‘एउटै जमिन दुई संस्थाबाट रोक्का हुन्छ?’
सबैको जवाफ हुन्नमा आयो तर किन भयो भन्ने प्रश्नको जवाफ कसैसँग छैन। रोक्का फुकुवा कसैले गर्न सक्दैन चाहे कागजपत्र होस् चाहे नहोस्।
केही जान्ने र नजिकका साथी भनाउँदा वकिललाई सोधेँ, उनीहरू सोझै मलाई उच्च अदालतमा रिट हाल्ने, अग्राधिकार लिने र दुई महिनामा काम सकिदिने आश्वासन दिँदैथिए। ती मेरा अत्यन्त प्रिय थिए। म फेरि हासेँ।
‘हैट्,’ म सोच्दै थिएँ, ‘यी त मालपोतका कर्मचारी भन्दा पनि कडा निस्के!’
मालपोतका कर्मचारी लगायत सबैको एउटै स्वर थियो, एउटै जमिनमा दोस्रो रोक्का त अदालतले मात्रै राख्न सक्छ, तर मेरोमा कसरी भयो भन्दा सबै चुप। यस्ता कुरा हामीले बनाएको प्रणालीमा मात्र सम्भव छ र यही हाम्रा तीस वर्षका सरकारको (कु)शासनमा मात्र सम्भव छ।
फोन नम्बर खोजेर पोखराको सहकारीमा फोन गरेँ, धन्न सहकारी बन्द भएको रहेनछ, भएको भए? मेरो नाम सोधेर त्यहाँका प्रबन्धक, जो साह्रै सहयोगी हुनुभयो, ले मलाई आश्वस्त पार्दै भन्नुभयो, ‘सर, हाम्रो सहकारी कास्कीको एक जिल्ले हो, हामीले भक्तपुरमा काम गर्न सक्दैनौँ। तपाईंको नाम हाम्रो सदस्यको सूचीमा छैन, हाम्रो कारणले तपाईंको जमिन रोक्का भएको हैन। हामी जस्तो चाहिन्छ त्यस्तै पत्र लेख्न तयार छौँ।’
उहाँको यो सदाशयताप्रति आभार प्रकट गरेँ।
लेखनदास भाइको सहयोगमा मालपोतका होनाहार कर्मचारीलाई प्रकारप्रकारका बिन्ती गरेर पोखराको सहकारीमा सोधनी पत्र लेख्ने काम भयो। पत्रको जवाफ कस्तो पठाउने भनी आफैँले बनाएर पठाएँ। उताबाट पत्रको जवाफ आयो।
हिमालयन बैंकमा सम्पर्क गरेँ, कथा र व्यथा दुवै सुनाएँ। उल्टै गाली गर्दै एकजना साथीले पुरानो रिस पोख्यो, ‘दाइ म त तपाईंकै चेलो हो, अब २९ वर्ष पुरानो कागज कहाँ खोज्नु? तपाईं देशभरि बैंकिङ पढाएर हिँड्ने अनि आफूचाहिँ कर्जा चुक्ता गरेर पनि जग्गा फुक्का नगर्ने, त्यो पनि २५ वर्षभन्दा बढी? सम्पत्ति बढी भए यसो हाम्लाई दिनुस्।’
त्यो साथीलाई पुरानै शैलीमा गाली गरेँ। उसले भोलिपल्ट पत्र सहित मालपोतमा कर्मचारी पठायो, मालपोत मिलाइयो र काम भयो। मैले सुनेँ, यस्ता केसहरू सयौँको संख्यामा छन्। किन र कसरी? के यसलाई फेरि धन्दा बनाउन खोजिएको हो?
हामी कहाँ छौँ? हाम्रा स्थायी संस्थाहरू कसरी काम गर्दैछन्? एउटै जमिन दुईपटक कसरी रोक्का? के मैले पहिलाको रोक्का फुकुवा नगरेर ठिक गरेछु? कतै मेरो जग्गा मलाई थाहा नै नभएको कर्जाको नाममा सहकारीले लिलामी गरेको भए? जमिन रोक्का राख्न वा फुकुवा गर्न मालपोत कार्यालयमा मेरो उपस्थिति हुनु पर्दैन?
यी प्रश्नको जवाफ कसैसँग छैन। म बैंकिङ बुझ्छु, मेरो सबैतिर पहुँच छ र त मैले नभएको कामको लागि एक हप्ता समय लगाउनु पर्यो, कयौँपटक फोन घुमाउनु पर्यो, धम्काउनु पर्यो, फकाउनु पर्यो, तर सोझा सर्वसाधारणले यस्तोमा के गर्ने? रुनेबाहेक केही उपाय छ? रिट हाल्न सजिलो छ? अनि खर्च?
यो सबै आफैँले भोगेपछि अब एउटा निष्कर्षमा पुगेको छु, सबै जमिन एकएक गरेर मालपोतमा गएर चेक गरेर आउने। के हाम्रो हालत यही भएको हो? धेरै वर्षदेखि विदेश बस्नेको जग्गाको हालत के होला? सोचौँ त।
हामी कहाँ चुक्यौँ? अझै सुशासनको कुरा गर्न सरकारमा बस्नेलाई लाज लाग्दैन? यो त उदाहरण मात्रै हो। अनि सडकमा मानिस उत्रे रे? म सोच्छु किन सडकमा मात्रै उत्रेछन्?
(राजु नेपाल पूर्वबैंकर हुन्)
Shares

प्रतिक्रिया