ब्लग


चितवनको धूपमा बालेनको कालो चस्माले सम्झाएको कथा

चितवनको धूपमा बालेनको कालो चस्माले सम्झाएको कथा

वाशुदेव मिश्र
असार ७, २०८३ आइतबार १३:५०, पोखरा

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले ‘दोषी चस्मा’ किताब लेखे। बीपी साहित्यकार थिए। चस्माधारी केशवराजमार्फत तत्कालीन समाजको चाकडी प्रथा र मनोविज्ञानलाई कथामार्फत प्रस्तुत गरे।

दुईतिहाइ बहुमतसहित २०१६ जेठ १३ गते प्रधानमन्त्रीका पदको शपथ खाएका बीपी कोइरालाजस्तै २०८२ चैत १३ गते कार्यभार सम्हालेका वर्तमान प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह पनि सिर्जनात्मक छन्। उनी र्‍यापगीत गाउँछन्। यी दुईबिच अर्को समानता पनि छ, त्यो हो- कालो चस्मा र लवाइखुवाइ।

विभिन्न अनौपचारिक समारोहमा बीपी कालो चस्मामा देखिन्थे भने वर्तमान प्रधानमन्त्री बालेन पनि अक्सर ‘कालो चस्मा’ नै लगाउँछन्।

प्रधानमन्त्रीको शपथ खाँदा होस् वा अन्य औपचारिक कार्यक्रम, बालेनका आँखामा कालो चस्मा नै हुन्छ। कतिसम्म भने बालेनको सचिवालयले सार्वजनिक गरेको औपचारिक तस्बिरमा समेत उनी कालो चस्मामै देखिन्छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन अहिले पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन पत्नी र छोरीसहित चितवनमा छन्।

चितवनमा यतिबेला गर्मीको ‘धूप’ चढेको छ। चितवनको वर्तमान मौसममा कालो चस्मा सुहाउँछ।

पार्टीको औपचारिक बैठकहरूमा सामेल नभएका, सांसदहरूका निम्ति पार्टीले नै आयोजना गरेको प्रशिक्षणमा समेत नदेखिएका बालेन चितवन झरेसँगै उनी पार्टीभन्दा बाहिर छैनन् भन्ने सन्देश प्रवाह भएको छ।

रंगीन चस्माको उत्पत्ति कथा

प्रधानमन्त्रीको प्रिय कालो चस्माको उत्पत्ति चीनमा भएको मानिन्छ। १२औँ शताब्दीतिर चीनका न्यायाधीशहरूले पहिलोपटक अदालती सुनुवाइका क्रममा आफ्नो अनुहारको भाव नझल्कियोस् भन्ने उद्देश्यले कालो लेन्स भएको चस्मा प्रयोग गरेका थिए।

विभिन्न अध्ययन प्रतिवेदनअनुसार धेरै वर्ष पहिला हिउँबाट आँखालाई बचाउनचाहिँ चस्माको प्रयोग भएको थियो। कालो चस्मालाई व्यापक बनाउने कामचाहिँ अठारौँ शताब्दीमा भयो।

प्रख्यात् प्रकाशविज्ञ जेम्स ऐस्कफले रंगीन लेन्सहरूको आविष्कार गरे भने त्यसलगत्तै अभिजात वर्गले त्यसलाई आफूलाई पृथक देखाउन प्रयोग गर्‍यो। 

सन् १९२९ मा स्याम फोस्टरले अमेरिकामा फोस्टर ग्रान्ट ब्रान्डअन्तर्गत किफायती र ठुलो परिमाणमा सनग्लास उत्पादन गरे। घामको किरणबाट आँखा जोगाउन प्रयोग गरिने त्यो चस्मा समुद्र किनारका पसलमा बेच्न राखियो। 

घुम्न जानेहरूलाई त्यसलाई मन पराए। सन् १९३० को दशकमा उच्च उचाइमा उडान गर्ने पाइलटहरूको आँखाको सुरक्षा गर्न एभिएटर सनग्लास विकास गरियो।

बाउस एन्ड लोम्बले पाइलटका लागि नयाँ डिजाइनका चस्मा बनाएपछि त्यसले फेसनको रूप लियो। सन् १९४० र १९५० को दशकमा हलिउडका चर्चित नायकहरू अड्री हेपबर्न र जेम्स डिनहरूले सनग्लासलाई फेसमा जोडे।

प्रधानमन्त्री बालेनको प्रिय रे-ब्यानले सन् १९५६ मा वेफेयरर मोडलको चस्मा सार्वजनिक गर्‍यो। त्यसपछि सनग्लास मान्छेको जीवनशैली बन्यो।

आँखाको भाव लुकाउन लगाइन्छ कालो चस्मा 

कालो चस्माले विभिन्न किसिमका किरणबाट आँखालाई जोगाउँछ। तर, औपचारिक समारोहमा कालो चस्मा लगाउनुलाई राम्रो मानिँदैन।

देशका विशिष्ट व्यक्तिहरूले आँखाकै माध्यमबाट संवाद गर्नुपर्छ, उनीहरूको अनुहार अनि आँखामा कस्तो भाव दौडँदै छ भन्ने देखिनुपर्छ भन्ने मान्यता राखिन्छ।

अझ टाउकोमा चस्मा राख्नुलाई अशोभनीय नै मानिन्छ। त्यसैले अक्सर औपचारिक समारोहमा विश्वका ठुला नेता कालो चस्मा लगाउँदैनन्।

तर,विशिष्ट व्यक्तिको सुरक्षामा रहने सुरक्षाकर्मीहरू भने प्रायः कालो चस्मामा देखिन्छन्। यसको कारण भने अर्कै छ।

विशिष्ट व्यक्तिहरू सधैँ क्यामेराको प्रकाशले घेरिन्छन्। त्यस्तो बेला उनीहरूको सुरक्षामा खटिनेहरूको आँखा तिर्मिराउन सक्छ। सुरक्षामा चुक हुन सक्छ।

खासमा विशिष्ट व्यक्तिको सुरक्षामा खटिनेहरूले आफ्नो हेराइ कता छ भन्ने जानकारी लुकाउन कालो चस्मा लगाउँछन्। कालो चस्मा लगाउँदा उसले कता हेरेको छ र केमा ध्यान दिएको छ भन्ने आम मान्छेलाई जानकारी हुँदैन।

पछिल्लो समय केही ‘बडीगार्ड’ र सेलिब्रेटीहरू रातको समयमा पनि कालो चस्मामा देखिन्छन्।

रातको समयमा कालो चस्मा लगाएको निको मानिँदैन। यो स्वाभाविक हैन। चस्मामय मन्त्रिपरिषद्, उस्तै चितवन प्रधानमन्त्री बालेन नै कालो चस्माको सौखिन भएपछि त्यसको प्रभाव अन्य मन्त्रीमा पनि देखिएको छ।

गृहमन्त्री सुधन गुरुङदेखि पर्यटनमन्त्री खड्गराज पौडेलसम्म कालो चस्मामै देखिन्छन्।

बालेन पार्टीमा भित्रिएर प्रधानमन्त्री बनेसँगै रास्वपामा पनि ‘कालो चस्मा’ मोह बढेर गएको छ।

पार्टी सभापति रवि लामिछाने खुला आँखाले नै संवाद गरिरहँदा रास्वपाका अन्य नेता-कार्यकर्ताचाहिँ कालो चस्मातिर ढल्किएका छन्।

देशैभरबाट झण्डै ५ हजार प्रतिनिधि र त्यसकै हाराहारी शुभेच्छुक चितवन ओइरिँदा त्यहाँ कालो चस्माधारीहरूको जमात् ठुलो देखिएको छ।

यो महाधिवेशनले कति जना कालो चस्माधारी पदाधिकारी केन्द्रीय सदस्य चुन्छ, त्योचाहिँ महाधिवेशन सम्पन्न नहुन्जेल कुर्नै पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad