राजनीति


रास्वपा केन्द्रीय सदस्यको चुनाव हुने पक्का

रास्वपा केन्द्रीय सदस्यको चुनाव हुने पक्का

रास्वपा महाधिवेशनस्थल भरतपुरको गेस्टहाउस चौरमा प्रतिनिधि। तस्बिर: सरोज नेपाल/नेपालखबर


सागर न्यौपाने
असार ६, २०८३ शनिबार २२:१९, चितवन

सभापति, वरिष्ठ नेता, उपसभापति र महामन्त्रीमा सर्वसम्मत गर्ने सम्भावना रहेको भन्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा केन्द्रीय सदस्य बन्नको लागि धेरैले आकांक्षा देखाएका छन्।

रास्वपाको विधान अनुसार ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। बाँकी ५१ जना सभापतिले मनोनित गर्नेछन्। त्यही भएर ९९ जनाभित्र पर्न चुनाव नै हुने देखिन्छ।

किनकि, महाधिवेशन प्रतिनिधिमध्ये हजारभन्दा बढी केन्द्रीय सदस्यका दाबेदार छन्। यसमा धेरै जसो सांसद पनि छन्। 

चितवनको भरतपुर महानगरपालिका-१० स्थित गेस्टहाउस चौरमा आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै छ। महाधिवेशन प्रतिनिधि सम्बन्धी उपसमितिका संयोजक एवं रास्वपा कोषाध्यक्ष लीमा अधिकारीका अनुसार महाधिवेशनमा करिब चार हजार प्रतिनिधि छन्। 

महाधिवेशन उद्घाटन स्थलमा भेटिएका प्रतिनिधिले केन्द्रीय सदस्यको ‘लबिङ’ गरिरहेको बताए। उनीहरू केन्द्रीय सदस्यका लागि नेता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिसँग कुराकानी गरिरहेका छन्। 

रास्वपाको मधेस प्रदेशमा जिल्ला अधिवेशन नै हुन सकेको छैन,। सोही कारण मधेसबाट कम प्रतिनिधि आएकाले केन्द्रीय सदस्यमा विशेष व्यवस्थाको माग गर्न लागेको पर्सा–४ बाट निर्वाचित सांसद टेकबहादुर शाक्यले जानकारी दिए। 

‘हामीले मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्वको विषयमा भोलि उद्घाटन सत्र सकिएपछि सभापतिज्यूसँग कुरा गर्ने भनेका छौँ,’ शाक्यले नेपालखबरसँग भने, ‘किनकि, मधेसका धेरै जिल्ला र प्रदेशमा पनि अधिवेशन नहुँदा प्रतिनिधि संख्या कम आएको छ।’

रास्वपाको विधानअनुसार, पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। निर्वाचित केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्नेछन्। 

त्यही भएर केन्द्रीय सदस्यमा चर्को प्रतिस्पर्धा हुने देखिएको एक पदाधिकारीले बताए। उनका अनुसार, चुनावबाट रोक्ने अवस्था रहेको छैन। ‘अन्य पदमा अहिले भन्न सकिएन, केन्द्रीय सदस्य बन्न हजार बढीको उम्मेदवारी पर्ने देखिन्छ,’ उनले नेपालखबरसँग भने।

रास्वपा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन्। 

त्यस्तै, असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारका लागि फारम वितरण गरिने भएको छ। त्यही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

रास्वपा केन्द्रीय समितिका लागि असार ९ गते बिहान साढे ८ देखि दिउँसो ३ बजेसम्म मतदाता तय गरिएको छ। केन्द्रीय सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा मतदान हुनेछ। 

पदाधिकारीका लागि दोस्रो चरणमा मतदान हुनेछ। त्यसको कार्यतालिकामा भने पछि सार्वजनिक गरिने आयोगका प्रमुख केसीले बताए। 

रास्वपा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिन शुल्क पनि तय गरिएको छ।  रास्वपा सभापतिको उम्मेदवार हुन ५१ हजार रुपैयाँ शुल्त तिर्नुपर्नेछ। यससँगै एक जना प्रस्तावक र ५१ जना नै समर्थक चाहिने भएको छ। 

त्यस्तै, पदाधिकारीमा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ शुल्क तय गरिएको छ। पदाधिकारीको उम्मेदवारी दिँदा एक जना प्रस्तावक र २१ जना समर्थक राख्नुपर्नेछ। 

यसैगरी, केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा पनि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने भएको छ। 

समर्थक र प्रस्तावको हस्ताक्षर बुझाउनुपर्ने नियम बनाइएको छ। रास्वपा सभापति र केन्द्रीय सदस्यका लागि असार ८ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad